माइजूले रातो टीका लगाइदिइन् र शुभसाइत भनेर चम्चाले दही खुवाइन्। मनपर्ने चिज पाएपछि छोरीले माइजूको हातबाट थप दुई चम्चा दही खाई।
टीका थाप्न छोरो तयार भएर बसेको छ — काकाकाकी, मामामाइजू र बिदा गर्न आइपुगेकाहरूको अनुहार हेर्दै।
अघि भर्खरसम्म पनि कोही थिएनन् घरमा। अहिले सानो भीड लागेको छ; खादा ओढाइदिने, साइतको कोसेली हातमा राख्दिने, फोटो खिच्ने, आफन्तलाई पुर्याउन कोसेलीको पोको दिनेको!
अरूलाई पुर्याइदिनुपर्ने कोसेली छुट्ला कि भनेर सजग हुनु पनि परेको छ। सबैसँग बिदा माग्नु पनि छ।
बैठक कोठाको भीडभाडमा एक जना काकीले दाहिने हातले मोबाइल माथि उठाउँदै भनिन्, 'गाइज, आज हाम्री नातिनी र परिवारलाई बिदा गर्दैछौं। टिकटकका साथीहरू, सबैले उहाँहरूको शुभयात्राको कामना गरौं है।'
बल्ल थाहा पाएँ — काकीले टिकटकमा लाइभ ठेल्न भ्याइसकिछन्!
माइजूपछि हजुरआमाले टीका थपिदिनुभयो। जिजूआमाले थप्दा त छोरीको निधारै भरिएला जस्तो भयो। निधारभरि टीका लपेटिँदा सायद अप्ठ्यारो भयो उसलाई, देब्रे आँखीभौं उचालेर संकेत गरी मतिर।
आँखाले भाका गर्नुपर्दा ऊ यस्तै गर्छे। बाबु हुँ, उसको भाका म बुझिहाल्छु!
चुप लाग्न मैले नि देब्रे आँखा झिमिक्क पारेँ!
रातो अबिर लतपतिएको हातले स्याउ र केराको कोसा थमाउँदा ८९ वर्षीया जिजूआमाको हात लकपकायो।
'राम्ररी गएस् नानी, मैले देख्नु अब यति नै होला,' यति भनेर हत्तपत्त रूमालले आँखा छोप्दै ढोकातिर लाग्नुभयो।
बाहिर लाग्दा सुँक्क सुँक्क गरेको जिजूआमाको आवाज सुनेपछि छोरीले आँखाभरि आँसु जमाई।
रगतको नाता यस्तो हुँदो रहेछ; महिना दिनअघि भेटेको, आज छुट्टिँदा मन चटक्क चुँड्ने बनाइसकिछ!
आमाले दिएको न्याप्किन समाती। आँखा वरिपरि ट्याप ट्याप पार्दै ऊ सम्हालिई। र, दक्षिणा भरिएको हात मतिर लम्काई। दक्षिणा स्वरूप पाएको पैसा केहीबेरमै उपयोगहीन हुने उसले बुझेकी थिई।
अघि भर्खरसम्म पनि ऊ पैसा मागिरहन्थी — कान छेड्न, लाफिङ चाख्न, बेकरी जान, मःम खान, फेन्टाको बोतल समाउन, हातको बाला किन्न!
केही बेरमै फर्किनेलाई के काम अब त्यो पैसा!
खासमा सबै कुरा सापेक्षित हुन्छन्। कुनै बेला उत्त्पातै उपयोगी चिज एकै छिनपछि बेकामे भइदिन्छन्। जस्तो, उमेरमा अति नै रस बसेको सम्बन्ध पछि फिक्का बनेर जान्छ। भोकले रन्थनिएको बेलाको पहिलो गाँसभन्दा कता हो कता कम स्वादिलो लाग्छ अघाएपछिको गाँस।
पत्तो नभई बितेछ महिना दिन! आउँदा कुतूहलता थियो, यति बेला जानैपर्ने बाध्यताले थिचेको थियो।
झन्डै दशकपछि काठमाडौं टेक्दा बिहानको बादलले चन्द्रागिरिलाई छाडेको थिएन। शिवपुरी र नगरकोटका डाँडाहरू हुस्सुको घुम्टोभित्रै थिए। सिजनको मनसुन सरहदभित्र छिरिसकेको थियो। तर त्यो बिहान बादल रसाएको थिएन।
प्लेनबाट बोर्डिङ स्टेयर्स हुँदै ग्राउन्डामा ओर्लिँदा दुइटा सटल बस तयार थिए यात्रुहरूलाई टर्मिनलसम्म पुर्याउन। जेट ब्रिज अझै बनेको छैन प्लेनको ढोकाबाट सिधै टर्मिनल पुग्न!
सटल बसमा हामी कोचिँदै थियौं, एक हुल यात्रु चढिसकेको बसबाटै ओर्लिए, बोर्डिङ स्टेयर्सबाट झर्दै गरेका अरूसँग मिसिए र प्लेन पार्किङ ग्राउन्डमै सेल्फी खिच्न थाले, भिडिओ खिच्न थाले।
यात्रुहरूलाई बसमा चढ्न, ओर्लिन, फेरि चढ्न कुनै रोकतोक थिएन। भिडिओ र सेल्फी खिचिसकेपछि त्यो हुल फेरि पछाडि ढोकाबाट बसभित्र छिर्यो।
बस चल्न लाग्दा पछाडि कोही बोल्यो, 'रिल्समा कति राम्रो देखेको थिएँ काठमाडौं। पूरा हिमालको रेन्ज देखिन्थ्यो। आज हिमाल देखिएन।'
हिमाल नदेखिएकोमा बेखुस ती भारतीय नानीलाई सुनेपछि बल्ल चेत खुल्यो — यति धेरै छिमेकी पर्यटक किन नेपाल आउँदैछन् भनेर।
यो एकमहिने बसाइमा जुन जुन ठाउँ पुगेँ, त्यहाँ बढ्दो उनीहरूको संख्या देखेर प्रमाणित हुँदै गयो।
ती सहरहरू पुग्दा पर्यटन व्यवसायीहरू भन्थे — कोभिडअघि चिनियाँ पर्यटकको हुल हुन्थ्यो; आजभोलि भारतीय पर्यटक आउन थालेका छन्।
कुरो राम्रै हो — जताबाट भए पनि पैसा खर्च गर्ने पर्यटक आए भइगयो!
