वरिष्ठ चिकित्सक गोविन्द केसीले राष्ट्रपति विद्या भण्डारीले चिकित्सा शिक्षा अध्यादेश तत्काल प्रमाणीकरण नगरे पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन्।
वरिष्ठ चिकित्सक केसीले राष्ट्रपति भण्डारीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नगरेर देशको सर्वोच्च पदकै अवमूल्यन गरिरहेको आरोप लगाए।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अबको एक हप्ताभित्र पनि सो ऐन प्रमाणीकरण नगरे पुनः आमरण अनसन बस्ने चेतावनी दिएका हुन्। वरिष्ठ चिकित्सक केसीले सरकारले पठाएको अध्यादेशलाई राष्ट्रपतिले रोक्न नमिल्ने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराए।
उनले संविधानले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने व्यवस्था गरेको उल्लेख गर्दै सो अनुसार आएको अध्यादेश रोक्ने अधिकार राष्ट्रपतिलाई नरहेको तर्क गरे।
वरिष्ठ चिकित्सक केसीले राष्ट्रपति भण्डारीले कुनै राजनीतिक पार्टीको दबाबमा परेर अध्यादेश प्रमाणीकरण गर्न आनकानी गरिरहेको आशंका गरे।
सरकारले कात्तिक ६ गते चिकित्सा शिक्षा ऐन अध्यादेशमार्फत पारित गरेर राष्ट्रपति समक्ष पेश गरेको थियो । तर, त्यो अध्यादेश हालसम्म पनि प्रमाणीकरण नभएपछि वरिष्ठ चिकित्सक केसी आक्रोशित भएका हुन्।
उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको पछिल्लो प्रवेश परीक्षामा भएको चिट चोरीको विषयमा देखिएको विवाद तत्काल अन्त्य गर्न पनि सम्बन्धित निकायलाई दबाब दिए।
यो पनि हेर्नुहोस्