केही महिना जनकपुरमा हुँदा रामानन्द चोक नजिकै जानकी आँखा अस्पतालको छेउमा रहेको राजर्षि जनक विश्वविद्यालयको विश्वविद्यालय क्याम्पस पुगेँ। यो क्याम्पस सन् २०१७ मा स्थापना भएको नेपालको एघारौं विश्वविद्यालयको मूल क्याम्पस थियो।
पुस–माघको शीतलहर लागेको दिनमा पनि एक अधबैंसे पुरूष मोटरसाइकलमा बिहान ६ बजे हाराहारी क्याम्पस पुगेका देखिन्थे। अनि साँझ परेपछि फर्किन्थे। दिनभर क्याम्पसमा यताउति हिँडिरहेका, हतारिइरहेका देखिन्थे। कहिले गमलामा पानी हालिरहेका हुन्थे, कहिले कसैलाई गाली गरिरहेका, त कहिले फकाइरहेका हुन्थे।
उनी रहेछन् विश्वविद्यालय क्याम्पसका प्रमुख डा. सरोज कुमार ठाकुर।
यो लेख उनै सरोज कुमार ठाकुरको अनुभव हो जो करिब तीन दशकदेखि उच्च शिक्षामा छन्।
काठमाडौं बाहिरको एउटा सरकारी क्याम्पसको नेतृत्व गरेका उनको अनुभवले हामीलाई थाहा हुन्छ — उच्च शिक्षामा नेतृत्वको यथार्थ, चुनौतीहरू, उपलब्धिहरू र सपनाहरू।
महोत्तरीको मडेदेखि विश्वविद्यालय क्याम्पसको प्रमुखसम्म
५८ वर्षीय सरोज महोत्तरीको बर्दिबासबाट ३० किलोमिटर दक्षिणको मडे भन्ने गाउँमा जन्मिएका हुन्। बाल्यकालमा उनको घर चारैतिर कथित माथिल्लो जातका मानिसहरू थिए। उनीहरूका सन्तान राम्रोसँग पढेको सरोजले देखेका थिए। आफ्नो समुदायबाट भने उनले त्यस्तो देखेका थिएनन्।
उनका छिमेकीका छोरा काठमाडौंको बुढानीलकण्ठ स्कुल पढ्थे। सरोज गाउँकै संघर्षरत सरकारी स्कुल जान्थे।
त्यति बेला उनलाई लाग्थ्यो — म पनि उसले जस्तै पढ्न सकूँ, परीक्षामा राम्रो अंक ल्याउन सकूँ!
उनीसँग इख थियो, 'माथिल्लो जातकाहरू पढ्न सक्छन् भने म पनि सक्छु।'
यही उत्प्रेरणाले महोत्तरी जिल्लाको सबभन्दा पुरानो स्कुलबाट एसएलसी पास गरेर उनी जनकपुर आए। रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पस बाट प्रवीणता प्रमाणपत्र (प्लस–टू सरह) सकेर उनी भारतमा स्नातक गर्न गए। अनि त्यसपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागबाट एमबिए (स्नातकोत्तर) गरे।
त्यसपछि २०५४ असोज १ गतेदेखि राराब क्याम्पसमा आंशिक शिक्षकका रूपमा काम थाले। २०५६ मंसिर १६ करारमा नियुक्त भए, २०६४ सालमा स्थायी भए। त्यस उपरान्त विभागीय काम र अनुसन्धानमा लागे। प्राध्यापक संघमा निर्वाचित भए।
२०७४ कात्तिक १२ गते संघीय संसदले राजर्षि जनक विश्वविद्यालय ऐन पास गर्यो। जनकपुरमा यो विश्वविद्यालय खुल्ने भएपछि राराबलाई आधारभूत क्याम्पस र सिराहा क्याम्पस र राजविराज क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा रहने जानकारी गराइयो।
पहिलो उप–कुलपतिका रूपमा प्रा.डा. भरत झा नियुक्त भए। उनले राराब, सिराहा र राजविराजमा भएका शिक्षकहरू समायोजनमा आउने भए एक तह बढुवा गरेर विश्वविद्यालय अगाडि बढाउने आह्वान गरे। त्यसै आह्वानबाट सरोज लगायत राराबका १२ शिक्षक र चार कर्मचारी राजर्षि जनक विश्वविद्यालय प्रवेश गरे। त्यति बेला सिराहाबाट तीन शिक्षक र एक कर्मचारी आए।
