दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता लिने दिएको समयसीमाभित्र एक प्रतिनिधिसभाका उम्मेदवारसहित सात जना प्रदेशसभाका उम्मेदवारहरूले निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएको दाङका सहायक निर्वाचन अधिकृत भूपाल भण्डारीले सेतोपाटीलाई बताए । १३ जना स्वतन्त्र उम्मेदवार भने चुनावी मैदानमै रहेको उनले बताए ।
क्षेत्र नं. १ मा ५ जना स्वतन्त्र उम्मेदवारनिर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसबाट पूर्व सांसद सुशीला चौधरी, वाम गठबन्धनबाट मेटमणि चौधरी, संघीय समाजवादी फोरमबाट अशोककुमार यादव, नेपाली कांग्रेस बीपीबाट अशोक खड्का दलीय हैसियतमा निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेस बीपीका खड्कालाई निर्वाचन आयोगले करुवा चुनाव चिन्ह प्रदान गरेको छ।
त्यसैगरी, प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्। निर्वाचन क्षेत्र नं. १ को (१)मा चुडामणि चौधरी र १ को (२)मा दिकपाल योगी स्वतन्त्र उम्मेदवारको हैसियतमा प्रतिस्पर्धामा उत्रिएका हुन्। चौधरीलाई बाख्रो र योगीलाई स्कूटर चुनाव चिन्ह प्रदान गरिएको दाङका सहायक निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।
नेपाली काँग्रेसबाट क्षेत्र नं. १ को (१)मा प्रदिप थापा र (२)मा जानकीलाल बस्नेत चुनावी मैदानमा छन् । त्यस्तै नेकपा एमालेबाट क्षेत्र नं. १ (१) मा रेवतीरमण शर्मा घिमिरे, २ मा माओवादी केन्द्रका इन्द्रजित चौधरी प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं. २ मा ४ जना स्वतन्त्र उम्मेदवारदाङको निर्वाचन क्षेत्र नं. २ मा चारजना स्वतन्त्र रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार बालाराम पौडेल गुलावको फूल चुनाव चिन्हका साथ प्रतिस्पर्धाका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै, प्रदेशसभा सदस्य तर्फ २ को (१)मा विश्वनाथ ज्ञवाली चुनाव चिन्ह मोबाइल फोन, सोही पदकै लागि सोमराज रैदास जीप चुनाव चिन्ह र २ को (२)मा प्रदेश सभाका लागि सिताराम रेग्मी बाख्रो चुनाव चिन्हका साथ मैदानमा उत्रिएका छन्। यो क्षेत्रमा नेकपा माओवादीका नेता एवं विनाविभागिय मन्त्री कृष्णबहादुर महरा र नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद राजु खनाल प्रतिनिधिसभा सदस्य पदका लागि मैदानमा छन्।
राष्ट्रिय जनमोर्चाबाट गणेश आचार्य, राष्ट्रिय जनमुक्तिबाट ठाकुर रोका, नेकपा मालेबाट भोजबहादुर विश्वकर्मा पनि सोही पदका प्रतिस्पर्धी हुन्।
त्यस्तै, प्रदेश सभा सदस्य पदका लागि नेकपा एमालेबाट स्थायी कमिटी सदस्य शंकर पोख्रेल र नेपाली कांग्रेसका कमल किशोर घिमिरे २ को १ बाट प्रतिस्पर्धामा छन् भने २ को २ बाट नेपाली कांग्रेसका भरतबहादुर न्यौपाने र एमालेबाट अमरबहादुर डाँगी चुनावी प्रतिस्पर्धामा रहेका छन्।
क्षेत्र नं. ३ मा ४ जना स्वतन्त्र उम्मेदवार मैदानमानेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिंचाई मन्त्री दीपक गिरी र एमालेका जिल्ला सचिव हिरा चन्द्र केसीको बीचमा प्रतिस्पर्धा हुन लागेको यो क्षेत्रमा थप तीन जना स्वतन्त्र उम्मेदवार प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्।
स्वतन्त्रतर्फ नरबहादुर वली, हेलमेट चुनाव चिन्ह, बालकृष्ण शर्मा, चंगा र यादव भण्डारी गुलावको फूल चुनाव चिन्हका साथ मैदानमा उत्रिएका छन् । त्यसैगरी प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट हिरामणि पौडेल, नयाँ शक्तिबाट हरिप्रसाद रिजाल पनि चुनावी प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन क्षेत्र नं. ३ को १ मा भने कुनैपनि स्वतन्त्र उमेदवारी परेको छैन । प्रदेश सभा १ का लागि नेपाली कांग्रेसका नेता एवं श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरी र माओवादी केन्द्रका नेता जगप्रशाद शर्मा (अपार) प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र ३ को २ मा भने एकजना स्वतन्त्र हैसियतमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । भंगेरो चुनाव चिन्ह प्राप्त गरेका लिलाधर खड्का स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् । उक्त पदका लागि यहाँ नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद बुद्धिराम भण्डारी र नेकपा एमालेका नेता उत्तर कुमार वली प्रतिस्पर्धामा छन्।