यसपालि चुनावमा बढी प्रयोग भएको प्रचार सामग्री हो, पार्टीको झन्डा।
निर्वाचन आयोगले टिसर्ट, तुल, क्यापजस्ता सामग्रीमा रोक लगाएपछि झन्डाले स्थान पाएको हो। पाँच हजारभन्दा बढी प्रत्यक्ष उम्मेदवार झन्डा बोकेर प्रचारमा निस्केका छन्। निर्वाचन क्षेत्र र चुनावी सभाहरू झन्डाले सजिएका छन्।
उम्मेदवारको लोकप्रियता देखाउने माध्यम बनेका यी झन्डा कहाँ, कसरी उत्पादन भइरहेका छन्? कति खर्च भइरहेको छ?
हामीले झन्डा उत्पादनमा संलग्न राजधानीका आधा दर्जन व्यवसायीसँग कुरा गरेर मोटामोटी हिसाब निकालेका छौं।
७३ करोडभन्दा बढीको कपडा र रङचुनावी धपेडीमा रहेका व्यवसायीका अनुसार पार्टीका झन्डा बन्ने कपडा चीनबाट आइरहेको छ भने लेख्ने रङ भारतबाट। यसको परिमाण ७३ करोड रुपैयाँभन्दा बढी देखिएको छ। कसरी?
‘सबै पार्टीका झन्डा बनाउन चाइनिज कपडा प्रयोग भइरहेको छ,’ क्षेत्रपाटीका व्यवसायी राजु मित्तलले सेतोपाटीसँग भने, ‘खासगरी राता, सेता र निला कपडा चीनबाट आइरहेका छन्।’ ती प्रायः पोलिस्टर र चाइनिज फेब्रिक हुन्।
रसुवागढी भन्सार नाकाका अधिकृत दयानन्द केसीले यसको पुष्टि गरे।
उनका अनुसार पछिल्लो समय चीनबाट पोलिस्टर कपडा आयात बढेको छ। तीन महिनामा ८ लाख मिटरभन्दा बढी भित्रिएको उनले बताए।
झन्डा बन्ने कपडा ‘रोल’ मा भित्रन्छ। एक रोलमा सय मिटर हुन्छ। ठूलो गज छ भने १ सय १० मिटरसम्म हुन्छ।
सय मिटर कपडाबाट सानो झन्डा ७ सयदेखि ८ सयवटासम्म बन्छन्। यो भनेको १० इञ्च लम्बाइ र १८ इञ्च चौडाइ हो। त्यस्तै, मध्यम झन्डा (१८ लम्बाइ, २० चौडाइ) ३ सयदेखि ४ सयवटा बन्छन्। ठूला झन्डा भने करिब २ सय वटा बन्ने व्यवसायी बताउँछन्। ठूलाको लम्बाइ २० र चौडाइ ३० इञ्च हुन्छ। डेढ मिटरका झन्डा २० देखि ३० वटा मात्र बन्छन्।
अब यसमा प्रयोग हुने कपडा र रङको हिसाब गरौं।
चीनबाट आउने एक रोल कपडाको मूल्य बजारमा ४ देखि ८ हजार रुपैयाँ पर्छ। चुनाव बेला माग बढी हुँदा स्वाभाविक रूपले मूल्य उच्च छ। अरू बेला ४० रुपैयाँ मिटरमा पाइने यी कपडा ८० सम्म पर्ने बागबजारका व्यवसायी उमेशबाबु श्रेष्ठले जानकारी दिए।
कुन उम्मेदवारले कति झन्डा अर्डर गर्छन् भन्ने राजनीतिक दल र निर्वाचन क्षेत्रमा भर पर्छ।
व्यवसायी जयराम तिमिल्सिनाका अनुसार एक जना दलीय उम्मेदवारले औसत १५ देखि ३० रोल कपडाका झन्डा माग गर्छन्। स्वतन्त्र उम्मेदवारको माग कम हुन्छ। एक जनाले घटीमा एक रोल कपडा प्रयोग गरिरहेका छन्।
बागबजारका चार ठूला व्यापारीसँग कुरा गर्दा उनीहरूले दैनिक ३० देखि ४० रोल काटिरहेको बताए। यसको संख्या बढ्दो छ। चुनाव नजिकिएपछि दिनकै सय वटासम्म रोल काट्नुपर्ने उनीहरूको अनुमान छ। बागबजारमै १५ भन्दा बढी साना खुद्रा उत्पादन केन्द्र छन्। तिनले नै दैनिक ५ देखि १० रोल कपडा काट्छन्।
यही आधारमा हामीले पार्टीका झन्डामा कति कपडा प्रयोग भइरहेको छ भन्ने हिसाब निकाल्यौं।
एक उम्मेदवारले औसत २० रोल कपडा अर्डर गर्छन् भनी मान्ने हो भने १ लाख ५ हजार रोल खपत हुन्छ। एक रोल चिनियाँ कपडाको मूल्य औसत ६ हजार पर्छ। यस हिसाबले कपडामा मात्र ६३ करोड ५० लाख रुपैयाँ खर्च भइरहेको छ।