२०७८ सालमा उनी उप–प्राध्यापकबाट सह–प्राध्यापकका रूपमा बढुवा भए र २०८० असोज १० गतेदेखि क्याम्पस प्रमुखको जिम्मेवारी पाए।
नेतृत्वमा सुरूआती दिनका सपनाहरू
'नयाँ विश्वविद्यालयको मूलः क्याम्पसको नेतृत्वमा पुगेपछि तपाईंको सपना के थियो?,' मैले सरोजलाई सोधेँ।
उनले जबाफ दिए, 'मधेसमा आएको नयाँ विश्वविद्यालयमा चुनौती थियो। त्यो स्वीकार गरेर म प्रवेश गरेको हुँ। मेरो मुख्य लक्ष्य विपन्न वर्ग र गाउँ बाहिर निस्किन नसकेका छात्राहरूलाई सस्तो र गुणस्तरीय शिक्षा जसरी पनि दिनैपर्छ भन्ने थियो।'
क्याम्पस प्रमुखको नियुक्ति पाएको भोलिपल्ट बिहानैदेखि चर्को घाम लागेको थियो। उनी बिहान ७ बजे नै क्याम्पस पुगे। उनले लेखा र प्रशासनबाट तीन जना कर्मचारी बोलाए।
अनि आफ्नो उद्देश्य सुनाउँदै उनले उपस्थित कर्मचारीलाई भने, 'म पहिलेको कार्यवाहक प्रमुख हो भनेर तपाईंहरूले बिर्सिदिनुस्। म नयाँ ऊर्जा लिएर र गतिशील भएर काम गर्न आएको हुँ।'
उनले मूलतः तीन वटा उद्देश्य तय गरे।
पहिलो, विद्यार्थीहरूलाई बजारमा स्थान पाउने गरी तयार गर्ने।
दोस्रो, विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा स्फूर्त हुने वातावरण तयार गर्ने।
तेस्रो, क्याम्पसको भवन भाडाको जग्गामा भए पनि पर्याप्त आवश्यक संरचना बनाउने।
उनी आफ्नो उद्देश्य पूरा गर्ने बाटोमा रहेको बताउँछन्।
'पहिलो उद्देश्य पूरा गर्न विद्यार्थीलाई प्रयोगात्मक र कक्षाकोठा बाहिरको ज्ञान पनि चाहिन्छ। यसका लागि उनीहरूलाई विभिन्न पेसा, व्यवसाय गरिरहेका मानिसहरूसँग अन्तर्क्रिया गराउँछौं। विभिन्न संघ–संस्थासँग सहकार्य गर्छौं। फिल्ड वर्कका लागि काठमाडौं, हेटौंडा लगायत ठाउँमा विद्यार्थीहरू पठाएका छौं। म आएदेखि प्रयोगशाला पूर्ण रूपमा सञ्चालन गरेका छौं,' उनले भने।
दोस्रो उद्देश्यबारे उनले भने, 'यसका लागि हामीले धेरै खेलकुद सम्बन्धी गतिविधि र क्रियाकलाप सञ्चालन गर्छौं। काठमाडौं लगायत देशका विभिन्न ठाउँका खेलकुद प्रतियोगितामा विद्यार्थी पठाएका छौँ। हुम्लाको कर्णालीस्थित स्वास्थ्य प्रतिष्ठानमा खेलकुदकै लागि २० जना विद्यार्थी पठाएका थियौं।'
तेस्रो उद्देश्यबारे उनले थपे, 'कानुनका विद्यार्थीले बहस अभ्यास गर्न मुडकोर्ट बनाएका छौं। पहल गरेर क्याम्पसका लागि बस ल्याएका छौं। सबै कक्षामा प्रोजेक्टर राखेका छौं। यसबाट शिक्षकहरूले सामग्रीहरू देखाएर पढाउनु हुन्छ।'
उप–कुलपति र रजिस्ट्रार सकारात्मक भएकाले काम गर्न सहज भएको सरोज बताउँछन्।
