नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत र चीनसँगको नेपालको सम्बन्ध क्षणिक रुपमा कसैले बिगार्न खोजेपनि नबिग्रने दाबी गरेका छन्।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्र सार्वजनिक गर्दै ओलीले कतिपयले असझदारी ल्याउन खोजेपनि नबिग्रने बताए। ‘म स्पष्ट भन्न चाहान्छु हाम्रा छिमेकी भारत र चीनसँग हाम्रो सम्बन्ध कसैले क्षणिक साना स्वार्थका लागि बिगार्न खोजेपनि त्यो बिग्रन सक्दैन’, ओलीले भने, ‘दुइवटै देशहरू हामी भन्दा ठूला देश छन्। उनीहरूको सम्बन्ध हाम्रा निम्ती महत्वपूर्ण छन्। कतिपयले समय समयमा असमझदारी ल्याउन खोज्छन् । ‘ओलीले नेपालले सन्तुलित छिमेक सम्बन्ध राख्ने उल्लेख गर्दै कतैपनि नढल्कने बताए।
‘छिमेकीहरूको सम्बन्ध यथार्थ धरातलमा सुदृढ हुन्छ। हामीले एक अर्काका संवेदनशीलताहरूलाई बुझेका छौँ’, ओलीले भने, ‘यस भेगका चासो र जटिलता हामी बुझ्छौँ र त्यसलाई सम्बोधन पनि गर्छौँ।’ उनले नेपाल एउटा वा अर्कोको पक्षमा नभई शान्तिको पक्षमा रहेको बताए।
सार्कले अहिले काम गर्न नसकेको उल्लेख गर्दै उनले ‘रिएक्टिभेट’ गर्ने बताए। ‘हामी सार्क अध्यक्षमा छौँ। सार्क अप्ठेरोमा परेको छ। निर्वाचनपछि नेपालले हाम्रो क्षेत्रमा दक्षिण एसियामा बनिसकेको संगठनलाई ‘पुर्नताजगी’ दिने त्यसलाइ रिभाइटलाइज गर्ने र रि एक्टिभेट गर्ने, तनाव हटाउने र पारस्परिक सहयोग बढाउने मञ्चको रुपमा पुन सदुपयोग गरेर अगाडि बढाउने छौँ।‘ उनले सार्क क्षेत्रमा सबन्ध बिग्रिएपछि बिग्रिरहोस् भन्ने पक्षमा नेपाल नरहेको बताए। ‘हामी टेन्सनको पक्षमा छैनौँ। कहाँ सम्बन्ध बिग्रियो बिग्रिरहोस् भन्ने पक्षमा छैनौँ। हामी सम्बन्धहरूलाई सुधार्ने पक्षमा छौँ।
सार्क अध्यक्षको हैसियतको जे भूमिका खेल्नुपर्थ्यो, अहिले भूमिका खेलिरहेको छैन। भूमिका खेल्नुपर्छ। संवाद आदिको बाटोबाट रिजनल कोअपरेशन, दुई छिमेकीका बीचमा र हाम्रो क्षेत्रमा कहिले कहिले अप्ठेरो अवस्थामा सहजकर्ताको भूमिका खेल्नुपर्ने हुनसक्छ।
एमाले र माओवादी मिल्दा पैताला बजार्ने, कपाल लुछ्ने किन?ओलीले वामपन्थी गठबन्धन हुँदा लोकतन्त्र समाप्त हुने भयावह चित्रण गरिएको बताए। ओलीले वामपन्थी गठबन्धनको लोकतन्त्रप्रतिको निष्ठामा आशंका र भ्रम फिजाउँने चेष्टा गरिएको बताए।
२०६४ को निर्वाचनपछि माओवादी नेतृत्वको सरकारमा एमाले हुँदा कुनै ‘कोकोहल’ नमच्चिएको उदाहरण ओलीले प्रस्तुत गरे। ‘७२ पछि एमालेको सरकारमा माओवादी थियो, कोकोहोलो मच्चिएको थिएन’, ओलीले भने, ‘कांग्रेस र माओवादी सरकारमा थियो। निर्वाचन गरायो। हामी प्रतिपक्षमा थियौँ। रुवाबासी त थिएन। ‘उनले एमाले र माओवादी मिल्दा लोकतन्त्र समाप्त हुने भए के झगडा गर्दा बलियो हुन्छ? भन्दै प्रश्न गरे।
‘एमाले र माओवादी मिल्दा पैताला बजार्ने, कपाल लुछ्ने किन यो? ’, ओलीले भने, ‘मिल्दा लोकतन्त्र समाप्त हुन लाग्यो रे। के झगडा गर्दा लोकतन्त्र हुन्छ। ‘उनले लोकतान्त्रिक प्रणालीलाइ सुदृढ गर्ने प्रक्रियामा आफूहरू रहेको बताए।