आजको दिनमा देश मानिसको परिचयको आधार बनेको छ। देश नहुनु भनेको व्यक्तिको परिचय नहुनु जस्तै हो। आधुनिक राष्ट्र/राज्यको अवधारणाले देशको परिचयसँग नजोडिइकन व्यक्तिको स्वतन्त्र अस्तित्वको परिचय पूर्ण नहुने अभ्यासमा बाँधिदिएको छ।
यो अभ्यासले राष्ट्र/राज्यका सीमाहरू पनि निर्माण भएका छन्। तिनलाई अन्तर्राष्ट्रिय वैधताको आधार मान्दै दुई राष्ट्रबीच सीमारेखा खिचिएको छ। एउटाको सीमा नाघेर अर्कोमा प्रवेश गर्न व्यक्तिले आफू सम्बद्ध देशद्वारा जारी परिचयपत्र देखाउनु अनिवार्य गरिएको छ। प्रवेशाज्ञा अनिवार्य गरिएको छ।
युरोपेली युनियनभित्रका नागरिक, नेपाल–भारत आवागमन जस्ता केही अपवाद त छँदैछ। अन्यथा, देश नहुनुभन्दा ठूलो अवसाद आजको दिनमा मानिसका लागि अरू केही छैन। वर्तमान कालमा विश्वभर आधुनिक आप्रवासनको वेग तीव्र भएपछि मानिसहरूमा देशसँग जोडिएको परिचयहीनताको पैमाना पनि बढिरहेको छ। यो परिचयहीनताको बढ्दो पैमानाले 'न्यू नर्मल' बन्दै विश्वभर परिचयको नयाँ संकट खडा गरिरहेको छ। सिँगो मानव समाजलाई नयाँ विश्व व्यवस्थातिर बलपूर्वक घचेटिरहेको छ।
नेपालले काँधमा बोकेको भुटानी शरणार्थी प्रकरणदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'क्रिमिनल एलियन' भनेर आरोपित गरेका आप्रवासीसम्मको सवालले विश्वलाई आप्रवासी र मानिसको राष्ट्रिय परिचयहीनताको सन्दर्भमा नयाँ विश्व व्यवस्थातिर अग्रसर हुन बाध्य बनाउने अवस्था सिर्जना हुँदै गइरहेको छ।
अथाह प्राकृतिक स्रोतको दोहनमार्फत राष्ट्रिय सामर्थ्य बढाउने विश्वव्यापी होड र मानिसहरूमा आवश्यकता र आकांक्षा पूर्ति गर्न सहजता र अनुकूलता खोजी गर्ने अभ्यास सघन भएसँगै आप्रवासनको विश्वव्यापी लहर राष्ट्र/राज्यका तमाम प्रयास र क्रूर स्तरका प्रतिबन्ध, यातना र थुनछेकले पनि थेग्न सक्ने देखिँदैन। यसले विश्वका निश्चित सामर्थ्यवान राष्ट्रहरूमा आप्रवासनको घनत्व वृद्धि गराउनेछ। सामाजिक लोकतन्त्रको अभ्यास निषेध गरेर नियन्त्रित समाजको अभ्यास गरिरहेका राष्ट्रहरू जतिसुकै आर्थिक सामर्थ्य निर्माणमा अघि बढे पनि ती देश आप्रवासीहरूको रोजाइमा सजिलै पर्ने अवस्था देखिँदैन।
यसले देशसँग जोडिएको मानिसको पुरानो परिचय भत्कने र नयाँ राष्ट्रिय परिचय निर्माण हुने अभ्यासलाई पनि तीव्र बनाउँदै लगेको छ। जन्मँदा एउटा देशको परिचयमा बाँधिएको मानिस तन्नेरी हुँदा अर्कै देशसँग जोडिएर आफ्नो परिचय निर्माणको ध्याउन्नमा लागिरहेको भेटिनु अब 'न्यू नर्मल' भएको छ। हिजोको दिनको नयाँ राष्ट्र निर्माण गर्ने सोच आजको दिनमा बनिबनाउ राष्ट्रसँग जोडिएर आफ्नो नयाँ परिचय निर्माण गर्ने चरणमा विघटित भएको छ। देश निर्माण गर्नेबाट देशभित्र परिचय निर्माण गर्ने चरणमा अवस्थित हुन पुगेको छ।
पार्श्वकथा
मानव समाज फिरन्ते सिकारी चरणबाट कृषि र पशुपालनको चरणमा प्रवेश गरेपछि बिस्तारै अग्नि (आगो) लाई अघि अघि लगाएर अग्निले दग्ध बनाएको बाटो पछ्याउँदै जमिन सँध्याउन लागे। पशुलाई घरेलुकरण गर्दै तिनको मासु र दूधले आफ्नो भोक मेटाउन थाले। जमिन जसले पनि सँध्याउन सक्छ र पशु जसले पनि कज्याउन सक्छ भन्ने भावना मानिसको चेतनामा आरोपण भएपछि मानिसमा बिस्तारै स्वामित्वको चेतले घर गर्न थाल्यो।
त्यसपछि एउटा कबिला समूहले सँध्याएको जमिन र पशु अर्को कबिला समूहले बल प्रयोग गरेर आफ्नो अधिनमा लिने सिलसिला अघि बढ्यो।
सम्भवतः यो बल प्रयोग गरेर अरूको सिकार खोस्ने र आफ्नो पेट भर्ने अभ्यास फिरन्ते सिकारी चरणमै मानिसले आफूमा आरोपण गरेका थिए। त्यही फिरन्ते सिकारी चरणमै आफ्नो गण समूह र सिकारको रक्षा र हमलाका लागि लड्न-भिड्न सक्ने लडाकू समूह निर्माण गर्ने काम अभ्यासमा आइसकेको थियो। लडाकूहरूको समूह निर्माण भएपछि त्यसले एक किसिमको नेतृत्व माग गर्थ्यो। त्यो माग पूरा गर्न गण अगुवाको अभ्यास अस्तित्वमा आएको थियो।
कालान्तरमा जब मानव समाज कृषि र पशुपालनको युगमा अग्रसर भएर आयो, त्यही पुरानो गण समूह, लडाकू स्वरूप र गणनायकहरूले संस्थागत स्वरूप लिन लाग्यो। गण समूह र त्यसले चर्चेको भूगोल उक्त समूहको रजाइँ स्थलका रूपमा विकसित भयो। गणनायकहरूले शासक र लडाकूहरूले फौजका रूपमा आफूलाई रूपान्तरित गरे।
हजारौं वर्षको अभ्यासले मानिसको चेतनाको 'ब्लुप्रिन्ट' मा आफू र आफ्नो गण विचरण गर्न र आफ्नो स्वार्थको सुरक्षाका लागि एउटा निश्चित भूगोल नियन्त्रणमा हुनुपर्छ र आफू समाहित समाज सञ्चालन गर्न कोही न कोही अगुवा या शासक चाहिन्छ भन्ने धारणा खिपियो। समाज व्यवस्था चलाउन फौज बनाइयो। त्यही धारणाले आकार लिँदै जाँदाको अभ्यास क्रममा राष्ट्र, राज्य, सेना र शासकको अस्तित्व अपरिहार्य तत्वका रूपमा विकास भएर आयो।
आरम्भमा गणहरूभित्रबाट जो कोही उम्मेदवार गण प्रमुख हुनसक्ने अभ्यास कालान्तरमा पारिवारिक घेराभित्र संकुचन भयो। सम्पत्तिमाथिको स्वामित्व र स्वामित्वमाथि व्यक्तिको निजी हकाधिकारको अभ्यास सघन हुँदै जाँदा गण प्रमुखका रूपमा प्राप्त लाभ र सुविस्ता गण प्रमुखहरूले आफ्नै घेराभित्र राख्ने प्रयास आरम्भ गरे।
जब सम्पत्तिमाथि सामूहिक स्वामित्वको अभ्यास मेटिँदै सम्पत्तिको स्वामित्व हस्तान्तरणका लागि एकनिष्ठ विवाहमार्फत आफ्नो रक्तउत्तराधिकारी चिन्ने अभ्यासमा समाज अनुरक्त भयो, त्यो सँगसँगै गणनायकको हकाधिकार पनि आफ्नै सन्तानमा हस्तान्तरण गर्न सारा सामर्थ्य परिचालनको सिलसिला अघि बढ्यो। लामो अन्तर्संघर्ष, कलह र रक्तपातको बाटो समात्दै यसरी गणाधिपतिको पाउतोष सम्पत्तिजस्तै आफ्नै रक्तसन्तानमा हस्तान्तरण हुने अभ्यासलाई समाजले शिरमा पहिरियो।
