केही दिन अगाडि एआईको दुनियाँमा एउटा भूकम्पजस्तै घटना भयो। तबसम्म गुमनामजस्तै एउटा चिनियाँ कम्पनीले एउटा पेपरमार्फत अग्रणी अमेरिकी एआई कम्पनीहरूका च्याटबटहरूलाई टक्कर दिने डिपसिक नामक नयाँ च्याटबट बनाएको दाबी गर्यो।
दाबी मात्रै भए एउटा कुरा तर सँगसँगै डिपसिकले विश्व बजारमा उक्त एआईको मोबाइल एप र वेब भर्सन उपलब्ध गरायो। रातारात उक्त एप अमेरिकाको उच्चतम डाउनलोड हुने सूचीमा पर्यो। मानिसहरूले यो वा ऊ कम्पनीले के भन्छ वा दाबी गर्छ भनेर पर्खिनै परेन, आफैले प्रयोग र तुलना गर्न पाए।
तुलनाको नतिजा हेरेर सबै जिल्ल परे। केही महत्त्वपूर्ण मानकहरूमा त डिपसिक च्याटजिपिटी सरह वा त्योभन्दा अगाडि समेत थियो।
अक्सर यस्ता घटनाहरूको पहिलो परिणाम सेयर बजारहरूमा देखिन थाल्छ। डिपसिकको समाचार सर्वत्र फैलिनासाथ ओपनएआई लगायत अमेरिकाका अग्रणी एआई कम्पनीहरूको सेयर धमाधम घट्न थाल्यो। सबैभन्दा बढी सेयर भने एआईका लागि आवश्यक चिप बनाउने कम्पनी एनभिडियाको घट्यो, रातारात सयौं अर्ब डलरले। समग्रमा हजार अर्ब अर्थात् १० खर्ब डलरसम्मको मूल्य गिरावट आयो अमेरिकाको सेयर बजारमा।
यही माहोलमा अमेरिकी टेलिभिजन च्यानल एमएसएनबिसीले एउटा अमेरिकी एआई कम्पनी पर्प्लेक्सिटीका प्रमुख अरविन्द श्रीनिवाससित आधा घण्टा लामो अन्तर्वार्ता गरेको थियो।
गम्भीर मुद्रामा देखिएका उनले त्यसमा बारम्बार भन्छन् — आवश्यकता आविष्कारको जननी हो।
भएको के थियो भने, च्याटजिपिटी जस्तो जेनेरेटिभ एआईको क्षेत्रमा आफ्नो देशको अग्रता कायम राख्नगि भनेर अमेरिकामा जो बाइडेनको सरकारले चीनमा एआईका लागि आवश्यक अत्याधुनिक चिप र तिनलाई बनाउने उपकरण निर्यातमा बन्देज लगाएको थियो। त्यसैले यो क्षेत्रमा चीन अमेरिकाभन्दा कम्तीमा केही वर्षले पछाडि रहेको र आउँदो समयमा पनि रहिरहने धेरैको आकलन थियो।
तर बदलामा चीनका कम्पनीहरूले धमाधम आफ्ना लागि उपलब्ध कम शक्तिशाली चिपहरू प्रयोग गरेर एलएलएम (लार्ज ल्यांग्वेज मोडल) लगायतका जेनेरेटिभ एआईको सिर्जना गर्न थाले।
परिणाम — अमेरिकी कम्पनीहरूले जहाँ दसौं करोड डलर खर्चमा एलएलएमलाई डाटा तालिम दिन्थे, त्यहीँ डिपसिकले अहिले ५५ लाख डलरमा उही काम गरेर च्याटजिपिटी हाराहारीको च्याटबट बनाएको दाबी गरिरहेको छ। विज्ञहरूले त्यस्तो खर्च अलि बढी हुन सक्ने आशंका गर्छन्। तर त्यसो भए पनि एलएलएम बनाउनु र तिनलाई डाटा तालिम दिन लाग्ने खर्च चिनियाँ कम्पनीहरूले पचासौं गुणाले घटाएको निश्चित छ।
त्यसको सिधा अर्थ — एनभिडिया जस्ता अमेरिकी चिप कम्पनीहरूमा परेको ठूलो लगानीले अपेक्षित प्रतिफल नदिने सम्भावना उच्च छ। इकोनोमिक टाइम्सका अनुसार यो प्रकरणमा एनभिडियाको बजार मूल्यमा आएको ५८९ अर्ब डलरको ह्रास इतिहासकै ठूलो हो।
