नेपाल र स्विट्जरल्यान्ड दुवै साना, पर्वतीय र भूपरिवेष्ठित देश हुन्। तर उनीहरूको यात्रा एकदमै विपरीत दिशामा अघि बढेको छ।
स्विट्जरल्यान्डले स्थिर लोकतन्त्र, पारदर्शी शासन र नवप्रवर्तनमा गरिएको दीर्घकालीन लगानीका आधारमा आफ्नो सीमित भौगोलिक अवस्थालाई अवसरको शक्तिशाली आधार बनायो। विश्वविद्यालय, उद्योग र सरकारबीचको सन्तुलित सहकार्य र आपसी विश्वासले यो देशलाई विश्व नवप्रवर्तन सूचकांकको शीर्षस्थानमा पुर्याएको छ।
नेपालमा भने दृष्टिको कमी, इच्छाशक्तिको दुर्बलता, संरचनागत कमजोरी, जबाफदेहिताको अभाव र अपारदर्शिताजस्ता समस्या प्रगतिको बाटोमा ठूला अवरोध बनेका छन्।
सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्ड भ्रमणमा आउँदा हामीले उनलाई त्यहाँको सफल नवप्रवर्तन मोडल प्रत्यक्ष रूपमा देखाएका थियौं। तर त्यसपछिका वर्षहरूमा लामो समय सत्तामा रहे पनि नेपालमा नवप्रवर्तनका प्रयासहरू कागज र भाषणको सीमाभित्रै अडिए।
युवालाई नवप्रवर्तन र सिर्जनात्मक कार्यबाट टाढा राख्ने पुरानो संरचनाले नै सायद आजको जेनजी आन्दोलन जन्माएको हो। अहिले प्रविधि र नवप्रवर्तनमा अनुभवी, दृष्टि भएका र इमानदार महावीर पुनजस्ता व्यक्तिहरू जिम्मेवारीमा छन्।
अब देशले सुन्ने मात्र होइन, इमानदार रूपमा काम गर्ने समय आएको छ। देशको काँचुली फेर्ने ऐतिहासिक घडी यतिखेर हाम्रो हातमै छ।
स्विट्जरल्यान्ड र नेपाल– समान भूगोल, फरक दृष्टिकोण
नेपाललाई जसरी दुई ठूला अर्थतन्त्रले घेरेको छ, त्यस्तै स्विट्जरल्यान्ड पनि जर्मनी, फ्रान्स र इटालीजस्ता शक्तिशाली अर्थतन्त्रबीच घेरिएको सानो देश हो। आल्प्स पर्वत शृंखलाले ढाकिएको यसको भूगोल नेपालको हिमालयसँग अदभूत समानता राख्छ। यही कारण दशकौंदेखि हाम्रा नेताहरूले 'नेपाललाई स्विट्जरल्यान्ड जस्तो बनाउने' सपना दोहोर्याउँदै आएका छन्।
तर समृद्धि नाराले होइन, दीर्घकालीन सोच, सुदृढ संस्थागत प्रणाली र नवप्रवर्तनमा गरिएको निरन्तर लगानीले आउँछ।
स्विट्जरल्यान्डले आफ्नो सानो आकार, तटस्थता र सीमित प्राकृतिक स्रोतलाई कमजोरी होइन, अवसरको रूपमा रूपान्तरण गर्यो। स्थिर लोकतन्त्र, पारदर्शी शासन र आपसी विश्वासमा आधारित समाज निर्माण गर्दै यसले शिक्षा र विज्ञानलाई साझा सम्पत्ति मानेको छ।
आज स्विट्जरल्यान्ड आफ्नो कुल राष्ट्रिय उत्पादनको करिब ३.४ प्रतिशत अनुसन्धान तथा विकासमा खर्च गर्छ र दशकौंदेखि विश्व नवप्रवर्तन सूचकांकमा एक नम्बरमा रहँदै आएको छ।
म जब इटिएच ज्युरिकमा अध्ययन गर्थेँ, तब स्विट्जरल्यान्डको सफलता किन स्थायी छ भन्ने कुरा अझ प्रस्ट भयो। यहाँका विश्वविद्यालयहरू केवल घोकाइका केन्द्र वा राजनीतिक अखडा होइनन्, ती विज्ञान, प्रविधि र नवप्रवर्तनका वास्तविक प्रयोगशाला हुन्।
