नेकपा एमालेले नेकपा माओवादी केन्द्रका नेता माथि भएको बम आक्रमणको निन्दा गरेको छ।
एमालेले विज्ञप्ति निकाल्दै गठबन्धनका उम्मेद्वार माथिको आक्रमणको विरोध गरेको हो। विज्ञप्तिमा भनिएको छ ‘सरकारका मन्त्रीसमेत रहेका हाम्रो गठबन्धनका रुकुममा प्रतिनिधिसभाका उम्मेदवार जर्नादन शर्मामाथि निर्वाचन प्रचार–प्रसारका क्रममा चौरजहारी नगरपालिकाको गाइरीमा कात्तिक २४ गते बम प्रहार भएको र कात्तिक २५ गते प्रतिनिधिसभा रोल्पाका वामगठबन्धनका उम्मेदवार वर्षमान पुनमाथि रोल्पाको माडीगाउँमा बम आक्रमण प्रयासको हामी निन्दा गर्दछौं।’
एमालेले निर्वाचन अगाडि सत्ता संरक्षित गुण्डागर्दीको रुपमा सोलुखुम्बुमा प्रचार सामग्री नष्ट गरिएको भन्दै विरोध जनाएको छ।
साथै, गुण्डागर्दी र आक्रमणका घटनाहरूले मतदातालाई आतंकित पार्ने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। पछिल्लो घटनाले शान्तिपूर्ण हुनेमा शंका उत्पन्न हुन थालेको र जनतामा डर, त्रास पैदा हुन थालेको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ।