निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरूलाई पुनः निर्देशन दिएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरूलाई सचेत गराएका हुन्।
निर्वाचनमा बालबालिकाहरूको प्रयोग भइरहेको गुनासो बढ्दै गइरहेका बेला बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा बालबालिकाहरूलाई प्रयोग हुन नदिन सजग र सचेत रहेको पनि स्पष्ट पारे। प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दलका शीर्ष नेतृत्वसँग पटक–पटक आग्रह गरिएको बताए।
प्रमुख निर्वाचन आयुक्त यादवले जिल्ला-जिल्लामा निर्वाचनमा बालबालिका प्रयोग नगर्न सरोकारवाला निकायलाई अभियान नै संचालन गर्न आह्वान गरे।
उनले सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर निर्वाचनमा बालबालिका प्रयोग नगर्न अभियाननै संचालन गर्ने व्यवस्था गरिएको बताए।
निर्वाचन आयोगले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिनेगरी विद्यालय र त्यसका अभिभावकसँग सम्बन्धित संघ संस्थासंग विभिन्न अभियान संचालन गर्न पटक–पटक आग्रह गर्दै आएको छ । निर्वाचन आचारसंहितामा पनि निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।