राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश जारीगरेकी छिन्। डा.गोविन्द केसीको माग अनुसार कात्तिक ६ मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेशलाई राष्ट्रपतिबाट शुक्रबार मात्र जारी भएको हो।
डा गोविन्द केसी सहितको टोलीले चिकित्सा शिक्षा अध्यादेश पारित नभएको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो।
मन्त्रिपरिषदबाट पारित विधेयक प्रमाणीकरण वा फिर्ता सम्बन्धनमा कुनै पनि जानकारी प्राप्त नभएपछि डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा तोषिमा कार्की, डा अभिशेकराज सिंह र कलाकार रविन्द्रसिंह बानियाँले राष्ट्रपति कार्यालयमा सूचनाको निवेदन दर्ता गराएका थिए।
यसअघि बिहीबार डा केसीको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चिकित्सा शिक्षा अध्यादेश राष्ट्रततिबाट प्रमाणीकरण नभएको विषयमा छलफल गरेको थियो।
छलफलमा देउवाले तीन दिनअघि राष्ट्रपतिलाई भेटेर चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरिदिन आग्रह गरेको जानकारी गराएका थिए । ‘अत्यावश्यक अध्यादेश भएकाले तपाईंले रोकेर राख्ने कानुनी अधिकार छैन, त्यसैले चाँडै प्रमाणीकरण गर्नुस् भनेको छु,’ देउवाले भने ।
प्रधानमन्त्री निवास बालुवाटारमा डा.केसीसहित डा.सिंह, डा.वाइपी सिंह, अधिवक्ता ओमप्रकाश अर्याल र डा.तोषिमा कार्कीले भेट गरेका थिए। भेटमा प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षाका क्षेत्रमा भएका अन्य विषयमा पनि जानकारी लिएका थिए।
केसीको माग अनुसार मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यालयमा लामो समयदेखि अड्किएको थियो । मन्त्रिपरिषद्ले कात्तिक ६ गते पारित गरेको अध्यादेश सोही दिन राष्ट्रपति कार्यालयमा पठाइएको थियो।
यसअघि सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार उक्त विधेयक जारी नहुनुका कारण लिखित रुपमा डाक्टरको समूहले माग गरेको छ। राष्ट्रपतिलाई सम्बोधन गर्दै दिएको निवेदनमा विधेयक रोकिएको मौकाको फाइदा उठाई मेडिकल माफियालाई सहयोग पुगेकाले सूचना दिनुपर्ने माग गरिएको छ।
प्रधानमन्त्री देउवाले टोलीसँगकै छलफलका क्रममा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई फोन गर्दै काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न मेडिकल काउन्सिलमा पठाएको पत्र फिर्ता लिन निर्देशन दिएका थिए।