नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताएका छन्।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बिहिबार निर्वाचन नहुने शंका रहेपनि शुक्रबार सरकार र दलहरूसँगको छलफलपछि सबै भ्रम हटेको बताएका छन् ।
‘हिजोसम्म निर्वाचन हुँदैन कि भन्ने भ्रम थियो,’ उनले भने ‘आजबाट निर्वाचन हुँदैन कि भन्ने भ्रम सरकार र दलहरू बीचको छलफलपछि हटेको छ ।’ उनले प्राविधिक कुरामा निर्वाचन आयोगले काम अगाडि बढाएको बताए ।
उनले अर्को प्रसंगमा वाम गठबन्धनले काँग्रेसमा एकता भएको बताए । उनले वाम गठबन्धनले काँग्रेसभित्रको अराजकता, गुट, उपगुटलाई मिल्न बाध्य पारेको बताए । वाम गठबन्धन बनाएर काँग्रेसलाई ठूलो गुन लगाएको बताउँदै काँग्रेसलाई गठबन्धनसँग नतर्सन अनुरोध समेत गरे। ‘वाम गठबन्धनकै कारण काँग्रेस एकताबद्ध भएको छ’, उनले भने, ‘फोरम लोकतान्त्रिक विजय कुमार गच्छदार काँग्रेसमा नै फर्किएका छन् ।’
उनले अब बन्ने नयाँ सरकार पाँच वर्षको हुने बताउँदै जनताको विकासप्रतिको इच्छा नयाँ सरकारले पूरा गर्ने बताए । ‘सरकार बेला बेलामा फेरिदाँ विकासका काम हुन सकेका छैनन्,’ उनले भने ‘निर्वाचनपछि बहुमत सरकार बन्छ, त्यसैले पाँच वर्षसम्म सरकार चलाएर विकास गर्ने छ ।’
उनले निर्वाचनपछि कि वाम गठबन्धनको त कि काँग्रेससहितका गठबन्धनको बहुमत आउने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड पोखरामा तीनवटा कार्यक्रममा सहभागी भई काठमाडौं फर्किएका छन् ।