इटिएच ज्युरिकले हरेक वर्ष हजारौं इन्जिनियर र वैज्ञानिक तयार मात्र पार्दैन, उनीहरूको विचारलाई उत्पादन, संस्था र उद्योगमा रूपान्तरण गर्न पनि सशक्त पारिस्थितिकीय तन्त्र पनि तयार गर्छ। त्यहाँको 'विद्यार्थी परियोजना गृह' २४ घन्टा खुला रहने सिर्जनात्मक कार्यस्थल हो, जहाँ विद्यार्थीहरूले आफ्ना विचारलाई प्रोटोटाइपमा रूपान्तरण गर्न आवश्यक सबै उपकरण, स्रोत र सहयोग सहजै पाउँछन्।
त्यस्तै, 'उद्यमशीलता तथा नवप्रवर्तन प्रयोगशाला (आइल्याब)' ले अनुसन्धानकर्ताहरूलाई अनुभवी सल्लाहकार, लगानीकर्ता र कानुनी सल्लाहदातासँग जोडेर उनीहरूको अनुसन्धानलाई व्यवसायमा रूपान्तरण गर्न मार्गदर्शन गर्छ। उत्कृष्ट विचारहरूलाई प्रारम्भिक लगानी, व्यावहारिक तालिम र निरन्तर परामर्श प्रदान गरिन्छ।
नजिकै रहेको 'टेक्नोपार्क ज्युरिक' मा यस्ता प्रयासहरूबाट जन्मिएका करिब २५० प्रविधि–आधारित कम्पनी र अनुसन्धान समूह कार्यरत छन्, जहाँ झन्डै ३ हजार जना काम गर्छन्।
यस्तै सशक्त संयन्त्र र सहकार्यको परिणाम स्वरूप पछिल्ला दुई दशकमा इटिएच ज्युरिकबाट पाँच सयभन्दा बढी नयाँ कम्पनीहरू जन्मिएका छन्। तिनले रोबोट प्रविधि, जीव–विज्ञान र स्वच्छ ऊर्जाजस्ता क्षेत्रहरूमा विश्वस्तरको पहिचान स्थापित गरेका छन्।
यी सबै प्रयासहरू 'इन्नोसुइस' (स्विस नवप्रवर्तन परिषद) को संरक्षणमा फस्टाएका हुन्। यो संस्थाले अनुसन्धानकर्तालाई सुरूआती चरणमै साथ र मार्गदर्शन दिन्छ। साझा लगानीमार्फत आर्थिक सहयोग पुर्याउँछ। र, अनुभवी व्यक्तिबाट सल्लाह तथा प्रशिक्षणको अवसर दिलाउँछ।
यसरी, इन्नोसुइसले अनुसन्धानमा हुने जोखिम घटाएर राम्रो विचारलाई बजारसम्म पुर्याउने पुलको काम गर्छ। स्विट्जरल्यान्ड शीर्षस्थानमा पुग्नु कुनै संयोग होइन; यो विश्वविद्यालय, उद्योग, लगानीकर्ता र सरकारबीचको सन्तुलित सहकार्यको परिणाम हो। ठूला अर्थतन्त्रबीच रहेको यो सानो 'तरूल' ले आफ्नो पहिचान नवप्रवर्तन र उत्कृष्टतामा बनाएर देखाएको छ।
दुई देशबीचको पुल – 'नेप्सास' को उदय
स्विट्जरल्यान्डमा विश्वका शीर्ष १० विश्वविद्यालयमध्ये पर्ने इटिएच ज्युरिक जस्तो प्रतिष्ठित शिक्षण संस्था पनि छ। यही विश्वविद्यालयबाट अल्बर्ट आइन्स्टाइनले आफ्नो स्नातक शिक्षा लिएका थिए।
म इटिएच ज्युरिकमा अध्ययनरत हुँदा स्विट्जरल्यान्डमा थोरै मात्र नेपाली विद्यार्थीहरू थियौं।
दसैंतिहारका जमघटहरूमा हामी सबैको मनमा एउटै प्रश्न घुम्थ्यो — नेपाल र स्विट्जरल्यान्डबीचको प्रविधिगत खाडल कसरी घटाउने?
