वामगठवन्धनको तर्फवाट दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार कृष्णबहादुर महराले आफू नेपालको शान्ति दूत भएको बताएका छन्।
दाङको बालकल्याण आधारभूत विद्यालय खैरामा सञ्चालित ज्ञान महायज्ञमा पुगेका विना विभागीय मन्त्रीसमेत रहेका महराले नेपालको शान्ति प्रक्रियाको अगुवाइ आफूले गरेको हुँदा आफू नै नेपालको सच्चा शान्ति दूत भएको दाबी गरेका हुन। ‘२०५८ सालदेखि शुरु भएको नेपाल शान्ति प्रक्रियाहुँदै २०६३ सालमा भएको शान्ति सम्झौतासम्म हाम्रो पार्टीको तर्फबाट मैले नेतृत्व गर्ने अवसर पाएँ’– पूर्व उपप्रधानमन्त्री समेत रहेका महराले भने – ‘त्यसयता पनि निरन्तर सरकारमा सहभागितालगायतका माध्यमबाट नेपालको विकास र शान्ति प्रक्रियामा मैले महत्वपूर्ण भूमिका खेल्दै आएको छु।’
फरक प्रशंगामा महराले आफूले सबै धर्मको उत्तिकै सम्मान गर्ने व्यक्ति भएको बताए ।‘म कम्युनिष्ट हुँ र म भौतिकवादलाई विश्वास गर्छु’– उनले अगाडि भने – ‘तर म मन्दिर, मस्जिद, चर्च जहाँ पनि पुगेर सम्बन्धित धर्मप्रति आस्था गर्नेहरुलाई सम्मान गर्छु । किनकि म सबै धर्मलाई उत्तिकै सम्मान गर्छु ।’
यसैबीच उनले विद्यालयमा जारी महायज्ञमा एक लाख दान गरेका थिए । उनले अब आफू विकास निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।