राम्रा त अरू पनि धेरै नै भएका छन्, नराम्रा के भए वा हुनुपर्ने के भएन, अर्को चर्चाको विषय हो। र, यो पनि — हाम्रो भ्रमण र फर्केपछि यो लेख लेख्न थाल्दासम्म पुरानो लिगेसी सत्ता थियो। लेख लेखिनसक्दै जेनजी आन्दोलनको हुरी आयो। लिगेसी सत्ता बढारेर लग्यो। अहिले, लेखको अन्तिम तयारी गरिरहँदा नयाँ चुनाव अगाडि उभिएको छ, मुद्दाहरू छरपस्ट छन्। छुट्टै गति र दिशाहीनता पनि सँगसँगै छ।
हाम्रो सुरूको बसाइ बालुवाटारतिर थियो।
एअरपोर्टबाट बालुवाटारसम्म पुग्दा प्रायः बाटो चिल्लो, कालो थियो। उबडखाबड र खाल्डाखुल्डी पनि कम। अलिक सफा। हिँड्ने साइड–वाक, साँघुरै भए पनि बनेको। जाँदाजाँदै साँघुरो साइड–वाक कति बेला तुरिन्छ र मूल सडक सुरू भइसक्छ, यो चाहिँ बेग्लै कुरा हो।
लाग्छ पेटीमा हिँड्नेको भन्दा गाडीमा चढ्नेको भाउ अलि बढी छ। कर उठाउने सरकारको नजरमा त्यो पनि ठिकै हुन सक्छ, जसले गाडी चढ्छ उसले धेरै कर तिर्छ। सुविधा पनि उसैले धेरै भोग गर्छ!
असार मासका बेला, सरकारको बजेट तालिका सकिन केही साता बाँकी थियो। जताततै इँटा, बालुवा र रड पसारिएका थिए। दशकपछि पनि कुनै हेराफेरी भएको थिएन सरकारी योजनाको रकम खर्च गर्ने तरिकामा।
दुइटा कुरा चाहिँ पक्कै फेरिएको छ — बसाइसराइको चाप र लवाइखवाइको तरिका।
बालुवाटारसम्म पुग्दा देखेको— बाटो खचाखच भरिनु, चोकचोकमा दुईपांग्रे र चारपांग्रेको 'बम्पर टु बम्पर' ताँती लाग्नु बढोत्तरीको संकेत हो। मानिसहरूको क्रय क्षमता, सायद बढेको छ। जीवनशैली फेरिएको छ, गुणस्तर पनि बढेको हुनुपर्छ। कुन समूह, वर्गको जीवनस्तर उकासियो भन्ने चाहिँ सुक्ष्म (माइक्रो) विश्लेषणको कुरा हो।
अग्लो र फराकिएको सहर
मेरो सम्झनाको डेटाबेसमा सुरक्षित काठमाडौं त्यति सफा थिएन। प्रायः सडक उबडखाबड र खाल्डाखुल्डी बिना कल्पना गर्न सकिँदैन। त्यो बेला पनि मान्छे र सवारी, दुवैको चाप समयको सापेक्षता अनुसारै थियो।
ट्याक्सी चढ्नुपर्यो भने नजिकको चोकमा पुग्नुपर्थ्यो। भाउ ट्याक्सी चालककै हुन्थ्यो। दुईपांग्रे सवारी अलि धेरैको थियो। जो दुईपांग्रेमा आउजाउ गर्थे, एक दिनमै धूलोले कलेटी परेर हेरिनसक्नु लुगा र गुजुल्टो पर्ने कपालले हैरान हुन्थे।
अहिले यो सब थिएन।
दुईपांग्रेमा सवार छन्, तर तिनका जुत्ता सुकिला छन्। हिलोधूलोको दाग कम छ। आफ्नै सवारी नहुनेले पनि ढोकामै पठाओ, इन्ड्राइभ बोलाउँछन् (सक्नेले)। विश्व बजारमा चलेका 'उवर', 'लिफ्ट' भन्दा यी राइड सेयरिङका सुविधा फरक छन्। केहीमा सेवाग्राहीले नै मूल्य बार्गेन गर्न सक्छन्।
चिनियाँ कारहरू बढेका छन्। ब्याट्री कारको संख्या ह्वात्तै बढेको छ; ट्याक्सी पनि धेरै इभी छन्। इभीलाई काखी च्याप्ने सरकारी कर नीति एउटा प्रमुख कारण होला सायद।
सडकमा गाडीको हर्न कम बज्छ। 'नो हर्न' प्लाकार्ड बोकेर ट्राफिक उभिएका देखिन्छन्। हर्न बजाउनेले जरिवाना पनि तिर्छन् सायद।
नगरबासी, खासगरी तन्नेरीहरूमा 'सेन्स अफ ड्रेस' उकासिएको छ। उनीहरूको पहिरन अर्को कुनै अब्बल मानिने सहरबासीको भन्दा कम छैन। कफी र चिया संस्कृति ट्रेन्डिङमा छ। बबरमहलको 'चियावाला' र बालुवाटारको 'चियापान' लाई त मैले पनि कति भेटघाटको थलो बनाएँ। अरू बेकरी, क्याफे, बुक सेन्टर, मःम पसल र हिमालयन जाभा त यसै भइगए!
अलकत्रा ओछ्याइएको सडक उपत्यकाको कुना कुनासम्म फैलिएको छ। धरहरा चढ्नुस्, स्काइवाक टावरमाथि हिँड्नुस् या स्वयम्भूको माथिबाट हेर्नुस्, देखिहाल्नु हुन्छ — घरहरू मात्रै फैलिएका छन् आँखाले देख्ने कुना कुनासम्म। कंक्रिटको जंगल!
