इतिहासमा चुनावः श्रृंखला ३राणा शासन अन्त्य भएको ६७ वर्षपछि सातौँ पटक संसदीय चुनाव हुँदैछ। योभन्दा अघि दुईपटक संविधानसभा/संसदको चुनाव भएको थियो।
२००७ सालको क्रान्तिपछि राणा र कांग्रेसको संयुक्त सरकारले संविधानसभा चुनाव गर्ने भने पनि त्यो भएन। बरु ८ वर्षपछि संसदीय चुनाव भयो।
त्यो नै नेपालको पहिलो संसदीय चुनाव थियो।
६७ वर्षपछि नेपाली समाजका मुद्दा धेरै बदलिएका छन्। पार्टीका घोषणापत्रमा त्यो बेलाको समाजका मुद्दा प्रतिबिम्वित हुने गर्छन्। त्यो अर्थमा गम्भीरतापूर्वक तयार पारिएका घोषणापत्र तत्कालीन समाजको एेना पनि हुन्।
सेतोपाटीले सुरु गरेको 'इतिहासमा चुनाव शृंखला' अन्तर्गत यो शृंखलामा २०१५ सालमा नेपाली कांग्रेसले घोषणापत्रमा कस्ता मुद्दा उठाएको थियो हेरेका छौं। २०१५ साल भनेको स्वयम् बीपी कोइराला राजनितिक उत्कर्षमा रहेको समय हो। उनी आफैंले सो घोषणापत्र कति लेखे वा लेखनन् एकिन छैन, तर त्यसमा उनको छाप भने प्रशस्त छ— विषयवस्तु, शैली र भाषामा पनि।
०१५ सालमा काठमाडौं र मुलुकका अरु भाग जोड्ने एउटा मात्रै सडक थियो— त्रिभुवन राजपथ। जसले काठमाडौंलाई व्यापारिक नाका वीरगन्जसँग जोड्थ्यो। अरु कतै गाडी कुद्ने सडक थिएन।
अहिलेको राजनीतिक र आर्थिक चेतले हेर्ने हो भने त्यो बेला घोषणापत्रमा सडक पहिलो प्राथमिकतामा पर्नुपर्थ्यो। तर कांग्रेसको घोषणापत्रमा सडक निर्माण प्रमुख प्राथामिकतामा छैन। त्यो बेला कति नेपालीले गाडी कति चढ्थे होला, गाडी नै कति थिए होला!
प्राथमिकता क्रममा सडक र यातायात सातौँ स्थानमा थियो।
कांग्रेस घोषणापत्रको मुल प्राथमिकता गाउँ, किसान र भूमिको अधिकारजस्ता मुद्दा थिए। भूमिसुधारलाई कांग्रेसले प्रमुखताका साथ उठाएको थियो। कांग्रेसको मूल लक्ष्य समाजवाद स्थापना गर्नु भएको घोषणापत्रमा उल्लेख थियो।
'नेपाली कांग्रेस समाजवादी संस्था हो। यसको अन्तिम लक्ष्य यौटा यस्तो आदर्श व्यवस्था स्थापित गर्नु हो, जहाँ मनुष्यले मनुष्यको शोषण गर्ने छैन। धनदौलतको अभावमा उत्पन्न भएको साना ठूलाको भेद नेपाली कांग्रेस समाप्त गर्न चाहन्छ,’ घोषणापत्रले भन्छ।
विर्ताको राष्ट्रियकरण, रजौटा प्रथाको समाप्ति, जमिन्दारी प्रथाको उन्मुलन, जमिनको अधिकतम् सीमा निर्धारण एवम् हदबन्दीभन्दा माथिका जमिनको पुनर्वितरण जस्ता विषय घोषणापत्रमा किटानीका साथ परेका छन्।
दोस्रो प्राथामिकतामा भने उद्योगधन्दा एवं कलकारखानाको स्थापना थियो।
भूमिसुधारपछि मात्र कृषकको आयस्तर बढ्छ, किसान सम्पन्न भएपछि मात्र उद्योगधन्दाको विकास सम्भव छ भन्ने कांग्रेसको मान्यता थियो।
'जग्गामा आधारित हाम्रो अर्थ व्यवस्थामा नेपाली कांग्रेस सर्वप्रथम भूमिसुधारतर्फ ध्यान दिनु आवश्यक ठान्दछ। गाउँ र गाउँका किसान सम्पन्न भए मात्र उद्योगधन्दा पनि फैलने छन्,’ घोषणापत्रले भन्छ।