आफ्नो दैनिक जिम्मेवारीसँगै सरोज अनुसन्धानमा पनि सहभागी छन्। अनुसन्धान समितिका अध्यक्ष पनि हुन्। उनको नेतृत्वमा विश्वविद्यालयको इन्टर्नसिप र सोध गराउने कार्यविधि तयार भयो। उनको समूहले विद्यार्थीलाई अनुसन्धान सम्बन्धी अभिमुखीकरण गराउने र सीप विकास गराउने काम गर्छ।
आफ्नो कार्यकालको अन्य उपलब्धिबारे सरोज भन्छन्, 'नियुक्ति पाएको दिनदेखि म दिनरात खटिरहेको छु। बिबिए र एमबिएका लागि जनकपुरमा सबै भन्दा उत्कृष्ट शिक्षकको टिम तयार गरेको छु। पहिले २० सिटका लागि एमबिएमा १५–२० जनाले मात्र आवेदन दिन्थे। दोस्रो पटक विज्ञापन गर्नुपर्थ्यो। अहिले ३० सिट पुर्यायौं र आवेदन पनि ६० जनाको आएको छ।'
उनका अनुसार अहिले क्याम्पसमा ९ वटा कार्यक्रम छन्। स्नातक तहमा करिब ८ सय विद्यार्थी छन् भने स्नातकोत्तरमा ५० जना छन्।
विश्वविद्यालय स्थापना भएको पाँच वर्षपछि पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गराएको पनि उनी आफ्नो महत्त्वपूर्ण उपलब्धि भएको बताउँछन्।
'पहिले धेरै पटक क्याम्पस बन्द हुन्थ्यो। दिनहुँ जसो विभिन्न मुद्दामा नाराजुलुस लाग्थ्यो। अहिले त्यो कम भएको छ। समुदायको विश्वास बढ्दै गएको छ। धेरै अभिभावक भेट्न आउनु हुन्छ, राम्रो गरिरहनु भएको छ भनेर आशीर्वाद दिएर जानु हुन्छ,' उनले भने।
अहिले प्राध्यापक संघ, कर्मचारी संघ र विद्यार्थीहरू मिलेर साझा धारणा तय गरेर योजना बनाएर अगाडि बढ्ने प्रक्रियामा रहेको सरोज बताउँछन्।
नेतृत्वका चुनौतीहरू
नेतृत्वको जिम्मेवारीमा हुँदा मूलतः तीन वटा चुनौती भोगेको सरोज बताउँछन्।
पहिलो, क्याम्पसको आफ्नो जग्गा र भवन छैन। त्यसैले चाहेर पनि आवश्यक पूर्वाधार विकास गर्न कठिन छ।
दोस्रो, स्थायी शिक्षक र कर्मचारी नहुँदा क्याम्पसको विकासका लागि सबैलाई प्रतिबद्ध बनाएर अगाडि लैजान कठिन छ। हाल ७ जना स्थायी, २१ जना करार, सेमेस्टरभरिका लागि कोर्स करारमा ४२ जना शिक्षक छन्। कर्मचारी १० जना छन्।
तेस्रो, हालसम्म राजर्षि जनक विश्वविद्यालयमा सेवा आयोगको प्रावधान कार्यान्वयन भएको छैन। सेवा निवृत्त भइसकेकाको ठाउँमा पदस्थापन हुन सकेको छैन।
'अहिलेको मेरो अठोट आफ्नो नियन्त्रणमा भएका चुनौतीको समाधान खोज्नु हो,' सरोजले भने।
क्याम्पसको जिम्मेवारीमा हुँदा विभिन्न अवस्थामा द्वन्द्व र समस्या पनि भइरहने उनी बताउँछन्।
त्यस्तो अवस्थामा उनको आफ्नै समाधान गर्ने तरिका छ।
'मेरो स्वभाव हो – नबिराउनू, नडराउनू। म सबैसँग पाररदर्शी कुरा गर्छु। मैले जीवनमा धेरै कुरा प्राप्त गरिसकेको छु, धेरै अवसर पाइसकेको छु। सत्य र निष्ठामा हिँड्छु।'
कुनै विवाद पर्दा उनी विश्वविद्यालयले निकालेको रातो किताब निकाल्छन्। त्यसमा सबैको जिम्मेवारी र भूमिका तोकिएको छ। त्यही अनुसार पारदर्शी रूपमा कुरा राखेर समस्याको समाधान निकाल्ने प्रयास गर्ने उनले बताए।