धेरै जना व्यक्तिगत रूपमा आफ्ना सीप र ज्ञान नेपालमा कसरी पुर्याउने भन्ने सोचमा लागिपरेका थिए।
त्यही समयमा, इटिएच ज्युरिकको विद्यार्थी परियोजना गृहका एक म्यानेजरले मलाई सम्पर्क गरे। उनकी साथीले जुम्ला भ्रमणका क्रममा स्थानीय किसानहरू हाडेओखर ढुंगाले फुटाउँदै, सियोले गुदी निकाल्दै, त्यसलाई लोहोरोले पिनेर कपडामा छानेर तेल निकालिरहेको दृश्य देखेकी थिइन्।
त्यो कष्टसाध्य प्रक्रिया र किसानहरूको मेहनतले उनलाई गहिरो रूपमा छोयो। यो सुनेपछि इटिएचमा पढिरहेका दुई इन्जिनियरले स्थानीय ओखरबाट तेल निकाल्ने सरल, सुलभ र व्यावसायिक मेसिन विकास गर्ने लक्ष्य लिए।
यसरी जन्म भयो 'मिठो' परियोजनाको।
उनीहरूले विकास गरेको मेसिन नेपाली किसानलाई कति उपयोगी हुनेछ भन्नेबारे मेरो राय जान्न उनीहरूले मलाई बोलाएका रहेछन्।
कोसौं टाढा जन्मिएका स्विस इन्जिनियरहरू नेपालको दुर्गम जुम्लाका किसानको समस्या समाधान गर्न लागिपरेको देख्दा, मभित्र एक प्रकारको हिनताबोध जाग्यो। देशको विकासमा टेवा पुर्याउन नेपालमै बस्नुपर्दैन, आफ्नै स्थानबाट जे सकिन्छ, त्यही गर्नु सबभन्दा अर्थपूर्ण योगदान हो भन्ने गहिरो प्रेरणा जग्यो।
त्यसपछि सहकर्मीहरूसँग मिलेर हामीले स्थापना गर्यौं नेपाली वैज्ञानिक संघ, स्विट्जरल्यान्ड (नेप्सास)— स्विट्जरल्यान्डका वैज्ञानिक, इन्जिनियर र उद्यमीलाई नेपालका युवा नवप्रवर्तकसँग जोड्ने एउटा सेतुका रूपमा।
नेप्सासले स्विस र नेपाली दूतावासको सहकार्यमा लगातार तीन वर्षसम्म सञ्चालन भएका कार्यशालाहरूले १५ देशका मेन्टरहरूलाई नेपाली विद्यार्थीहरूसँग जोड्दै स्टार्टअप सुरू गर्न चाहने युवामा उत्साह, आत्मविश्वास र सम्भावनाको नयाँ ढोका खोलिदियो।
ती कार्यक्रमहरूले ५० भन्दा बढी नयाँ विचार, १५ प्रोटोटाइप र थुप्रै स्टार्टअपहरू जन्माए — जसमध्येको एक रारा बायोटेकले ग्रामीण किसानका लागि गाईभैंसीको गर्भ जाँच गर्ने पोर्टेबल उपकरण विकासमा काम गर्यो
स्विस दूतावासबाट प्राप्त १० हजार फ्रांकको प्रारम्भिक अनुदानको सहयोगमा रारा बायोटेकले आवश्यक प्रविधिमा काम गर्यो। तर नेपालमा उक्त प्रविधिलाई व्यवसायमा रूपान्तरण गर्न सकिएन।
यसको मूल कारण नेपालमा नवप्रवर्तनलाई उद्योगमा परिणत गर्ने आवश्यक 'इकोसिस्टम' अझै तयार हुन नसक्नु हो। स्टार्टअप–मैत्री नीतिको कमी, बौद्धिक सम्पत्ति संरक्षणको कमजोर अवस्था र लगानी तथा व्यावसायिक मार्गदर्शनका संरचनाहरू संस्थागत हुनै बाँकी छन्। परिणाम स्वरूप, सयौं रोजगारी सिर्जना गर्न सक्ने क्षमता भएको उक्त स्टार्टअपका संस्थापकहरू नै अन्ततः विदेश पलायन हुन बाध्य भए।
अनपेक्षित फोन
एक दिन म माइक्रोस्कोपी कोठामा अनुसन्धानमा व्यस्त थिएँ। त्यही बेला स्विट्जरल्यान्डस्थित नेपाली राजदूतको फोन आयो।
उहाँले भन्नुभयो, 'प्रधानमन्त्री विश्व आर्थिक मञ्चका लागि डाभोस आउँदै हुनुहुन्छ। ज्युरिकमा उहाँको केही समय खाली हुनेछ। के तपाईंले विश्वविद्यालयमा कार्यक्रम गरेर नेप्सासको काम र स्विट्जरल्यान्डका विश्वविद्यालयहरूले नवप्रवर्तनलाई कसरी संस्थागत रूपमा विकास गर्छन् भन्ने विषयमा प्रस्तुत गर्न सक्नुहुन्छ?'