कारण विशेषले गणाधिपतिको सन्तान नभए या मारिए या केही भएर रिक्त भए उसको नजिकका रक्तनाताभित्रबाट आफ्नो भूगोलमा आश्रित मानिसका लागि शासक चयन गर्ने प्रचलन चल्यो। भारतीय उपमहाद्वीपको सर्वाधिक लोकप्रियमध्ये पर्ने महाख्यान महाभारत कथामा वर्णित अम्बिका र अम्बालिकाले व्याससँग समागम गरेर धृतराष्ट्र, पाण्डुहरू जन्मेको प्रसंग होस् या कुन्ति र माद्रीले पाण्डुबाट सन्तान नभएपछि विभिन्न पात्रहरूलाई आह्वान गरेर पञ्च पाण्डवलाई जन्म दिएको प्रसंग होस्; सबै कथाले कसरी राजा पदको हस्तान्तरणका लागि सामाजिक चेतनामा एउटा वंश या परिवारको अनिवार्यताको भावना घुलाइएको थियो भन्ने उदाहरण पेस गरेको पाइन्छ।
हजारौं वर्षदेखि एउटा परिवार र त्यसको नियमित उत्तराधिकारीबाहेक अरूले राजा बन्ने कुरा अकल्पनीय र विधर्मी कुरा हो भनेर सामाजिक चेतमा आरोपण गरिएपछि समाजले त्यसलाई नाघेर अघि बढ्न अकल्पनीय क्रान्तिको प्रतिक्षा गरिबस्नुपर्थ्यो। निरन्तरताको निरन्तरता छाडेर निरन्तरताको क्रमभंग गर्दै नयाँ निरन्तरतामा पुग्न समाजले एउटा युग कुर्नुपर्छ।
सामाजिक चेतनाको आयाम फराकिलो भएर भौतिक परिस्थितिहरू फेरबदल गर्न सक्ने स्तरमा समाजले आफूलाई उभ्याउन सक्नु उति सजिलो कुरा होइन। आजको दिनमा त हाम्रो समाज बाँधिनका लागि तबेला, पुज्नका लागि पत्थर र शासित हुनका लागि वंशवादी शासकको जुगाडको मृगतृष्णाबाट मुक्त हुन सकेको छैन भने हिजोको सामाजिक चेतको दु:ख अर्कै रहमा निसास्सिएर बस्नु अन्यथा पनि थिएन।
पिता र सौतेनी आमाको कोपोभाजनमा परेर वनवास लघारिएका रामचन्द्रको खराउ लिएर भरतले शासन गरेको रामायण कथाले उल्लेख गरेको पाइन्छ। उक्त कथाले शासन जो पायो उसले गर्ने होइन, शासन गर्न राजा चाहिन्छ भन्ने सन्देश दिन्छ। रोलक्रमको, वंशक्रमको राजा नभए उसको खराउ पनि बाँकी समाज उपर शासन गर्न लायक छ, तर अरूले भुलेर पनि शासकको खराउभन्दा माथि आफूलाई नसोच्नू भन्ने सन्देश समाजलाई दिएको पाइन्छ।
अर्को तवरले हेर्दा समाज व्यवस्था शासकको अभावमा अघि बढ्दैन। शासक नभए उसको खराउ नै शिरमा बोकेर मात्र समाज व्यवस्था चल्नसक्छ भन्ने सन्देश पनि प्रकारान्तरमा उक्त कथाले वितरण गरेको पाइन्छ।
त्यसैगरी हाम्रो नेपाली समाजमै प्रचलनमा रहेका केही कथामा लावण्य नामको देशमा सामाजिक व्यवस्था सञ्चालन गर्न हात्तीले माला बोकेर राजा खोजी हिँडेको विवरण उल्लेख भएको पाउँछौं। यसले तत्कालीन समाजको मनोचेतनामा आफूलाई कज्याएर शासन गर्ने शासक बेगर समाजको धमनी क्रियाशील हुनसक्छ भन्ने नै सोच्न नसकेको मनोदशा प्रकट गर्छ।
खासमा यस्ता कथा र सन्देशहरू सामाजिक व्यवस्थालाई कसरी बलियो बनाउने र राजकीय सत्ता सञ्चालनार्थ शासकको अपरिहार्यता कति छ भनेर सामाजिक चेतनामा आरोपण गराउने हेतु संकथित गरेर वितरण गरिएको हुन्छ।
आफूमाथि शासन गर्ने शासकबिना समाज व्यवस्था सञ्चालन हुनसक्छ भन्ने चेतना नै उपस्थित नभएका कारण हाम्रै निकट इतिहासका विवरणहरूले पनि कसरी आफूमाथि कजाइँ गर्ने शासकको खोजीमा हाम्रो समाज भौंतारिएको थियो भन्ने उल्लेख गरेको पाइन्छ।
विभिन्न कारणले लमजुङ दुराडाँडाका राजा मारिएपछि या मासिएपछि दुराडाँडा शासकविहीन भएको थियो। समय त्यस्तै थियो, राजाबिना पनि समाज चलाउन सकिन्छ भन्ने सोच्नै नसक्ने। दुराडाँडाका विभिन्न थरघरहरू गएर कास्कीका जगती खान साही भनिने कुलमण्डन खान (म भने ती खान होइन खाँण मगरहरू थिए भन्नेमा छु। अंग्रेजीमा लेखिएको शब्दलाई नेपाली उच्चारणमा खान लेखिए पनि ती खाँणहरू थिए। यो बेग्लै कुरा हो, यताका दिनमा खाँणहरू आफूलाई क्षत्री लेखाइबसेका छन्। तर पाल्पा/स्याङ्जाको बल्ढ्याङगढी, खिर्लुङ, लसर्घाका मगर खाँण शासकहरू नै कालान्तरमा खान/साही/साह/शाहमा आफैलाई रूपान्तरण गरेकाहरू हुन्) लाई दुराडाँडाका जनताको राजा बनिदिन अनुनय गरे।
जगती खान साहीले आफू कास्कीकोट अधिनस्थ राज्यको व्यवस्था मिलाउनुपर्ने भएकाले दुराडाँडामा जान नसक्ने, बरू छोरा दिएर पठाउने भनेर पहिले आफ्ना छोरा कालु खान दुराडाँडेहरूलाई दिए। तर कालु मरे/मारिएपछि फेरि दुराडाँडेहरू अर्को राजा माग्न कास्की गए। पहिले लगेको छोरा मरे/मारेकाले अर्को छोरा नदिने भनेर बम्किएका जगती खानसित धर्मकिरिया खाएर जसबम खान लिएर आए।
जगती खानपछि कास्कीको राजा भएका उनका जेठा छोरा नरराज खानले साही उपाधि प्रयोग गरेपछि त्यसको सिको गर्दै यशोब्रह्म भनिने जसबम खानले पनि साही उपाधि धारण गरेका थिए। यसरी सारा व्यवस्था आफैले मिलाउने र चलाउने योग्यता राख्ने समाजले पनि शासित हुन मागेर, खोजेर भए पनि आफ्नो शिरमा राजाको शासन अभियोजन गर्ने अभ्यास दुराडाँडामा मात्र होइन, त्यसबाट अघि बढेर लिगलिगकोटमा पनि सरेको पाइन्छ।
पश्चिम नवकोटमा थाना हालेर कास्कीमा रजाइँ गर्न आइपुगेका जगाती खान साहीसँग दुराडाँडाका दुराहरू सहितले कास्कीबाट मागेर ल्याई थपना गरिएका तिनै जसबम खान साहीका छोरा थिए, द्रव्य खान साही। जसलाई लिगलिगकोटका मगर शासकको शासनबाट विभिण्डिएका गंगाराम राना प्रभृतिले गणेश पाँडे, नारायणदास अर्जेल, सर्वेश्वर खनाल, भगीरथ पन्त, केशव बोहोरा, मुरली खवास आदिको सहायतामा रागिनासको तालुकदारबाट बोकेर लगी लिगलिगको शासकमा थपना गरेका थिए।
