समाजशास्त्री कार्ल मानहेम भन्छन् — मानव इतिहासको समयरेखाको कुनै विशिष्ट बिन्दुमा त्यसै पिँढीका मानिसहरूले त्यस समाजको भावना, दृष्टिकोण र चेतना निर्धारण गर्छन्। त्योभन्दा अगाडि वा पछाडिका पुस्ताहरू त्यस बिन्दुका सामाजिक चरित्रसँग पूरा मेल खाँदैनन्।
त्यस्तै भविष्यवादी शेरी टर्कल भन्छिन् — प्रविधि विशेषले हाम्रो भौतिक विकास मात्र परिवर्तन गर्ने होइन, त्यसले त 'हामी को हौं' भन्ने परिभाषा नै फरक पार्छ।
पानीको धार जस्तै सामाजिक संरचनाहरू पनि निरन्तर परिवर्तन हुन्छन्। यही चलायमान सामाजिक गतिशीलताले समाजका नियम, व्यवहार, मान्यता र अपेक्षाहरूलाई यसरी परिवर्तन गर्छन् कि, अघिल्ला पुस्तालाई त्यो गतिशीलता अनुभूतिका लागि समय नै पुग्दैन।
उल्लेख्य के छ भने, यो गतिशीलतालाई विज्ञान प्रविधि र सूचनाले अझै तीव्रता दिएको छ। हामी आफैले यसलाई अनुभव गर्न सक्छौं, दुई–तीन दशकअघिको समाज आजको भन्दा वस्तुगत रूपमा भिन्न छ।
साधारणतया १५ देखि २० वर्ष वा औसतमा १७ वर्षको अन्तरालमा पुस्तान्तरको फरक राखिएको छ। अहिलेका कक्षा सात वा आठसम्म अध्ययन गर्ने विद्यार्थी जेन (जेनेरेसन) 'अल्फा' हुन्। सन् २०२५ र यसपछि जेन–बिटा उदायमान अवस्थामा छ।
भविष्यवादी अल्भिन टोफ्लर भन्छन्, 'यस्तो द्रुत पुस्ता परिवर्तनले हामीलाई झट्का दिन्छ। किनभने, यति छोटो समयभित्र हुने पुस्तागत सामाजिक फेरबदलले हामीलाई यसको गतिशीलताको प्रवाह अनुभव गर्न पाउनुभन्दा पहिल्यै परिणाम ल्याउँछ। हेर्दाहेर्दै हामी चकित हुन्छौं।
विश्वव्यापी रूपमा भएको जेन–जीको उदेक पार्ने आन्दोलनलाई उपर्युक्त समाजशास्त्रीय नियमहरूले पुष्टि गर्छन्।
म यसलाई विरोध मात्र नभई पुस्तागत परिवर्तनका रूपमा लिन्छु। यसले हाम्रा सामाजिक आयामहरूलाई नयाँ किसिमले परिभाषित गर्दैछन् र हाम्रो सन्दर्भमा सामाजिक स्वरूपलाई नयाँ दिशामा लग्दैछन्।
जेन–जीले के खोज्छन् भन्ने त हालैको आन्दोलनले आभास भयो नै, तर वस्तुगत रूपमा ती कस्ता छन् भन्ने पनि थाहा पाऔं।
ती सूचना प्रविधिमै हुर्के र त्यो उनीहरूको निर्माणात्मक वर्षकै (बाल्यकाल) भाग थिए। प्रविधिको उपयोग उनीहरूको जीवनको अंश बन्यो।
उदाहरण, पोस्टर टाँसेर सडकमा आउने चलनलाई उनीहरूले 'डिस्कर्ड' ले विस्थापन गरे। भर्चुअल संसारबाट बनेको सम्पर्क, विचारका मन्थन र सहकार्यले उनीहरूको वास्तविक संसार निर्देशित भयो।
उनीहरूको सिकाइको प्रमुख माध्यम इन्टरनेट हो। छिटो सिक्छन्, विचारमा मौलिकता राख्छन्। सामाजिक न्याय, उदारता, मानसिक स्वास्थ्यको सचेतना, समावेशीता, मानवता र स्वतन्त्र अभिव्यक्ति उनीहरूको प्रमुख मान्यताहरू मध्येका आउँछन्। साथै आफूलाई एक हदसम्म विश्व–नागरिकका रूपमा उनीहरू मान्छन्।
उल्लिखित पृष्ठभूमिलाई अब म यो लेखसँग जोड्नेछु र शिक्षामा कस्ता परिवर्तन आवश्यक हुनेछन्, त्यसलाई अन्त्यमा समेट्ने छु।