हरियो देखिने कि लाजिम्पाट पछाडिको रानिवारीतिर, कि चन्द्रागिरि र शिवपुरीतिर। भक्तपुर पछाडि नगरकोटको डाँडा पनि घरै घरले छोपिन लागेछ।
खासमा काठमाडौं 'टल एन्ड वाइड', अग्लो र फराकिलो भएको छ।
यस्तो लाग्छ — सदियौंपछि अब ब्युँझिएको छ सहर।
यो अर्कै कुरा हो, विस्तारित नयाँ बस्ती योजनाबद्ध बढेको होइन। साँघुरा सडकको 'बोटल नेक' जताततै छन्। ढल व्यवस्थित छैन। जसको मार वर्षा बेला जहिल्यै भोग्नुपर्छ, ढल भरिएर सडक खोला बन्छ।
सबैजसो नदी र खोलाको दुवै किनारमा बाटो बनेका छन्। यस्ता बाइपास बाटोले रिङरोडभित्रको ट्राफिक जाम घटाएको छ। तर खोला र नदी चैं दुई किनारको पर्खालभित्र साँघुरिएको नहरभन्दा कत्ति फरक देखिँदैन। उसको किनारको प्राकृतिक बहाब क्षेत्र मासिएको छ।
यसरी साँघुरिएका अरू पनि कुराहरू भेटिन्छन् — चोकैपिच्छे झुन्डिने पत्रिका पसल लगभग सकिएको छ। पत्रिका जो छापिन्छन्, ती पनि साँघुरिएका छन — आठ पेजमा। विज्ञापन — बैंकको लिलामी सूचना र एसइईको रिजल्टपछि कलेज भर्नाबाहेक अरू छैन (म हुँदा त्यो सिजन परेकाले)।
न्यू मिडिया/सोसल मिडियाको मार विश्व बजारको मूलधार भनिने पत्रकारितामा जसरी परेको छ, त्यसको बाछिटा काठमाडौंमा नपुग्ने कसरी हुन सक्थ्यो र!
पोखरा पुग्दा स्थानीय पत्रिकाका सम्पादक अनुभव सुनाउँथे — स्थानीय होटलहरू पत्रिकामा विज्ञापन छाप्नुभन्दा सोसल मिडिया इन्फ्लुएन्सरलाई प्रायोजन गर्छन्।
अर्थतन्त्रको ढाँचा फेरिएको संकेत हो यो। 'न्यू इकोनोमी' को चक्र यसरी बढ्दै छ।
सहरभित्र घरहरू अग्लिएका छन। हिजोका होचा घर र पातला आवतजावतका लागि बनेका बाटो घर अग्लिएपछि साँघुरो लाग्ने नै भयो।
रिङरोडभित्र जहाँ जहाँ आर्थिक गतिविधि बढेको छ, ती क्षेत्रहरूमा घर अग्ला बनेका छन्, पुराना घरको 'रिनोभेसन' भएको छ। लाजिम्पाट, बालुवाटार, झम्सिखेल, रिङरोडको ग्वार्को, चाबहिल, चुच्चेपाटीदेखि नारायणगोपाल चोकसम्म तँछाडमछाड छ निर्माण प्रक्रिया। आकार फेरिँदै गरेको देखिन्छ।
तर अर्को भाग पनि छ त्यही रिङरोडमा — बालाजु, वनस्थली, सामाखुसी क्षेत्रका दशकअघिका साइनबोर्डका फ्रेम पनि फेरिएको छैन। त्यति बेला जसरी झुन्डिएका थिए, आज पनि त्यसरी नै झुन्डरहेका देखिन्छन् झ्यालै छोप्नेगरी। भएका साइनबोर्ड च्यातिएर, झुत्राझाम्रा बनेका छन्। सायद यी क्षेत्रमा पर्याप्त आर्थिक गतिविधि हुन सकेको छैन!
सहरका घरहरूले नै भनिरहेझैं लाग्छ — आर्थिक गतिविधिको राप केही भाग र केही विधामा मात्र छ। सबै क्षेत्रमा, सबै समुदायमा उस्तै प्रभाव पर्ने गरी प्रगति हुँदै गरेको, हरक्षेत्रको अर्थोन्नति भइरहेको चलायमान अर्थतन्त्रको संकेत होइन यो।
यस्तो 'बाइफ्रकेटेड' विकासको असर पनि विभाजित नै हुनुपर्छ; जो जो यो अर्थतन्त्रको चलायमान क्षेत्रमा संलग्न छन्, उनीहरूको प्रगति राम्रै हुनुपर्छ, बाँकीको हाल बेहाल होला!'
जापानी र कोरियन भाषा सिकाइ केन्द्र यति बढेका छन्, प्रत्येक दुई घरपछि भेटिन्छन् यस्ता केन्द्रहरू।
दैलैपिच्छे जस्तो साइनबोर्ड देखेपछि बालाजुबाट बुढानीलकण्ठ जाँदा छोरीले भनी, 'वान पिस सबले हेर्छन् होला!'
थाहा छैन, जापानी एनिमे तन्नेरीहरू कतिलाई मनपर्छ या कोरियन ड्रामा!