हामीसँग तयारीका लागि एक साताभन्दा कम समय थियो। मैले तुरून्त विश्वविद्यालयका अध्यक्ष र वरिष्ठ पदाधिकारीहरूलाई इमेल पठाएँ। तर दुई दिनसम्म कुनै प्रतिक्रिया आएन।
अन्ततः मेरा पिएचडी गुरूले विश्वविद्यालयका उपाध्यक्षलाई फोन गर्नुभयो। त्यसपछि मात्र थाहा भयो, विश्वविद्यालयले मेरो इमेललाई 'स्क्याम' ठानेको रहेछ। कुरा स्पष्ट भएपछि विश्वविद्यालयले तुरून्त सहमति जनायो।
अध्यक्ष डाभोसमा व्यस्त भएकाले आउन सक्नुभएन। तर उपाध्यक्ष ज्युरिक फर्केर वरिष्ठ टोलीसहित प्रधानमन्त्रीलाई स्वागत गर्नुभयो।
हामी नेप्सास, इटिएचका सहकर्मीहरू र मेरा गुरूहरू सबै मिलेर कार्यक्रम तयार पार्न सफल भयौं। नेपालमा आयोजित हाम्रो कार्यक्रममा नेपाली विद्यार्थीहरूको नवप्रवर्तनप्रतिको उत्साह देखेर प्रभावित भएका मेरा गुरूले आफ्ना केही बैठक स्थगित गरेर उक्त कार्यकम सम्पन्न गर्न पूर्ण सहयोग गर्नुभयो। उहाँको त्यो सहयोगले नै छोटो समयमै त्यो ऐतिहासिक कार्यक्रम सम्भव भयो।
विद्यार्थी परियोजना गृहमा प्रधानमन्त्रीसँग कार्यक्रम
कार्यक्रमका लागि इटिएच ज्युरिकको मुख्य सभागृह उपलब्ध भए पनि हामीले जानाजानी विद्यार्थी परियोजना गृह नै रोज्यौं। किनकि, नवप्रवर्तनको पहिलो बिउ त्यहीँ अंकुरिन्छ।
हाम्रो उद्देश्य सरल तर गहिरो थियो — इटिएच ज्युरिकले विद्यार्थीका विचारलाई कसरी उद्योगसँग जोडेर वास्तविक समाधानमा रूपान्तरण गर्छ, त्यो नेपालका प्रधानमन्त्री लगायत उच्चस्तरका कार्यकारीहरूलाई प्रत्यक्ष अनुभूति गराउनु।
प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित हुँदाहुँदै पनि हामीले कुनै औपचारिक भाषण, आसन व्यवस्था वा प्रोटोकल राखेनौं। यसको सट्टा, विद्यार्थी परियोजना गृहका प्रमुखले कागजी झन्झट बिना विद्यार्थीका आइडियालाई इटिएचले कसरी उद्योगमा रूपान्तरण गर्छ भन्ने सम्पूर्ण प्रक्रिया सरल तर प्रभावशाली रूपमा प्रस्तुत गरे।
त्यसपछि हामीले विश्वस्तरमा पहिचान बनाएका इटिएच ज्युरिकका 'स्पिन–अफ' स्टार्टअपहरू प्रस्तुत गर्यौं। त्यसले विश्वविद्यालय–उद्योग सहकार्य कति शक्तिशाली र रूपान्तरणकारी हुन सक्छ भन्ने ज्वलन्त उदाहरण देखायो।
साथै मैले स्विट्जरल्यान्डको नवप्रवर्तन–चक्र व्याख्या गरेँ — कसरी विश्वविद्यालयमा जन्मिएका विचार उद्योगमा रूपान्तरित भई अर्थतन्त्रमा योगदान गर्छन् र त्यही अर्थतन्त्रको एक अंश पुनः अनुसन्धान र नवप्रवर्तनमा फर्केर लगानी हुन्छ। यही निरन्तर चक्रले स्विट्जरल्यान्डलाई विश्व–नवप्रवर्तनको शीर्षस्थानमा राखेको छ।
