निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने उम्मेदवारमाथि कार्वाही गर्ने चेतावनी दिएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदातालाई लोभलालचामा फसाउने तथा डर, धम्की र त्रास दिएर प्रभावित तुल्याउने काम कहीँकतै भएको पाइए उम्मेदवारी रद्द हुनेसम्मको कार्वाही हुनेतर्फ पनि सचेत गराए।
शुक्रबार काठमाडौंमा ‘युवाहरूका लागि निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगको अनुमतिविना सवारी साधनको प्रयोग नगर्न पनि राजनीतिक दल र त्यसका उम्मेदवारहरूलाई पुनः निर्देशन दिए।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न युवाहरू प्रतिबद्ध भएर लाग्ने विश्वास पनि व्यक्त गरे।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा अनुगमन गर्न सबै निर्वाचन क्षेत्रमा टोली परिचालन गरिसकेको छ। अनुगमनको क्रममा भोजभतेर गरेर मतदातालाई प्रभावित तुल्याउने गतिविधि गर्ने होटलहरूलाई समेत कार्वाही हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पारे।
आगामी मंसिर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।