नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन्।
अध्यक्ष दाहालले बिहिबार दिउँसो भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका दाहालले स्थानीय संचारकर्मीमाझ आफूलाई पहिलो पटक गृह जिल्लाबाट उम्मेदवारी दिन पाएकोमा खुसी लागेको प्रतिक्रिया दिए।
उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुने तथा समृद्धि र विकासको अभियानले तीव्रता पाउने विश्वास पनि व्यक्त गरे।
अध्यक्ष दाहाल पहिलो संविधान सभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचनमा हार व्यहोरेका दाहाल सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचिन भएका थिए।
यस निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका उनी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन् ।
https://youtu.be/2Sp1GpdazcY