नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले आसन्न निर्वाचनमा वाम गठबन्धनले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।
एमाले प्रदेश नम्बर ४ का संयोजक रहेका गुरुङले गृहजिल्ला तनहुँमा पत्रकार सम्मेलन गरी आफू मुख्यमन्त्री बन्न प्रदेशसभामा उम्मेदवारी दिएको बताए। प्रतिनिधि सभा सदस्यका लागि अवसर भए पनि प्रदेशमा मुख्य भूमिका निभाउन प्रदेशतर्फ चुनाव लड्न लागेको उनले पारे।
गुरुङले पत्रकार सम्मेलनमार्फत नै आफ्ना चुनावी एजेण्डा समेत सार्वजनिक गरेका छन्। पार्टीको सरकार बने पाँच वर्षभित्र प्रदेशका हरेक क्षेत्रमा शुद्ध पिउने पानी तथा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उनले बताए। गुरुङले आफ्नो क्षेत्रमा रहेका स्थानीय सडकहरूको स्तरोन्नती गर्ने योजना रहेको बताए।
श्रृंगपथको विस्तार, भीमकाली सडक तथा कृष्ण मार्गलाई स्तरोन्नती गर्ने, प्रदेशमा शत प्रतिशत साक्षरता पुर्याउने योजना रहेको उनले जानकारी दिए। गुरुङले तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत प्रदेशसभा दुईका लागि वामगठबन्धनबाट संयुक्त उम्मेदवारी दिएका हुन्।
गुरुङ २०४८ सालको आम निर्वाचनमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निवार्चित भएपछि उनी निरन्तर केन्द्रीय कमिटीमा छन् नवौं महाधिवेशनपछि स्थायी कमिटीमा छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ ३ बाट निर्वाचित उनी चुनावपछि बनेको सरकारमा वनमन्त्री भएका थिए। प्रदेश ४ मा पार्टी सचिव पृथ्वीसुब्वा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।