लिगलिग हस्तगत गर्नमा न लमजुंगे खान साही शासकको, न द्रव्य खान साहीकै कुनै योगदान थियो। त्यस समयको सामाजिक चेतनाको जमिन नै त्यस्तै थियो, शासकबिना पनि जीवन चलाउन सकिन्छ भनेर सोच्नै नसक्ने। रैती बन्न कोही न कोहीलाई शासक थपना गर्नैपर्ने।
भनिन्छ, लिगलिगकोटमा दौड जित्नेलाई एक वर्ष राजा मान्ने अभ्यास थियो। त्यसको केही माइल दुरीमा रहेको गोर्खाकोटमा खड्का मगर राजा थिए। ती खड्का मगर राजासँग रैथाने जनताको एउटा हिस्सा असन्तुष्ट थियो। गंगाराम रानामगर तिनैमध्ये एक थिए। उनमा खड्का राजालाई पदच्यूत गर्ने सक्षमता थियो। तर खड्कालाई हटाउन सक्ने ल्याकत भएका गंगाराममा तिनलाई हटाएर आफै शासक बन्ने आत्मबल थिएन। त्यसैले उनी त्यसै विभिण्डिएर किंकर्तव्यविमूढ भएर बसेका थिए।
त्यही सिलसिलामा उनको मिलाप हुन्छ, गोरखा पश्चिमका विभिन्न भुरेटाकुरे राज्यमा एक समय काम गरेर विविध कारणवश त्यहाँबाट पलायित भएका गणेश पाण्डे, नारायणदास अर्जेल, सर्वेश्वर खनाल, केशव बोहोरा, मुरली खवासहरूसँग। तिनले मतो मिलाएर लिगलिगको दौडमा सामेल घलेहरूलाई महिबलथोकभन्दा तलको पाँच्यान (पाँच चिहान) मा गिँडेर लमजुङ राज्यको रागिनास मुहुडा सम्हालेर बसेका जसबम साहीका छोरा द्रव्य साहीलाई ल्याएर लिगलिगको राजा थापे।
त्यसपछि तिनै गंगाराम, गणेश पाँडेहरूले गोरखा तल्लोकोट, माझकोट हुँदै उपल्लोकोटमाथि चढाइँ गरे र आफूले लडेर जितेको भूगोलमा लगेर शासक थापे द्रव्य साहीलाई। आजको दिनमा जसरी राजा-महाराजाले देश बनाएको, राज्यको भूगोल बढाएको भनेर आह्लादपूर्ण आराधना गरिन्छ, सत्यको अनुहार ठ्याक्कै त्यस्तो मात्र छैन। न लिगलिग जित्न, न माझकोट जित्न, न सिरानचोक जित्न, न अजिरकोट जित्न, न सल्यानटार जित्न कहीँ पनि राजासाहीहरूको योगदान छैन। न योजनाका हिसाबले, न नेतृत्वका हिसाबले, न लडाकूका हिसाबले। सबै अरूले गरेर थपक्क राजा थापिएका हुन् द्रव्य साही र उनीपछिका अनेकन साहीहरू।
त्यस बखतको समय नै त्यस्तै थियो, राज्य हुनलाई राजा चाहिन्छ भन्ने। राजा आफैबाट हुने आँट जुटाउन नसकेपछि खोजेर, मागेर, खोसेर भए पनि कसैलाई सत्ताको गजुरमा बसाउनुपर्ने। त्यसका लागि शासक खलकका सन्तान खोज्दै हिँड्ने। लावण्य देशमा राजा नभएर हात्तीले माला बोकेर राजा खोज्दै हिँडेको कथा घरघरमा भट्याएर 'ब्रेन वास' गरिएको समाजले राजा भनेको अरू नै हुने हो, हामी त रैती नै हुने हो भन्ने चेतनाको तबेलामा बाँधिनु अन्यथा पनि थिएन। कसैलाई शासक थापेर आफू रैती हुने चेतनामा लतारिएको समय थियो।
आजै त कसैलाई पागल भए पनि, छुल्हाया भए पनि, हत्यारा भए पनि, गँजेडी भए पनि नमरूञ्जेल राजा थाप्ने र ऊ मरेपछि उसको सन्तान योग्य या अयोग्य जे-जस्तो भए पनि राजा थाप्न पाउनुपर्छ भनेर मारामार, लुटपाट गरेर, बितन्डा मच्चाएर सामाजिक शान्ति बिथोल्दै समाजलाई हिंसाको दुष्चक्रमा फसाउन केही दासचेतनाको अवशेषले समाजलाई डस्न छाडेको छैन। त्यस्ता चरणदास चेतनाले डामिएर समाजको शिरमा वंशवादी दुष्चक्रको रछ्यान पोत्न तम्सने र त्यसो गर्न नपाए देशलाई बंगलादेश, श्रीलंका, सिरिया बनाउने धम्की दिने परिचालित तत्वहरूको समाजलाई अभाव परेको छैन। त्यसैले सर्वत्र राजा र रैती हुने त्यो कालमा खोज्दै, माग्दै भए पनि राजा थाप्नु अन्यथा थिएन।
धेरै पर किन जानु, मल्लकालको आखिरी समय पाटनको शासनसत्ता चलाउन गोरखाबाट पृथ्वीनारायणका भाइलाई ल्याएर राजा थापिएको थियो। आफूहरूमा एकले अर्कोलाई नमान्ने, नगन्ने; अनि आफूले लडेर, भिडेर बनाएको राज्यमा उक्त राज्य बनाउने क्रममा कुनै योगदान नै नभएको पात्रलाई ल्याएर राजा थाप्ने। उसलाई मालिक थापेर आफू रैती हुने। जस्तो भए पनि एकथान राजा शिरमा पहिरेर उसको रजाइँको भूगोल विस्तार गर्नु नै त्यस समयको राष्ट्रिय उद्योग थियो।
जति आफू अधिनस्थ भूगोलको रजाइँ स्थल विस्तारित हुन्छ, उति आफूले 'खान्गी' प्राप्त गर्ने इलाकाको पैमाना पनि बढ्ने हुँदा जमिन र त्यसबाट प्राप्त उब्जनी नै राज्यका भारदार सिपाहीहरूको खान्गी (तलब) भएकाले लडभिड गर्नु र राज्यको भूगोल विस्तारमा लागिपर्नु नै एक मात्र राष्ट्रिय उद्योग थियो।
पटाक्षेप
मानव समाजको इतिहासमा राष्ट्र, राज्य र शासकको चेतना आरोपित भएयताको समयकालभर हरेक समाजको यत्न राष्ट्र, राज्य, देशको भूगोल सकेजति विस्तार गर्ने र भौगोलिक सामर्थ्य बलियो बनाउनेमा केन्द्रित छ। आजको दिनमा संयुक्त राष्ट्रसंघलाई मियो थापेर राष्ट्रको सिमाना निर्धारित गर्दै अन्तर्राष्ट्रिय सिमाना स्थिर राखिएको भनिए पनि शक्ति हुनेहरूले आफूलाई विस्तार गर्ने र आफूभन्दा कमजोर राष्ट्रलाई हमला, विलयन गराएर आफूलाई विस्तार गर्ने अभियान जारी छ।
तिब्बतको चीनमा विलयनदेखि सिक्किमको भारतमा विलयन होस् या क्रिमियादेखि युक्रेनसम्म रूसको हमला, प्यालेस्टाइन भूमिमाथि इसरेलको अतिक्रमण, ग्रिनल्यान्ड अमेरिकाले लिने र क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उट्पट्याङसम्म सबै आफ्नो राष्ट्रको भूगोल विस्तार अभियानका सिलसिला हुन्।
