नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार आफ्ना नेता कार्यकर्तालाई तुरुन्त विना सर्त रिहा गर्न माग गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोका इञ्चार्ज सुवासले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै राप्तीका विभिन्न ठाउँबाट गिरफ्तार भएका आफ्ना छ जना नेता कार्यकर्ताको विना सर्त रिहाइको माग गरेका छन्।
पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी (प्रयास)लाई रोल्पाको मिझिङबाट, रोल्पा जिल्ला इन्चार्ज दलबहादुर खत्री (जागृती)लाई रोल्पाको लिबाङबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ। माओवादी केन्द्रको प्रत्यक्ष उक्साहटमा ठूलो संख्यामा प्रहरी परिचालन गरि आफ्ना नेताहरू गिरफ्तार गरिएको भन्दै त्यसको निन्दा गरिएको छ।
त्यसैगरी, बिहिबार नै रोल्पा दुईखोली गाउँपालिका ५ इरिबाङमा शान्तिपूर्ण तरिकाले जनसभा गरिरहेको अवस्थामा माओवादी केन्द्रका व्यक्तिहरूले गुण्डागर्दी शैलीमा आक्रमण गरेको आरोप लगाइएको छ । उक्त आक्रमणबाट पदम चन्द, जयन्द्र बुढा, रोषण डाँगी लगायतका सर्वसाधारण जनता घाइते भएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, रुकुम जिल्लाबाट जिल्ला सदस्यहरू मोतिराम खड्का र दीपक विष्टलाई बाटोमा हिडिरहेको अवस्थामा विना कुनै कारण गिरफ्तार गरिएको उल्लेख गरिएको छ।
आफ्नो कामको सिलसिलामा काठमाडौं जान लागिरहेका रोल्पा माडी गाउँपालिका ३ तालाबाङका श्याम घर्ती र रामसिह घर्तीलाई सातदोबाटोमा पक्राउ गरिएको जानकारी दिइएको छ। राजनीतिक प्रतिशोधका कारण गाडीबाट नियन्त्रणमा लिएर झुठा मुद्दामा फसाउने षडयन्त्र रचिए त्यसको परिनाम गम्भीर हुने चेतावनी दिइएको छ।
विज्ञप्तिमा भनिएको छ– ‘शान्तिपूर्ण कार्यक्रममा भइरहेको चौतर्फी राज्य आतंक र दमनको हाम्रो पार्टीले घोर भत्र्सना गर्दछ, साथै सरकारी दमन तुरुन्त बन्द गर्न आग्रह गर्दछौं।’