विद्यालय शिक्षा हरेक राष्ट्रका लागि शैक्षिक संरचनाको मुटु हो। समयसँगै शिक्षाको महत्त्व बढ्दै जान्छ। युग अनुसार शिक्षा नभए समाज अन्धकार हुन्छ। किताब नभए मानिस चेतनाविहीन हुन्छ।
'कुनै देश ध्वस्त पार्नु छ भने बम वा मिसाइल आवश्यकता पर्दैन, त्यहाँको शिक्षा प्रणाली कमजोर पार्नु पर्याप्त हुन्छ' भन्ने कथन चल्तीमा छ। यसले शिक्षाको महत्त्व र प्रभाव स्पष्ट पार्छ।
विद्यालयमा अभ्यास हुने परम्परा, दृष्टिकोण, व्यवहार, मूल्यमान्यता र अनुशासनको समष्टिगत प्रभाव नै विद्यालय संस्कृति हो। यही संस्कृति विद्यालयको आत्मा हो जसले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनलाई एक सूत्रमा बाँधेको हुन्छ।
सुदृढ विद्यालय संस्कृतिले शिक्षाको गुणस्तर अभिवृद्धि गर्छ। व्यक्तित्व विकास र नैतिक मूल्य निर्माणको बाटो देखाउँछ। विद्यालय संस्कृति राष्ट्र निर्माणको आधारशिला हो।
विद्यालयमा पारदर्शिता, सम्मान, जिम्मेवारी र सहकार्यको भावना सशक्त हुन्छ। त्यहाँ सकारात्मक संस्कृति विकसित हुन्छ।
शिक्षाविदहरू डेल एन्ड पिटर्सनले विद्यालय संस्कृति विद्यालयको आत्मा हो भनेका छन्। यसमा उनीहरूले विद्यालय व्यवस्थापन र नेतृत्वको चर्चा गरेका छन्।
यी दुई विद्वानका विचारमा विद्यालय संस्कृति भनेको विद्यालयभित्रको साझा विश्वास, मूल्य, परम्परा, अनुष्ठान, प्रतीक र अर्थहरू हुन् जसले विद्यालयका सदस्यहरूको व्यवहार आकारमा ढाल्छ।
विद्यालय संस्कृति कक्षाकोठामा हुने पढाइको प्रक्रियामा मात्र सीमित हुँदैन, न त विद्यालयको भौतिक पूर्वाधारमा मात्र निर्भर हुन्छ। यसमा त शिक्षक–विद्यार्थी सम्बन्ध, नेतृत्वशैली, विद्यालयको दृष्टिकोण, अभिभावकको सहभागिता तथा समुदायसँगको सम्बन्धजस्ता विविध पक्षको भूमिका महत्त्वपूर्ण हन्छ।
जब विद्यालय व्यवस्थापनले आफ्ना सदस्यहरूलाई सकारात्मक वातावरण दिन्छ तब समृद्ध संस्कृति निर्माण हुन्छ। यसले व्यक्ति, समाज र राष्ट्रमा दीर्घकालीन प्रभाव पार्छ।
विद्यालय संस्कृति निर्माण: सिद्धान्त र व्यवहार
सफल तथा सकारात्मक विद्यालय संस्कृति निर्माण गर्न प्राचार्यले नेतृत्व, दृष्टिकोण, नीति र व्यवहारबाट उदाहरणीय भूमिका निर्वाह गर्नुपर्छ।
केन्ट पिटर्सन, टेरेन्स डेल लगायत केही शिक्षाविदहरूका अनुसार विद्यालय संस्कृतिको प्रमुख निर्माता प्राचार्य नै हो। प्राचार्यको सोच, व्यवहार र निर्णयले विद्यालय संस्कृतिमा प्रत्यक्ष प्रभाव पार्छ। प्रेरणादायी र सहभागितामूलक नेतृत्वले शिक्षक र विद्यार्थीलाई उत्साही बनाउँछ।