आजकै दिनमा त राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै राष्ट्र, राज्यको भूगोल बढाउन हुने-नहुने सबै गर्न तम्तयार रहेको अवस्था छ। हिजो सिँगो मानव समाजको वृहत्तर हिस्सा नै आफ्नो आधिपत्यको भूगोल विस्तार गर्न, साम्राज्य विस्तार गर्न समर्पित भएको समयमा आजको नेपाली सरहदभित्र हिजो मौजुद राष्ट्र, राज्यहरू आफ्नो कजाइँ स्थल विस्तार हेतु खुँडामा धार लगाएर जेठी तरबारमा बलि अर्पण गरेर धुन्य फहराउन अघि बढ्नु अन्यथा थिएन।
विद्रूप साही हर्कत
हाम्रा पितापुर्खाले आर्ज्याको देश भनेर पटक पटक नेपाली समाजको बदलिँदो आर्थिक उत्पादन प्रणालीले निर्माण गरेको सामाजिक चेतनाले सत्ताच्यूत गराएर वर्तमानमा फुटनोटमा दरकिनार गराइएका ज्ञानेन्द्र शाहसमेत मुखर सुनिन्छन्। उनले एक जना नेपाली नागरिकका रूपमा हाम्रा पितापुर्खाले निर्माण गरेको देश भनेका हुन् भने त्यो सही छ। तर एक जना सत्ताच्यूत शासकका रूपमा सत्ताभोगको तृष्णालाई ताउ दिन उनका निजी पितापुर्खामा यो राष्ट्र निर्माणको यशको शिरपोस चढाउन खोजेका हुन् भने त्यो सम्पूर्णत सही छैन। सत्य होइन।
सत्ताभोगको तृष्णा जागेर त्यसलाई भर्याङ बनिहाल्छ कि भनेर यस्तो अर्धसत्य, भ्रामक र गलत दाबी गरिएपछि इतिहासको नलीहाड उधिनेरै सही, के यो नेपाल देशको निर्माण राजा-महाराजा र तिनका खलकले गरेको हो त भनेर विमर्श चलाउनै पर्छ।
एक जना पृथ्वीनारायणबाहेक राजा बनेका कुनै पनि साही/साह/शाहहरूले नेपाल राज्यका लागि एक बित्ता जमिन जोड्न योगदान गरेका छैनन्। बरू भारदारहरूलाई समेत राज्य विस्तारको काममा लाग्न नदिई अल्झाउने, मार्ने र षड्यन्त्र गर्ने गरेर राज्य विस्तार अभियानबाट विचलित बनाउने काम गरेका छन्। उसो त आजको नेपाल पृथ्वीनारायणको पालामै बनिसकेको होइन। उनको नेतृत्वमा सुरू भएको गोरखा राज्य विस्तारको अभियान उनको जीवनकालमा पूर्वमा सोक्तिम (सिक्किम) सम्म पुगे पनि पश्चिममा भने तनहुँ काटेर थाना हाल्न अघि बढ्न सकेको थिएन।
यसर्थ, पृथ्वीनारायणले बनाएका हुन् आजको नेपाल भन्ने हो भने तनहुँ पूर्वको भूगोललाई मात्र नेपाल भन्नुपर्ने हुन्छ। यद्यपि बिना कुनै लघुताभाष, बिना कुनै तर्क/कुतर्क भौगोलिक रूपमा आजको नेपाल निर्माणको सफलता पृथ्वीनारायणको नेतृत्वमा गोर्खाली जनताले आरम्भ गरेको गोर्खा राज्य विस्तारको परिणाम हो भनेर भन्न नेपाली परिचयबाट आफूलाई चिनाउनमा नलजाउने नेपालीहरूले लघुताभाषमा फस्नुपर्ने केही छ जस्तो लाग्दैन।
तर आजको जुन भूगोल छ नेपाल भनेर चिनिने, यो जोड्न विस्तारित गोर्खा राज्यका भारदार र जनता जीवन हत्केलामा राखेर नयाँ नयाँ लडाइँको मोर्चा खोल्न अग्रसर भइरहँदा ज्ञानेन्द्रका पितापुर्खा भने राम्ररी संगठित भएर दरिलोसँग उभिनै नभ्याएको राष्ट्रलाई कमजोर बनाउन अनेकन वितन्डा मच्चाएर, काटमार मच्चाएर, रासलिला मच्चाएर बसिरहेका थिए। राष्ट्र विस्तारमा लागेका भारदारहरू गिँडिरहेका थिए। राष्ट्र कमजोर बनाउन हुने–नहुने गरिरहेका थिए। त्यो विद्रूप साही अनुहारलाई अविच्छिन्न शृंखलाहरूको ऐनामा उभ्याएर हेरौं; ज्ञानमणि नेपाल, बाबुराम आचार्य आदि ऐतिहासिकहरूद्वारा लिखित पुस्तकमा उपस्थित तथ्यहरूलाई सिरानी हालेर —
१) आफ्नो मृत्यु सन्निकट आएको आभास पाउनेबित्तिकै पृथ्वीनारायण देशको चिन्ताले आकुलव्याकुल बने। उनका उत्तराधिकारी जेठा छोरा प्रतापसिंह शाह वसन्तपुरको विलास मन्दिरमा बसेर मैजुरानी लगायतका सुन्दरी नेवार कन्याले घेरिएर, अरख पियर मोजमस्तीमा मग्न भएर बसेका थिए। उनी बाबुको राज्य विस्तार गर्ने काममा ध्यान दिनु त परै जाओस्, त्यस उद्योगलाई तुरून्त रोकेर सुविस्तासँग बस्न चाहन्थे।
विसं १८३१ माघ १ गते पृथ्वीनारायणको निधन भएपछि पृथ्वीनारायणका भाइ महोद्दामकीर्ति रातारात कास्कीकोट गएर कास्केली राजा सिद्धिनारायण शाहसँग सहायता मागे र गोर्खाको राजगद्दी प्राप्त गर्ने सपना देख्न लागे। सिद्धिनारायणले पनि महोद्दामकीर्तिलाई गोर्खाको राजा बनाइदिने बचन दिएर धर्मपत्रसमेत गरिदिए।
प्रतासिंहले काकाका यस्ता कामकुराबाट शंकैशंकामा आफ्ना भाइका गतिविधिमा पनि निगरानी गर्न लागे भने नजरबन्द जस्तै अवस्थामा बहादुर शाहले बाबुको काजकिरिया सके। अनि कतिको त सर्वस्वहरण गरियो। दलजित शाह भागे। दलमर्दन थुनामा परे। उनका भाइभतिजासहित बहादुर शाह भागेर तनहुँ, पाल्पा हुँदै मुगलान पसेर बेतिया गई बसे।
प्रतापसिंहकी विवाहिता रानी राजेन्द्रलक्ष्मीतिरबाट जन्मिएको छोराको बालखैमा मृत्यु भएपछि भोग्या मैजुरानीबाट जन्मिएका छोरा विदुर शाही राजा हुने अवस्था आएको थियो। त्यसैबीच १८३२ सालमा राजेन्द्रलक्ष्मीबाट रणबहादुरको जन्म भएपछि राजेन्द्रलक्ष्मी र मैजुबीच टसल बढ्न गएको थियो। शाह खलक एकअर्कालाई कसरी लडाउने भनेर छिर्के हान्ने दाउ कुरेर बसेका थिए।
यी सबै छिनाझम्टीको अन्त्यहीन श्रृंखलाबाट प्रतापसिंहका पालामा गोर्खाली थरघरहरू निकै विरक्तिएका थिए। त्यति बेला भारदारहरू राज्य विस्तारको अभियान स्थगित गरेर ज्यान जोगाउने र शासक रिझाउने खेलमा लाग्न अभिसप्त थिए।
२) प्रतापसिंहको १८३४ सालमा मृत्यु भएपछि नाबालक रणबहादुरको नायबी बन्नेमा देवर–भाउजू राजेन्द्रलक्ष्मी र बहादुर शाहबीच घमासान चल्यो। प्रतापसिंहको पालामा गोरखा राज्य विस्तारको अभियान स्थगित नै भयो। राजेन्द्रलक्ष्मी र बहादुर शाहको जुगलबन्दी र छिनाझम्टीमा परेर बज्रनाथ पौडेल चारपाटा मुडेर लखेटिए। परशुराम थापालाई नेल ठोकेर जेल हालियो। लोग्ने प्रतापसिंह मर्दा गर्भवती रहेकी मैजुरानीलाई शेरबहादुर शाही जन्माएर न्वारन गरेपछि प्रतापसिंह मरेको महिनादिनपछि सती बनाएर जलाइयो।
