कास्कीमा मनोनयनको अघिल्लो दिन मात्रै दलहरूले उम्मेदवार छनौट गरेका छन्। वाम गठबन्धनले केही उम्मेदवार पहिल्यै छानेको भएपनि अन्तिम टुंगो बुधबार मात्रै लगाएको छ भने काँग्रेसले सबै उम्मेदवारको छनौट बुधबार गरेको छ ।
माओवादी र एमालेबीच चुनावी तालमेल भएपछि सोही अनुसार कास्कीमा क्षेत्र बाँडफाँट गरेर दलगत रुपमा उम्मेदवार छनौट गरिएको हो । कास्कीमा माओवादीले प्रदेशसभा अन्तर्गतका ३ वटा निर्वाचन क्षेत्र मात्रै पाएको छ भने ३ प्रदेशसभा सहित ३ वटै प्रतिनिधि सभा एमालेको भागमा छ। एमालेले प्रतिनिधि सभा सदस्यका लागि कास्कीमा क्षेत्र नम्बर १ बाट खगराज अधिकारी, २ बाट रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्मालाई अघि सारेको छ ।
खगराज २०६४ सालमा माओवादी उम्मेदवार देव गुरुङसँग सोही क्षेत्रमा पराजित भएका थिए भने रवीन्द्र दुवै पटकका विजेता हुन् । रवीन्द्रले २०६४ मा माओवादी उम्मेदवार झलकपाणी तिवारी र २०७० मा काँग्रेस उम्मेदवार शोभियत बहादुर अधिकारीलाई पराजित गरेका थिए । जगत चाहीँ समानुपातिक सांसद छन् ।
प्रदेशसभाका लागि एमालेले १ ख, २ क र ३ ख पाएको छ । क्षेत्र नम्बर १ ख बाट पार्टीका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ, २ क बाट जिल्ला अध्यक्ष कृष्ण थापा र ३ ख बाट युवासंघका केन्द्रीय अध्यक्ष राजीव पहारी उम्मेदवार बनेका छन् । थापा दोश्रो संविधानसभा चुनाव २०७० मा काँग्रेसकी उम्मेदवार शारदा पौडेलसँग पराजित भएका थिए । गुरुङ र पहारी पहिलो पटक सांसद चुनाव लड्न लागेका हुन् ।
उता ३ सीट मात्रै पाएको माओवादी केन्द्रले पनि जिल्लाका ३ वटै क्षेत्रका एक/एक प्रदेशसभा सदस्यका उम्मेदवार छानिसकेको छ । जसअन्तर्गत क्षेत्र नम्बर १ क मा जिल्ला अध्यक्ष दीपक कोइराला, २ ख मा जिल्ला इञ्चार्ज राजकाजी गुरुङ र ३ नम्बर क्षेत्रको प्रदेश क्षेत्र क मा सह इञ्चार्ज रामजी बराल छन् । गुरुङ २०६४ को संविधानसभा चुनावमा कास्की २ बाट विजयी भएका थिए भने बराल २०७० को चुनावमा कास्की ३ बाट एमाले उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजित भएका व्यक्ति हुन् । कोइराला संसदीय चुनावमा नयाँ अनुहार हुन् ।
कास्की जित्न रणनैतिक तयारी गरिरहेको काँग्रेसले पनि जिल्लाका सबै उम्मेदवार टुंगो लगाएको छ । क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य बन्न वहालवाला कानूनमन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापालाई टिकट दिएको छ । २ नम्बरमा देवराज चालिसे र ३ नम्बरमा शुक्रराज शर्मा उम्मेदवार बन्नेछन् । थापा २०६४ को चुनावमा माओवादी उम्मेदवार देव गुरुङसँग पराजित भए भने २०७० को दोश्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार मान बहादुर जिसीलाई पराजित गरी संसद सदस्य निर्वाचित भएका थिए । चालिसे पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका हुन्।
प्रदेशसभा अन्तर्गत १ क मा जीवन परियार, ख मा जिल्ला सभापति कृष्ण केसी, २ क मा गुरु बराल, ख मा विन्दुकुमार थापा र ३ क मा शारदा पौडेल तथा ख मा भोज बहादुर गुरुङ सिकन्दरलाई टिकट दिएको छ ।
प्रदेशसभा अन्तर्गत ३ क की उम्मेदवार शारदा पौडेल पहिलो संविधानसभा चुनावमा माओवादी उम्मेदवार राजकाजी गुरुङसँग पराजित भएकी थिईन् भने दोश्रो चुनावमा एमाले उम्मेदवार कृष्ण थापालाई पराजित गरी सांसद बनेकी थिईन् । प्रदेशसभाका बाँकी सबै उम्मेदवार संसदीय चुनावका लागि नयाँ हुन् ।
टुंगिएका उम्मेदवारहरूले आज उम्मेदवारी दर्ता गर्नेछन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचन क्षेत्र अनुसार छुट्टाछुट्टै निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । मनोनयन दर्ता गरेका उम्मेदवारको सूची निर्वाचन समितिले विहीबार नै प्रकाशन गर्नेछ ।
यसअघि ४ निर्वाचन क्षेत्र रहेको कास्की हाल ३ वटा निर्वाचन क्षेत्रमा सीमित भएको छ । जिल्लाभर हाल २ लाख ५५ हजार मतदाता छन् भने ३ सय १७ मतदान केन्द्र तोकिएको छ ।
क्षेत्र नम्बर १ क मा ५० हजार २ सय ८९, ख मा ४५ हजार ७ सय ९५, २ क मा ३७ हजार ६ सय ४३, ख मा ३३ हजार ८, ३ क मा ४६ हजार २ सय ५२ र ३ ख मा ४२ हजार ४ सय ६५ जना मतदाता रहेको निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।