यो कार्यक्रमले नेपालले अवलम्बन गर्नुपर्ने नवप्रवर्तनको बाटो प्रधानमन्त्रीका अगाडि प्रस्ट राख्यो।
आशा र छुटेको गति
कार्यक्रमको अन्त्यमा बोल्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले त्यस भेटलाई डाभोस भ्रमणकै 'सबभन्दा उत्पादक बैठक' भने।
इटिएचका अधिकारीहरू उनको जिज्ञासा, सरलता र खुलापनबाट प्रभावित भए।
त्यति बेला देशमा राजनीतिक स्थायित्व र सामूहिक आशाको उज्यालो फैलिएको थियो; प्रधानमन्त्रीले स्वदेश फर्केपछि स्टार्टअप र नवप्रवर्तनको इकोसिस्टम निर्माण गर्ने प्रतिबद्धता जनाए।
तर ती वाचा संरचनामा रूपान्तरण हुन सकेनन्। नवप्रवर्तन भाषण र कागजमै सीमित रह्यो— दृष्टि, कार्यढाँचा, ठोस बजेट र संस्थागत संरचना बिना। केही पहलहरू प्रतीकात्मक बने, केही स्वार्थ र गुट–प्रवृत्तिको जालोमा परे। परिणाम स्वरूप, त्यो आशा पनि हात्ती आयो, हात्ती आयो—फुस्सा जस्तै बन्यो।
केही महिनापछि म पहिलो पटक सिंहदरबार पुगेँ, शिक्षा मन्त्रालयका सचिव भेट्न। म नेपाल फर्केर स्टार्टअप प्रवर्द्धनका लागि 'को–वर्किङ स्पेस' सुरू गर्ने र बिउपुँजी कार्यक्रम ल्याउने योजनासहित गएको थिएँ।
सचिवज्यूले मुस्कुराउँदै भन्नुभयो, 'तपाईं किन नेपाल फर्किन चाहनुहुन्छ? तपाईं त संसारकै उत्कृष्ट संस्थामा काम गर्दै हुनुहुन्छ। बिदामा नेपाल आउनुहोस्, यस्ता कार्यक्रम बिस्तारै गर्दै जानुहोस्।'
नेपाल सरकारको 'विदेशबाट सीप नेपाल भित्र्याउने' नारा कागजमै सीमित रहेछ भन्ने कुरा त्यति बेलै प्रस्ट भयो। फर्किन खोज्नेहरूलाई प्रणालीले तान्दैन, उल्टै धकेल्छ।
अझ पीडादायक कुरा त के भयो भने, विदेशी लगानीकर्ताहरू नेपालका स्टार्टअपमा लगानी गर्न तयार हुँदा पनि त्यसलाई सहज बनाउनुको साटो उल्टै 'कमिसन' मागियो। स्विट्जरल्यान्डमा पिएचडी सकेपछि नेपाल फर्केर 'को–वर्किङ स्पेस' चलाउने र 'स्टार्टअप इकोसिस्टम' निर्माण गर्ने मेरो सपना टुट्यो।
अनि म अमेरिका पलायन भएँ।
आह्वान – प्रत्येक विश्वबिद्यालयमा इन्नोभेसन सेन्टर
नयाँ शिक्षा, विज्ञान र प्रविधिमन्त्रीको नेतृत्वमा सुरू भएको 'नेपाल इन्नोभेसन सेन्टर' पहलले देशमा नवप्रवर्तनका लागि आवश्यक संरचनागत सुधारको आवश्यकता स्पष्ट रूपमा देखाएको छ। महावीर पुनले नागरिकस्तरबाट अघि बढाएको अभियानले नेपाली समाजमा विज्ञान, प्रविधि र अनुसन्धानप्रति जागरण ल्याएको छ।
तर यो जागरणलाई दिगो र प्रभावकारी बनाउन, नवप्रवर्तनलाई राष्ट्रिय अर्थतन्त्रसँग संस्थागत रूपमा जोड्न आवश्यक छ।