अहिले जुनसुकै अन्तर्राष्ट्रिय मिडियामा हेरे पनि यो विषयका समाचारहरू आइरहेका छन्। तर तत्कालको उथलपुथललाई बिर्सिने हो भने पनि एआई संसारमा डिपसिकले ल्याएको क्रान्तिले दीर्घकालमा कस्तो असर पार्ला त? आउनोस् अब त्यसको चर्चा गरौं।
१. एलएलएम सिर्जनाको मूल्य घट्नु, विकेन्द्रीकरण हुनु र व्यापक प्रयोग हुनु
दुई साता अगाडिसम्म जेनेरेटिभ एआईमा माइक्रोसफ्ट, गुगल र मेटाजस्ता कम्पनीहरूको दबदबा आउँदो लामो समयसम्म सुनिश्चित रहेको मानिन्थ्यो। कारण — त्यस्ता मोडल सिर्जना गर्नु र तिनलाई डाटा तालिम दिनु अचाक्ली महँगो काम थियो।
मेटाको लामा ३.१ जस्ता केही मोडलहरू ओपन सोर्स (जसको कोड र आन्तरिक संरचना सार्वजनिक हुन्छ, जसलाई जो कसैले आफ्नो आवश्यकता अनुसार 'कस्टमाइज' गर्न सक्छ) भए पनि च्याटजिपिटी लगायत यो क्षेत्रका अग्रणी मोडलहरू बन्द प्रकृतिका थिए। त्यसैले जेनेरेटिभ एआई निर्माणको क्षेत्रमा प्रवेश गर्न र अग्रणी मोडलहरूलाई टक्कर दिन निकै कठिन मानिन्थ्यो। यस अगाडि जति अग्रणी जेनेरेटिभ एआई कम्पनी बनेका छन्, तीमध्ये धेरै ओपनएआई जस्ता कम्पनी छाडेर जाने व्यक्तिहरूले ठूला लगानीकर्ताहरूलाई समातेर निर्माण गरेका छन्।
तर डिपसिकले देखाइदिएको छ — अब सही शिल्प हुने हो भने अर्बपतिहरू मात्रै होइन, करोडपतिहरूले पनि छोटै समयमा यो क्षेत्रमा प्रवेश गर्न सक्नेछन्। खास गरी चीनमा अब त्यस्ता कम्पनीहरूको विस्फोट हुने निश्चित जस्तै छ।
मैले यो लेख लेखिरहँदा भीमकाय चिनियाँ इकमर्स कम्पनी अलिबाबाले डिपसिकलाई उछिन्ने त्यस्तै एलएलएम बनाएको घोषणा गरेको छ। क्वेन २.५ नामक उक्त च्याटबटले आम रूपमा सोधिने प्रश्नहरूको च्याटजिपिटी र डिपसिककै हाराहारीमा जबाफ दिने गरेको मेरो अनुभव छ। जस्तो कि, च्याटजिपिटी, डिपसिक र क्वेन तीनै बटहरूलाई मैले 'अवैध रूपमा विदेश जाँदा आउने खतराहरू' शीर्षकमा नेपाली भाषामा नाटक लेख्न लगाएको थिएँ। मेरो प्रश्न चाहिँ अंग्रेजीमै थियो। तीनैले साधारण स्कुले विद्यार्थीको जस्तो नाटक सरर लेखे। तीमध्ये क्वेनले सिंगो नाटक नेपालीमा लेख्यो भने च्याटजिपिटी र डिपसिकले संवाद नेपालीमा र बाँकी कुरा अंग्रेजीमै लेखे।
यस्तो होडले अबका दिनहरूमा स्वभावतः संसारभर यो प्रविधिको मूल्य घट्ने र प्रयोग व्यापक हुने निश्चित छ।
२. एआई कम्पनीहरूको आर्थिक मोडल धरमर हुनु
अमेरिकामा पछिल्ला वर्षहरूमा तीव्र गतिमा वृद्धि हुने प्रविधि कम्पनीहरू मूलतः एआईसँग सम्बन्धित थिए। ती अझै पनि डाटा सेन्टर लगायतका पूर्वाधारमा ठूलो लगानी गर्ने तर च्याटबट र अरू खाले जेनेरेटिभ एआई प्लेटफर्महरूबाट यथेष्ट पैसा कमाउन नसक्ने अवस्थामा छन्। तिनले अन्ततः मानिसलाई कुन कुन कामबाट विस्थापित गर्छन् र तिनको दिगो आर्थिक मोडल के हुन्छ भन्ने अझै अनिश्चित छ।
केही आलोचकहरूले त सुरूदेखि नै यो एउटा हौवामा टिकेको र दिगो हुन नसक्ने 'बबल' हो भनेर भन्दै आएका थिए। गेरी मार्कस लगायतका वैज्ञानिकहरूले त अहिलेको जस्तो एआई विकासले वास्तविक संसारका मुख्य समस्याहरू हल गर्न नसक्ने बरू उल्टै ठूलो विनाशको जोखिम मात्र बढाएको भनेर आलोचना गर्दै आएका छन्।