आशा छ पुस्तान्तरलाई हामीले सहज रूपमा लिन सक्नेछौं र उनीहरूलाई बुझेर तिनको भविष्य सुनिश्चित गर्नेछौं। समय–चक्रले मागेका अनुकूलता आत्मसात गर्न सक्नेछौं।
अहिलेका अधिकांश स्कुले विद्यार्थी जेन–जीभन्दा फरक छन्। किनभने, जेन–अल्फा फरक पुस्ता हुन्। यिनीहरूको निर्माणात्मक वर्षका अनुभव जेन–जीको भन्दा फरक छ। मिलेनियल (जेन–जीभन्दा अगाडिका) वा जेन–जी यिनीहरूका अभिभावक हुन्। तसर्थ अभिभावकत्व पनि फरक छ। विकसित प्रविधिसँगै जेन–अल्फाको समग्र भोगाइमा भिन्नता छ।
बुझौं, जेन–अल्फा कस्ता छन्।
एआई प्रविधिमा जन्मेको यो पुस्ताले इन्टरनेट र सामाजिक सञ्जाल सँगसँगै सूचना प्रविधिसँग गहिरो जीवन सम्बन्ध गाँस्छ। उदाहरणका लागि, 'बुमर' पुस्तालाई टिभी विश्व चियाउने झ्याल भए जस्तै यो पुस्ताको एआई वैचारिक साथी हो।
यिनीहरूले बोलेरै एलेक्सा वा जिपिटीमा अरूसँग भन्दा पहिले गृहकार्यको सहयोग प्रविधिसँग माग्छन्। तथ्य जाँच्छन्। आफ्नो विचारसँगै अन्यका विचारलाई प्रविधिको मद्दतले पर्गेल्छन्।
यिनीहरूलाई बुमरको बेला जस्तो कथा बनाएर सजिलै ढाँट्न सकिने वा जबरजस्त अनुशासनको घेराभित्र राख्न सकिने छैन। यस बाहेक पनि परम्परागत सञ्चार माध्यमका शैली वा झुट समाचारहरूले पनि यिनीहरूलाई झुक्क्याउन सक्ने छैनन्।
पहिला छिमेकमा बालबालिका भेला भएर खेल्दै सामाजिकीकरण गर्थे। तर जेन–अल्फा प्रविधिको मद्दतमा साथीसंगाती भेट्छन्। अन्तर्क्रिया पनि प्रविधिकै माध्यमले गर्छन्।
संसारको कुनै कुनाको नचिनेको साथीसँग खेल खेल्छन्। सूचना आदानप्रदान गर्छन्। साथी बन्छन्। भौतिक रूपमा नहोला तर साइबर संसारमा ती परिचित बन्छन्। प्रविधिले संसार नै उनीहरूको साथी हुने र समयक्रममा राष्ट्रवाद कमजोर हुने पक्का छ।
जेन–अल्फाले पठन संस्कृतिलाई पनि फरक ढंगले लिन्छन्।
मानौं, जेन–एक्स र मिलेनियलहरू पुस्तक पूरै पढ्थे। जेन–जी स्क्रलिङ गर्थे। जेन–अल्फा ट्यापिङ गर्दै, प्रश्न गर्दै पुस्तकहरूको अन्तर खोतल्छन् र सबै ज्ञान पाउँछन्। थोरै समयमा धेरै पढ्न सक्छन्। आफ्ना परिकल्पना एआईसँग चित्रमा कोर्छन्। संगीत सिर्जना गर्छन्। आफ्नै सोचाइलाई एआईको मद्दतले आलोचनात्मक ढंगले पनि हेर्छन्।
स्मरण रहोस्, एआईले विद्यार्थीलाई बोधो बनाउँदैन, बरू ज्ञानको खोजलाई तीव्रता दिन्छ। परिस्कृत बनाउँछ। अनेक उपायहरू सुझाउँछ। यसैले नै यसको सही प्रयोग बताउँछ, जेन–अल्फाले त्यो बुझ्छन्।
प्रविधिले उनीहरूलाई नयाँ शिराबाट झन् सिर्जनशील बनाउनेतर्फ हामी सकारात्मक हुन आवश्यक छ।
समस्या आएमा कुनै प्रविधिका दुरूपयोग नीतिमार्फत् पनि नियन्त्रण गर्न सकिन्छ। तर सूचना प्रविधिको ढोका बन्द गरिन हुँदैन।
तर थाहा पाउनुपर्ने तथ्य छ — जेन–अल्फा प्रविधिको दबाबमा यसैमा मात्र भरपर्ने, वास्तविक संसारबाट कम परिचित हुने जस्ता पक्षमा कमजोर बन्न सक्छन्।
यो समयले नै देखाउने छ!