'म भावनात्मक छु तर निर्णय गर्ने बेला कठोर छु। बेला बेला झर्किएर बोल्छु तर फेरि एकैछिनमा नरम भइहाल्छु। झगडा गरिहाले पनि म लामो समयसम्म मनमा राख्दिनँ। झगडा गर्छु, किनकि कति कुरा नियम अनुसार मिल्दैन। तर संस्थाको नेतृत्वको रूपमा काम गर्नु र्ने छ, फेरि मिलिहाल्छु,' उनले भने।
शिक्षामा राजनीतिबारेको धारणा
सरोज व्यक्तिगत रूपमा शिक्षामा दलगत राजनीतिको हस्तक्षेपको विपक्षमा छन्।
'दलगत राजनीतिले हाम्रो समग्र सार्वजनिक शिक्षामा संकट आएको कुरा सत्य हो। एउटा सरकार आउँछ, एउटा मानिस नियुक्त गर्छ। अर्को सरकार आउँछ, फेरि अर्को नियुक्त गर्छ। यसले योजनाहरू नियमित रूपमा कार्यान्वयन हुन पाउँदैनन्।'
उनले थपे, 'तर राजनीति बिना देश चल्दैन। राजनीति र देश एक अर्काका पुरक हुन्। देशलाई सही तरिकाले अगाडि बढाउन इमानदार, कर्मठ र देशप्रेमी नेताहरूको आवश्यकता हुन्छ। ती नेताहरू तयार हुने ठाउँ त कलेज नै हो।'
उनका अनुसार यसलाई मिलाउन राजनीतिक हस्तक्षेपको कुरै नआउने संरचना बनाउन सकिन्छ। जुनसुकै जिम्मेवारीका लागि स्पष्ट मापदण्ड, प्रतिस्पर्धा र पारदर्शी प्रक्रियाबाट नियुक्ति हुनुपर्छ। आफ्नो दल वा आफ्नो मान्छे भन्दा पनि योग्य मान्छे राख्ने संरचना बनाउन सकिन्छ। यस्तो भए शिक्षामा पनि फड्को मार्न सकिने उनी बताउँछन्।
विद्यार्थी युनियनबारे उनी भन्छन्, 'नेपालका विश्वविद्यालयको संरचनामा विद्यार्थी युनियन, कर्मचारी संघ र प्राध्यापक संघको परिकल्पना गरिएको छ। संगठन बनाउन पाउने अधिकार कानुनले नै दिएकाले हामीले चाहेर पनि राजनीति नहोस् भन्न सकिँदैन।'
उनले क्याम्पसमा विद्यार्थी युनियनको निर्वाचन हुनु अगाडिको क्षण सम्झिँदै थपे, 'धेरै विद्यार्थीले समस्याको समाधान छलफलबाट भइहाल्छ, अहिले निर्वाचन नगरौं भने। तर कानुनले भनेको कुरा नगर्न मिलेन। अहिलेको परिस्थितिमा पनि सबै संघले इमानदारिता र समन्वयका साथ काम गर्ने हो भने क्याम्पसको विकासमा टेवा नै पुर्याउँछ। तर उनीहरूले स्वस्थ राजनीति गर्नुपर्यो।'
दैनिकी र परिवार
सरोज बिहान ७ बजे अगाडि नै घरबाट निस्किन्छन्। सरसफाइ कर्मचारी समयमा क्याम्पस नपुगेको दिन आफै गमलामा पानी हाल्न थाल्छन्। क्याम्पसमा बिहानी र दिवा सत्रमा पढाइ हुन्छ।
क्याम्पसको जिम्मेवारीसँगै उनी विश्वविद्यालयको अन्य भूमिकामा पनि छन् — कार्यकारी परिषदको सदस्य, प्राज्ञिक परिषदको सदस्य, विषय समितिको अध्यक्ष, अनुसन्धान समितिको अध्यक्ष, आदि।
यसका लागि उनी विभिन्न छलफलमा उपस्थित भइरहनुपर्छ। समय–समयमा डिन, रजिस्ट्रार र उप–कुलपतिको कार्यालय पनि जानुपर्छ। अनि नियमित कक्षा पनि लिनुपर्छ।
सबै काम सकेर घर फर्किने बेला राति ७–८ बज्छ। घर पुगेर उनी हरेक दिन बुबालाई भेट्छन्।
