मंसिरमा २१ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।
निर्वाचन आयोगको घोषणा गरेको कार्यतालिका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुन लागेको हो।
प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवारी दिँदै छन्। कामको व्यस्तताले गर्दा आज उनी उम्मेदवारी दर्ता गर्न भने नजाने भएका छन्। उम्मेदवारी दर्ताका लागि जान समय अपुग भएपछि देउवाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराउन लागेको जानकारी स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए । जोशीका अनुसार, वारेस नामामार्फत गणेश पन्तले देउवाको उम्मेदवारी दर्ता गर्दैछन् । त्यस्तै, रामचन्द्र पौडेल तनहुँ १, विमलेन्द्र निधि धनुषा ३, प्रकाशमान सिंह काठमाडौं १, कृष्णप्रसाद सिटौला झापा ३, शशांक कोइराला नवलपरासी १, गगन थापा काठमाडौं ४, रमेश लेखक कञ्चनपुर ३ र एनपी साउद कञ्चनपुर २ बाट मनोनयन दर्ता गर्दैछन् ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५, माधव कुमार नेपाल काठमाडौं २, झलनाथ खनाल इलाम १, वामदेव गौतम बर्दिया १, भीम रावल अछाम १, सुवास नेम्वाङ इलाम २, ईश्वर पोखरेल काठमाडौं ५, विष्णु पौडेल रुपन्देही २ र सुरेन्द्र पाण्डेले चितवन १ बाट उम्मेदवारी दिंदैछन् ।
माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डल चितवन ३, कृष्णबहादुर महरा दाङ २, पम्फा भुसाल ललितपुर ३, गिरिराजमणि पोखरेल महोत्तरी १ र राम कार्की झापा १ बाट उम्मेदवार बन्दै छन् ।
यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २, राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी, राजेन्द्र महतो धनुषा-३ , महेन्द्र राय यादव सर्लाही, शरतसिंह भण्डारी सर्लाही, अनिलकुमार झा रौतहट र राजकिशोर यादवले सिराहाबाट उम्मेदवारी दिँदै छन् ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर १ बाट उम्मेदवारी दिँदै छन्।
४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छ भने प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र छन् ।
उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समयसीमा तोकिएको छ।