मैले दोस्रो पटक हिमाल आरोहण दलको सम्पर्क अधिकृतको जिम्मेवारी पाएँ। दुई वर्षअघि सगरमाथा आधार शिविरका लागि थियो। यसपालि हिमालयन गाइड्स नेपालको एघार सदस्यीय मकालु आरोही दलको।
काम मकालु आधार शिविरसम्म पुग्ने, तोकिएको रूट प्रयोग गराउने, पर्वतारोही दललाई अनधिकृत कार्य गर्न नदिने, पर्वतारोहण क्रममा दुर्घटना भए रिपोर्टिङ गर्ने, फोहोरमैला निरीक्षण गर्ने र अन्य आवश्यक समन्वय गर्ने।
पर्यटन विभागबाट अनुमति पाउनासाथ टेरे एलिङटन सिल्भेस्टर नेतृत्वको आरोही दल तोकेको रूट हुँदै मकालु बेस क्याम्पतिर हिँड्यो। केही दिनपछि म पनि हुँइकिएँ उतै। मिस्टर प्रयागलाई साथी लिएर।
संखुवासभा
संखुवा खोला र सभा खोलाको नाम जोडिएर संखुवासभा बन्यो। सदरमुकाम खाँदबारी। क्षेत्रफल ३,४६८ वर्ग किलोमिटर। उनान्चालिस हजार घरधुरी। भोजपुर, तेह्रथुम, धनकुटा, सोलुखुम्बू र ताप्लेजुङ जिल्लासहित तिब्बत, सिगात्सेको टिंग्री काउन्टीले घेरेको जिल्ला। धरातलीय हिसाबले तीन सय मिटरमा रहेको पिलुवा–अरूण दोभानदेखि ८,४६३ मिटर उचाइ भएको विश्वको पाँचौं अग्लो मकालु हिमालसम्म फैलिएको।
पाँच नगरपालिका, पाँचै गाउँपालिका। अनेक गढी, गोला र कोट। विश्वको होचो अरूण उपत्यका। अरूणका लोकभाका। चैनपुरे करूवा। पाँचखपनको सख्खर। धेरै जंगल भएको, धेरै प्रजातिका पुतली पाइने जिल्ला। संखुवासभाका अनेक चिनारी रहेछन्।
तिब्बतबाट आउने फुङचु नदी नेपालमा प्रवेश गरेपछि अरूण नाम पाउँछिन्। पूर्वमा कञ्चनजंघा र पश्चिममा मकालु हिमालको बीचबाट बग्दै बहाव क्षेत्रमा समुद्री सतहबाट ४५७ मिटर उचाइको विश्वकै होचो अरूण उपत्यका बनाउँछिन्।
तुम्लिङटार पुगेपछि
बुद्ध एयरबाट तुम्लिङटार उड्यौं। यात्राको 'सबसे' सुरक्षित साधन हवाईजहाज। राइट ब्रदर्सले सफल परीक्षण उडान गरेदेखि नेपालमा यसको अवस्था, तुम्लिङटारमा एटिआर–७२ विमान उडानको लेखाजोखा गर्दागर्दै प्लेन बसी त गयो तुम्लिङटारमा। पैंतीस मिनेटमै। पहाडहरूको बीचमा माथ्लोपट्टि रापिलो तुम्लिङटार। तल शीतल अरूण।

नुमसम्म लैजाने गगन
गगन लिम्बू थिए तुम्लिङटार एयरपोर्टमा लिन आएका। सुस्तरी गाडी चलाउने र स्थलगत जानकारी दिँदै स्टेयरिङ घुमाउने मृदुभाषी तेह्रथुमे गगनसँग नुमसम्मको यात्रा तय थियो। बाँकी यात्रा भगवान भरोसे!