विद्यालय संस्कृतिले शिक्षक र विद्यार्थीलाई भविष्यको मार्गदर्शन गराउँछ। प्राचार्य नेतृत्वकर्ता मात्र नभई प्रेरणाको स्रोत, सम्बन्धको सेतु र परिवर्तनको चालक हो।
विद्यालय संस्कृति निर्माणमा शिक्षकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। शिक्षकहरू विद्यालय संस्कृतिको सक्रिय अभ्यासकर्ता हुन्। उनीहरूको व्यवहार, शिक्षणशैली, मूल्य, दृष्टिकोण र विद्यार्थीसँगको सम्बन्धले विद्यालयको दैनिक वातावरणलाई आकार दिन्छ।
शिक्षकको अनुशासन, व्यवहार, दृष्टिकोण, सहानुभूति र सहयोगले विद्यालय संस्कृति समृद्ध बनाउँछ। शिक्षकहरू विद्यालय र समाजको सम्बन्धका सेतु हुन्, सिकाइका उत्प्रेरक र समावेशी वातावरण निर्माता हुन्।
विद्यार्थीहरूले आदरभाव, अनुशासन, इमानदारी, जिम्मेवारी र कर्तव्यजस्ता मूल्यमान्यता विद्यालयमै सिक्छन्। उनीहरूको सिकाइबाट विद्यालय संस्कृति समाजमा विस्तार हुन्छ।
शिक्षकहरू संस्कृतिका प्रतिविम्ब हुन्, विद्यार्थी त्यसका बाहक हुन्। शिक्षकहरू आधारशिला निर्माण गर्छन्, विद्यार्थीहरूले विस्तार गर्छन्।
सफा, सुरक्षित, प्रेरणादायी भौतिक तथा भावनात्मक वातावरणले विद्यालय संस्कृति सकारात्मक बनाउँछ। विद्यालयभित्र प्रेरणादायी सन्देश, पुस्तक कुना तथा बालअनुकूल कोठा यस्तो वातावरणका माध्यम हुन्।
सुरक्षा, सम्मान, स्वतन्त्रता र अनुशासनको सन्तुलन सशक्त विद्यालय संस्कृतिको विशेषता हो। संवाद, सहयोग र नवीनता प्रवाह भइरहने वातावरणले विद्यालयलाई शिक्षाको केन्द्र मात्र होइन, संस्कार र सभ्यताको केन्द्र समेत बनाउँछ।
विद्यालय संस्कृति निर्माणमा अभिभावक र समुदायको भूमिका अति महत्त्वपूर्ण हुन्छ। विद्यालयमा समुदायको सहभागिता छ भने विद्यार्थीहरू अनुशासित, उत्तरदायी र प्रगतिशील हुन्छन्।
विद्यालयमा सिकाइ प्रक्रिया बलियो बनाउन अभिभावकले सहयोग गर्नुपर्छ। विद्यालय र अभिभावकबीच विश्वास र सहयोगको सम्बन्ध छ भने विद्यालय संस्कृति सकारात्मक र स्थायी बन्छ।
नियमित संवाद, बैठक र अभिभावक दिवस जस्ता कार्यक्रमले साझा उत्तरदायित्वको भावना विकास गर्छ।
शिक्षक, विद्यार्थी अभिभावक र समुदाय विद्यालयका चार मुख्य स्तम्भ छन्। यी स्तम्भ बलिया हुँदा विद्यालय संस्कृति समृद्ध हुन्छ।
विद्यार्थीमा विद्यालय संस्कृति प्रभाव
असल संस्कृति भएका विद्यालयको प्रभाव विद्यार्थीमा बहुआयामिक तथा दीर्घकालीन हुन्छ।