राजधानी बाहिर अझ धेरै हुन् कि जस्तो लाग्छ भाषा सिकाइ केन्द्रहरू। हुन पनि किन नहोऊन्, गाउँमा प्रत्येक जसोको घरबाट जापान, कोरिया जानेको लर्को छ। माथिल्लो घर सापकोटा, पल्लो घर तिम्सिना, पुरानघरेका छोरा, नयाँघरेका नाति, गाउँका बाँकी भाइ भतिज सबै जापानतिरै छन्।
एक दिन 'मयुर टाइम्स' उपन्यास खोज्दै थिएँ आर आर क्याम्पस आसपासका किताब पसलहरूमा। नयाँ संस्करण ननिस्किएको र पुरानो बिकिसकेकाले होला, कतै पनि भेटिनँ। त्यसपछि पुतलीसडकतिर लागेँ। अनामनगर जाने चोकमा पैरवी पुस्तक पसल छिरेँ।
एक जना भाइ उभिएरै किताबको थाकमाथि नोटकपीमा केही लेख्दै थिए। किताब पसलमै काम गर्ने जस्तो लाग्यो। त्यो उपन्यास छ कि भनेर सोधेँ। भाइले भित्र काउन्टरमा फ्यान लगाएर बसेकी साउनीलाई खबर गरे। साउनी उठिन्, दुई–तीन वटा धूलौटे किताब टकटकाइन् र छैन भनिन्।
खोजेको किताब पाइनँ।
तर ती भाइको कर्याङमर्याङ अक्षर देखेर सोधेँ, 'के पढेको?'
उनले जबाफ दिए, 'कोरियन भाषा। यतै काम गरेर त के हुन्छ र दाइ!'
मयुर टाइम्स मैले प्रकाशक 'नेपालय' को कार्यालयमै पुगेर किनेँ। त्यहाँ पनि काउन्टरकी बहिनीले कतै फोन गरेर मगाएकी थिइन्। कसैको निजी संकलनबाटै पो थियो कि विद्यार्थी संस्करण यो किताब!
यस्तै जबाफ पछि तनहुँको फराकचौरमा नारायण वाग्लेको 'तनहुँ फार्म' पुग्दा सहयोगी भाइबाट पनि पाएँ।
गोठको आडैमा राखिएको एउटा नोटकपी थियो।
म सोच्दैथेँ, लेखक वाग्लेको टिपोट कपी होला। के टिप्दा रहेछन् लेखकले भनेर यसो पल्टाएको, किरिङमिरिङ अक्षर देखेँ।
पछि सहयोगी भाइले सुनाए — खेतीबालीको रेखदेखसँगै कोरिया जाने तयारी चल्दै रहेछ!
यस्तो तयारी गर्दै, कलेज पनि पढ्दै र बेला बेला थोरै पैसाको जोहो पनि गर्दै गरेकाहरू काठमाडौंमा पठाओ र इनड्राइभ चलाउने कतिलाई भेटेँ, खासगरी दुईपांग्रे वाला। आफ्नो अनुकूल समयमा काम गरेर, अफिस जाँदा आउँदा बाटोमा पर्नेलाई लिफ्ट दिएर पनि थप आम्दानीको जोहो गर्न सकिएको अनुभव धेरैको सुनेँ।
सहरमा स्वआर्जनको यो स्वतन्त्रता नौलो आयाम हो, गजबको प्रगति हो!
शताब्दीपछि ब्युँझिएको गाउँ
सहरभन्दा अझ छिटो ब्युँझिएको छ गाउँ, जुर्मुराएर उठे जस्तो।
निर्वाहमुखी किसानीमा बाँचेको गाउँ सदियौंदेखि उस्तै गतिमा थियो —
मेलापात र घाँसदाउरा गर्नु; हिउँदको अन्ततिर जोतेर र गाईभैंसीको मल छरेर बारी ठिक्क पार्नु; चैत वैशाखताका धानमकै छर्नु, एकोहोरो र दोहोरो गोडमेल गर्नु; असार लागेपछि रोपाइँ गर्न तल खेततिर झर्नु; भदौ असोजतिर मकै भाँच्नु वा मकैबारीभित्रै कोदो रोप्नु, घैया धान भित्र्याउनु; दसैंतिहार मनाउनु; कात्तिक–मंसिरताका खेतको धान भित्र्याउनु, कुन्यु लाउनु, न्वागी खानु; बारीका खाली पाटाहरूमा गाई चराउँदै हिँड्नु; मध्य हिउँदमा दाउराको खलिया तयार पार्नु, भुटेको मकै भटमास खानु, वनदेवीको पूजा गर्नु, देवीको मन्दिरमा मेला भर्न जानु; झ्याउरे र चुड्का गाउनु, तन्नेरीहरू चौतारीमा बसेर मन साट्नु; र, फेरि वर्षाको बेला खेती गर्न बारी ठिक्क पार्नु।
ओल्लो गाउँदेखि पल्लोसम्म, लगभग सबैले सबैलाई चिन्नु, नाता लगाएर बोलाउनु, व्यवहारमा कुनै पर्खाल नराख्नु, आफ्नो बारीमा जे उब्जन्छ त्यही खानु।
मेरा दाइहरूले यही गर्नुभयो, बाहरूले यस्तै गर्नुभयो। हजुरबाले, जिजूबा, च्याप्चूबा र उनका पनि बाजेहरूले यसैगरी जुनी काटे।
बिस्तारै गाउँको यो रूटिन फेरियो। वर्षौंको अन्तरपछि पुग्दा यस्तै लाग्यो!
त्रिशुली तरेर गाडी रातोमाटो र ढुंगेलो बाटो हुँदै उकालो लाग्यो। घैया धान र मकैबारी कटेपछि लहरै घरहरू आइपुगे। असारको हपक्क गर्मीले बसिसक्नु छैन। टिनको छाना, रड, सिमेन्टले बनेका टारका पक्की घर झनै ताता।
सिलिङ फ्यानले तातो हावा फनफनी घुमाउँथ्यो। बाहिर तातो, भित्र तातो, माथि झनै तातो!
साँझ पर्न लागेपछि बाले बाहिर गोठमा धुँवा पुत्ताउनुभयो, भुसुना धपाउन। र, बाहिर पर्खालनिर बसेर अम्मल सल्काउनुभयो। तमाखुको सर्को तानेर छोडेको धुँवा गुजुल्टो परेर माथि उड्यो।
'खान्छस् त,' नातिले अनौठो मानेर हेरिरहेको देखेपछि बाले जिस्क्याउनुभयो, 'हामीले खाइहाल्यौं, तिमीहरूले नखानू। काम छैन यो दंगडी।'
आजु (हजुरबुबा) लाई केही भन्न सकेन उसले। दाँत फुकालेको थोतो मुख किचिक्क पारेर हाँसिरह्यो। आजुले खोरबाट भाले निकालेर साँझलाई 'लोकल' को जोहो गरेको देख्दा ऊ अचम्म पर्यो। ठूलोबाको घरमा भैंसीको दूध बाल्टीभरि दुहेको देख्दा झन् छक्कै!