लौरो, नेक–क्याप र हिउँमा लगाउने चस्मा किन्नुपर्ने। अलिकति चाउचाउ, चकलेट र गेडागुडी बोक्नुपर्ने। पोखरी बजारमा फन्को त लाउनै थियो। सररर खाँदबारी गइयो। काम सक्नासाथ गाडी स्तरोन्नति हुँदै गरेको कोशी राजमार्गको बाटो नुमतिर दौडियो।
गगनको मिठो ड्राइभिङ र गाडीका मिठा गीत सुन्दा सुन्दै खाँदबारी–रंगशाला–छ्याङकुटी–चिचिला–कुवापानी–देउराली–मुडे हुँदै तीन घण्टामा चालिस किलोमिटरको छिचोलेर नुम पुगेको पत्तै भएन।
नुमबाट गगनलाई खाजा खुवाएर फर्काउने। मिले हिँड्ने, नमिले नुममै बस्ने हाम्रो योजना खाजा खाँदाखाँदै बदलियो। तुम्लिङटारबाट दुई जना अमेरिकन बोकेर आएको सेदुवा पुग्ने एउटा गाडी भर्खरै नुमबाट छुटेछ। गगनले गुरूजीको नम्बर पत्ता लगाएर दुई किलोमिटर ओर्लिसकेको गाडी रोकाएर त्यहाँसम्मै छोडिदिएपछि आजै सेदुवा पुग्ने भइयो।
रोकाउनु परेकोमा विदेशी पर्यटकसँग क्षमा माग्यौं। ट्रेकिङका सौखिन उनीहरू। पोहोर अक्टोबरमा सगरमाथा आधार शिविर पुगेका। त्यसअघि अन्नपूर्ण बेस क्याम्प गइसकेका। अहिले मकालु बेस क्याम्प पुग्ने योजनाका साथ तेस्रो पटक नेपाल आएका। हो रहेछ 'नेचुरल्ली नेपाल, वन्स इज नट इनफ' भनेको। उनीहरूलाई पनि एक पटकले पुगेन।
चौंतीस वर्ष पुरानो ल्यान्डरोभर, वन टेन। निकै बलियो जातको ब्रिटिस जिप। कसुवा खोला हाइड्रोपावरले खोलिदिएको टिपर, ट्रयाक्टर, एसयुभी, यस्तै ल्यान्डरोभर र बाइक मात्र गुड्ने ट्रयाक। दुई महिनाजति भएछ सञ्चालनमा आएको। बाटोको धर्सोमात्र छ तर ऊ बेफिक्री कुदिरहेछ। फाक्सिन्दा झर्दा होस् या मूलगाउँ उक्लिँदा, एकनासे रफ्तार। ठाडो उकालो, ढुंगे बाटो, घरी यता चिप्लिन्छ, घरी उता। दुबईको 'डेजर्ट सफारी' सम्झाउने गरी 'माउन्टेन सफारी' गराएपछि फ्यानै भइयो ल्यान्डरोभरको।
सेदुवामा स्वागत
नुमबाट झरेर, अरूण तरेर उक्लिएपछिको दक्षिण पूर्वी मोहडामा बसेको गाउँ सेदुवा। सेदुवामा उज्यालोले अँध्यारोलाई स्वागत गर्दै गर्दा हामीलाई मुसलधारे पानीले भिजाएर स्वागत गर्यो।
उकालोको देब्रेपट्टि आँगनीमा खम्बामा लुङ्ता फहराउँदै पर्खिरहेको थियो मकालु बरूण होटलले। पुग्दा नपुग्दै बियरको गिलासमा तातोपानी आइपुग्यो। भोक बढेकाले आँखा मेनुतिर दौडिए।
साहुनीलाई सोध्दा जबाफ आयो, 'सबैभन्दा मिठो पोर्क छ।'
प्रयागले 'खाइदिम्' भनेको केहीछिनमै मगमगाउँदै आएको तात्तातो पोर्क ट्रेमै देख्दा सम्झिएँ कुललाई। कुलले दसौंपटक धराने सेकुवामा पोर्क खान अफर गर्दा कहिले जुरेन। बरू अस्ति सिंहजीले मगाएको पोर्क ऊसँगै बसेर खाए पनि धरानेको स्वाद लिन बाँकी नै छ।
पोर्कको पहिलो टुक्रा जिब्रोले छुनासाथ भन्न मन लाग्यो— वाउ!