साधारणतया बालिकाहरूको भावनात्मक विकास बालकहरूको भन्दा छिटो देखिन्छ। प्रविधिको विकास र यसको प्रयोगले जेन–अल्फाका बालबालिकाको भावनात्मक विकासलाई समान बनाएको केही अनुसन्धानहरूले दाबी गरेका छन्। यसले सहपाठीहरूसँगको लिंगीय गतिशीलता र अन्तर्क्रिया फरक पार्नेछ।
अध्येता रबर्ट पुटनम चेतावनी दिन्छन् — प्रविधिको प्रयोगले स्थानीय सामाजिक संसाधनलाई जेन–अल्फाले डिजिटल सामाजिक संसाधनका रूपमा लिनेछन् र त्यसैबाट सामाजिक मान्यताहरूलाई परिवर्तन गर्नेछन्।
अर्थात्, सामाजिक रूपमा उनीहरू अघिल्लो पुस्ता जस्तो व्यक्तिगत तहमा गहिरो घुलमिल नभई एकल र स्वतन्त्र बन्नेछन्। समाजलाई डिजिटल संसारले निर्देशित गर्नेछ।
भविष्यवादी अध्ययन भन्छ — पछिल्ला वर्षका जेन–अल्फाहरूले (अबको १५ देखि २० वर्षमा, जुन बेला अधिकांश जेन–बिटा विद्यालयमा हुनेछन्) परम्परागत सामाजिक रेखीय बनावटलाई डिजिटाइज्ड गर्दै यो प्रक्रियालाई विश्वव्यापी बनाउनेछन्। सामाजिक र मान्यताका विरोधाभासले उनीहरूमा थप दबाब ल्याउनेछ।
विद्यालयमा पठनपाठनका शैली आमूल परिवर्तन हुनेछन्। पारिवारिक संरचना र मान्यतामा फरक ल्याउनेछ र व्यक्तिवाद जीवनशैलीमा हावी हुनेछ।
समाजशास्त्रीहरू भन्छन् — तर हामीले झट्ट हेर्दा यसले भयावह स्थिति आउने परिकल्पना गर्नुको साटो, यी परिवर्तनभित्रै अनुकूलताको खोज हुनेछ र तिनै सामाजिक सम्बन्ध र मानव सभ्यताका आधार बन्नेछन्।
एआई अलगोरिदम विकासले सन् २०४५–५० को आसपास प्रविधिक एकविन्दु (टेक्नोलोजिकल सिंगुलारिटी) को कोशेढुंगा पार गर्ने सम्भावनाको प्रक्षेपण गरिएको छ।
यो एआई प्रविधिको यस्तो अवस्था हो जसमा मानव बिना स्वयं एआईले सम्पूर्ण जिम्मेवारी लिन सक्छ। जेन–अल्फा र जेन–बिटा वयस्क बन्दा प्रविधिको यही संक्रमणकालीन अवस्थामा पर्न सक्छन्।
यो सबै हेर्दा, भविष्यका पुस्ताले हालको मानव जीवनलाई सामाजिक र प्राविधिक पक्षबाट धेरै फरक पाउनेछन्। यसका पक्ष–विपक्षमा बहस र तर्क चलिरहेका छन्। अनिश्चितताले निम्त्याएको त्रास र सूचना प्रविधि विकासको उत्कर्ष दुवै चाखलाग्दा छन्।
अब लेखको अन्तिममा परिवर्तनशील पुस्ताका लागि शिक्षाको कस्तो केन्द्रमा के हुँदा ठीक हुन सक्छ भन्ने चर्चा गर्छु।
भविष्यवादी शिक्षाशास्त्री क्याथी डेभिडसन शिक्षा, सामाजिक विकास र तदनुरूप पुस्तागत तयारी हुनुपर्नेमा बहस गर्छिन्।