यो सत्य हो, समयसँगै धेरै कुरा फेरिन्छ। यस्तो फेरिने क्रमको पनि एउटा गति हुन्छ। लय हुन्छ। तर पछिल्लो दशक यो गति भिन्न छ, तीव्र छ। कम्तीमा मेरो गाउँको तस्बिरले यस्तो भन्छ।
धेरैका घरहरू पक्की छन्; पक्की पुलले गाउँलाई त्रिशुलीपारिको हाइवेसँग जोडेको छ। बाह्रै महिना मोटर चल्ने बाटो छ। बिजुली बलेको छ। त्यति भएपछि टिभी, फ्रिज, हातहातमा स्मार्टफोन र अनलिमिटेड डेटा प्लान पुग्ने नै भयो।
भूकम्पपछिको पुनर्निर्माणले गाउँको तस्बिरै बेग्लै बन्यो। पुराना भत्किएपछिका नयाँ घर पक्की बने। बाटो ग्राभेल भयो।
यो बेग्लै कुरा हो यस्तो परिवर्तनको मूल्य र असर पनि दुइटै छ गाउँमा!
एउटा चित्र यस्तो छ— सक्नेले तरकारी खेती गरेका छन्। तरकारीको भाउ आएको बेला राम्रै हुन्छ आम्दानी। अरू बेला कुहिएर पनि जान्छ! गोठमा दुई–चार वटा भए पनि खसीबाख्रा झुन्डिएका छन्। दुई–चार पैसाको गर्जो टरेको छ।
सँगै, अर्को चित्र पनि छ — धेरैको गोठबाट गाई, भैंसी, गोरू हराए। आफ्नै गोठमा भैंसी पाल्नुभन्दा दूध किनेर खान खोज्नेहरूको संख्या बढ्यो; बारी जोत्न हाते ट्याक्टर आयो। घरहरू बलिया, राम्रा र ठूला बने, तर बस्ने मान्छेको संख्या कम हुँदै गयो। स्वास्थ्य चौकी ठडिए, स्वास्थ्य कार्यकर्ता, पशु स्वास्थ्य सहयोगी थपिए। सिंहदरबारजस्तो वडा कार्यालय बन्यो। तर सेवाग्राही घट्दै गए। विद्यालयको ठुल्ठूला भवन उभिए तर विद्यार्थी वर्षैपिच्छे पातलिँदै गए।
दस वर्षअघि गाउँलेको कल्पनामा पनि नआउने बाँदरको बिगबिगी प्रायः सबैजसो सिजनमा बढ्यो!
घर घरमा टिभी, हात हातमा स्मार्ट फोन भएपछि साँझ बिहान पानी पँधेरोमा, बिसौनीमा ओल्लोपल्लो घरका झिनामसिना कुरा (स्मल टक) हुने दिन पनि सकिए। खासमा ओल्लोपल्लो घरबीच भेटघाटै हुँदैन। गाउँ भन्नु मात्रै, मान्छेहरू आफ्नै घरभित्र हुन्छन् अधिक समय। सहरभन्दा त्यति फरक छैन गाउँमा पनि कतिपय आनिबानी।
बाहिरबाट हेर्दा सहरोन्मुख देखिन्छ गाउँ। पर्गेलेर हेर्दा भित्र पीडा बेग्लै छ।
प्रत्येक घरबाट एक न एक तन्नेरी जापान पुगेका छन्। अलि कम कोरिया। त्यसपछि बाँकी खाडी र मलेसियातिर। बाँकी काठमाडौं, सौराहा र पोखरातिर पेसा–व्यवसायमा छन्।
स्कुल र पालिका संरचनाले दिने बाहेक रोजगारीको अरू अवसर गाउँभित्र छैन। खेती किसानी गरेर बस्न 'सामाजिक मर्यादा' ले दिँदैन — फलानोले केही गर्नै सकेन, गाउँमै हली भएर बसेको छ भन्ने खालका बचनले!
जे जस्तो बचन पनि सहेर जो पाटा बारी खनिखोस्री बसेका छन् गाउँमै, उनीहरूको पीडा मेरो छोटो गाउँ बसाइमा पनि यसरी देखेँ — मध्य असारमा गाउँ पुग्दा वरिपरि छिमेकीले भने, 'भन्टाको भाउ आएन यसपालि!'
बैजनी रङको भन्टा ९ रूपैंया किलो थियो गाउँको तरकारी सहकारीमा। केही दिन अघिसम्म राम्रै थियो रे भाउ, अहिले घट्यो भन्थे।
म पुगेको नौ दिनपछि त्यो भन्टा ३५ रूपैयाँ किलोमा उठ्यो। जसले बढेको मोलमा बेच्न पाए उसलाई त ठीकै भयो, तर साता दिनअघि जसले सस्तोमा बेच्नुपर्यो, ती किसानलाई कति मार पर्यो!
बन्द, हड्ताल, पहिरो, बाटो घाटो आदिको कुनै समस्या थिएन त्यो अवधिमा। के कारण ४ सय प्रतिशत घटबढ हुन्छ एक हप्ताकै बीचमा तरकारीको भाउ?
सहरमा जसले यो तरकारी खपत गर्छन्, उनीहरूको परल मूल्य फेरिएको हुँदैन। किसानलाई भने यति ठूलो खाडल परिसकेको हुन्छ।
यस्तो अनिश्चितता भएपछि गर्मी खपेर, असिनपसिन हुँदै गाउँमै काम गर्न जो बाँकी बसेका छन्, ती पनि निराश बनेका छन्। उठेर हिँड्न मात्रै सकेका छैनन्!