घोषणापत्रको तेस्रो शीर्षक मजदुर नीतिबारे थियो। चौँथो प्रशासन, पाँचौँ शिक्षित समुदाय एवं महिला वर्ग, छैँठौं धर्म, सातौँ शिक्षा स्वास्थ्य र यातायात, आठौँ न्याय, नवौँ भाषा र दशौँ वैदेशिक नीति थियो।
५७ वर्षको लामो अन्तरालमा नेपाली कांग्रेसको घोषणापत्र धेरै फेरिएको छ। २०७४ सालमा अाइपुग्दा विकास र आर्थिक सम्वृद्धि कांग्रेस र अरु पार्टीको घोषणापत्रको पहिलो मुद्दा बनेको छ।
यसपालि कांग्रेसले सम्वृद्धिको संकल्पका लागि मात्र उसले १० पन्ना खर्च गरेको छ।
यस श्रृंखलाका अन्य समाचारहरू:२०१५ सालको घोषणापत्रमा अरु राजनीतिक शक्तिको अालोचनामा कांग्रेस धेरै मितव्ययी र संयमित देखिएको छ। राणा शासन र 'प्रतिगामी शक्ति’को विरुद्ध उसले जम्मा एउटा अनुच्छेदमा दुई चार वाक्यमात्र खर्च गरेको छ। त्यतिबेला चुनावमा सहभागी हुन लागेका आफ्ना प्रतिस्पर्धीविरुद्ध उसको घोषणापत्रमा गाली भेटिदैन।
वाम गठबन्धनको दबाबमा परेको अहिलेको कांग्रेसको घोषणापत्र प्रतिस्पर्धीप्रति धेरै आक्रामक देखिएको छ। यसपालि त कांग्रेसले आफ्ना प्रतिस्पर्धी दल एमाले र माओवादीलाई गाली गर्न मात्रै चार पन्ना खर्च गरेको छ।
छ पन्ना लामो र १० शीर्षकमा लेखिएको कांग्रेसको २०१५ सालको घोषणापत्रको पूर्ण पाठ हामीले यहाँ प्रकाशित गरेका छौं।
***
नेपाली काँग्रेसको चुनाव घोषणापत्र (२०१५)देशमा पहिलोपटक हुन लागेको आमचुनावको महान अवसरमा नेपाली कांग्रेस देशका सम्पूर्ण बासिन्दालाई अभिवादन गर्दछ। खेतमा काम गर्ने किसान र खेताला, कारखानामा लागेका मजदुर उद्योग धन्दामा लागेका व्यापारी विभिन्न कारोबार र पेशामा लागेका अन्य नागरिक जंगी या निजामति तर्फका विभिन्न सरकारी कर्मचारी, आइमाइ, तरुण,विद्यार्थी, शिक्षित समुदाय,जमिन्दार, सन्तमहन्त, सुब्बा राई, थरि मुखिया जिम्मावाल धनी, गरिब सबैका समेतमा नेपाली कांग्रेस चुनावको आफ्नो सन्देश यसैपत्र द्वारा पठाउँदै छ।
वर्तमान युगका अनुसार नौलो शासन व्यवस्था स्थापित गर्नका निमित्त इच्छुक नेपाली जनताले २००७ सालको क्रान्तिका रुपमा एउटा ऐतिहासिक कदम लिएका थिए।
त्यस क्रान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्यो। निरंकुश राणा शासनले देशको उन्नतिका तमाम बाटा अवरुद्ध गरेको थियो। राष्ट्रिय निष्प्राण भएर सामान्ति बन्दोबस्तको अन्धकारमा डुबेको थियो तर राष्ट्र यसरी मर्दैन। २००७ सालको जनक्रान्तिका रुपमा राष्ट्रिय उन्नतिको भावनाले सामुहिक उत्घोषका रुपमा अभिव्यक्ति पायो। यस जनक्रान्तिले रुढिगत सामान्ति व्यवस्थाको आधारशिलाका रुपमा रहेको राणाशाहीलाई उखेली फ्याँक्यो। यसक्रान्तिको सिमित लक्ष्य वा तत्कालिक लक्ष्य विध्वंसात्मक थियो। यसअर्थमा यसले राणा व्यवस्थालाई समाप्त गरिदियो। त्यस क्रान्तिको महान लक्ष्य त्यतिमात्र थिएन। वस्तुत: केही आधारभूत राजनैतिक सामाजिक तथा आर्थिक परिवर्तन त्यस क्रान्तिको अभिष्ट थियो। आधुनिक समयका आवश्यकता अनुसार देशलाई उन्नतिको बाटोमा हिँडाउनु क्रान्तिको उद्देश्य थियो।