यस्तो विद्यालय केवल परीक्षामा उत्तीर्ण गराउने संस्था मात्र होइन; विद्यार्थीमा जीवनका मूल्यमान्यता, व्यवहार र नेतृत्व क्षमता विकासको आधारशीला समेत हो। यस्ता विद्यार्थीहरूले समाजमा सकारात्मक रूपान्तरण गर्छन्।
शिक्षा भनेको व्यक्तिको चरित्र निर्माणको आधार हो। असल विद्यालय संस्कृतिले विद्यार्थीहरूमा इमानदारी, सहनशीलता, करुणा र आत्मनियन्त्रणको गुण विकास गर्छ।
यस्ता विद्यार्थीहरू आत्मअनुशासन, सम्मान, सहकार्य, उत्तरदायित्व तथा समयपालना जस्ता मूल्यमान्यता आत्मसात गर्छन्। उनीहरू शिष्ट, जिम्मेवार तथा सहयोगी बन्छन्। उद्देश्य, लक्ष्य र प्रस्तुतिमा दृढता देखिन्छ। उनीहरू समस्या समाधानमा संवाद र सहकार्यको बाटो रोज्छन्।
समृद्ध विद्यालय संस्कृतिले विद्यार्थीहरूलाई ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक जिम्मेवारीप्रति सचेत बनाउँछ। सामुदायिक सेवा र वातावरण संरक्षणतर्फ प्रेरित गर्छ। यस्तो विद्यालय उत्तरदायी नागरिक उत्पादन गर्ने केन्द्र बन्छ।
यस्ता विद्यालयका विद्यार्थी भविष्यमा न्यायप्रेमी, सहिष्णु र विवेकी नागरिक बन्छन्। राजनीति, प्रशासन, व्यापार वा सामाजिक क्षेत्र जहाँसुकै भए पनि आफ्नो मूल्यमा अडिग रहन्छन्।
यस्ता विद्यार्थीहरू सक्षम नेतृत्वकर्ता, जिम्मेवार नागरिक र समाज रूपान्तरणका संवाहक बन्छन्।
संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने अमूर्त सम्पत्ति हो, जसलाई यस्ता विद्यालयहरूले निरन्तरता दिन्छन्। असल विद्यालय संस्कृति भविष्यका सशक्त नागरिक उत्पादन गर्ने उर्वर भूमि हो।
विद्यालय संस्कृति सुधारका उपाय
विद्यालय संस्कृति सुधार गर्नु भनेको अनुशासनमा जोड दिनु, कार्यक्रम थप्नु वा भौतिक सुविधा थप्न माक केन्द्रित हुनु मात्र होइन; विद्यालयमा जरा गाडेर बसेका सोच, व्यवहार, मूल्य परम्परा र सम्बन्धहरूको पुनरवलोकन तथा सशक्त रूपान्तरण हो।
केन्ट पिटर्सन र टेरेन्स डेल जस्ता शैक्षिक संस्कृति विज्ञहरूले विद्यालय संस्कृति सुधारका लागि समावेशिता र निरन्तर प्रक्रिया आवश्यक हुन्छ भनेका छन्।
संस्कृति सुधारको पहिलो चरण विद्यालयको वस्तुगत मूल्यांकन हो। शिक्षक, विद्यार्थी अभिभावक र प्रशासनका अनुभव तथा दृष्टिकोण एकआपसमा सुनाउनु–सुन्नु आवश्यक हुन्छ। प्रश्नावली, अन्तर्वार्ता, संवाद समूह आदिका माध्यमबाट तथ्य संकलन गर्नुपर्छ र गहिरो अध्ययनबाट सुधारको आधार तयार गर्नुपर्छ।
साझा दृष्टिकोण र साझा मूल्य सकारात्मक संस्कृतिका आधार हुन्। विद्यालय संस्कृति निर्माणमा स्पष्ट लक्ष्य हुनुपर्छ। यसबाट 'ड्रिम स्कुल' घोषणापत्र तयार पार्न सकिन्छ। हामी कस्ता विद्यार्थी उत्पादन गर्न चाहन्छौं भन्ने प्रश्नको स्पष्ट जबाफले भविष्यको मार्गदर्शन गराउँछ। गहन अध्ययन र अनुसन्धानबाट मात्र यस्ता प्रश्नको उचित जबाफ प्राप्त हुन्छ।
