नेकपा माओबादी केन्द्रका नेता एवम् दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार कृष्णबहादुर महराले बाम गठबन्धन टुटाउन केही देशी विदेशी शक्ति लागेकाले सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनले बुधबार दाङको घोराहीमा गरेको संयुक्त प्रशीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीचमा बाम गठबन्धन बन्दा नेपाली कांग्रेसलाई टाउको दुखाइको विषय बन्नु आश्चर्यजनक रहेको उनले बताए। ‘बिचारधारा र सिद्धान्त मिल्ने शक्तिबीचको एकता स्वाभाविक हो र यसले देश र जनतालाई फाइदा हुन्छ भने किन कसैको टाउको दुख्नु पर्यो,’ विनाविभागीय मन्त्रीसमेत रहेका महराले भने।
अनावश्यक भ्रम फैलाएर बदनाम गराउन खोज्ने तत्व सक्रियपूर्वक लागेको हुँदा त्यसप्रति सजग रहन उनले कार्यकर्तालाई आग्रह गरे।
उनले कार्यकर्ता गाउँगाउँमा बाम गठबन्धनका एजेण्डा जनतालाई बुझाउनका लागि डटेरै लाग्न आग्रह गरेका थिए। यसैबीच उक्त प्रशीक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका नेता एवं दाङ २ नम्बर क्षेत्रको १ क्षेत्रबाट प्रदेशसभा सदस्यका उमेदवार शंकर पोख्रेलले बाम गठबन्धन मार्फत चुनावी तालमेलबाटै एउटै कम्युनिष्ट पार्टी बन्ने भएको हुँदा त्यसका कसैले शंका नगर्न आग्रह गरे। ‘वामपन्थिको मिलनबाट मात्रै मुलुकको सम्वृद्धि र दिगो सरकार निर्माण हुने देखेरै कांग्रेस र केही विदेशी शक्ति छटपटाएका छन्,’ नेता पोख्रेलले भने।
बाम शक्तिहरु मिलेकोमा कांग्रेस आत्तिनुपर्ने कुनै कारण नभएको भन्दै उनले बरू कांग्रेसले पनि सक्छ भने आफ्नो छुट्टै गठवन्धन गराउन तर्फ लाग्नु उत्तम हुने उनको धारणा थियो ।