१८३५ भदौमा सर्वजित रानासँग सल्किएको बात लगाएर राजेन्द्रलक्ष्मीलाई बहादुर शाहले नेल ठोकेर दरबारमा बन्दी बनाए। काजी सर्वजित राना कुमारी घरको छिँडीमा काटिए। १८३६ असारमा नेलमुक्त हुनासाथ राजेन्द्रलक्ष्मीले दलजित शाहलाई देश निकाला गरिन्। धने खवास र बलभद्र खवासलाई हात्तीले कुल्चाएर मारियो। बहादुर शाह गोर्खाबाटै भागेर मुगलान पसे। राज्य विस्तारमा अविश्राम लडेका लडाकू नायकहरू वंशराज पाँडे, शिवनारायण खत्री बेतिया र पटनामा गएर बसे।
दरबारमा यस्तो मारकाट र भाँडभैलो मच्चिएका बेला पृथ्वीनारायणको पालामा विजित भूगोलका पराजित शासकहरू भने आफ्नो गुमेको राज्य फिर्ता ल्याउने उद्योगमा लागेका थिए। मकवानपुरदेखि विजयपुरसम्मका सेन शासकहरू यस्तो काममा पूरा तागत र जोडबलसहित लागिपरेका थिए।
राजेन्द्रलक्ष्मीको मृत्युपछि नायबी बनेर शक्तिमा आएका बहादुर शाहको नेतृत्वमा विस्तारित गोर्खा राज्यका नागरिकहरू गोर्खा राज्य थप विस्तार गर्दै बाइसी, चौबिसी राज्यलाई आफूमा समाहित गर्दै कुमाउ, गढवालसम्म थाना हाल्न पुगेका थिए। तर तिनै बहादुर शाहलाई भतिजा रणबहादुर बालिग भएर नायबीबाट हटाइएपछि पक्राउ गरेर जेल हालिए। जेलमै राखिएका बेला १८५४ असार १४ मा हालको परोपकारनेरको बन्दी कक्षमा मध्यरात सिपाही पठाएर पासोले घाँटी कसेर बहादुर शाहको हत्या गरियो। कतिपय ऐतिहासिकहरूले लेखेका छन् – उनलाई तातो तेल खन्याएर मारियो।
३) भारदारहरू जनतालाई संगठित गर्दै देश विस्तारमा लागिपरेका बेला राजा रणबहादुर शाह नयाँ नयाँ केटी भित्र्यायाउने, भेडा, साँढे, कुखुरा, बट्टाई जुधाउने काममा दत्तचित्त भएर लागेका थिए। रंगशालामा दिनहुँ नाचगान चल्थ्यो। यस्ता नचंगे गीदांगेका दल भारतका सहरबाट झिकाइन्थे। ज्यादै सुन्दरी तरूनी केटी छन् भन्ने सुइँको पाइयो भने अनेक गरिकन दरबार झिकाइन्थ्यो।
त्यही सिलसिलामा पशुपतिनाथ दर्शन गर्न भनी तिरहुततिरबाट आएका मिश्र ब्राह्मणको परिवार धर्मशालामा बसेको थियो। तिनको साथमा कान्तवती नाम गरेकी बालविधवा पनि थिइन्। त्यस्तो कुराको सुइँको पाउनेबित्तिकै रणबहादुर आफै हात्तीमा चढेर पशुपति गए र कान्तवतीलाई जबर्जस्ती उठाएर ल्याई दरबारमा भित्र्याए।
त्यस बखत विधवाको पुनर्विवाह सामाजिक तवरले पतीत कर्मका रूपमा लिइन्थ्यो। उनको स्थान दासीको जस्तो हुन्थ्यो। दासीका रूपमा रणबहादुरको ओछ्यानमा सुतेर कान्तवती रखौटी बन्न तयार भइनन् र ६ महिनासम्म उनी दरबारमा जबर्जस्ती राखिइन्। अन्त्यमा उनलाई रानीको दर्जा दिने र उनीबाट जन्मेको छोरालाई राजगद्दीको उत्तराधिकारी बनाउने भए मात्र रणबहादुरसँग बस्ने, नत्र राजरखौटी भएर रणबहादुरलाई सतित्व नसुम्पने सर्त राखेपछि त्यसलाई सहर्ष स्वीकार गर्दै रणबहादुरले गोर्खा लगेर कान्तवतीसँग विवाह गरे।
रणबहादुरले विधवा कान्तवतीसँग जबर्जस्ती विवाह सामाजिक रूपान्तरणको चेतले वशिभूत भएर गरेका थिएनन्। कान्तवतीको सौन्दर्यबाट कामातुर भएर गरेका थिए।
रणबहादुरको कान्तवतीसँग विवाह हुनुअघि नै सुवर्णप्रभाबाट रणोद्योत शाह नामक छोराको जायजन्म भइसकेको थियो। राजाको जेठो छोरा राजा हुने शाही रीतअनुसार गद्दीको प्राकृतिक हकदार रणोद्योत थिए। तर यौन र स्त्री सौन्दर्यमा लम्पट रणबहादुरले गिर्वाणयुद्धलाई गद्दीको हकदारका रूपमा स्थापित गरे। राजेन्द्रविक्रम, त्रिभुवन हुँदै महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र लगायतका शाही राजाहरू तिनै तिरहुतकी विधवा कन्या कान्तवतीका दरसन्तान हुन्। गद्दीको स्वाभाविक हकदार रणोद्योतबाट खोसर शाही रीतविपरीत राजा बनाइएका रणबहादुरका उत्तराधिकारीहरू हुन्।
गिर्वाणयुद्ध जन्मिएको केही समयमै कान्तवती क्षयरोग लागेर मरेपछि रणबहादुरले उपत्यकाका मल्लराजाहरूकी इष्टदेवी मानिने तुलजा भवानीको मूर्ति उखेलेर लास पोल्ने ठाउँमा फाल्न लगाए। हिन्दु सामाजिक आस्थाको सर्वोच्च धाम पशुपति तोपले उडाउँछु भन्दै तोप अघि लगाएर पशुपति उडाउन अग्रसर भए। स्वयम्भूकी हारती मातालाई गुहुको धूप दिन लगाएर हारती माताको मूर्ति उखेलेर पोल्न लगाए। कुम्भेश्वर शिवलिंगमा पनि गुहुको लेपन लगाउन लगाई पूजा बन्द गराइदिए।
त्यस्तै, साँढे वैद्य भनिने लक्ष्मीनारायण दाहाललाई मानिसको मासु, गाईको मासु, छत्तीस थरी गुहु, जाँड खुवाई चारपाटा मुढी आँखामा सिउँढीको दूध हाली देशनिकाला गरे। उनकी स्वास्नीको जात काड्ने उद्देश्यले दमाईलाई सुम्पेर घिस्याउन लगाइयो। देउपाटनका मिलहम वैद्यको घर हात्ती लगाएर लडाइयो र आगो लगाएर भष्म पारियो। उनको शरीर टुक्रा टुक्रा पारी काटेर फोहोरमा गाड्न लगाइयो। उनकी श्रीमती पोडेलाई सुम्पिइयो। गिर्वाणयुद्धलाई नै भगाएर नुवाकोट लैजानुपर्यो।
तीन वर्षका नाबालक गिर्वाणयुद्धलाई शासक थापेर देशको भूगोल बढाउन लडिरहेका थिए देशवासीहरू। पिता रणबहादुर भने छोरा गिर्वाणलाई थेग्दै देशको भूगोल बढाउने उद्योगमा ज्यानको परवाह नगरी लडेका भारदारहरूउपर युद्धको घोषणा गर्दै फौज जुटाउँदै थिए। यो यथार्थलाई आँखा चिम्लिएर कोही आउँछ प्रज्ञा बाँड्न र भन्छ – राजाहरूले बनाएको देश! अनि सोध्न मन लाग्छ – देश बनाएको तीन वर्षे राजा गिर्वाणले कि देश विस्तारमा दत्तचित्त भारदारहरूविरूद्ध युद्धको घोषणा गरेका रणबहादुरले?