त्यसपछि चबाएको हरियो पिरो खुर्सानीले भने तारै देखायो। ऐया आत्था पारिरहँदा साउनी भने 'खायो शेर्पिनीको हातको खोर्सानी' भन्दै जिस्क्याउँदै थिइन्।

टासीगाउँको बाटो डाँडाखर्क
सेदुवाबाट अलिकति उकालो, अनि तेर्सै तेर्सो टासीगाउँ। खेतीपाती र पशुपालनका लागि उत्कृष्ट। तल कसुवा खोलाको सुसाई। चारैतिर हरियाली। जंगलमा चराचुरूंगीको धुन। आकाशमा तारा र जुन। उफ्! टासीगाउँको बयान कति गर्न्या हुन्? स्याङ्जाको सिरूबारी र धादिङको रूबीभ्यालीलाई एकमुष्ट सम्झना गरायो टासीगाउँले।
फोटो खिच्दै आएका हामीलाई देखेर टासीगाउँमा बिस्कुन लगाउँदै गरेका बा भन्दै थिए, 'घुमी खानपर्ने रछ, डुली खानपर्ने रछ। एक्कै ठाम बसेर त हुँदैन हो इष्टहरू।'
जस्ताले बनाइएका घरहरू। सुन्दर ल्यान्डस्केप। छिटपुट स्वदेशी र विदेशी पर्यटक। बेस क्याम्पसम्म सामान ओसारिरहेका भरिया। बाटोबाटोमा मानेहरू। कलकलाइरहेका खोल्साहरू। जंगलतिर उन्यू। कान्लामा फापर। गहुँ र उवा भित्र्याइसकेको बारीमा छोडिएका चौपायाहरू। कार्कीगाउँ आसपास मकैका कान्लाहरू। कतैकतै राखिँदै गरेको धानको बेर्ना। पाखोबारीमा अलैंची। हेर्दाहेर्दै टासीगाउँबाट उकालै उकालो, सिँढीको लहरो उक्लिएर डाँडाखर्क पुगिएछ।
यात्रा हो, सोचेको पुग्दैन सधैं। कहिले बढी पाइन्छ, कहिले कम। हिजो नुमसम्म पुगौला लागेको सेदुवा आइपुगियो। आज खोङमा पुग्ने सोच 'ठूलो क्याम्प गएर खोङमामा बस्ने ठाउँ छैन' भन्ने सूचना पाएपछि डाँडाखर्कमै खुम्चियो।
डाँडाखर्कमा स्लोभेनियाका एकासी वर्षीय पर्यटक भेटिए। मकालु बेसक्याम्प पुग्न सत्तरी वर्षमाथिका चौध–पन्ध्र जनाको टोलीमा आएका उनी खोङमा उक्लिन नसकेर यतै बसेका रहेछन्। त्यही टोलीका कारण खोङमामा बास नपुग्ने भएको रहेछ।
सन् १९७४ मा पहिलो पटक र त्यसपछि पटक पटक नेपाल आएका उनी टुटेफुटे नेपालीसँग अंग्रेजी घोलेर बोल्दै थिए, 'पहिलो पटक आउँदा नो सो मेनी स्टेप्स (सिँढी)। वन्ली जुगा (जुका)। सो मिनी जुगा। ओडारमा मान्छे बस्ने, अहिले बाख्रा बस्ने।'
अहिलेसम्म देखिएका ओडारमा बड्कौंलाको थुप्रोले त्यो पुष्टि भइसकेको थियो।
खोङमा हुँदै दोबाटे
डाँडाखर्क उक्लिएपछि सुरू भयो मकालु बरूण राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र।
ठाडै उकालोमा लागेको भोक खाँदबारीबाट बोकेको चाइनिज चाउचाउमा तातोपानी हालेर खाएपछि हराइगयो। खोङमाको आँगनीमा तीन–चार सय मिटर तेर्सो बाटो देख्दा थकान पनि भागेर गयो।
खोङमा मास्तिर भ्युटावर। त्यहीँ पर्तिरबाट सुरू भयो हिउँसँग लडिबुडी। अलि तल झरेपछि देब्रेतिर सानो पोखरीमाथि जमेको हिउँ। पोखरी परतिर अघि क्या जोस्सिएर दुई जना साथी फर्किँदा समेत एक्लै बेसक्याम्प पुग्न हानिएका धराने युवा मनोज। विचरा! आधै उकालोले यस्तो अनकन्टारमा सहारा खोज्नुपर्ने गरी गलाएछ।
मनोज जोडिएपछि तीन जना भइगइयो। ठूलोडाँडा अर्थात् ४४ सय मिटरको सिप्टन पासमा भएका दुई होटलमध्ये पराजुल्नी दिदीकहाँ खाना खाएपछि हिममार्गमा दोबाटेतर्फ लम्कियौं।
