मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले विप्लवले निर्वाचन विथोल्ने कुनैपनि गतिविधि गरे जनताले क्षमा नगर्ने बताएका छन्। मानव अधिकार तथा शान्ति समाज दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको नागरिक सेतु कार्यक्रमलाई सम्वोधन गर्दै संस्थापक सभापति पहाडीले चुनाव विथोल्नेलाई नेपाली जनताले माफ नगर्ने बताएका हुन्।
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले स्थानीय तहका तीनवटा निर्वाचन बहिस्कार भन्दै विथोल्ने प्रयास गरेता पनि जनताले त्यो सार्थक तुल्याएको हुँदा समेत यसवाट विप्लवले पाठ सिक्न आवश्यक रहेको उनको धारणा थियो।
‘निर्वाचन आयोगले बक्सा मात्रै थाप्ने हो, नागरिकले नै त्यो सफल तुल्याएका हुन’, पहाडीले भने ‘लोकतन्त्रका पक्षपाती नेपाली जनताको विपक्षमा जान खोज्दा विप्लवले ठूलो मुल्य चुकाउनु पर्नेछ ।’
उनले निर्वाचन पछि विप्लवलाई पनि लोकतन्त्रिक मुल्य र मान्यता विपरित नहुने गरि सहमति मार्फत राजनीतिक मुलधारमा ल्याउन आवश्यक रहेको बताए। त्यस्तै पहाडीले प्रचण्डका लागि यो समय हिजो भएका ज्याजति सच्याउने वा दोहर्याउदिन भन्नका लागि जनतामा जाने उपयुक्त समय भएको बताए।
‘कब्जा सम्पत्ति फिर्ता नगर्ने हो र गल्तिहरु न सच्याउने हो भने अबका दिन प्रचण्डका लागि आत्मघाती सावित हुनेछन्।’ पहाडीले भने । कुनैपनि प्रकारका अतिवादलाई नागरिकले परास्त गर्दै आएकोले समयमै सच्चिन उनले आग्रह गरेका छन्।
राप्रपा जस्तो प्रजातान्त्रिक दलले आफै संविधानको सपथ खाने र आफै त्यही संविधानका विरुद्ध असन बस्ने गरेर ठट्टा गरेको उनको टिप्पणी थियो।‘ गणतन्त्र मान्छु भन्दै संविधानको सपथ खाने र अहिले पनि राजाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिकता उदांगो भएको छ।’ पहाडीले भने। निर्वाचनमा कुन दल र जित्छ वा हार्छ त्यो आफूहरुको सरोकारको विषय नभएको भन्दै तर लोकतन्त्र र नागरिकले जित्नु पर्ने बताए ।
लोकतन्त्रको वकालत गर्ने दलहरुले मनाङ र काभ्रेमा डनहरुलाई उमेदवार बनाउनु ठूलो दुर्भाग्य भएको उनले बताए।
विपरित धुर्वमा हिडेका दलहरु एक ठाउँमा आउँदा २०४६ सालको जन आन्दोलन र २०६३/०६३को जनआन्दोलन सफल भएको भन्दै उनले हाल वन्दै गरेको गठवन्धनलाई अनावश्यक रुपमा तन्काएर दुरी बढाउदा भविष्यमा दुर्घटना हुन सक्ने उनले आशंका व्यत्त गरे। पहाडीले जनताको स्वाभिमानको सदैव रक्षागर्न दलहरु तल्लिन हुनुपर्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले काँग्रेस मानव अधिकार, प्रेस स्वतन्त्रता, बहुलवाद, शान्ति, देशको सम्वृद्धिका लागि सदैव प्रतबद्ध रहेको बताएका थिए।