काठमाडौं क्षेत्र नम्बर ५ का वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले आफ्नो जित सुनिश्चित भएको बताएका छन्।
एमालेका महासचिव समेत रहेका पोखरेलले आफू काठमाडौं क्षेत्र नम्बर ५ को सबैभन्दा योग्य उम्मेदवार भएको दाबी गरेका छन्।
यस क्षेत्रका जनताको साथ र उनीहरूको समस्या समाधान गर्न निरन्तर क्रियाशील रहेकाले आफ्नो जीत पक्का हुने महासचिव पोखरेलको तर्क छ। महासचिव पोखरेलले स्थानीय जनतासँगको सामाजिक सम्बन्ध पनि यस क्षेत्रमा अरु उम्मेदवारको भन्दा आफ्नो बढी भएको स्पष्ट पारे।
यस क्षेत्रमा नेपाली कांग्रेसले पूर्व मन्त्री डा. प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ। निर्वाचन प्रचार अभियानका क्रममा आइतबार बिहान बुढानिलकण्ठ पुगेका उनले संचारकर्मीमाझ आफू सबै उम्मेदवार भन्दा जनताको माझमा बढी परिचित भएको दाबी गरे।
महासचिव पोखरेलले एमाले र माओवादी केन्द्रबीच मुलुकलाई समृद्ध बनाउने उद्देश्य पूरा गर्न चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएको दाबी गरे।