राजनीतिक दलहरूले मनोनयन दर्ता गर्न जाँदा शक्ति प्रदर्शन गरेका छन्। राजनीतिक दलहरूले कार्यकर्ता अोसार्न सवारी साधन गाउँ/गाउँमा पठाएका छन्।
आगामी मंसिर २१ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि बिहिबार मनोनयन दर्ता गर्न जाँदा राजनीतिक दलहरूले जिल्ला सदरमुकाम घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सयौं गाडीका लस्करसहित पुगेका हुन्।
उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहीवार बिहान १० देखि बेलुका ५ बजेसम्मको समय छुट्याएको भएपनि दिउँसो १ बजे सम्म कसैले पनि उम्मेदवारी दर्ता गरेका थिएनन् । शक्ति प्रदर्शनसहित मनोनयन दर्ता गर्न आएका दलहरूका कार्यकर्ताको भीड नजुध्ने गरी मनोनयन दर्ता गराउने वातावरण निर्माण गर्नका लागि दलहरूसँग समन्वय गरिरहेको दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सेतोपाटीलाई बताए।
सुरूमा संघीय समाजवादी पार्टी, फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पाटी , नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक), नेकपा माले, नेकपा एमाले, जनमोर्चा, नेपाली काँग्रेस, माओवादी केन्द्रलाई मनोनयन दर्ताको समय छुट्याइएको छ । मन्ध्यान्ह १२ बजेदेखि मनोनयन दर्ताको समय तोकिएको भएपनि दिउँसो एक बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा कुनैपनि दलहरू उम्मेदवारी दर्ताको लागि पुगिनसकेको निर्वाचन अधिकृत रावलले बताए।
निर्वाचन क्षेत्र नम्वर एक र दुईका उम्मेदवारहरूको दर्ता दाङ देउखुरी जिल्ला अदालत र क्षेत्र नम्वर तीनका उमेदवाहरूले उम्मेदवारी दर्ता नेपाल बार एशोसिएशनको भवनमा गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रावलले बताए।
उनका अनुसार वाम गठबन्धनलाई दुईदेखि तीन र नेपाली काँग्रेसलाई तीनदेखि चार बजेको समय छुट्याएको छ। मनोनय दर्ताका क्रममा हुन सक्ने भीड नियन्त्रणसँगै सहज रुपमा उम्मेदवारी दर्ताका लागि तयारी गरिएको रावलले बताए। उनले प्रत्येक उम्मेदवारहरूको कम्तिमा दश मिनेटमा उम्मेदवारी दर्ता सकिने गरी व्यवस्था मिलाइएको जानकारी दिए । दाङमा तीन संघीय निर्वाचन र ६ वटा प्रदेश निर्वाचन क्षेत्रहरू निर्धारण गरिएको छ ।