प्राचार्य र नेतृत्वकर्ता विद्यालय संस्कृति निर्माणमा आदर्श बन्न सक्नुपर्छ। नेतृत्व विकास तालिम र समावेशी निर्णय प्रक्रियाले विद्यालय संस्कृति समृद्ध बन्छ।
शिक्षक, विद्यार्थी र अभिभावकबीच खुला संवाद तथा समीक्षाको अभ्यास गर्नुपर्छ। विद्यालयको संघर्ष, उपलब्धि र मूल्यहरू कथाका माध्यमबाट जीवित राख्नुपर्छ। प्रेरणादायी अनुभव आदानप्रदानले विद्यालय संस्कृति समृद्ध बनाउँछ। सम्मान र पुरस्कारले विद्यालय संस्कृति सुदृढीकरणमा सहयोग पुग्छ।
समृद्ध संस्कृति भएको विद्यालयका हरेक सामूहिक गतिविधिमा विद्यार्थीको र नेतृत्वको सक्रिय सहभागिता हुन्छ। पठन दिवस, सामाजिक सेवा सप्ताह, शिक्षक सम्मान समारोह, विद्यालय प्रेरणादायी उदघोष जस्ता कार्यक्रममार्फत विद्यालय संस्कृति सुधार गर्न सकिन्छ।
शिक्षक सिकाइ समूह, विद्यार्थी नवप्रवर्तन क्लब, सिकाइ अनुभवको आदान–प्रदान कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यसले समुदायमा सिकाइ संस्कृति विकास गर्न मद्दत गर्छ।
संस्कृति सुधार एक पटकको कार्यक्रम वा प्रयास होइन, निरन्तरको यात्रा हो। आत्ममूल्यांकन तथा आवश्यक अनुकूलनको अभ्यासले विद्यालय संस्कृति सुधारको प्रक्रिया बलियो बनाउँछ।
विद्यालय संस्कृति शिक्षाको आधारभूत तत्त्व हो जसको निर्माण भौतिक संरचनाभन्दा बढी विश्वास, व्यवहार, मूल्य र सम्बन्धद्वारा हुन्छ। सकारात्मक विद्यालय संस्कृतिले विद्यार्थीमा असल चरित्र निर्माण, नैतिक विकास र नेतृत्व क्षमताको जग बसाल्छ।
विद्यालय संस्कृति नीतिमा लेखिन्छ तर व्यवहारमा बाँचिन्छ। असल संस्कृति निर्माण निरन्तर अभ्यास, आत्मसमीक्षा र सुधारको यात्रा हो। विश्वास, उत्तरदायित्व तथा पारदर्शिताको सुदृढ भावना भए मात्र विद्यालय असल संस्कृतिको उदाहरण बन्न सक्छ।
असल विद्यालय संस्कृतिले विवेकशील, जिम्मेवार र नैतिक नेतृत्वकर्ता पुस्ता निर्माण गर्छ।
विद्यालय संस्कृति एउटा अदृश्य शक्ति हो जसले विद्यालयको समग्र शिक्षण सिकाइ प्रक्रिया सुदृढ बनाउँछ। यस्तो सुदृढीकरण वा रूपान्तरणबिना गुणस्तरीय शिक्षा सम्भव हुँदैन।
नेपालजस्ता बहुजातीय, बहुसांस्कृतिक समाजमा विद्यालयमा सदृढ संस्कृतिको महत्त्व धेरै हुन्छ।
(लेखक रविप्रसाद बराल गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स पोखराका पूर्वप्राचार्य हुन्।)