डिपसिकको बिस्फोटसँगै एआईमा मात्रै केन्द्रित ओपनएआई र एआईका लागि चिप बनाउने एनभिडियाजस्ता कम्पनीहरूको बिजनेस मोडलमा सबभन्दा गम्भीर प्रश्नहरू उठिरहेका छन्। तर गुगल, मेटा र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले एआईका लागि गरिरहेको र गर्ने योजनामा रहेको ठूलो लगानीको भविष्यमाथि अहिले प्रश्न उठिरहेको छ।
३. एआईका जोखिमहरू अकासिनु
च्याटजिपिटी लगायतका च्याटबट लगायत कृत्रिम फोटो र भिडिओ सिर्जना गर्ने अरू अनेक जेनेरेटिभ एआई प्लेटफर्महरूको विस्तारसँगै धेरै मानिसहरूले एआईका जोखिमहरूबारे चिन्ता जनाउँदै र चेतावनी दिँदै आएका छन्।
त्यस्ता मानिसहरूको सूचीमा 'गडफादर अफ एआई' भनिने नोबेल पुरस्कार विजेता एआई वैज्ञानिक ज्योफ्री हिन्टनसमेत पर्छन्। उनले २०२३ नोभेम्बरमा भनेका थिए — आउँदो तीन दशकभित्र मानव जातिलाई नै निर्मूल पार्ने एआई विकास हुने सम्भावना १० प्रतिशत छ। तर सन् २०२४ डिसेम्बरमा भने उनले बिबिसीसित कुरा गर्दै त्यो जोखिमको प्रक्षेपणलाई बढाएर १० देखि २० प्रतिशत पुर्याएका छन्।
अरू विश्लेषकहरू भन्छन् — मानिसलाई निर्मूलै नपारिहाले पनि एआईले अहिले नै मानव समाजलाई अभूतपूर्व क्षति पुर्याउन थालिसकेको छ। झुट्टा समाचार र दुष्प्रचारहरूले देशहरूकै चुनावको नतिजामा फेरबदल ल्याएर लोकतन्त्रलाई जोखिममा पारिसकेका छन्।
अर्बौं मानिसहरूलाई के सत्य र के मिथ्या भनेर छुट्ट्याउनै नसक्ने भुलभुलैयामा पार्न सामाजिक सञ्जालका अति साधारण र प्रारम्भिक एआई अलगोरिदमहरू नै काफी थिए। यो अवस्थामा जेनेरेटिभ एआईले बनाउने सिन्थेटिक र डिपफेक सामग्रीहरूले अब साँचो र झुटोको बीचको रेखालाई झनै धमिलो बनाउने र त्यसले मानव समाजको जगलाई नै खल्बल्याउने अनि झनै बढी ध्रुवीकरण, विग्रह र द्वन्द्वमा लैजाने जोखिम उच्च छ भनेर विख्यात इतिहासकार युवल नोआ हरारी लगायत विज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन्।
एआईको यो समस्या डिपसिक वा क्वेनसित सुरू भएको पक्कै होइन, तर यीजस्तै अरू सस्ता र विकेन्द्रित जेनेरेटिभ एआई प्लेटफर्महरू बन्दै जाने हो भने यो समस्याको स्केल अकासिएर जाने निश्चित छ।
४. वातावरणीय विनाश
हालै फर्च्युन पत्रिकाले लेखेको छ — दसमा एक अमेरिकीले च्याटजिपिटीलाई हप्तामा एउटा इमेल लेख्न मात्रै लगाउने हो भने त्यसले ४३.५ करोड लिटर पानी खपत गर्नेछ।
वाशिङटन पोस्टमा एउटा समाचारको शीर्षक छ — एक बोतल पानी प्रति इमेलः एआई च्याटबट प्रयोगको गुप्त वातावरणीय विनाश।
हालै अमेरिकाको लस एन्जेल्स वरिपरिका जंगल र बस्तीहरूमा भीषण आगलागी भएपछि धेरैले सामाजिक सञ्जालमा सोधेका थिए — च्याटजिपिटी जस्ता कम्पनी त यसका लागि जिम्मेवार छैनन्?
