सरकारले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्बन्धी निर्देशन पूर्णपालना गर्ने प्रतिबद्धता जनाएको छ।
निर्वाचन आचारसंहिता सरकारबाटै उल्लंघन भइरहेको गुनासो आइरहँदा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगको निर्देशन पालना गरेर निर्वाचनको कामलाई प्रभावकारी बनाउन अझै दृढतापूर्वक लागि पर्ने प्रतिबद्धता जनाए।
बिहिबार काठमाडौंमा आयोजित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रचलित कानून, निर्वाचन आयोगका निर्णय पालना गरेर सरकार निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। मुख्य सचिव रेग्मीले निर्वाचनलाई सफल बनाउनु सरकार र निर्वाचन आयोग दुवैको साझा लक्ष्य भएको बताए। उनले निर्वाचन कार्य सम्पादनका क्रममा त्रुटि हुन गए सच्याउँदै अघि बढ्न पनि सबै कर्मचारीहरूलाई निर्देशन दिए।
मुख्य सचिव रेग्मीले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै स्रोत, साधन तथा व्यवस्थापकीय कामलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन भइरहेको स्पष्ट पारे। उनले निर्वाचन सम्पन्न गराउन सरकारको तर्फबाट कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
मुख्य सचिव रेग्मीले निर्वाचन सफल बनाउने दायित्व सरकारको भएकाले त्यसतर्फ आफूहरू सजग र सचेत भएर लागि परेको पनि उल्लेख गरे। आगामी मंसिर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।