राणा शासनको समाप्ति अर्थात तात्कालिक लक्ष्य त २००७ सालमा तुरुन्तै प्राप्ति भयो, त्यस अनुकुल प्रजातन्त्रको विजारोपण पनि भयो भन्न सकिन्छ। तर चुनावका माध्यमबाट जनताको इच्छा अनुसार शासन व्यवस्था कायम हुने काम अझै हुन सकेको छैन। ८ वर्ष भनेको सानो समय होइन। तर हाम्रो राष्ट्रले जनताको इच्छा बमोजिम एउटै पनि ठोस कदम चाल्न सकेको छैन। यसबीच सरकारको गठनका मामलामा अनेकानेक प्रयोग भए। क्रान्ति पश्चात साधारणत: सबैजसो देश अनिश्चित वातावरणबाट गुज्रन्छन्।
झन् २००७ साल पछि भएको अनेकानेक प्रयोगले त देशको राजनितिक स्थिति झन् अनिश्चित हुन पुग्यो। यस्ता समयमा भ्रम उत्पन्न गराउन चाहने र प्रजातन्त्रको उपहास गर्न सिपालु प्रतिगामी तत्वले मनपरी गर्न निकै मौका पाए। त्यही पनि यो ८ वर्षको समय सित्तै खेर गयो भन्न सकिन्न। प्रतिगामी शक्तिहरुको षड्यन्त्र र चेष्टाका बावजुद प्रजातन्त्रले नेपाली जनताको हृदयमा जरो गाडिसकेको छ। अब नेपाल क्रान्तिपूर्वक दशामा कदापि फिर्न सक्दैन।
आज हाम्रा देशका जनताका अनुहारमा दरिद्रता र अज्ञानताको स्पष्ट छाप छ। हाम्रा नेपाली दाजु भाईका खानपिन, रहनसन लामो यातनाको कथा हुन पुगेको छ। अनेकानेक नदि नालाले सिञ्चित हाम्रो मुलुकमा मलिलो माटोको अभाव छैन। हामीसित हरिया भरिला जंगलहरु छन्। पहाडमा लाखौँका खानी छन्।
नदि र झरनामा लुकेर रहेको विद्युत शक्ति छ। नेपाली जातीको उद्यम र अनुसासनका उपर पनि आजसम्म कसैले शंका गर्न सकेको छैन। यति प्राकृतिक सम्पदा र सद्गुण हुँदा हुँदैपनि नेपाली समाज अझै दरिद्रता र अशिक्षा द्वारा पिडित छ। राष्ट्रले यस अवस्थाबाट हरहालतमा मुक्ति प्राप्त गर्न आवश्यक छ। वर्तमान आम चुनावले हामीलाई मुक्तिको महान अवसर प्रदान गरेको छ। चुनावद्वारा जनताले हाम्रो देशको प्राकृतिक उपलब्धिको समुचित व्यवस्था र उपभोग गर्न सक्ने राजनैतिक आर्थिक बन्दोबस्त स्थापित गर्नुपरेको छ। ठिक यसै अर्थमा आगामी चुनावको महत्व छ। चुनाव आज हाम्रा निमित्त राष्ट्रिय उत्थानको बाटो भएर हाम्रो अघि उपस्थित भएको छ।