त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक राष्ट्रिय नवप्रवर्तन नीति तयार गरी सबै प्रमुख विश्वविद्यालय (त्रिवि, केयू, आइओई, पोखरा, सुदूरपूर्व आदि) मा 'परियोजना गृह' स्थापना गर्नुपर्छ। त्यहाँ अनुसन्धान, उद्योग–सहकार्य र उद्यमशीलता एउटै संरचनाभित्र समन्वित रूपमा सञ्चालन होऊन्। देशका प्रमुख सहर र प्रदेशहरूमा टेक्नोपार्कहरू निर्माण गरिनुपर्छ जहाँ स्टार्टअप, उच्चस्तरका प्रयोगशाला, लगानी संस्था र व्यावसायिक सेवा एउटै क्याम्पसमा उपलब्ध होऊन्।
प्रत्येक प्रदेशमा एकद्वार उद्यमशीलता सेवा केन्द्र स्थापना गरिनुपर्छ — पेटेन्ट दर्ता, स्पिन–अफ गठन, लगानी पहुँच, नीति मन्त्रणा र कानुनी परामर्श सबैका लागि एउटै प्रवेशद्वार। यसले अनुसन्धानकर्ता र उद्यमीलाई अनावश्यक प्रक्रियाबाट मुक्त पार्नेछ।
साथै कम्पनी दर्ता, बौद्धिक सम्पत्ति दर्ता, प्रविधि स्थानान्तरण र वैदेशिक लगानी फिर्ताका प्रक्रिया पूर्ण रूपमा डिजिटल, पारदर्शी र समयबद्ध बनाउनु अत्यावश्यक छ।
नवप्रवर्तनलाई रोजगारी र उत्पादनमा रूपान्तरण गर्न तालिम, कोचिङ र प्रारम्भिक लगानी सजिलै उपलब्ध गरिनुपर्छ। प्रारम्भिक चरणका स्टार्टअपलाई लक्ष्य आधारित कर राहत दिइने स्पष्ट संयन्त्र आवश्यक छ।
यी सबै प्रयास संस्थागत गर्दै राष्ट्रिय जिडिपीको कम्तीमा २ प्रतिशत अनुसन्धान र नवप्रवर्तनमा लगानी गर्ने प्रतिबद्धतासहित पाँच वर्षभित्र नेपाललाई नवप्रवर्तन सूचकांकमा कम्तीमा २० स्थान उकास्ने लक्ष्यसहित दीर्घकालीन योजना आवश्यक छ।
महावीर पुनजस्ता व्यक्तिले नेपालमा आवश्यक नवप्रवर्तन संस्कृति निर्माण गर्ने बाटो पहिल्यै खोलिसक्नुभएको छ। तर अघिल्ला सरकारहरूको पर्याप्त सहयोग नपाउँदा ती प्रयास ठोस संरचनामा रूपान्तरित हुन सकेनन्। अहिले आफू नै मन्त्रालयको नेतृत्वमा आउनुभएको अवस्थामा, सुरू गरिएका कार्यक्रम संस्थागत हुने आशा बलियो बनेको छ।
यस कार्यमा हातेमालो गर्न हामी उत्सुक छौं।
नेपाल र स्विट्जरल्यान्ड दुवै साना देश हुन्, तर स्विट्जरल्यान्डले प्रमाणित गरिदिएको छ कि भूगोल भाग्य होइन, सोच, प्रणाली र लगानीले बनाउने हो। स्विट्जरल्यान्डको समृद्धि शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनको मजबुत जगमा फुलेको छ।
नेपालले पनि यही मार्ग अपनाउन सक्छ।
अब केवल 'स्विट्जरल्यान्ड जस्तो बन्ने' सपना होइन, स्विट्जरल्यान्डले झैं निर्माण गर्ने समय आएको छ — धैर्यपूर्वक, पारदर्शितासहित, एकसाथ अघि बढ्दै र विज्ञान–नवप्रवर्तनलाई राष्ट्रिय प्राथमिकतामा राखेर।
(लेखक डा. रन्जन मिश्र हार्वर्ड विश्वविद्यालयमा कार्यरत क्यान्सर वैज्ञानिक हुन्।)