अमरसिंह थापा, रणबम पाँडेजस्ता गोर्खा राज्य विस्तारलाई जीवनको एक मात्र लक्ष्य बनाएर लडाइँको मोर्चामा रगत, पसिना बगाइरहेका फौजी कमान्डरहरूलाई खुट्टा बाँधेर झुन्ड्याए रणबहादुरले। परशुराम थापालाई स्वास्नीको सारीचोलो पहिर्याएर बजार परिक्रमा गराए। प्रबल रानालाई छालामाथि राखेर घिसार्दै बजार डुलाए। आफ्नै छोरा राजा गिर्वाणयुद्धको भारदार पक्षमाथि युद्धघोष गर्दै आखिरमा दाल नगल्ने देखेपछि लान सक्नेजति सम्पत्ति कुम्ल्याएर भागेर काशी पसे।
रणबहादुरकी जेठी पत्नी राजराजेश्वरी पक्षले रणबहादुरकी माहिली पत्नी सुवर्णप्रभा कीर्तिमानसिंह बस्नेतसँग यौन सम्बन्धमा रहेको आरोप लगायो। कीर्तिमानसिंह बस्नेत हात्तीसारको मूलसडकमा काटिए। त्यही प्रकरणमा रणजीत पाँडे, रणकेशर पाँडेहरू देश निकाला गरिए। देवदत्त थापाको आँखा झिकियो। सरदार प्रतिमन राना, सरदार इन्द्रकमल खवास र खजाञ्ची गर्भु खवास काटिए। प्रबल राना फलामे पिँजडामा कैद गरिए।
काशी पुगेर पनि रणबहादुरले विस्तारित गोर्खा राज्यको मर्यादा र इज्जत लिलाम गराउन कुनै कसर बाँकी राखेनन्। काशीका महाजन र इस्ट इन्डिया कम्पनीका मानिसहरूसँग ऋण लिएर मोजमस्ती गर्न लागे। अंग्रेजलाई पत्र लेखेर आफूलाई नेपालको राजामा पुनर्स्थापित गराइदिए प्रतिवर्ष नेपालको आम्दानीको चौवन्नौं भाग इस्ट इन्डिया कम्पनी सरकारलाई बुझाउने, पाल्पा राज्य र रामनगरसमेत दिलाइदिए दस आनामा ६ आना आम्दानी कम्पनी सरकारलाई बुझाउने, नेपालको गद्दीनसिनको उत्तराधिकारी कोही नरहे कम्पनी सरकारले नेपालको राज्यमा तजबिज जमाउन पाउने र आफूलाई कम्पनी सरकारबाट सालिन्दा २० हजार रूपैयाँ दिलाउने र कुमाउदेखि मोरङसम्म चलेका सबै कचिंगल मेटाई त्यहाँ नेपालको एकाधिकार पारिदिए आम्दानीको आधा हिस्सा कम्पनी सरकारलाई बुझाउने भन्दै नवनिर्मित नेपाल राज्यको सार्वभौमसत्ता, स्वतन्त्रता र मर्यादामाथि घातक प्रभाव पार्ने प्रस्ताव राखे रणबहादुरले।
यता नेपालको सत्तामा पाँच बर्षका छोरा थिए, उता मतिभ्रष्ट, लफंगा रणबहादुर नेपाल नै कम्पनीलाई बुझाउने घातक प्रस्ताव बोकेर हिँडेको इतिहास छ। यस्तो कुरूप यथार्थलाई अनदेखा गर्दै सामन्तीतन्त्रका अनुचरहरू सर्वस्त्र उदांगो हुँदै लज्जाहीन प्रलाप फलाकिरहेका हुन्छन् – यो देश बनाएका राजाहरूले। यो देश बचाएका राजाहरूले। तथ्यहरूमा अलिकति घोइरिनेबित्तिकै प्रमाणित हुन्छ – बनाएको कसले हो यो देश? बचाएको कसले हो यो देश?
राजा-महाराजाहरू स्वास्नी जम्मा गर्ने, एकअर्कामा मारकाट गर्ने, आफ्नो स्वार्थका लागि देशै बेच्न तयार हुने; यस्तो चरम पाखण्डी र पागल प्रलापको रहमा डुबेका घातक मानिसहरू र तिनका दरसन्तानले यो देश बनाएको र बचाएको गफ बेचेर नेपाली समाजको ऐतिहासिक बलिदानको तेजोवध गर्ने?