जुर्मुराएर उठेजस्तो लाग्ने गाउँको यो तस्बिरले एउटा कुरा सोच्न बाध्य बनाउँछ — पूर्वाधार विकास तुलनात्मक रूपमै भए पनि, केही राम्रो बन्दा पनि किन गाउँमा मान्छे अडिन सक्दैन?
गाउँमा मान्छे टिकेनन् भन्ने 'न्यारेटिभ' मात्रै हो या खासमा तन्नेरीहरू बस्नै चाहँदैनन्? २०७२ सालमा भूकम्पका बेला गएको केही सरकारी राहत बाहेक कहाँबाट आयो पैसा र घरहरू ठडिए? अनि मान्छे चाहिँ किन अडिँदैनन्?
खोतलेर हेर्दा यस्तो देखिन्छ —
- कसको घरको स्तरोन्नति भएको छ — जसको कमाइ छ।
- कमाइ कसको छ — जसको काम छ।
तीनवटा तरिका छन् गाउँमा मानिसहरूको काम र कमाइ हुने।
पहिलो — रोजगारी। कि गाउँमै कि सहरतिर। गाउँमा रोजगारीको अवसर अति कमले मात्र पाउँछन्। पालिकाको कर्मचारी र शिक्षक बाहेक रोजगारी सिर्जना गर्ने अरू कुनै गतिविधि छैन गाउँमा। सहरको रोजगारीको कथा अर्को तहको भइगयो। सहरको रोजगारीले गाउँमा समेत घर बनाउन पुग्ने कमाइ सायदैको हुन्छ।
दोस्रो — वैदेशिक रोजगारी। गन्तव्य देश अनुसारको रेमिटेन्स भित्रिन्छ गाउँमा र सोही अनुसार गाउँको घरको छेकछन्द देखिन्छ।
तेस्रो — गाउँमै कृषि कर्म। यो कर्म कति दुःखी छ, त्यो माथि भनिसकेँ। निर्वाहमुखी कृषि कर्मलाई एकैछिन छोड्ने हो भने, भाउ आएको वर्ष अलिक राम्रो कमाइ हुन्छ। नत्र हात लाग्यो शून्य। यति हुँदा पनि साँच्चै दुःख गर्नेहरूले राम्रै अर्थोपार्जन गरेका छन् गाउँमा। पसिनासँग पैसा साटेका छन्। र, त्यही अनुसार घर पनि नयाँ र उज्यालो पारेका छन्।
कमाइको स्रोत जुन भए पनि, खासमा आम्दानी अनुसारको छ गाउँका घरहरूको छेकछन्द।
गाउँमै तन्नेरी टिकाउन, माथि भनिएका आम्दानीका तीनमध्ये तेस्रो विकल्प मात्रै छ गाउँसँग। तर यो यस्तो विकल्प हो, जसको कुनै भर छैन — एउटा वर्ष उत्पादनले मोला पाउँछ, अर्को वर्ष पाउँदैन। आम्दानीको यस्तो अनिश्चित विकल्प बोकेर दुःखको भारी उठाउन अघि सर्लान् त नवयुवा?
आय आर्जनका लागि गर्न मिल्ने कुनै विकल्पै नदिएपछि, नबनाइदिएपछि 'तन्नेरीहरू गाउँमा बस्न नचाहेको' होइन, अब त युवालाई गाउँ बस्नै नदिएको भन्नुपर्ने हुन्छ। त्यस बाहेक फलानोका छोराछोरी विदेश गयो/गई, फलानो चाहिँ गाउँमै हल्लिरहेको/की छ जस्तो सामाजिक मनोविज्ञान पनि छँदैछ तन्नेरीलाई गाउँबाट धकेल्न।
अनि कसरी अडिऊन् तन्नेरीहरू गाईगोठमा!
पानीपँधेरो डिपार्टमेन्टल स्टोर
गाउँ जाने बाटारू धेरै छन् र सजिला पनि। पक्की पुलले राजमार्ग जोडेको छ धेरेजसो ठाउँमा। अलि अघिसम्म 'डोजर आतंक' भनिए पनि चारपांग्रे गुड्न सक्ने चौडिला बाटा तयार छन्। ती चालु छन्।
सहरहरू जोड्ने हाइवेको कथा चाहिँ अलि बेग्लै छ।
यात्रा गर्न हाइवे सजिलो छ र अप्ठ्यारो पनि।
मुग्लिङबाट पोखरा सरर दुई घन्टामा पुगिन्छ। भलै नयाँ बनेको चार लेनको सडकमा लेन प्राथमिकता कसरी उपयोग गर्ने, विपरीत दिसा फर्किनुपर्दा एक्स्ट्रा लेन किन चाहिन्छ, आदि भोलिका दिनमा प्राथमिकतामा पर्लान्। अहिलेलाई दुई लेनको सडक दुईतिर छ। यसलाई नै ठूलो उपलब्धि मान्नुपर्छ। भरतपुरबाट मुग्लिङ आरामले पुग्नुहुन्छ, बेला बेला पहिरोले दुःख दिएन भने!
तर राजधानी जोड्ने मुख्य सडक — मुग्लिङदेखि काठमाडौंको हालत गएगुज्रेकै छ। मैले जानेदेखि यो सडक यस्तै छ। योभन्दा बर्बाद छ बुटवल नारायणगढ खण्ड। सास्ती यति पाइन्छ, सिधै नर्क पुगिएला जस्तो हुन्छ यात्राभरि!