सिप्टन पास महान ब्रिटिस आरोही एरिक सिप्टनको नामबाट राखेको रहेछ। प्रथम सगरमाथा आरोहणलाई सफल बनाउन सिप्टनको योगदान महत्वपूर्ण भएकोले पर्वतारोहणमा उनको अग्लो नाम रहेछ। 'हिममानव यतीको पाइला' को पहिलो तस्वीर खिच्ने पनि सिप्टन रहेछन्।
सुँड, खुट्टा देखिने हात्ती आकारको ठूलोपोखरी। आकाशको बादलु र जमेको पानीले खुल्न नपाएको पोखरीको सुन्दरता आँखा र मोबाइलमा कैद गर्दै किकिला भन्ज्याङको एक थान उकालो उक्लिएपछि दोबाटेको ओरालो सुरू भो। एकैदिन तीन हजार मिटरबाट ४४ सय मिटरसम्म पुगेर फेरि ३८ सय मिटरमा झरिएछ।
सेदुवा, टासीगाउँ, डाँडाखर्क, दोबाटे, सबैतिर मकालु बरूण होटलको 'चेन' रहेछ। एकै परिवारले चलाएका। दोबाटेको होटलमा सोह्र जना पाहुना पहिल्यै रहेछन्। हामी पुग्दा पूरै प्याक। सुत्न डाइनिङ या अगेनो रोज्नुपर्ने भएपछि अगेनो रोजेर तातो अगेनो छेउमा बिरालोझैं झुम्मिँदै पसारियौं।
दोबाटेमा होटल छेउ चौरमा गज्जबको दृश्य देखियो। टेन्ट टाँगेर बसेका पाँच जना विदेशीको ट्रेकिङ टोली। सहयोगी ४९ जना। मकालु बेसक्याम्पसम्म दस दिने ट्रेकिङका लागि करोडौं खर्चिने यस्तै लक्जरियस टुरिस्टको खाँचो छ नेपाललाई।
दोबाटेको बसाइ यादगार रह्यो। स्वदेशी, विदेशी पर्यटकहरू। भरिया अनि गाइडहरू। डाइनिङमा जम्मा भएर 'हिमाली हिटर' ताप्दै गानाबजाना। प्रयागका जोक्स र एक्टिङको फ्यान बनेका साहुजी भन्दै थिए, 'तपाईं कलाकारै हुनुपर्ने मान्छे!'

याङले काटेर तादोसा
दोबाटेबाट लाङमाले पुग्ने सोचले बिहानै हिडिँयो। सुसाइ दोबाटेसम्मै सुनिए पनि हजारौं सिँढी ओर्लिएपछि बल्ल बरूण झुल्कियो। हिमाली कञ्चन पानी बोकेको अरूणको चर्को सुसाइ, ठाडै बगाइ।
दुई घण्टा ओर्लिएपछि पहिरोमय देखियो बाटो।
शिवधारा पुगेर फर्किएकाहरू भन्दै थिए, 'कति अप्ठेरो बाटो। हातै समाएर हिँड्नुपर्ने। नभए त सकिँदैन। चिप्लिए सिधै बरूणमा हो पुग्ने। ख्याल गर्नु!'
सातो गएको रहेछ उनीहरूको। तर जुम्लामा जन्मिएर यार्सा खोज्न डोल्पाका हिमाल चहारेका प्रयाग अनि बझाङका उकाली र ओराली पचाएको मैले गुटुङटुङ छिचोली हाल्यौं।
हुन पनि एक होइन, दुई होइन, सत्र वटा पहिरोले बाटो बिजोगै पारेको रहेछ। ठाउँठाउँमा पहिरो रोक्न लगाएको ग्याविन फुतुफुतु झर्ने ठूलाठूला ढुंगाले भत्काउन थालिसकेछन्।
ओरालोमा, पहिरोमा, ढुंगामा, खोलामा फोटो सेसन। त्यसमाथि मनोजका रोचक कुरा। लामै बाटो कटेछ। आई त गयो फेमाताङ। भित्तोतिर टुक्रुक्क बसेको एकल होटल। साहुजीले रायोको साग, टिमुरको छोप, गेडागुडी मिसाएर बनाएको मस्त चाउचाउ सुप खाएपछि ज्यान तातेर आयो।
फेमाताङ कटेपछि सानो चिटिक्क काठेपुल। पुल तरेपछि समतल फाँटहरू। बायाँतिर रक क्लाइम्बिङका युनिभर्सिटी जस्ता बडोमाका चट्टानी पर्वतहरू। फाँटबाटै देखियो रहस्यमयी शिवधारा। बाटोमा सबैले 'शिवधारा जाने त होला' भनेर सोधेका थिए। सायद यात्रीहरू त्यहीँ पुग्न मात्र आउँछन्। तर हाम्रो गन्तव्य मकालु बेसक्याम्प थियो। फर्किँदा मिले शिवधारा पुग्ने।
समतलै समतल याङले आइपुग्यो। एउटा होटल। पर्तिर मन्दिर। याङलेमा खाना खाएर अगाडि बढ्नासाथ देखिए बरूण किनारमा बालुवा संकलन गरिरहेका श्रमिकहरू। बगरमा राता ढुंगाहरू। खोल्साको पानी पनि रातै। के अचम्म हो?