त्यही रणबहादुरको देशै कम्पनी सरकारलाई बुझाउने खालको प्रस्तावको दबाब टाल्न कम्पनी सरकारलाई नेपालमा रेजिडेन्सी खोल्न दिन नेपाल सरकार बाध्य भयो। यसरी विदेशीलाई औपचारिक रूपमा नेपालमा अखडा खोल्न ल्याउने अरू कोही थिएन, यिनै राजा शाही खलकका मानिसहरू थिए। त्यही बेला गरिएको सन्धिको परिणाममा कम्पनी सरकारका प्रतिनिधि कप्तान नक्स काठमाडौं ओर्लिए। त्यसयता अनेकन आवरणमा दूतावास, एनजिओ, आइएनजिओ, युएमएन जस्ता धर्म प्रचारकहरूले नेपालमा अखडा खोल्ने र आफ्नो स्वार्थको तरबारमा पाइन लगाउने अधिकार यिनै राजा-महाराजाहरूको शासनकालमा तिनको सनकमै पाएका थिए।
प्रसंगवश, युएमएनले त प्रभु येशुले रोग निको पार्नुहुन्छ भनेर बाइबलका हरफहरू विद्यालय र अस्पतालको भित्तामा लेखेर प्रचार गरेको थियो। अस्पतालमा आएका बिरामीलाई बाइबल र येशुका वाणीहरू लेखिएका धर्मप्रचारका सामग्रीहरू वितरण गरिन्थ्यो। मिसन स्कुलमा विद्यार्थीलाई खुलेआम प्रार्थना गराइन्थ्यो। र, थपिरहनुपरेन – यी सबै हिन्दु सम्राट र नेपाली सभ्यता संस्कृतिका जर्गेना नायक भनेर प्रचार गरिएका राजा महेन्द्रको अनुमतिबाट खोलिएका मिसन अस्पताल र स्कुलहरूमा भइरहेको थियो। तिनै मिसन स्कुल र अस्पतालमा काम गर्नेहरू विदाको दिन गाउँ गाउँ गएर बाइबल बाँड्ने धर्मान्तरणमा काम गरिरहेका थिए।
भारतमा साहु र कम्पनी सरकारसँग ऋण मागेर खाँदा खाँदा माग्न बाँकी र दिने कोही नबचेपछि ज्यान जोगाउन रणबहादुर नेपाल फर्किएपछि राज्य विस्तारमा जीवन लगाएका दामोदर पाँडे गिँडिए। उनका निरपराध छोरा रणकेशर, गजकेशर पाँडेहरू पनि गिँडिए। उनीहरूसहित काजी भीम खवास, इन्द्रमान खत्री लगायत काटिए। भीम खवासका दुई छोरामध्ये एकलाई उधोमुन्टो पारेर झुन्ड्याइयो। अर्का छोराको आँखा झिकियो। अन्त्यमा आफ्नै भाइ शेरबहादुर शाहीद्वारा निर्ममतापूवक काटिए रणबहादुर।
शेरबहादुर पनि जंगबहादुरका बाबु बालनरसिंहद्वारा काटिए। त्यही प्रकरणमा त्रिभुवन खवास, नरसिंह गुरूङ र उनीहरूका दुईदेखि पन्ध्र वर्षसम्मका कलिला निरपराध छोराहरूको हत्या गरियो। विदुर शाह, जेलमा कैद गरिएका पाल्पाली राजा पृथ्वीपाल र उनका भाइ रणबहादुर सेन, जगन खवाससहितका कलिला केटाहरूसमेत गिँडिए। काटिएका भारदारका श्रीमतीहरू पोडेलाई सुम्पिइयो।
त्यसरी काटमारको कहालीलाग्दो श्रृंखला चलाएर रणबहादुरद्वारा काजी बनाइएका तर देशका लागि एक इन्च जमिन जोड्न कुनै युद्ध नलडेका भीमसेन थापा सर्वेसर्वा बने। आफूले चलाएको नृशंस हत्या र रक्तपातप्रति नागरिकमा उठेको आफूप्रतिको विरोधलाई विषयान्तर गर्न अनावश्यक तवरले देशलाई लडाइँमा होमेका भीमसेन थापाले हजारौं वीरवीरांगानाले जीवन दिएर, लडेर जोडेको देशको एकतिहाइ भूगोल अंग्रेजलाई सुम्पिए लडाइँमा।
यो श्रृंखला यत्तिकैमा रोकिँदैन।
सुरेन्द्रलाई राजा बनाउने कि रणेन्द्रविक्रमलाई राजा बनाउने भन्ने छिनाझम्टीमा देशलाई होमेर राजेन्द्रविक्रम पंगु र निणर्यविहीनताको सिकार बन्दा कोतपर्व मच्चिएर देशका तमाम राज्य विस्तार अभियानका भारदारहरू काटिए र देशमा राणाशाहीको हुकुमत लादियो। कति दूरदर्शी र देशका उपर चिन्तन गर्ने महान शासकहरू थिए राजा-महाराजाहरू! स्वास्नी, सत्ता र मोजमस्तीका लागि आफै आफै काटामार गर्नेहरू। छिर्के हान्ने र शक्ति हत्याउने खेलमा आफ्नैको रगत पिउन नहिच्किचाउनेहरू। यौन र वासनाको बन्दी भएर देश भड्खालोमा जाकिँदा पनि मतलब नगर्नेहरू।
गिर्वाणयुद्ध मर्दा उनका छोरा राजेन्द्रविक्रम तीन वर्षका थिए। तिनै तीन वर्षे राजेन्द्रलाई राजा थापेर देशवासीले विस्तारित राज्यको रक्षा गरेका थिए। न उनको निर्देशन, न मार्गदर्शन, न नेतृत्व; देश त चलेकै थियो। देश विस्तार गर्ने काममा कुनै भूमिका र योगदान नदिएका रणबहादुरकै पालामा सबभन्दा बढी भूगोल विस्तार भएको थियो। बाँकी नाबालक गिर्वाणलाई राजा थापेको बखत।
पृथ्वीनारायण, राजेन्द्रलक्ष्मी र बहादुर शाहबाहेक कुनै पनि राजा या नायबले गोर्खा राज्य विस्तार र त्यसको परिणाममा निर्मित नेपाल राज्यको विस्तार र सुदृढीकरणमा कुनै भूमिका निर्वाह गरेनन्। फेरि पनि भन्ने – यो देश राजाहरूले बनाएको?
हिसाबै गरौं न, कुन राजा या तिनका सन्तान, दरसन्तान नेपाल बनाउने कुन मोर्चामा कति सहिद भए? देशका लागि कुन एक टुक्रो भूगोल जोड्ने लडाइँमा मारिए राजाहरू? ती यौन, सत्ता र षड्यन्त्र रचेर आफै आफै काटमार गरेर मारिए कि देशको भूगोल विस्तार र रक्षाका लागि लड्दा लड्दै मारिए? देशवासीले चाहे तिनलाई जुनसुकै खाल्डोमा हाल्न सक्थे। तर समयको चेतना नै त्यही थियो, राजाबिना राज्य चल्दैन भन्ने। त्यसैले तिनले कलिला डेढ वर्षे, तीन वर्षे मानिसलाई राजा थापेर देश थामे। त्यसरी जसले देश थामेर तिनलाई हुर्काए, बढाए; आफू तन्नेरी भएपछि तिनैलाई गिँडे।
रणबहादुरलाई काखमा राखेर गद्दी जोगाइदिने र देशको भूगोल बढाउन नेतृत्व गर्ने बहादुर शाहलाई रणबहादुरले त्यसरी नै हत्या गरे। गिर्वाणयुद्धलाई काखमा राखेर हुर्काउने र श्रीपेच र देश थेग्न जनताको नेतृत्व गर्ने दामोदर पाँडेहरू त्यसरी नै गिँडिए। राजेन्द्रविक्रमलाई काखमा राखेर हुर्काउँदै राजा थापेर देशको नेतृत्व गर्ने भीमसेन थापा राजेन्द्रद्वारा त्यसैगरी मराइए। यस्ता अन्त्यहीन श्रृंखलाहरूको विवरणले भरिएको छ, नेपाल देशको आधुनिककाल भनिएको समयको इतिहास।
यो श्रृंखलामा राजाहरूको बलिदानी कहीँ पनि देश निर्माणमा भएको छैन। देश निर्माणमा जीवन लगाएका र देश थामेका भारदारहरूको षड्यन्त्रपूर्वक हत्या, घात–प्रतिघात, दमन, षड्यन्त्र र मारकाटले भरिएको छ।
अब भनौं – देश बनाएको कसले हो? देश बनाउन जीवन लगाएका भारदारहरूको हत्या गरेको कसले हो?