बुटवलदेखि भरतपुरसम्म जाँदा लागिरह्यो — बाटो बन्छन्, फराकिलो बनाउन भत्काउनु पनि पर्छ। तर भएजति सबै सडक एकैचोटि भत्काउनुपर्छ भन्ने नहुनुपर्ने हो। यस्ता मुख्य सडकहरू न्यूनतम नै भए पनि सहज अवस्थामा राख्नुपर्छ भन्ने चेत आउन, सायद बाँकी छ। काम गरेको देखाउन सबैतिर भत्काउनुपर्ने पर्दा पछाडिको खेल हो भने ठेकेदार र मिलिभगतमा जो जो सामेल छन्, उनीहरू नै जानून्।
पहाडका सडकहरू कहीँ द्रुत छन्, कहीँ अलि सुस्त।
पोखराबाट पाल्पा हुँदै जब बुटवल लाग्नुहुन्छ, कास्की जिल्लाभरि त्यो पहाडी बाटो चिल्लो कालो छ। जब स्याङ्जा लाग्छ, हालत 'पत्ला' बन्छ। डेढ दशकअघि मैले यात्रा गर्दा जुन अवस्था थियो, एउटा ढुंगो पनि थपिएको छैन त्यो खण्डमा। बरू स्याङ्जाको पहाडी गाउँभरि नगरपालिका थपिएका छन्।
पाल्पाको तल चुरेतिर र सिद्धबाबाको लेक आसपासको सडक त राष्ट्रिय दुःख भइहाल्यो।
छिमेकी पर्यटक तान्ने पोखराको सपना कति चकनाचुर पारिदिएको होला यो बाटोले! कुनै योजनाविद या तथ्यांकशास्त्रीले हिसाब निकालेको भए हेर्न हुन्थ्यो!
पाल्पाबाट तराई झरेपछि चाहिँ अलि अलग छ चित्र। बुटवल–भैरहवा फराकिलो सडकले जोडिएको छ। र, दुई सहर अब एउटै जस्तो देखिन्छ। जसरी दुलेगौंडा र पोखरा लगभग जोडिएको छ, काठमाडौं र धुलिखेल बस्तीले बाक्लिएको छ।
गैडाकोट गाउँ रहेन, सहर बन्यो। भरतपुर दिन दुई गुना, रात चौगुना फराकिएको छ।
पोखरा जाँदा लेखनाथ नगरपालिकातिर होला, बाटोमा एउटा नाम देखिन्छ, 'पानीपँधेरो डिपार्टमेन्टल स्टोर'।
सहर फैलिएसँगै फरक फरक नामका वा अनौठो नामका किनमेल केन्द्रहरू बन्न थालेका छन्। किनमेल गर्ने बानी फेरिएको छ। भाटभटेनी सुपर स्टोर जानु इज्जतकै कुरा भयो। सानातिना डिपार्टमेन्टल स्टोर त चोक चोकमै भेटिन्छन्। यस्ता स्टोर वा सुपरमार्केट बढ्दै गएपछि घरघरका किराना पसल, तिनले दिने जीविकोपार्जनको बाटो सायद केही वर्षपछि अतीत बन्न बेर छैन।
मध्य बर्खामा पोखरा पुग्दा पर्यटकको हुल ठिकै थियो, सिजनको भन्दा अलि कम। कुम ठेलेर हिँड्नुपरेन। हिमालयन जाभा छिरे पनि भयो, रोडहाउस क्याफे पसे नि भय। मान्छेको भिडले दिने 'एम्बिएन्स' कम भयो होला, तर हाम्रा लागि त्यही जाती भयो।
जे जे गरे पनि अन्तिममा हाम्री छोरीले थकाली सेट नै दोहोर्याएर खान खोजी!
दुई दिनसम्म बादलको घुम ओढेर बसेको पोखरा तेस्रो दिन बिहान छ्यांग खुल्यो।
सराङकोटको पाखोबाट प्याराग्लाइडिङमा पामेको बगरमा हाम फालेपछि छोरोले सोध्यो, 'अझै उड्न मिल्दैन?'
उसले खुब 'इन्जोय' गरेछ।
पर्यटकहरू जे जति थिए, भारतीय थिए अधिक। वरिपरिका डाँडाका हिन्दु मन्दिरहरूमा जति भेटिन्थे — सराङकोटको कैलाशेश्वर शिव मन्दिर र पञ्चमुखे गणेशको मन्दिर, फेवातालपारि सेतो प्यागोडाको पल्लो पाखाको शिव मन्दिर — ती सबैजसो छिमेकी देशका थिए। मन्दिरहरूको पार्किङ लटमा झन्डै ६० प्रतिशत गाडी भारतीय नम्बर प्लेटका थिए।
धार्मिक पर्यटन अहिलेको ट्रेन्ड हो सायद।
सायद यस्तै धार्मिक यात्राका लागि थिए दिल्लीदेखि एयर इन्डियामा मैले देखेको हुल। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै काठमाडौं उड्न तिनीहरू हुलका हुल थिए। पाँच–सात परिवारको हुल; घरमै पकाएको पुरी–तरकारी र निम्की खाँदै सानोतिनो पिकनिक त वेटिङ लाउन्जमै पूरा गरिसकेका थिए।
र, पिकनिक भोजनपछि पाचकको गोली मुखमा हाल्दै ट्वाक्क जिब्रो पड्काएका थिए। पाचकको बट्टा खोल्दा मसला मिसिएको बिरेनुनको ह्वास्स गन्धले पल्लो लहरमा बसेका हामीलाई पनि छोपेको थियो। त्यही हुल बाँधेर आएकाहरू त हुन् नि प्लेनबाट ओर्लिनेबित्तिकै टारम्याकमै सेल्फी र रिल्स खिच्नेहरू!
