आगामी मंसिर १० गते हुने निर्वाचनको मिति नजिँकिएसँगै बागलुङका उम्मेदवारहरू अहिले मतदाताका घरदैलोमा आफ्ना चुनावी अभियानसँगै व्यस्त देखिन्छन्।
उनीहरूले आफ्नो पक्षमा मतदाताहरूलाई प्रभाव पार्ने खालका प्रचार शैली अपनाउन थालेका छन्। वाम र प्रजातान्त्रिक गठबन्धनका बीचमा हुने चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला ?अहिले अनुमान गर्न भने सकिँदैन।
एमाले, राजमो र माओवादी केन्द्र मिलेर बामपन्थी प्यानल खडा गरेका छन् भने नेपाली कांग्रेसलाई राप्रपाले साथ दिने भएपछि चुनाव कसको कोल्टामा जाँला? भन्ने कुरा महत्वका साथ हेरिएको छ।
वाम गठबन्धनका उम्मेद्वाहरूले चुनावी अभियान समूहगत रुपमा विभिन्न ठाउँमा गरिरहेका छन् । नेपाली कांग्रेसले पनि चुनावी प्रचार अभियानलाई गाउँ— गाउँ र विभिन्न भातृ तथा शुभेच्छुक संगठन परिचालन समिति गठन गरी चुनावी प्रचारलाई तीव्रता दिएका छन् । प्राय: सबैजसो दलका उम्मेद्वारहरूले आफ्ना घोषणा पत्र तयार गरी मतदाताका घरदैलोमा पुगिरहेका छन् ।
विभिन्न उम्मेद्वारहरू चुनावी झण्डा लिएर गाउँ घरमा पुग्दा मतदाता भने आफ्नो खेतीपातीमा नै व्यस्त भइरहेको देखिन्छन्। उम्मेदवारहरू खेतबारीमा नै पुगेर उनीहरूले मतदातालाई सघाउँदै चुनावी प्रचार गरेका छन् । कात्तिक महिना अन्नबाली भित्र्याउने भएको हुनाले खेत बारीमा पनि चुनावी चर्चा नहुने होइन, हुन्छ नै । किनकी उम्मेद्वार पनि खेत बारीमा पुग्ने गरेका छन्।
काम गरिरहेका स्थानीयसँग नमस्कार ठोक्छन् अनि भोट माग्छन, नभए एकैछिन भएपनि पाखुरो साट्छन् । खासगरी केही उम्मेद्वारहरू मतदाताहरूलाई घरमा नभेटे खेत बारीमा भेट्छन् । त्यही भेटेर भोट माग्ने औपचारिकता पूरा गर्छन्। प्रायः यहाँका सबै स्थानीयलाई खेतीपाती स्याहार्न भ्याई नभ्याई छ । खेतमा धान पाकेको छ । बारीमा कोदो । घरमा दाँई हाल्ने चटारो पनि उस्तै छ।
यही समयमा निर्वाचनको चर्चा परिचर्चा भन्दा पनि खेतीपातीको चिन्ता बढी छ । चुनावको कार्यतालिका र घोषणापत्र सार्वजनिक गरी चुनावी कार्यक्रम गर्न उम्मेद्वारहरू पनि घरदैलौ र खेत, बारी सबै ठाउँमा पुग्ने गरेको देखिन्छ।
बागलुङमामा कांग्रेसका उम्मेदवार क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फ सहकारी तथा गरिबी निवारण मन्त्री चम्पा देवी खड्का, क्षेत्र नं. २ मा पूर्व सांसद नरबहादुर पुन निरज रहेका छन् भने वामपन्थी गठबन्धनको तर्फबाट एमालेका सूर्य पाठक र माओवादी केन्द्रका देवेन्द्र पौडेल रहेका छन्।
त्यसैगरी, क्षेत्र नं. १ (१) मा कांग्रेसको तर्फबाट,पार्टी सभापति दिपेन्द्र बहादुर थापा प्रदेश २ बाट निवर्तमान सांसद प्रकाश शर्मा पौडेल रहेका छन् भने वामपन्थीको तर्फबाट एमालेका ईन्द्रलाल सापकोटा र राजमोका कृष्ण थापा रहेका छन्। क्षेत्र नं. २ (१) का कांग्रेसका युवा नेता मञ्जेशबम मल्ल रहेका छन् भने प्रदेश २ मा जित शेरचन रहेका छन् वामपन्थी गठबन्धनको तर्फबाट माओवादीका चन्द्र बहादुर बुढा सागर र राजमोका टेकबहादुर घर्ती रहेका छन् । जिल्लामा मुख्य गरी वाम गठबन्धन र नेपाली कांग्रेस बीचनै प्रतिस्पर्धा देखिएको छ ।