धेरै पुरानो कुरा पनि छाडौं। भर्खरै राणाशाही ढलेर प्रजातन्त्र आएको थियो। देश अस्थिर थियो। तर त्यसको बेवास्ता गर्दै आफ्नो स्वार्थसिद्ध गर्न आपसी मारामार गर्ने सिलसिला महेन्द्रले पनि त्यागेको देखिँदैन। पिता त्रिभुवनले आफूले भनेकै महिलासँग (साली रत्नसँग) विवाह गर्न सहमति नदिएको भनेर महेन्द्रले युवराज पदबाटै राजीनामा दिएका थिए। बिपीले मध्यस्थ भएर बाबुछोराको उक्त विवाद मत्थर गराउनुपरेको थियो र राजीनामा फिर्ता गराउनुपरेको थियो। त्रिभुवनले त तेरो राजीनामा पास गरेर तेरो भाइलाई राजा बनाउँछु भनेर धम्क्याएकै थिए।
महिलाकै विषयलाई लिएर सिँगो राजपरिवार नै कत्लेआम गरी हाम्रै समयकालमा नारायणहिटीमा हत्याकाण्ड भएको थियो। हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्रले गठन गराएर सार्वजनिक गराएको प्रतिवेदनअनुसार दिपेन्द्रलाई रोजेकी महिलासँग विवाह गर्न राजारानीले रोकेकाले दिपेन्द्रले उक्त हत्याकाण्ड मच्चाएका थिए। देश आन्तरिक द्वन्द्वको अत्यासलाग्दो रहमा डुबेर निसास्सिएको थियो। तर राजपरिवार कुन महिला ठिक र कुन बेठिक भनेर आपसमा मारामार गरेर त्यति वीभत्स र भयानक हत्याकाण्ड मच्चाइरहेको थियो। हामीसँग औपचारिक रूपमा 'ज्ञानेन्द्रका मानिसहरूको' उक्त प्रतिवेदन विश्वास गर्नुको विकल्प छैन।
आजको दिनमा छानबिन गर्न कुनै अवशेषहरू बाँकी छैन। वीरेन्द्रको वंशनाश भएको त्रिभुवन सदनको हल उनै ज्ञानेन्द्रले भत्काउन लगाइसकेका छन्। प्रमाणहरू नष्ट भइसकेको छ। कतिसम्म भने हत्याकाण्डमा मारिएका राजपरिवारका सदस्यहरूले प्रयोग गरेको कपडासमेत राजपरिवारको सदगत गरिएको केहीपछि ज्ञानेन्द्रले जलाउन लगाएका थिए। हत्याकाण्डको ६ वर्षसम्म नारायणहिटी र देशै मुठ्ठीमा राखेका ज्ञानेन्द्रले हत्यास्थलै त भत्काए भने अरू के नै बाँकी राखेका होलान् र छानबिन गर्ने?
यो देश बनाउने र जोगाउने काम शाह राजाले गरेका हुन् भनिए पनि देशको तमाम संगीन घडीमा शाह राजाहरू आपसी काटमार, रामरमिता र विद्रूप चरित्र प्रदर्शनमा व्यस्त थिए। देशलाई तिनै हर्कतमार्फत् कमजोर बनाउन उद्यत थिए। यसलाई थप बुझ्न राणाकालीन आखिरी घडीहरूमा समयलाई अड्याऔं।
स्वाधिनताको लिलामी
अ) राणाशाहीको दमनले नागरिकहरू शिर उठाएर ठाडो हेर्न पनि नसक्ने अवस्थामा थिए। तर राणाशाहीलाई हाँक दिँदै मस्तिष्कमा उज्यालो चेतना बालिसकेका मानिसहरू खुलेआम राणा शासकलाई हाँक दिएर बलिवेदीमा चढिरहेका थिए। कलिला गंगालालहरू तिमीहरूले दिएको जीवनको भिख स्वीकार्य छैन, बरू बलिदान प्यारो छ, सक्छस् भने छातीमा गोली ठोक् भनेर हाँक दिइरहेका थिए। दशरथहरू माफी मागेर बाँच्ने कुरालाई कलंक भन्दै मृत्युलाई हाँक दिँदै राणाशाहीको मुटुमा ढ्यांग्रो बजाइरहेका थिए। तर राजा त्रिभुवन ज्यान जोगाउन देशै छाडेर सन्तानसहित भारत भागे।
त्यही दिन थियो र त्यही घटना थियो, जसबाट नेपालको हात सधैंका लागि तल पर्यो र भारतको हात माथि। बिपीहरू त्रिभुवनलाई नारायणहिटीबाट भगाएर नवलपरासी हुँदै पाल्पा लैजान चाहन्थे। तर राजाहरू देशको दीर्घकालीन स्वार्थको कुनै मतलब नगरी भारतलाई नेपाली राजनीतिको खेलाडी बनाउन कायरतापूर्वक भारत भागे। बिपीले भनेकै छन् – त्यसपछि नेपालको हात तल पर्यो र भारतको माथि।
आ) राणाकालमा १९९७ सालका सहिदहरूसहित प्रजा परिषदका सदस्यलाई सजाय दिनेबारे इजलास बसिरहेको थियो। त्रिभुवनलाई पनि प्रजा परिषदमा सामेल भएको भन्दै कायल गराउन उनलाई राखेर अरूको बयान लिइराखेको थियो। राणाहरूलाई महेन्द्रले रक्तपात मण्डली र प्रजा परिषदको योजनामा बुबा त्रिभुवन संलग्न रहेको भन्दै चुक्ली लगाएका थिए। पछि चार जना सहिदलाई फाँसी दिने फैसलामा त्रिभुवनले पञ्जापत्र दिएर फैसला कार्यान्वयनको लागि पठाएका थिए।
जनताका छोरा हाँसी हाँसी राणातन्त्र फाल्न फाँसीको फैसलालाई हाँक दिँदै छाती तन्काएर अदम्य साहससहित उभिएका थिए। प्रजावत्सल, जनप्रेमी राजतन्त्रका प्रजानायक, राष्ट्रपिता त्रिभुवनले राणाको हप्की सामना गर्ने साहससमेत नगरी मृत्युदण्डको फैसलामा पञ्जापत्र दिएका थिए।
यही हो मानक – नेपाली समाजलाई अघि बढाउने सन्दर्भमा शासक खलक र जनताको योगदानको भिन्नता। नेपाल राष्ट्र र नेपाली समाजलाई तैबिसेक बनाउन कसले कस्तो भूमिका निर्वाह गर्यो भन्ने इतिहासको आँखीझ्यालमा चिहाएर हेर्दा देखिने दृश्य। शासकहरूको अँध्यारो, कुरूप, भद्धा र विद्रूप। जनताको बलिदान र संघर्षले पोतिएको उज्यालो।
तिनै त्रिभुवन भागेर भारत गएपछि भारतको प्रत्यक्ष संलग्नतामा नेपालबाट राणाशाही हट्यो। त्यसपछि बनेको मन्त्रिपरिषद बैठकमै भारतीय प्रतिनिधि सामेल भए। प्रशासनदेखि न्यायालयसम्म भारतीय नीति र नागरिकहरू सामेल गरिए। नेपालका विभिन्न स्थान र नाकामा भारतीय सुरक्षा पोस्टहरू राखिए र नेपाललाई अघोषित भारतीय उपनिवेशका रूपमा उभ्याइयो।
यसविपरीत राणाशाहीको सारा हुकुमतलाई चुनौती दिँदै निडरताका साथ उभिएर त्रिभुवन र उनका छोरा–नातिले देशभित्रै राणाविरोधी संग्राम चलाएका भए भारतीय हस्तक्षेपको भुंग्रोमा नेपाल डामिने थिएन। न त त्यसको निरन्तरतामा आजको भारतमुखी राजनीतिको जग नै निर्माण हुने थियो।
नक्कली राष्ट्रवादको धुनी जगाएर देशलाई गम्भीर परनिर्भरतामा धकेल्ने र सत्तागमनका लागि भारतका प्रदेश प्रदेशका मुख्यमन्त्रीहरूको पाउ पखाल्दै हिँड्नेहरूका सन्तान, दरसन्तानले नेपाली नागरिकलाई न त राष्ट्रवादको कक्षा दिने ल्याकत राख्छन्। न तिनका पिता पुर्खाले यो राष्ट्र बनाएको पञ्चायती भाष्यले डाम्ने हैसियत नै।
***