राजधानीमा — पशुपति, स्वयम्भू, बौद्ध, बसन्तपुर, पाटन, भक्तपुर दरबार घुम्दा देखिने पर्यटकहरूमा पनि भारतीय घुमन्तेहरूकै संख्या धेरै थियो। पशुपतिमा यो अझ विशेष थियो। थप भेटी चढाएर शिवलिंगको चार दिशामा बसेका भट्टहरूबाटै पूजा गराउन पुग्ने उनीहरू नै अधिक भेटेँ।
लुम्बिनी पुग्दा चाहिँ धार्मिक पर्यटनको यो चित्र अलि निराश थियो।
यस्तो निराश १५ वर्ष पहिले पुग्दा पनि भएको थिएँ।
खासमा त्यो बेला र अहिले मायादेवीको मन्दिर वरिपरि एउटा इँटा पनि थपघट थिएन, बाहिर विभिन्न देशले बनाएका मोनास्ट्री बाहेक। लुम्बिनी बुद्धको जन्मस्थान भए पनि नेपालले यसलाई पूर्ण स्वामित्व नलिए जस्तो लाग्छ कहिलेकाहीँ। यसको सदुपयोग, यसबाट हुनसक्ने लाभ केही पनि लिन सकेको देखिँदैन।
यस्तो अनुभूति मलाई काठमाडौंमा पनि भएको थियो — पशुपतिमा अलि अलि फेरिएको रूप बाहेक स्वयम्भू र बौद्ध उस्तै छन् वर्षौंपछि पनि। स्वयम्भू त झन् थोत्रो देखिन्छ स्याहार नपुगेर। त्यस्तै पुरातन गैरहिन्दु आस्थाका केन्द्रहरूको रेखदेख पनि उति छैन। कम्तीमा मेरो आँखाले यस्तो देख्यो!
स्मृति, विस्मृति
हजार कमजोरी छन्, पूर्ण कोही हुँदैन, कुनै समाज शतप्रतिशत असल छैन। आलोचनाको पाटो एकापट्टि राखेर हेर्ने हो भने, सुस्त र छिटफुटे भए पनि, केही प्रयास भएकै छन्। ढिलै सही, समाज, सोच उठिरहेकै लाग्छ।
केही हुँदै भएन भन्ने बोली सुन्दा लाग्छ — महत्वाकांक्षी हुनु ठिक हो, तर यति पनि हुनु भएन जसले सधैं निराश मात्रै बनाइरहोस्।
आशा र निराशाको 'गोल्डिलक्स जोन' कहाँ हो, भन्न सकिँदैन।
यति भन्न सकिन्छ — हामी कहाँ उभिएका छौं त्यो भुल्नु हुँदैन।
फर्केर हेर्न पनि सक्नुपर्छ। हिजो हामी कहाँ थियौं, कस्तो थियौं, कति परिश्रम गर्नुपर्थ्यो। कस्तो कठिनाइको काँध चढेर आज आइपुगेको हो भन्ने पनि ख्याल गर्नैपर्छ। विगत बिर्सियौं भने आतगको उपलब्धि महत्ताहीन बन्छ।
नेपालको त्यो बसाइमा भेटिएका बुद्धिजीवी, लेखक, पत्रकार, राजनीतिकर्मी, कर्मचारी र अरूहरूको संगतबाट एउटा कुरा प्रस्ट भयो — Nobody owns गणतन्त्र, कसैलाई पनि गणतन्त्रको बचावट गर्नुपरेको छैन। लोकतन्त्रको अपनत्वमा ठूलो भ्वाङ परेको देखिन्छ। यस्तो निचोड जेनजी आन्दोलन अघिको थियो। आन्दोलनपछि त्यो देखियो पनि!
हाम्री छोरीले चाहिँ बेलायती यात्री भ्लगर ह्यारी ज्याक्सनले काठमाडौंका सडकमा खिचेका युट्युब भिडिओबाट देखी त्यो आन्दोलनको दृश्य। स्कुलबाट फर्किने बित्तिकै कुनै न कुनै भिडिओ देखाउँथी।
सोध्थी — के भयो आन्दोलनमा? किन युथहरूलाई गोली हानेको?
केहीले राजनीति र व्यापारको लिगेसी खडा गरे। त्यो लिगेसीप्रति लोयल्टी बढ्यो, गणतन्त्रप्रतिको आस्था पातलो भयो। आम उदासीनताको एउटा कारण सायद यो पनि हो।
फर्किएको केही महिनापछि, प्यारेन्ट–टिचर मिटिङमा छोरीको क्लास टिचरले समरको काठमाडौं यात्रा रमाइलो भएछ नि भने।
'वर्षौंपछि आमाबुबा, आफन्त, नातागोता साथीभाई भेट्न पाउनु, रमाइलै हो नि,' हामीले भन्यौं।
'कस्तो परिकार हो त्यो भैंसीको काँचो मासु। पक्कै युनिक हुनुपर्छ,' उनले थपे।
बल्ल थाहा भयो, फुड एन्ड ट्राभल लेखनका लागि पाटन 'होनचा' को पीरो आलुको अचार, काँचो तोरीको तेलसँग लसुन र अदुवा मिसिएको छोएला खाँदै गर्दा पानीले चुटेको सम्झना छोरीले लेखेकी रहिछ। पुरानो मन्दिरको बगलमा होचो टुलमाथि पीरोले पसिना पुछ्दै छोयला खाएको क्षण उसको सम्झनामा बसेको रहेछ।
सोच्छु — बुद्ध जन्मेको लुम्बिनी, हात्तीमाथि सयर गरेको सौराह, सायद पछिलाई साँची होली!
वा, पीरो अचार र छोयला युनिक थियो सायद, छोरीको स्मृतिमा त्यसले ठाउँ पाएछ।
त्यसको केही दिनपछि छोरोलाई अपर्झट इमर्जेन्सी लैजानुपर्यो। अस्पताल पुगेको केही घन्टामै एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भयो।
डाक्टरहरूले हतार हतार अपरेसन थिएटरभित्र हुल्न लाग्दा उसले भन्यो — मामामाइजू, सानी बहिनी, हजुरआमा, आजुअजी र काकाकाकी, कजनहरूलाई मिस गर्दैछु।
आइभी क्यानुलाबाट एनेस्थेसिया चलाइसकेकाले यति भनिसक्दा उसका आँखा लोलाए। केहीबेरमै उसलाई नर्सहरूले अपरेसन थिएटरभित्र हुले।
अर्कै भूगोलमा छौं हामी।
उसको स्मृति, अप्ठ्यारो क्षणमा आफ्नै मूलमा पुगेको रहेछ!
***