नेपाली कांग्रेस समाजवादी संस्था हो। यसको अन्तिम लक्ष्य यौटा यस्तो आदर्श व्यवस्था स्थापित गर्नु हो, जहाँ मनुष्यले मनुष्यको शोषण गर्ने छैन। धनदौलतको अभावमा उत्पन्न भएको साना ठूलाको भेद नेपाली कांग्रेस समाप्त गर्न चाहन्छ। अरु पनि अनेकौँ थरिका सामाजिक अन्याय, असमानता देशमा व्याप्त छन्। ति सबै अन्याय र असमानतालाई समाप्त पारि पारस्पारिक मेल सद्भावना सहकारिताको आदर्शबाट प्रेरित एउटा ठूलो राष्ट्रका रुपमा हाम्रो वर्तमान समाजलाई पुर्नगठित गर्नु नेपाली कांग्रेसको ध्येय हो। यसै बाटोबाट राष्ट्रको बढीभन्दा बढी उन्नति हुन सक्छ। नेपाली कांग्रेसको समाजवादी व्यवस्थाको बाटो छोटो छैन। यस अवस्थामा देशले निकै लामो र कष्ट साध्य उकालो बाटो छिचोल्नु आवश्यक छ। तत्कालीन हाम्रो समाजमा समाजवादी लक्ष्य प्राप्त गर्ने साधन उपलब्ध छैनन् यी साधनलाई सुस्तरी सुस्तरी प्राप्त गर्दै प्रजातान्त्रिक पद्धतिद्धारा हामीले समाजवादका महान् लक्ष्यका तर्फ अग्रसर हुँदै जानु छ। नेपाली कांग्रेसले प्रथम आम चुनावमा सफललता पाएको खण्डमा सर्वप्रथम निम्न किसिमका कदम चाल्ने छ।
गाउँ, किसान र जग्गाजग्गामा आधारित हाम्रो अर्थ व्यवस्थामा नेपाली काँग्रेस सर्वप्रथम भूमीसुधार तर्फ ध्यान दिनु आवश्यक ठान्दछ। गाउँ र गाउँका किसान सम्पन्न भए मात्र उद्योग धन्दा पनि फैलने छन्। भूमि सुधार नगरी हामी नेपाललाई उन्नतीको बाटोमा लैजान सक्ने छैनौं। भूमि सुधारको मुख्यतः दुई स्वरुप हुनेछन्।
(क) भूमिबाट सामन्ती शोषण समाप्ति गरी किसान र खेतालाको अधिकार सुरक्षित राख्नु।
(ख) वैज्ञानिक तरिका र उपायलाई अपनाएर जग्गाको उत्पादन बढाउनु।
यदि जमिनबाट सामन्ती शोषण समाप्त गर्न सकिएन भने उत्पादका वैज्ञानिक पद्धतिले प्रधानता पाउन सक्ने छैन। राज्यको अधिनमा रहेका जग्गाहरुमा वैज्ञानिक खेतीको तरिका अपनाइने छ। त्यस वाहेक समाजलाई गतिशील बनाउन किसानका उपरको दवाव, अन्याय र अत्याचारलाई मनोवैज्ञानिक प्रेरणाका निमित्त पनि निमिट्यान्न पार्न बडो आवश्यक छ। तसर्थ यस दिशामा नेपाली काँग्रेसले निम्नलिखित कदम अविलम्ब चाल्ने छ।
१. जंगलको संरक्षणः जंगल हाम्रो देशको राष्ट्रिय सम्पति हो। हाम्रो जायदाद एवम् पूँजीको मुख्य अंग एक प्रकारले जंगल नै छ। जस्ता प्रकारले अचेल जंगल फाँडिदै छ, सो देशका निमित्त बडो घातक कुरा हो। नेपाली कांग्रेसले देशको जंगलको वैज्ञानिक व्यवस्था गर्नका लागि जंगलको राष्ट्रियकरण गर्ने छ। तर आम जनतालाई व्यवहारिक उपयोगका निमित्त आवश्यक खर, पात, दार दाउराको यथेष्ट सुविधा नेपाली कांग्रेसले प्रदान गर्ने छ। गाउँका छेउछाउका जंगलको व्यवस्था र इन्तजाम प्रचलित रीति नीतिलाई ध्यानमा राख्दै बनेका सरकारी नियम अनुकूल गाउँलले गर्ने छन्।
२. विर्ताको राष्ट्रियकरण हुने छ।
३. रजौटा प्रथाको समाप्ति।
४. जमिन्दारी प्रथाको उन्मुलन।
५. जमिनको अधिकतम सिमा निर्धारण एवम् हदबन्दी भन्दा माथिका जमिनको पुनुर्वितरण।
६. जंगल बाहेक अरु खालका भूमिसम्पतिमा पुनर्वितरण गर्दा क्षतिपूर्ति दिने कुरा नेपाली कांग्रेसले सिद्धान्ततः स्वीकार गरिसकेको छ। क्षतिपूर्तिका रकम कति हुनेछ भन्ने कुरामा अथवा जमिनको हदबन्दी कति हुनेछ भन्ने विषयमा सरकारले संसदीय प्रणालीका अनुकूल विशेषज्ञहरुको सल्लाह लिने छ। त्यस्तै सल्लाह अनुरुप सरकारले निर्णय गरी यस दिशामा काम गरिने छ।
