सल्यानमा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारको विरुद्ध सल्यानमा बागी उम्मेदवारी परेको छ।
टिकट वितरणप्रति तीव्र असन्तुष्टि जनाउँदै माओवादीका नेताहरूले वाम गठबन्धनका विरुद्ध सल्यानमा बागी उम्मेदवारी दिएका छन्। यसरी स्वतन्त्र हैसियतमा चुनावी प्रतिस्पर्धाका लागि चुनावी मैदानमा उत्रनेहरूमा प्रतिनिधिसभातर्फ पूर्व सांसद उमाकान्त शर्मा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा पोलिट ब्यूरो सदस्य भीमप्रकाश शर्मा र २ मा जीतबहादुर पुन स्वतन्त्र उम्मेदवारका रुपमा वाम गठबन्धनकै विरुद्ध मैदानमा उत्रिएका छन्।
उनीहरूले माओवादीको आधिकारिक उम्मेदवार आफूहरू नै भएको दाबी गर्दै आएका छन् । यहाँ वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका लागि माओवादीका विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत र प्रदेश सभा सदस्य पदका लागि १ मा एमालेका केन्द्रीय सदस्य गुलावजंग शाह र २ मापनि एमालेकै पोलिट व्यूरो सदस्य प्रकाश ज्वाला चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट सल्यानमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्रबहादुर शाहले सल्यानमा वाम गठबन्धनका उम्मेदवारको विरुद्धमा माओवादीको सबै उम्मेदवारी परेको फाइदा कांग्रेसले उठाउने दाबी गरे । ‘उनीहरू आपसमा लड्छन् र त्यसको फाइदा कांग्रेसले लिन्छ ।’ शाहले सेतोपाटीलाई भने ।
वाम गठबन्धनका विरुद्ध सबै बागी उम्मेदवारी परेको हुँदा कांग्रेस उनीहरूको लडाइलाई अवसरको रुपमा सदुपयोग गर्ने दाउमा रहेको उनले बताए । दाङसँग सीमाना जोडिएको जिल्ला सल्यान प्रदेश नं. ६ मा पर्छ । तर, व्यापार र व्यवसाय गर्नका लागि ठूलो संख्यामा त्यहाँका मतदाता दाङमै बस्दै आएका छन् । अहिले पनि अधिकांशको एउटा घर सल्यानमा र अर्को घर दाङमा रहेकोले आफू दाङको तुलसीपुरमा आएर प्रचार प्रसार गरेको उनले बताए ।
त्यस्तै, पश्चिम सल्यानका मानिसहरू व्यापारको सिलसिलामा बाँकेको कोहलपुर क्षेत्रमा बस्ने हुँदा मंगलबार आफू कोहलपुरमा चुनाव प्रसारको लागि पुगेको शाहले बताए ।