नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिँचाई मन्त्री दीपक गिरीले कम्यूनिष्टहरूले नेपाललाई उत्तर कोरिया बनाउने षडयन्त्र गरिरहेको हुँदा मतदातालाई सावधान रहन आग्रह गरेका छन्।
तुलसीपुरको बीपी चोकमा बुधबार आयोजित कांग्रेसको कोणसभालाई सम्बोधन गर्दै दाङको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता गिरीले कम्यूनिष्टहरूले अप्राकृतिक गठबन्धन गरेर नेपाललाई उत्तर कोरिया बनाउने षडयन्त्र गरेको हुँदा सम्पूर्ण मतदातालाई सावधान रहन आग्रह गरेका हुन् ।
‘वाम हैन उनीहरू कम्यूनिष्ट हुन् र उनीहरूले अधिनायकवाद ल्याउने षडयन्त्र गरिहेका छन् । त्यसैले सावधान हुनुहोस् ।’ नेता गिरीले भने । राणा,पञ्चायत लगायत जुनसुकै अधिनायकवादको अन्त्य कांग्रेसले गरेको स्मरण गर्दै नेता गिरीले कम्यूनिष्ट अधिनायकवादको अन्त्य गर्न तथा शान्ति र विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आह्वान गरेका थिए।
उनले दाङलाई प्रदेश नं. ५ को प्रदेश राजधानी बनाउन सधैँ अग्रसर रहने बताए । ‘मेरै पहलमा उच्च अदालत तुलसीपुरमा आएको हो र त्यसले प्रदेश प्रहरी प्रमुखको कार्यालय ल्याउन सहज भएको हो । अब कांग्रेसलाई जिताउनुहोस् , हामी तपाईलाई राजधानी दिनेछौँ ।’ गिरीले भने ।
उक्त कोणसभालाई श्रम तथा रोजगार राज्य मन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ (१)का लागि प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरी र ३ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार बुद्धिराम भण्डारी लगायतले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।
‘तपाईहरू हामीलाई मतदान गर्नुहोस्, हामी तपाईको शिर कहिल्यै निहुरिन दिने छैनौँ ।’ राज्य मन्त्री चौधरीले भने । बुधबारदेखि नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नं. ३ मा चुनावी प्रचारप्रसारको औपचारिक रुपमा थालनी गरेको छ।