७. सरकारले सहकारी खेतीलाई प्रोत्साहित गर्ने छ। सरकारी मद्दतले जमिनका साना साना टुक्रालाई कित्ताबन्दी गरी किसानहरुलाई आपसमा सहयोग र सहकार्य गरी वैज्ञानिक किसिमबाट खेती गराउने व्यवस्था गराउने छ।
८. जिल्ला जिल्लामा सरकारी प्ररेणा र सहयताले कृषि अथवा अन्नकोषको निर्माण गरी गरीब किसानलाई सस्तो व्याजमा कर्जा दिने व्यवस्था सरकारले मिलाउने छ। यस्ता बैंक या कोषको साधारण नियम सरकारले बनाउने छ। तर यी बैंकलाई चलाउने मुख्य जिम्मेदारी स्थानीय जनताको प्रतिनिधिको हुनेछन्। यिनै स्थानीय प्रतिनिधि द्वारा बैंकको नीति निर्धारण हुने छ।
९. सरकारले असल विउ तथा मलको वितरणको व्यवस्था मिलाउने छ एवम् ठाउँ ठाउँमा आदर्श खेतीको प्रर्दशन गरिने छ।
१०. देशमा पटक पटक परिरहने सुख्खा र अनिकालको डर हटाउन बाँध पानीको राम्रो बन्दोबस्त अविलम्ब मिलाइने छ। आजसम्म बनेका प्रयोगधर्मी सरकारहरुले यस दिशामा शुन्यप्राय: कदम लिएका छन्। नेपाली कांग्रेसले यसलाई प्राथमिकता दिने छ। यो बाँध कुलोको व्यवस्था र योजना पनि सरकारले नाम मात्रको निरीक्षणमा स्थानीय जनताको हातमा रहने छ। प्रत्येक जिल्लाका निमित्त आवश्यक निश्चित आर्थिक सहायता सरकारले तुरुन्त दिने बन्दोबस्त मिलाउने छ।
११. गाउँको उन्नति नै देशको उन्नति हो। यस सत्यलाई कार्यान्वयन गर्न देशका प्रत्येक गाउँलाई संगठित बनाउन एवम् सुधार्न नेपाली कांग्रेसले ठोस कदम लिने छ। आज नेपाली कांग्रेसको नारा गाउँ सपार र गाउँ फर्क हुन गएको छ। माथिका विभिन्न भूमिसुधारका योजनालाई क्रियान्वित गरिने वास्तविक थलो गाउँ नै भएको हुँदा नेपाली कांग्रेसले ग्रामीण संगठनलाई प्रजातान्त्रिक एवम् सुदृढ बनाउन आफ्नो पुरा तागत लगाउने छ। नेपाली कांग्रेसले शासनको विकेन्द्रिकरणको निमित्त गाउँलाई आधार बनाई आफ्नो कार्यक्रम बनाउने छ।
१२. गाउँका वेकार जनतालाई नेपाली कांग्रेसले भूमिसेनाका रुपमा संगठित गर्ने छ। यस भूमि सेनाले कुलो, बाँध, सडक तथा बाँझो जग्गालाई आवाद गर्नका निमित्त विशेष परिश्रम गर्नेछ। यस सम्बन्धमा प्रशिक्षण प्राप्त भूतपूर्व सैनिकहरुबाट सहयोग लिनका निमित्त विशेष कोशिश गरिने छ।
१३. घरबारहीन किसानलाई बसोवासको व्यवस्था। पहिल्यै आवाद भएका तर हाल पर्ति परेको जग्गा, लाभ नहुने जंगल फांडेर बनाएको जग्गा र हदवन्दी भन्दा माथिका जग्गा, जग्गाविहीन किसानहरुलाई प्राथमिकता दिएर बाँडिने छ। जग्गा आवाद गर्न आवश्यक ऋणको प्रबन्ध पनि सहकारी समितिको मार्फतबाट सरकारले नै गर्नेछ।
