नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन्।
शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आफू प्रतिनिधिसभामा प्रत्यक्ष रुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राजनीतिक भूमिकामा सक्रिय रहने बताए।
उनले नयाँ पुस्तापनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णय अनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताए। उनले नेपालको राजनीतिले बाटो विराउँदै गएको वर्तमान अवस्थामा पार्टी विस्तारभन्दा पनि आफू र आफ्नो पार्टीले सैद्धान्तिक र गुणात्मक विषयको उठान गर्दै अग्रसरता जनाउने बताए।
वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रियरुपमा रहने भन्दै बिजुक्छेंले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाए।
यो गठबन्धन भित्र नै आन्तरिक कलह भैरहेकोले यसले दिर्घकालीन रुप लिन नसक्ने उनले बताए। गठबन्धनले देशमा दुई पार्टीको रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीको रुपमा राजनीतिक दलहरू आए झनै राजनीतिक भद्रगोल हुने भन्दै उनले थ्रेस होल्डले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने बताए।