उनी भन्छिन् — शिक्षालाई सामाजिक परिवर्तनको गतिसँगै अद्यावधिक गर्नुपर्छ। अन्यथा विद्यार्थीहरू नयाँ समाजका लागि योग्य हुन सक्दैनन्।
उदाहरणका लागि, औद्योगिकीकरणले एक किसिमको शिक्षा माग्यो भने अबको शिक्षाले सूचना र प्रविधिको भरपूर उपयोगिताको माग गर्छ। अबको समयमा एक व्यक्तिको विचार वा बुद्धिको संरचनालाई सूचना प्रविधि र एआईसँग जोड्न सक्नुपर्छ अनि मात्र त्यो समय सापेक्ष हुन्छ।
तसर्थ, अबका विद्यालयले डिजिटल साक्षरतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ।
भविष्यवादी युभल नोआ हरारीका भविष्यको शिक्षाका कुरा चाखलाग्दा छन्। जेन–अल्फाले सहनुपर्ने दबाबहरू उनको दस्तावेजमा उल्लेख छन्। यसमा मुख्यतः भविष्यको अनिश्चितता, सूचनाको अत्यधिक भार, स्वचालन (अटोमेसन) र डिजिटल जीवन, नैतिक प्रश्न र जटिलता, र ज्ञानको तीव्र वृद्धि पर्छन्।
प्रविधिको द्रुत विकासले निम्त्याउने अनिश्चितताका लागि विद्यालय र विद्यार्थी सजग हुनुपर्ने उनी बताउँछन्।
उनको अध्ययनले भन्छ — विद्यार्थीलाई ज्ञानको अवधारणा बुझाइमा मात्र सीमित नगरी आवश्यक ज्ञान आफैले खोज्ने सीप विकास गराउनमा प्राथमिकता दिन आवश्यक छ।
त्यस्तै विद्यार्थीहरूले समाजलाई स्थायित्व दिन नैतिक आधारमा निर्णय गर्ने क्षमताको विकास गर्नुपर्ने अध्येता हरारी बताउँछन्।
यसले भविष्यमा हावी हुने व्यक्तिवादका प्रभाव न्यूनीकरण गर्छ। त्यस्तै प्रतिस्पर्धालाई सहकार्यमा प्रतिस्थापन गर्ने, सामाजिक–भावनात्मक विकासलाई प्राथमिकता दिने र मौलिक चिन्तनलाई शिक्षाको केन्द्रमा राख्नुपर्ने उनी बताउँछन्।
विद्यालय, प्राचार्य र शिक्षकहरूले आफूलाई अद्यावधिक गर्न अत्यावश्यक भइसकेको छ। सूचना प्रविधिको भरपूर उपयोग गर्दै शिक्षाको केन्द्रमा मानव मूल्यलाई पहिलो र ज्ञान आर्जनलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने अवस्था सिर्जना भइसकेको छ।
किनभने, शिक्षण–सिकाइको प्रक्रिया प्रविधिले क्रमशः विस्थापन गर्नेछ। बाँकी रहने मूल मानव र समाज मात्र हो र त्यो नै मानव सभ्यताको अपरिहार्य आधार हो।
***
(लेखक प्रविज्ञ रेग्मी एजुकेसन फर द नेक्स्टजेन र न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक अध्यक्ष हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)