'मेरी आमाले मलाई धेरै माया र विश्वास गर्नु हुन्थ्यो। मलाई यो मान्छे साँचो छ, झुटो बोल्दैन, इमानदार छ भन्नु हुन्थ्यो,' यो सुनाइरहँदा उनी भावुक भए, 'आमा बित्नुभएको एक वर्ष भयो। बुबालाई एक्लोपन नहोस् भनेर हरेक साँझ भेटेर कुरा गर्छु।'
सरोजले आमाबुबाका बारेमा थप भने, 'हामी कपाल काट्ने नाई जातमा थियौं, अपहेलित थियौं। तर आमाबुबाले हामीलाई साह्रै माया दिनुभयो। उहाँहरूकै आशीर्वादले हामी सबै सन्तान विभिन्न ठाउँमा सम्मानित पदमा पुग्यौं।'
आफ्नी जीवन–साथी प्रति पनि सरोजलाई गर्व छ।
उनको समुदायमा उनी हुर्केको समयमा पढेलेखेका पुरूषले पढेलेखेकी महिलासँग विवाह गर्ने अवस्था थिएन। स्नातक वा स्नातकोत्तर पढेका केटाहरूको असाक्षर वा बढीमा कक्षा ९–१० मा पढिरहेकी केटीहरूसँग बिहे हुन्थ्यो। सोच र जीवनको आकांक्षा नमिलेर द्वन्द्व हुने भयले उनी आफ्नो ठाउँमा बिहे गर्नबाट भागिरहेका थिए।
भारतमा पढ्न गएका बेला उनले देखेका थिए, महिलाहरू पनि शिक्षित छन्। घर बाहिर निस्किएका छन्, काम गरेका छन्, आत्मबलका साथ अरूसँग बोल्न सकेका छन्।
संयोगले बिहेको चर्चा भइरहँदा उनीसँग दरभंगाको मधुवनी जिल्लामा विज्ञान विषयमा बिए अनर्स गरिरहेकी महिलाको भेट भयो। अनि उनीहरूको बिहे भयो। यसमा उनी आफूलाई भाग्यमानी मान्छन्।
उनीहरूकी एक छोरी चिकित्सक हुन् भने छोरा एमबिए पढिरहेका छन्।
आगामी दिनका योजना
सरोज नेपालको अहिलेको शैक्षिक प्रणालीप्रति केही असन्तुष्ट छन्।
देश र समाजलाई विकास गर्न कस्तो जनशक्ति आवश्यक पर्ने हो, त्यसबारे अनुसन्धान गरेर, त्यस अनुसारको शैक्षिक कार्यक्रम राखिनुपर्ने उनी बताउँछन्।
'तर हामीकहाँ यसरी काम हुन सकेको छैन। पहिल्यैदेखि हामीले शैक्षिक कार्यक्रम बनाउँदा आफ्नो परिवेशको आवश्यकता भन्दा पनि पश्चिमी देशहरूबाट हुबहु नक्कल गरेर राख्यौं। यसले स्थानीय आवश्यकता समेट्न र सम्बोधन गर्न सकेको छैन,' उनले भने।
उनलाई आफ्नो नेतृत्वमा यो समस्यामा काम गर्न मन छ। उनको विश्वविद्यालयले स्थानीय आकांक्षा र आवश्यकता मूल्यांकन गर्दै पाठ्यक्रम अद्यावधिक गर्दै गइरहेको छ। त्यसलाई अंगिकार गर्दै उनी शिक्षालाई सन्दर्भ, समय र सीपसँग जोड्न चाहन्छन्। बजारमा कस्तो सीप चाहिन्छ, बजारमा जाँदा आउने चुनौती समाधान गर्ने सोच र तरिका सिकाउने किसिमको शिक्षामा काम गर्न चाहन्छन्।
उनी क्याम्पसको प्राविधिक र भौतिक कमजोरी सुधार गर्ने प्रक्रियामा छन्।
नयाँ पुस्ताका शिक्षकलाई डा. सरोज ठाकुरको सन्देश छ, 'सधैं अद्यावधिक हुनुपर्छ। सिकिरहनुपर्छ। ५८ वर्षको उमेरमा म पनि प्रविधि सिकिरहेको छु र प्रयोग गरिरहेको छु। आफूले नसिकी विद्यार्थीले सिक्न सक्दैनन्। त्यस्तै, अनुसन्धानमा सहभागी हुनुपर्छ। यसले समाजको नजिक पुर्याउँछ र धेरै कुरा सिकाउँछ।'
***
एक्स (ट्विटर)- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)