माओवादी केन्द्र नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको जीप एम्बुसमा परेको छ। वामगठबन्धन तर्फका उम्मेदवार पुन सवार बा १५ च ८६२८ नम्बरको जीपमा शनिबार बिहान १० बजेर ३५ मिनेट जाँदा बम बिस्फोट गराइएको पुनका स्वकीय सचिव सन्तोष पुनले सेतोपाटीलाई जानकारी दिए।
पूर्वमन्त्री पुन सुकिदह गाउँपालिकामा चुनावी सभा सकेर फर्किदैँ गर्दा माडीगाउँपालिका वडा नं. १ को भित्तावाङमा विस्फोट भएको हो। स्कर्टिङको प्रहरी गाडी र पूर्वमन्त्री पुन सवार गाडीका बीचमा एम्बुस पड्काइएको भए पनि कुनै क्षति नभएको स्वकीय सचिव पुनले बताए।
‘कुनै क्षति भएको छैन। माथि पहाडमा अलि टाढैबाट लुकेर बसेकाले तारमार्फत माइन बिस्फोट गराएका थिए,’ स्वकीय सचिव पुनले भने।
पुनका अनसार विस्फोट भएलगत्तै सुरक्षाकर्मीले एकदर्जनभन्दा बढी पटक फाइरिङ गरेका थिए।
शुक्रबार मात्रै रुकुममा पनि पूर्व गृहमन्त्री एवं विनाविभागीय मन्त्री जनार्दन शर्मा सवार गाडी लक्षित गरी बम विस्फोट गराइएको थियो।