अझ मसिनो गरी बुझ्दा एक उम्मेदवारको भागमा १ लाख २० हजार रुपैयाँको कपडा पर्छ।
कपडापछि हिसाब गरौं, रङको।
व्यवसायीका अनुसार एक रोल कपडाबाट कुनै पनि आकारको झन्डा बनाउँदा कम्तिमा चार बट्टा रङ खपत हुन्छ। एक बट्टा भारतीय रङको बजार मूल्य २ सय ५० रुपैयाँ पर्छ। यस आधारमा एक रोल कपडाको झन्डा बनाउन एक हजार रुपैयाँको रङ लाग्छ।
सबै जोड्दा १ लाख ५ हजार रोलमा १० करोड रुपैयाँभन्दा बढीको रङ खपत हुन्छ।
यसरी कपडा र रङको मात्र कुल लागत ७३ करोड ५० लाख रुपैयाँभन्दा बढी रहेको व्यवसायी बताउँछन्।
कतिपय समानुपातिक उम्मेदवारले पनि झन्डा माग गर्छन्। त्यसको प्रयोग कम छ।
एउटा झन्डाको कति?व्यवसायीका अनुसार एक रोल कपडाबाट झन्डा बनाउन कम्तिमा १० हजार रुपैयाँ खर्च लाग्छ। मुनाफासमेत जोड्दा १२ हजारसम्म पर्छ।
यस आधारमा सानो झन्डाको कारखाना मूल्य कम्तिमा १४ रुपैयाँ पर्छ भने मध्यमलाई २०, ठूलोलाई २५ र डेढ मिटरको झन्डालाई १ सय २५ रुपैयाँसम्म पर्छ।
कसको अर्डर बढी?बागबजारस्थित प्रिन्टिङ प्रेस व्यवसायीका अनुसार बढी झन्डा अर्डर गर्नेमा कांग्रेस, एमाले र माओवादी उम्मेदवार छन्। जिल्लाका आधारमा मोरङ, काठमाडौं, झापा, रुपन्देही, सुनसरी, कैलाली, धनुषा, सर्लाही र बारामा बढी खपत हुन्छन्।
कांग्रेस प्रचारप्रसार विभाग सदस्य बद्री पाण्डेका अनुसार केन्द्रबाट प्रत्येक जिल्लामा हजार वटासम्म झन्डा नमूना पठाइन्छ। त्यही आधारमा सबै निर्वाचन क्षेत्रका उम्मेदवारले आवश्यकताअनुसार झन्डा बनाउने उनले बताए।
सामान्यतया एउटा वडामा ३ देखि ४ सय झन्डा प्रयोग हुने मोरङ जिल्ला कांग्रेसका पूर्व सचिव यदु विष्टको अनुमान छ। एउटा निर्वाचन क्षेत्रका उम्मदेवारलाई औसत १५ हजार झन्डा चाहिने उनले बताए।
‘मोरङ सबैभन्दा धेरै मतदाता भएको जिल्ला हो। यहाँ जति झन्डा भए पनि पुग्दैन,’ उनले भने, ‘अहिले एउटा वडामा कम्तिमा २ सय झन्डा प्रयोग भइरहेका छन्। चुनाव नजिकिँदै गर्दा यो संख्या बढ्छ।’
व्यवसायीले दिएको तथ्यांक उनले पनि पुष्टि गरे।
एक रोल कपडाबाट ७ देखि ८ सय साना झन्डा बन्ने उनले बताए। ‘सबैभन्दा सानो आकारको १५ हजार झन्डा बनाउनै २० रोल कपडा चाहिन्छ,’ उनले भने।
अब प्रश्न उठ्छ, दलहरूले एकचोटि झन्डा अर्डर गरेपछि कति समय टिक्ला? कम्तिमा एक वर्ष मान्ने हो भने पनि हालसालै स्थानीय चुनावमा भाग लिएका राजनीतिक दलले फेरि किन यति धेरै अर्डर गरे?
व्यवसायीका अनुसार झन्डाको औसत आयु ४ देखि ५ वर्ष हुन्छ। तैपनि टिक्ने भनेको एक मौसम मात्र हो। व्यवहारिक रूपले पनि पाँच वर्ष टिक्न सम्भव नभएको व्यवसायी आफैं बताउँछन्।
सामान्यतया चुनाव सकिएपछि अधिकांश झन्डा मिल्काइन्छन्। कति फोहोरको डुंगुरमा फेला पर्छन् भने कति बाटो, खोला र जंगलमा फालिन्छन्। स्थानीय निर्वाचनमा प्रयोग भएका झन्डाको नमूनाधरि भेट्न मुश्किल पर्ने एक व्यवसायीले बताए।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी