१९९ वर्षका लागि भएको कोसी सम्झौताको सात दशकभन्दा बढी समय पूरा भइसकेको छ। सन् १९५४ अप्रिल २५ मा भएको सम्झौता सन् १९६६ डिसेम्बर १९ मा पहिलो पटक संशोधन भएको थियो।
सम्झौता बमोजिम निर्माण भएका ब्यारेज र नहर लगायतका संरचनाहरू जीर्ण हुँदै जाँदा भारतीय पक्षमा चिन्ता र चासो बढ्दै गएको छ।
भारतको विहार प्रान्तको उत्तरी भूभाग कोसी बाढीबाट बचाउने तथा सिँचाइ र विद्युत समेत उपलब्ध गराउने बहुउद्देश्यीय आयोजनाका रूपमा कोसी परियोजनाको परिकल्पना र निर्माण गरिएको थियो।
विहारका बासिन्दाले आयोजनाबाट अपेक्षाकृत ढंगमा बाढी नियन्त्रण हुन नसकेको भन्ने गुनासो गर्ने गरेका छन्। पछिल्लो समय यो विषय भारतको, मूलतः विहारको, घरेलु राजनीतिक मुद्दा भएको छ।
यो पृष्ठभूमिमा भारत सरकारले विभिन्न विकल्पहरूमा काम गरिरहेको छ। भारतले नदी जोड्ने आफ्नो महत्त्वाकांक्षी 'वाटर ग्रिड परियोजना' समानान्तर रूपमा अघि बढाएको छ।
गत वर्ष भारत सरकारले 'कोसी–मेची रिभर लिंकिङ (नदी जोड)' परियोजना निर्माण अघि बढाउने निर्णय गरी बजेट समेत व्यवस्थापन गरेपछि भारतको वाटर ग्रिड परियोजनाले थप चर्चा पाएको छ। यसमा चासो पनि बढेको छ।
कोसी–मेची नदी जोड आयोजनाको सुरूआती बिन्दु हनुमान नगरमा रहेको कोसी ब्यारेज नै हुनेछ। यो ब्यारेज २६ हजार ९०० क्युमेक पानीको बहाव नियन्त्रण गर्ने क्षमताको हिसाबले डिजाइन गरिएको छ।
अहिलेकै हेड रेगुलेटर प्रयोग गरी पूर्वी नहरमा पानीको बहाव वृद्धि गर्ने योजना रहेको भारतले जनाएको छ।
यो हेड रेगुलेटरको कुल लम्बाइ सात वटा गेटसहित ९८.१७ मिटर छ। प्रत्येक गेटको लम्बाइ १२.१९ मिटर र डिजाइन बहाव ८५ क्युमेक छ।
प्रस्तावित डिजाइन अनुसार हालको पूर्वी नहरको सुरूआती खण्डको डिजाइन बहाव र क्षमता ४२५ क्युमेक रहेकोमा यो नहरको पुनः मोडलिङ गरी डिजाइन बहाव र क्षमता ५७३ क्युमेक पुर्याइएको छ।
हाल पूर्वी नहरको लम्बाइ ४१.३० किलोमिटर छ। यो विस्तार गरेर ११७.५० किलोमिटर पुर्याई मेची नदीमा जोडिनेछ।
यसरी नहर विस्तार गर्दा १२ प्रकारका ११२ वटा पुल, साइफन लगायतका थप संरचनाहरू निर्माण गर्नुपर्ने देखिन्छ। यसरी पुनः मोडलिङ गरी क्षमता अभिवृद्धि गर्दा पूर्वी नहरको सुरूआती ५ किलोमिटर खण्डको डिजाइनमा जमिनको सतहको चौडाइ ११० मिटरबाट बढाएर १३१.५० मिटर बनाइनेछ।
नहरको बाँकी खण्डको डिजाइन समेत परिवर्तन हुनेछ। नहरलाई पूर्ण रूपमा कंक्रिट लाइनिङ गरिनेछ।
यो आयोजनाको प्रारूप सन् २००८ मै तयार गरिएको थियो।
प्रस्तावित आयोजना अनुसार कोसी ब्यारेजबाट पूर्वी नहरमार्फत वार्षिक १२ हजार ८५२ मिलियन घनमिटर पानी पथान्तरण गरिने छ। यसमध्ये दुई हजार २६५ मिलियन घनमिटर पानी सिँचाइमा तथा १४ मिलियन घनमिटर पानी घरायसी र औद्योगिक प्रयोजनमा खर्च हुनेछ।
पानीको बहावमा चुहावट ०.६ क्युमेक प्रतिवर्ग किलोमिटर हिसाब गर्दा करिब ७३ मिलियन घनमिटर पानी चुहावट हुने अनुमान छ।
विहार प्रान्तको अररिया, किसानगञ्ज, पूर्णिया र कठियार जिल्लामा सिँचाइ, घरायसी र औद्योगिक आवश्यकता पूर्तिपछि बाँकी रहेको पानी मेची नदीमा खसाइनेछ।
अहिले कोसीको पूर्वी नहरमार्फत चार लाख ४० हजार हेक्टर भारतीय भूमिमा सिँचाइ सुविधा उपलब्ध भएकामा प्रस्तावित आयोजना सम्पन्न भएपछि विहार प्रान्तमा थप दुई लाख १५ हजार हेक्टर कृषिभूमि सिञ्चित हुनेछ।
अहिलेको ब्यारेजमा पानी भण्डारण गर्ने जलाशयको व्यवस्था नभएकाले भविष्यमा कोसी उच्च बाँध निर्माणपछि उक्त संरचनासँग प्रस्तावित नहर एकीकृत गर्ने योजना समेत भारतले सार्वजनिक गरेको छ।
यहाँ प्रश्न उठ्छ– कोसी सम्झौता अनुसार भारतले नेपालको स्वीकृति र सहमतिबिना प्रस्तावित कोसी–मेची नदी जोड परियोजना अघि बढाउन सक्छ?
