आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दाङमा ९ पदका लागि ८९ जनाले बिहिबार उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ८९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सेतोपाटीलाई बताए।
दाङमा कुल १३ राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा,नेकपा माले, संघीय खुम्वुवान लोकतान्त्रिक पार्टी नेपाल, नयाँ शक्ति पार्टी र नेपाली काँग्रेस बीपी जस्ता दलहरूले निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली काँग्रेस बीपीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका लागि अशोक खड्काले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा नयाँ राजनीतिक दलहरू मंगोल नेशनल अर्गनाईजेसन पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी जस्ता दलहरूबाट पनि उमेदवारी परेको छ। निर्वाचन क्षेत्र नं. ३ मा प्रमुख पार्टी सहित देशभक्त जनगणतान्त्रिक मोर्चा(सिपी गजुरेल), राप्रपा प्रजातान्त्रिक (पशुपती सम्शेर) ले निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (ख) र निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा (क)मा उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत भूपाल भण्डारीले बताए। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लोहनीले निर्वाचन क्षेत्र २ अन्तरगत प्रदेश सभाको (क)मा उम्मेदवारी दिएको छ ।
निर्वाचन क्षेत्र नं. १ मा ३० जनाको उम्मेदवारी दर्तासहायक निर्वाचन अधिकृत भण्डारीका अनुसार निर्वाचन क्षेत्र नं. १ मा एकजना प्रतिनिधि सभा सदस्य पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। ८ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उमेदवारी दिनेमा गौरसिंह महत, परशुनारायण चौधरी र सुरेन्द्र चौधरी रहेको सहायक निर्वाचन अधिकृत भण्डारीले बताए । निर्वाचन क्षेत्र नं. १ मा कुल ३० जनाले उम्मेदवारी दिएका छन् । दुईजना प्रदेश सभा सदस्य पदका लागि १९ जनाको र एक जना प्रतिनिधि सभा सदस्य पदका लागि ११ जनाको उम्मेदवारी परेको छ।
क्षेत्र नं. २ मा २९ जनाको उम्मेदवारीत्यसैगरी दाङको निर्वाचन क्षेत्र नं. २ मा कुल २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि माओवादी नेता कृष्णबहादुर महरा र काँग्रेसका पूर्व सांसद राजु खनालको प्रतिस्पर्धा हुने लागेको यो क्षेत्रमा ८ जना राजनीतिक दलका प्रतिनिधि र १ जना स्वतन्त्र गरी ९ जना एउटै पदका लागि आकांक्षी देखिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमा बालाराम पौडेल छन् । यहाँ २ जना प्रदेश सभा सदस्य पदका लागि २० जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत भण्डारीले बताए।
क्षेत्र नं. ३ मा ३१ जनाको उम्मेदवारीदाङमा सबैभन्दा धेरै उम्मेदवारी निर्वाचन क्षेत्र नं. ३ मा परेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिंचाई मन्त्री दीपक गिरी र एमालेका जिल्ला सचिव हिरा चन्द्र केसीको बीचमा यो क्षेत्रमा मुख्य गरि प्रतिस्पर्धा हुनेछ । यहाँ एउटा प्रतिनिधि सभा सदस्य पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । ७ जना राजनीतिक दलबाट र ४ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको दाङका सहायक निर्वाचन अधिकृत भूपाल भण्डारीले जानकारी दिए।
चर्चित गायिका एवं एमाले नेतृ कोमल वली, नरवहादुर वली, बालकृष्ण शर्मा र यादव भण्डारीले यहाँ स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार सबै वाम गठवन्धकका विरुद्धमा रहेको छ । यही क्षेत्रबाट माओवादी केन्द्र दाङका राजनीतिका पिता मानिने कुवेर वलीले प्रदेश सभा अन्तरगत (क)मा आफ्नै पार्टीका उम्मेदवार जगप्रसाद शर्मा (अपार)का विरुद्ध उम्मेदवारी दिएका छन्।
माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य एवं पूर्व सांसद वलीको उम्मेदवारीले दाङको वाम गठबन्धनमा ठूलो प्रभाव तुल्याउने आँकलन भइरहेको छ। निर्वाचन क्षेत्र नं. ३ मा दुइ जना प्रदेश सभा सदस्य पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्। यो क्षेत्रबाट कुल ३१ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत भूपाल भण्डारीले जानकारी दिए । दाङमा कुल १५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको उनले बताए ।
दाङमा को कहाँबाट ?निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट मेटमणि चौधरी, नेपाली कांग्रेसबाट सुशीला चौधरी, संघीय समाजबादी फोरमबाट अशोककुमार यादव, नेपाली काँग्रेस बीपीबाट अशोक खड्कासहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट कृष्णबहादुर महरा, नेपाली काँग्रेसबाट राजु खनाल, राष्ट्रिय जनमोर्चाबाट गणेश आचार्य, राष्ट्रिय जनमुक्तिबाट ठाकुर रोका, नेकपा मालेबाट भोजबहादुर विश्वकर्मा सहित ९ जनाको उम्मेदवारी दर्ता भएको छ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसबाट दीपक गिरी र वाम गठबन्धनबाट हिराचन्द्र केसी, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट हिरामणि पौडेल, नयाँ शक्तिबाट हरिप्रसाद रिजाल लगायत गरी ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि ३ नम्बर क्षेत्रबाट एमालेकी कोमल वलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् भने प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ३ क बाट माओवादी केन्द्रका कुँवेर वलीले पनि स्वतन्त्ररुपले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।