उद्योग धन्दा एवम् कलकाखारनाराष्ट्रको सम्पन्नता उद्योग धन्दाको विस्तारमा नै निर्भर गर्छ। यस पटकको चुनावमा नेपाली कांग्रेसले भूमिसुधार, भूमिको उत्पादनमा वृद्धि र ग्रामिण सुधारलाई प्राथमिकता दिएको छ तापनि व्यापार र उद्योग धन्दापट्टी पनि नेपाली काँग्रेसले ध्यान दिएको छ। आजसम्मको अनिश्चित सरकारी नीति र विरोधी कारबाहीका कारणले उद्योग धन्दालाई ठुलो नोक्सान पुगेको छ। व्यापारी र उद्योगपति दुइटैलाई कुनै प्रकारको सहयोग र उत्साहित गर्ने प्रेरणा आजसम्मका सरकारले दिएका छैनन्। नेपाली कांग्रेसलाई दृढ विश्वास छ कि सरकार बनाउन पाएमा यसमा भएका त्रृटिपुर्ण कारबाहीमा सुधार ल्याएर नेपाली कांग्रेसले शीघ्रातिशीघ्र उद्योगधन्दा र व्यापारमा विकासका लागि आवश्यक वातावरणको सृष्टि गर्ने छ।
१. मुद्रामा वैज्ञानिक ढंगबाट सुधार र दृढता। यस दिशापट्टिको आज सम्मको प्रयोग असन्तुलित एवम् अवैज्ञानिक छ। देशमा राष्ट्रिय मुद्राको मात्र प्रचलनको लक्ष्य नेपाली कांग्रेसले राखेको छ।
२. व्यापार सम्बन्धको सुनिश्चित नीति।
३. द्रुत गतिबाट औद्योगीकरण गर्न नेपाली कांग्रेसले उद्योग धन्दाको विस्तारका निमित्त तीन किसिमको स्तरको कल्पना गर्दछ।
(क) साना साना ग्रामीण तथा घरेलु उद्योधन्दा।
(ख) मझौला उद्योगधन्दा।
(ग) धेरै पूँजीबाट सञ्चालित हुने आधारभूत उद्योगधन्दा।
४. (क) नेपालमा पूँजीको अभाव भएको र गाउँको उन्नतिको नेपाली कांग्रेसको परिकल्पना भएको हुँदा साना साना र घरेलु उद्योगधन्दा एवम् कलकरखानापट्टि नेपाली कांग्रेसको ध्यान गएको छ। घरेलु उद्योगबाट राष्ट्रिय आवश्यकताको पूर्तिको निमित्त जति सामग्री उत्पादित हुन सक्छ, त्यसको निम्ति राष्ट्र, घरेलु उद्योगधन्दामा नै निर्भर हुन सकोस् एवम् यथासम्भव यी सवै वस्तुको निम्ति परामुखापेक्षी नरहोस् भन्ने नेपाली कांग्रेसको विचार छ। यस प्रकारको घरेलु उद्योग धन्दामा सहकारिताको सिद्धान्तलाई प्रागमिकता दिइने छ।
(ख) व्यक्तिगत पूँजीको संरक्षणको जिम्मेदारी सरकारले लिने छ। मझौला खाले उद्योगधन्दाको विकासको मुख्य जिम्मेदारी व्यक्तिगत पुँजीपतिहरुको हातमा नै रहने छ। यस स्तरमा हुने औद्योगिक विकास कार्यका निम्ति सरकारद्धारा मद्दत पूँजीपतिहरुले पाउनेछन्।
(ग) ठुला ठुला उद्योगधन्दा र आधारमुलक उद्योगको प्राथमिक जिम्मेदारी सरकारकै हुनेछ। यस निम्ति विदेशबाट पूँजी झिकाउने व्यवस्था पनि सरकारले गर्ने छ। नेपाली कांग्रेस विदेशी सरकार र अन्तराष्ट्रिय संस्थाहरुबाट ऋण लिने विचारको विरोधी छैन। विदेशी पूँजीलाई प्रश्रय दिइनेछ तर उक्त पूँजीले सरकारी नियमको पूर्ण मर्यादामा रहनु पर्नेछ।
अहिले चालु भैरहेका निर्माण एवम् विकास कार्यहरुको सम्पादनमा अहिले बढी शिथिलता छ। त्यसलाई हटाएर प्रशासन यन्त्रको सुधारद्वारा ती कामलाई टुंग्याइने छ।