भारतले औपचारिक रूपमा यो परियोजनाको विषय नेपाल सरकारलाई जानकारी गराएको वा नेपालको सहमति लिएको छ?
भारतले सहमतिको पहल नगरेको भए नेपालले उक्त विषय संज्ञानमा लिई भारतसँग आफ्नो चासो र सरोकार प्रकट गरेको छ?
यी प्रश्नहरूको सेरोफेरोमा कोसी सम्झौताको प्रावधान हेरौं।
कोसी सम्झौता (संशोधन सहित), दफा १ को उपदफा ३ मा 'Any construction and other undertaking by the Union in connection with this project shall be planned and carried out in consultation with HMG, provided that such works and undertakings which persuant to any provision of this agreement require the prior approval of HMG shall not be started without such prior appoval' लेखिएको छ।
यसको अर्थ कोसी आयोजना क्षेत्रमा निर्माण हुने हरेक संरचना नेपाल सरकारको सल्लाह र पूर्वसहमतिमा मात्र भारतले अघि बढाउन सक्नेछ।
सम्झौताको दफा ३ पनि हेरौं।
दफा ३ को उपदफा १ मा लेखिएको छ '…provided that any major construction work not invisaged in the amended plan reffered to in clause 1 (ii) shall require the prior approval of HMG...'
यो प्रावधानले संशोधित सम्झौतामा समावेश नभएका कुनै निर्माण कार्य गर्नु परेमा नेपाल सरकारको पूर्वस्वीकृति अनिवार्य गरेको छ।
कोसी–मेची नदी जोड परियोजना विद्यमान कोसी सम्झौताको कार्यक्षेत्र बाहिर रहेकाले नेपाल सरकारको पूर्वस्वीकृति मात्र पर्याप्त हुँदैन। सम्झौता नै पुनरवलोकन गर्नुपर्ने वा नयाँ सम्झौता हुनुपर्ने कतिपय कानुनविदहरूको मत छ।
सम्झौताका उपर्युक्त प्रावधानहरू हेर्दा प्रस्तावित कोसी–मेची नदी जोड परियोजना हालको ब्यारेज र नहर लगायतका संरचना, मुख्यतः पूर्वी नहरको हेड रेगुलेटर र नहरको पुनः मोडलिङ गर्ने तथा क्षमता अभिवृद्धि गर्ने गरी डिजाइन गरिएकाले सम्झौताको दफा १ (३) र ३ (१) आकर्षित हुने देखिन्छ।
उता भारतले पूर्वी नहरको पुनः मोडलिङको काम र भारतीय भूमिमा नहर विस्तारको काम भए पनि हेड रेगुलेटरको हालको डिजाइनमा कुनै परिवर्तन नहुने जनाएको छ।
विद्यमान हेड रेगुलेटरको डिजाइन ४२५ क्युमेक पानीको बहाव क्षमताका लागि गरिएकाले प्रस्तावित ५७३ क्युमेक पानी बहावका लागि उपयुक्त नहुने प्रस्ट छ।
यस्तो अवस्थामा पनि भारत सरकारले एकतर्फी रूपमा डिजाइन समेत परिवर्तन गरी कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। यस सम्बन्धमा नेपाल सरकारको पूर्वस्वीकृति लिएको सार्वजनिक जानकारी छैन। यस अतिरिक्त कोसी सम्झौतामा तल्लो तटीय लाभ र माथिल्लो तटीय राष्ट्रले प्राप्त गर्ने प्रतिफलका सम्बन्धमा कुनै व्याख्या र व्यवस्था छैन।
कोसी–मेची नदी जोड आयोजनाबाट भारतले बाढी नियन्त्रणका अतिरिक्त सिँचाइ, घरायसी र औद्योगिक क्षेत्रमा थप लाभ हासिल गर्नेछ।
यता नेपाली भूमिमा बनेका संरचनाबाट तल्लो तटीय राष्ट्रले प्राप्त गर्ने लाभको आधारमा माथिल्लो तटीय राष्ट्र नेपालले प्राप्त गर्नुपर्ने प्रतिफल वा क्षतिपूर्तिका बारेमा पुनः भारत समक्ष कुरा राख्न सक्ने अवसर नेपालले गुमाउने देखिन्छ।
यो परियोजनाबाट बाढी नियन्त्रण नहुने र राजनीतिक लाभका लागि मात्र निर्माण गर्न खोजिएको भन्दै भारतभित्रै आलोचना हुने गरेको छ।
अन्तर्राष्ट्रिय नदीहरूको सहकार्य र साझेदारीमा विगतमा भएको फितलो प्रस्तुति र कमजोरी सच्याउन सक्ने अवसर नेपाललाई छ। यो अवसर गुमाउनु हुँदैन।
दुई देशबीचको आपसी सम्बन्धको संवेदनशीलता समेत ध्यानमा राख्दै राजनीतिक र कूटनीतिक तहमा यो विषय नेपालले उठान गर्न र नेपाली जनतालाई आश्वस्त पार्न जरूरी छ।
मौका गुमेपछि देशभित्र एकले अर्कोलाई दोषारोपण गरेर चर्को राष्ट्रवादको कुरा गर्नुभन्दा ढिला नगरी अहिले नै आफ्नो पक्ष भारत समक्ष प्रस्तुत गरौं। नेपालको हितमा निर्णय हुने परिस्थिति बनाऔं।

(डा. मुकेशराज काफ्लेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @MukeshKafle4