दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी एमाले नेतृ कोमल वलीले उम्मेदवारी फिर्ता लिने वा नलिने भन्ने अझैं द्धविधामै छन्।
पार्टीले टिकट नदिएपछि रूष्ट भएर आधिकारिक उम्मेद्वारमाथि बागी उम्मेद्वारी दिएको वलीले आइतवार (आज) उमेदवारी फिर्ता लिने अन्तिम दिनसम्म पनि के गर्ने के नगर्ने आफू दोधारमा रहेको सेतोपाटीसँग बताएकी छन्।
दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नु पर्ने निर्वाचन आयोगको समयसीमा छ। ‘गएराति देखि आइतबार बिहान २ बजेसम्म एमालेका विभिन्न नेतासँग बिभिन्न छलफल भयो। तर, म के गरौँ के नगरौं भन्ने अझै अन्यौंलमा छु,’ उनले भनिन्।
केन्द्रबाट समेत एमालेका शीर्ष नेतादेखि कांग्रेस माओवादीका नेताहरू तथा विभिन्न सेलिव्रेटी कलाकारले समेत फोन गरेर कसैले फिर्ता लिन सुझाए भने कसैले नलिन सुझाव दिएको उनले बताइन्। ‘के गर्ने अझै निर्णय लिन सकेको छैन,’उनले भनिन्, ‘एमाले मै बसेर राजनीति गर्ने भए फिर्ता लिनुहोस् भन्नेहरू पनि उत्तिकै छन्, तर तपाँईले एमाले त्याग्नुपर्छ भन्दै फिर्ता लिनुहुन्न भन्नेहरुको पनि कमि छैन, त्यसैले के गरु के नगरु भन्ने द्धविधा मै छु।’
उनले चुनावका निकै खर्च हुने भएकोले पर्याप्त पैसा आफूसँग नरहेको बताइन्। ‘गाडि गुडाउन र प्रचार प्रसारका लागि युवाहरू परिचालन गर्दा आवश्यक पर्ने खर्च मसँग छैन, त्यसैले म अन्यौंलमा छु।’
उनको विचार सुन्दा अन्त्यमा उनले उमेदवारी फिर्ता लिन सक्ने आशंका भने गर्न सकिन्थ्यो। ‘म एक्लै बसेर बिहान आधा घन्टा रोएँ, तर अझैं के गरौं भन्ने भइरहेको छ,’ उनले भनिन्, ‘मलाई अत्याधिक प्रेसर दिइएको छ, भन्नुहोस् अब यस्तो अवस्थामा म के गरौं?’। उनले अबको दुई घन्टा भित्रै टुंगो लगाउने बताइन्।
यसैबीच नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्व सांसद कुवेर वलीले पनि अझैंसम्म उम्मेदवारी फिर्ता लिने कि नलिने भन्ने अन्यौंलता कायमै रहेको बताएका छन्।
टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रकै निर्वाचन क्षेत्र नं. ३ (क) का उमेदवार जगप्रशाद शर्मा (अपार)का विरुद्ध उनले बागी उम्मेदवारी दिएका थिए।
वलीलाई उम्मेदवारी फिर्ता लिन आग्रहसहित कृष्णबहादुर महरा, शंकर पोख्रेल लगायत नेताहरूले भेटेरै आग्रह गर्दा पनि उनले फिर्ता लिन अस्वीकार गर्दै आएका छन्।