मजदूर नीतिकल कारखानामा काम गर्ने मजदूर वर्गको कल्याणको निमित्त तथा उनीहरु एवम् कल कारखानाका मालिकहरुकोबीचको सम्वन्धलाई राम्रो बनाउन गतिलो मजदूर ऐन पास गर्ने निश्चय नेपाली काँग्रेसले गरेको छ।
प्रशासनवर्तमान प्रशासन यन्त्र अत्यन्त ढिलो र अवैज्ञानिक छ। सरकारी कामहरुमा यसै कारणले बाधा उत्पन्न भएको अनुभव सवैले गरेका छन्। जनताको परेशवानी बढेको छ। अतएव जुन उदेश्य र कार्यक्रमलाई लिएर नेपाली काँग्रेसले सरकार बनाउने छ, त्यसलाई कार्यन्वित गर्न सकिने लायकको सुधार प्रशासन यन्त्र नेपाली काँग्रेसले ल्याउने छ।
१. प्रशासन यन्त्रको भ्रष्टाचार एवम् अदालतहरुमा व्यापक रुपमा फैलिएको घुसखोरीबाट जनता पीडित छन्। प्रशासन यन्त्र जनताको भलाई निमित्त हो। थर जनताको शोषण गर्नको निमित्त यसको उपयोग भइरहेको छ। शासन भार लिने वित्तिकै घूसखोरी एवम् भष्टाचारलाई नेपाली काँग्रेसले निर्मूल पारिने छ। भ्रष्ट कर्मचारीलाई कडा सजाय र इमान्दार एवम् कर्तव्यपरायण कर्मचारीलाई कदर गर्ने नेपाली काँग्रेसको सरकारले प्रतिज्ञा गदैछ।
२. प्रशासनिक यन्त्रमा वैज्ञानिक ढंगले सुधार। योग्य तथा इमान्दार कर्मचारीहरुको नियुक्ति र कदर गर्नु सरकारी कर्मचारी सेवाको संरक्षण गर्नु सरकारको जिम्मेदारी हुने छ।
३. प्रशासनको विकेन्द्रिकरणः अहिले प्रशासन यन्त्रको ठुलो शिथिलता छ। यसले गर्दा सरकारी काममा विध्न वाधा परिरहन्छ। त्यसलाई हटाउन एवम् साथै प्रजातन्त्रको सिद्धान्तलाई स्थानी जनताको व्यवहारको वस्तु बनाउन निम्ति नेपाली काँग्रेसले शासन व्यवस्थामा विकेन्द्रीकरणको सिद्धान्तको प्रयोग गरी समुचित सुधार गर्ने छ। गाउँ सुधारसहित सम्वन्धित परिच्छेदमा गाउँलाई नै शासन यन्त्रको सवैभन्दा तल्लो खुड्किलो बनाउन कुरो बताइसकिएकै छ। जिल्लाको व्यवस्थाको निम्ति स्थानीय जनताका प्रतिनिधिहरुको कमिटी बनाइने छ र विभिन्न कामको जिम्मेदारी तिनै कमिटीलाई सुम्पिने छ।
स्थानीय निर्माण कार्य, बाधँ कुलो आदिको व्यवस्था कृषि बैंकको जिम्मेदारी शिक्षण संस्था एंम अस्पताल आदिको सञ्चालन, यातायात प्रविधि कार्य जिल्लाका प्रतिनिधिहरुको कमिटीले गर्ने छ। प्रारम्भमा सरकारको रेखदेखको व्यवस्था हुनेछ, पछि सुस्त सुस्त सम्पुर्ण जिम्मेदारी जिल्लाका प्रतिनिधिहरुमाथि नै रहनेछ। यी सवै कामको व्यवस्थाका लागि जिल्लाबाट हुने आम्दानीको रकमको निश्चित भाग छुट्याइने छ। जुन जिल्लामा जिल्लाको आम्दानी अपर्याप्त हुन्छ, त्यस जिल्लामा केन्द्रबाट आर्थिक मद्धत पुर्याईने छ। विभिन्न क्षेत्रका सविशेष स्थानीय समस्यको जिम्मेदारी त्यस क्षेत्रका जनताकै हातमा रहनेछ। किपटको सम्वन्धमा किपटीहरु र स्थानीय जनताको राय सल्लाह एवं माग नभै कुनै प्रकारको वाधा वा विरोध हुन दिइने छैन।