प्रयाग भन्दै थिए, 'यस्तो पानीमा पक्का सुन पाइन्छ!'
हामी सुनको खोजीभन्दा बेसक्याम्प यात्रामा निस्किएकाले धेरै अनुसन्धानमा लागेनौं।
केहीबेरमै आकाशले पानी छिट्याउन थाल्यो। हिउँ फुसफुसाउन थाल्यो। लाङमाले पुग्ने सोच भए पनि खराब मौसम, न बटुवाहरूको ओहोरदोहोर, न कुनै बस्ती या बजार, न कतै बाटोको जानकारी। जोखिम लिने कुरै भएन। जसोतसो तादोसा पुगेर बास बस्यौं।
हिउँसँग पौंठेजोरी
बिहान सारा क्षितिज सेताम्मे हुने गरी रातारात हिउँले बिस्कुन छरिसकेछ। सबैतिर हिउँ परेको र डम्म बादलले सूर्य पनि मधुरो भएर उदाउँदै थियो। हिउँमा तस्बिरहरू खिच्दै अगाडि बढ्दा हिउँले आँखा तिरिमिराएपछि चस्माको खोजी भयो। खाँदबारीमा किनेको चस्मा प्रयागले खसालिसकेछन्। तादोसाको साहुजीले आफूसँग भएको चस्मा उनैलाई दिएर पठाए।
मनोजले त चस्मै बोकेको रहेनछ। भयो आपत! लाङमालेको होटलमा सोध्दा त्यो दुर्गममा कहाँ भेट्नु चस्मा! बल्ल–बल्ल एक थान काम चलाउ 'बेबी' चस्मा भेटियो। मनोजको हिउँको यात्रा 'बेबी' चस्माकै भरमा पूरा हुने भयो।
बेसक्याम्प नजिकिँदै र हिउँ बाक्लिँदै जाँदा शेरसङ पुगियो। अब दुई घण्टाको बाटो। तर यात्रा थप कठिन हुने पक्का। नयाँ बाटो। अरू यात्रु छैनन्। पहिले हिँडेकाहरूका जुत्ताका डोब पछ्याउँदै हिँड्नुपर्ने। बाक्लो हिउँका कारण डोबहरू मेटिन थालेका।
बाटोको कुनै धर्सो फेला पर्न छोड्यो। आकाशमा घाम थिएन, बादल डम्म थियो। पूर्व, पश्चिम, उत्तर, दक्षिण ठम्याउन सक्ने अवस्था थिएन। हिउँ बढेर मानौ सानोतिनो हिमआँधी नै बन्यो। हिउँले पछाडिबाट हानिरहेकाले बर्सादी ओढ्नुपर्यो। औंलाहरू ठिहिरिए। टोपीमा हिउँ जम्मा हुँदै थियो। जुत्ताहरू हिउँमा डुबेर सेताम्मे भएका थिए।
बाटै फेला पर्न छोडेपछि 'अगाडि बढ्न सकिँदैन' भन्ने नलागेको पनि होइन। गुफा वा ठूलो ढुंगामुनि भए पनि बसिन्छ तर फर्किइँदैन भनेर हिँड्दै गयौं।
एउटा विश्वास थियो — पुग्नेछौं बेसक्याम्प। देखादेख गर्नेछौं मकालुसँग। अनुभव गर्नेछौं त्यो उचाइको। र, पूरा गर्नेछौं हाम्रो चाहना अनि जिम्मेवारी।


मकालु बेस क्याम्प
दुई बज्दै गर्दा देब्रेतिर खोलापारि गहिरोमा आठ–नौ टहरा झुल्किए। नजिक गयौं। हुर्रे! बेस क्याम्प!