शिक्षित समुदाय एवं महिला वर्ग१. देश निर्माणको योजना सम्पादित गर्न नेपाली काँग्रेस खास गरेर शिक्षित समुदायबाट सहयोग प्राप्त गर्ने आशा राख्दछ। अहिले निर्वाचनमा मात्र हैन, निर्वाचन पछि शासन व्यवस्था र निर्माण कार्यमा शिक्षित समुदायले ठुलो जिम्मेदारी वहन गर्नु छ। अतः नेपाली काँग्रेसले उनीहरुको सरकारी स्तरमा सहयोग लिनेछ एवं उनीहरुको वौद्धिक स्वतन्त्रताको पनि रक्षा गर्नेछ।
२. सरकारद्धारा गरिने प्रत्येक कार्यमा राष्ट्रिय दृष्टिकोण अपनाएर देशका प्रत्येक जनतालाई समान अवसर र अधिकार उपलब्ध गराइने छ। सरकारी नियुक्तिमा छात्रवृ ित्त दिदा एवं अन्य यस प्रकारका कार्यमा यस समय अपनाइएको पक्षपातपुर्ण नीतिलाई पूर्णतः वहिष्कार गरेर नेपाली काँग्रेसले राष्ट्रिय दृष्टिकोण राख्नेछ। महिला र पिछडिएका वर्गका सवै अधिकारको संरक्षण हुनेछ। एवम् शिक्षाद्धारा तिनको वौद्धिक विकास गराउने विशेष व्यवस्था गरिने छ।
धर्मधर्मको सम्वन्धमा हाम्रो नीति स्पष्ट छ। देशमा धेरै थरि धर्म मान्ने मानिस छन्। नेपाली काँग्रेस यिनको साझा सरकार हुनेछ। अतः सरकारले प्रत्येक धर्म मान्नेलाई आफ्नो अन्तरात्माको विश्वासको धर्म एवम् विधि विधान मान्ने र त्यस अनुसार उपासना गर्न पुर्ण स्वतन्त्रता दिनु पर्छ। सवै धर्मावलम्वीहरुलाई आफ्नो अन्तरात्माको विश्वासको धर्मको विधि विधान मान्ने र त्यसमा हिड्न दिने ग्यारेन्टी नेपाली काँग्रेस दिन्छ। कसैले कसैको धर्ममा वाधा दिन खोज्छ भने सुरक्षाका निम्ति पार्टीले आफ्नो सम्पुर्ण शक्ति लगाउने विश्वास दिलाउँछ। नेपाली काँग्रेसलाई आफ्नो संस्कृति प्यारो छ,र हाम्रो महान् संस्कृतिको आधारशिला नै आधुनिक नयाँ प्रगतिशील समाजको निर्माण गर्न हामी चाहान्छौं।
शिक्षा, स्वास्थ्य एवं यातायात
नेपाली काँग्रेस शिक्षा, स्वास्थ्य एवम् यातायातको व्यवस्थाको सर्वप्रथम आवश्यकता सम्झिन्छ। अतः शिक्षा एवम् स्वास्थ्यको व्यापक व्यवस्था, यातायातको समुचित विकास एवम् संचारको राम्रो प्रवन्ध गर्न नेपाल काँग्रेसल् आफ्नो सम्पुर्ण तागत लगाउने छ।
न्यायनेपालमा न्याय प्रशासन सर्वसाधारणको लागि सजिलो, सस्तो, निष्पक्ष र सुलभ गराउने व्यवस्था हुनेछ।
भाषानेपालको राष्ट्रभाषा नेपाली हुने छ। देशका अन्य क्षेत्रीय भाषाहरुको रक्षा एवम् संवद्र्धन नेपाली काँग्रेसको सरकारले गर्ने छ। क्षेत्रीय भाषाले आ आफ्नो क्षेत्रमा प्रमुखता पाउनेछ।
वैदेशिक नीतिनेपाली काँग्रेसको विदेश नीति सवै राष्ट्रसित समानताको आधारमा मित्रता गर्नु हुने छ। नेपाली काँग्रेस कुनै पनि सामरिक गुटमा लाग्ने छैन। संयुक्त राष्ट्र संघको आफ्नो सदस्यताको सदुपयोग नेपालले शान्ति प्राप्तिको गर्नका निमित्त गर्ने छ। नेपाली काँग्रेस आफ्ना महान छिमेकी राष्ट्रहरुसित पूर्ण मित्रता राख्ने छ।
जय नेपाल।