मकालु हिमालको आँगनमा बसेको ४,८७० मिटर उचाइको बेस क्याम्प। वरिपरि अरू हिमालहरू। छेवैमा बरूणको मुहान दूध पोखरी। हाई क्याम्प जान बसेका भरिया, शेर्पा र गाइडहरू। पर्वतारोहणमा सहजीकरण गर्न बसेका एजेन्सीका प्रतिनिधिहरू।
मैले एजेन्सीलाई बेस क्याम्पभन्दा माथि हाई क्याम्पसम्मै पुग्ने बताएको थिएँ। तर तीन–चार दिनदेखि मौसमी खराबीका कारण कोही उक्लिएका थिएनन् हाई क्याम्पसम्म। भोलिपल्ट पनि कोही उक्लिन नसकेपछि हामी बसाइ छोट्याउँदै फर्कियौं।
हिउँको यात्रा
हिउँसँग लडिबुडी गर्नुपर्दा यात्रा रोमाञ्चक बन्यो। हिउँ फुसफुसाइ रहेको छ। वरिपरिका चट्टान, जंगल–बुट्यानहरू सेताम्मे भएका छन्। लालीगुराँसका नफुलेका पोथ्राहरूमा हिउँका फूल फुलिरहेझैं लाग्छ। पहाडहरूमा हिउँ थुप्रिएर कपासका तन्ना अनि मैदानहरूमा हिउँका फाँट बनेका छन्।
तीस घण्टा हिउँसँग पौंठेजोरी। कतै हिउँमा खुट्टा भासिए। कतै चिप्लेटी खेलियो। कतै बल्ड्याङ खायौं। घरी 'कटन क्यान्डी' जस्तो हिउँ टिप्दै निल्यौं। घरी हिउँका अनेक आकृति बनायौं। हिउँमा नामहरू कोर्दै, हिउँसँग फोटोहरू खिच्दै र हिउँमाथि बाटो पत्ता लगाउँदै उत्प्रेरित भइरह्यौं।
मकालु बेसक्याम्प जाँदा सुरूमा काठमाडौंबाट जहाजमा तुम्लिङटार। त्यहाँबाट नुम हुँदै सेदुवासम्म गाडीमा। सेदुवाबाट हिँड्न सुरू। टासीगाउँ–डाँडाखर्क–खोङमा। खोङमाबाट सिप्टन पास–ठूलो पोखरी हुँदै दोबाटे। अनि फेमाताङ। त्यसपछि याङले खर्क। शिवधारालाई देब्रे पार्दै तादोसा। लाङमाले। सेरसङ। बेस क्याम्प। मकालु ट्रेकका लागि बाटो गाह्रो भए पनि मेरा लागि सोचेभन्दा सहज र रोमाञ्चक बन्यो।
एघार सदस्यीय पर्वतारोहण टोलीमध्ये तेस्रो क्याम्पबाट दोस्रो क्याम्पमा झरेका एक जना आरोहीको दुःखद निधन भयो। चार जनाले मात्रै मकालुको चुचुरो उक्लिन सके। छ जनाले यसपालि सकेनन्।
सिँढी नै सिँढीयुक्त अत्यधिक उकालो ओरालो। ठूलोडाँडा–सिप्टन पास कट्ने बित्तिकै सञ्चार सम्पर्क विच्छेद हुने। त्यसपछि उद्धार गर्नुपरे हेलिकप्टरको विकल्पै नरहेको। यहाँको क्याराभान रूट मुस्किल मानिए पनि मकालु बेस क्याम्पको यात्रा कुनै 'भर्जिन ल्यान्ड' को अद्वितीय यात्राझैं लाग्यो।
हिउँसँग संघर्ष गर्नुपरे पनि मकालु यात्रा यादगार भयो। मौसमी खराबीले शिवधारा उक्लिन सकिएन। हिमाल हेरियो, बरूणसँग खेलियो। लोकल खानाको स्वाद लिइयो। संखुवासभाको थोरै सख्खर र धेरै सम्झनाहरू बोकेर जिम्मेवारी पूरा गर्दै आइयो।

(लेखक गोकर्णप्रसाद उपाध्याय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हुन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)