च्याटबटको प्रयोग र आगलागीको प्रत्यक्ष सम्बन्ध छैन। तर च्याटबटका डाटा सेन्टरमा निस्कने उच्च ताप खपत गर्न पानीको ठूलो मात्रा खर्च हुन्छ। त्यही पानी आगो निभाउन पनि प्रयोग हुन्छ। डाटा सेन्टरका लागि नदी र भूमिगत जलाधारको पानी खपत हुँदै जाँदा त्यसले जमिनको मरूभूमिकरण गर्छ र आगलागी भएपछि त्यसलाई निभाउने पानीको अभाव सिर्जना गर्छ।
यति हुँदाहुँदै पनि एआईको सबैभन्दा ठूलो र विनाशकारी वातावरणीय प्रभाव भने अझ अर्कै छ — ऊर्जाको खपत। गोल्डम्यान स्याक्सका अनुसार एउटा गुगल सर्चको भन्दा एउटा च्याटबटको सवाल जबाफको ऊर्जा खपत १० गुणा बढी हुन्छ।
परिणाम — सन् २०३० सम्म डाटा सेन्टरहरूको ऊर्जा खपत १६० प्रतिशतले बढेर जानेछ। विश्वव्यापी रूपमा हाल डाटा सेन्टरहरूले १-२ प्रतिशत ऊर्जा खपत गर्ने गरेकोमा त्यो बढेर ३-४ प्रतिशत पुग्नेछ।
ऊर्जाको यस्तो भोक मेट्न ठूला माइक्रोसफ्ट र अमेजनजस्ता ठूला कम्पनीहरू परमाणु ऊर्जा प्रयोग गर्नुपर्ने अवस्थामा पुगिसकेका छन्। पछिल्ला वर्षहरूमा ग्यासजस्ता कार्बन उत्सर्जन गर्ने इन्धनको बजार बढ्नुमा एआई विस्तारको ठूलो भूमिका छ।
भलै चिनियाँ कम्पनीहरूले कम चिप, कम कम्प्युटिङ पावर र कम ऊर्जामा चल्ने गरी जेनेरेटिभ एआई विकास गरे भने त्यसले यो क्षेत्रमा केही राहत दिन सक्नेछ। तर पनि च्याटबटहरूको प्रयोग बढ्दै गएर अहिलेको गुगल सर्चको हाराहारीमा पुग्ने हो भने त्यसका कारण ऊर्जाको खपत, खनिज ऊर्जाको उत्खनन, कार्बन उत्सर्जन र वातावरणीय विनाश अकासिएर जाने निश्चित छ।
५. भूराजनीति र नरम शक्तिमा चीनको बाजी
चीनबाट निस्कने बाँकी सबै उत्पादन झैं डिपसेक र क्वेनजस्ता जेनेरेटिभ एआईको 'डिएनए' मा पनि चिनियाँ राज्यको सेन्सरसिप संलग्न छ। त्यसैले विश्वमा जहाँ जहाँ यिनको प्रयोग हुन्छ, त्यहाँ त्यहाँ चिनियाँ सेन्सरसिप पुग्छ र सामान्य बन्न थाल्छ।
त्यसबाहेक संसारका जुन जुन देशहरूले डिपसिकमा आफ्ना सूचनाहरू हाल्छन्, ती सबै अब चिनियाँ कम्युनिस्ट पार्टीसम्म पुग्नेछन्। तिनमा व्यक्ति र संस्थाहरूका संवेदनशील सूचना समेत पर्नेछन्। अहिलेसम्म टिकटक जस्ता सञ्जालमा अपलोड हुने भिडिओ सामग्रीहरू त पश्चिमा देशका लागि टाउको दुखाइका विषय बनेका थिए भने अब मानिसले अर्को व्यक्तिलाई भन्न नसक्ने तर च्याटबटसित सेयर गर्ने सबै सूचनाहरूमा चिनियाँ सरकारको सहज पहुँच हुनेछ।
अर्कोतिर, अहिलेसम्म चीनले जुन कुरा सिन्ह्वा वा ग्लोबल टाइम्सजस्ता अंग्रेजीभाषी मिडिया पोर्टलबाट गैर-चिनियाँहरूसम्म पुर्याउन कोशिस गर्थ्यो, ती सबै कुराहरू अब डिपसिक लगायत चिनियाँ जेनेरेटिभ एआई प्रयोग गर्ने संसारभरिका मानिसहरूका हात हातमा पुग्न सक्नेछन्। आजसम्म गुगलले चीनसम्बन्धी कुनै सर्च वा जिज्ञासामा पश्चिमा सञ्चार माध्यमका समाचारलाई सिरानमा राखिदिन्थ्यो भने डिपसिक र क्वेनजस्ता च्याटबटले अब ती सर्चमा चिनियाँ सरकारको भर्सन जस्ताको तस्तै मानिसहरूसम्म पुर्याउन सक्नेछन्।
नागरिकहरूको निगरानीका लागि उपयोग हुने एआईको विकासमा चीन यसै पनि विश्वभर शीर्षस्थानमा थियो। ती प्रविधिहरू खास गरी तेस्रो विश्वका अधिनायकवादी शासकहरूका लागि अति उपयोगी हुने र चीनबाट अन्यत्र तिनको विस्तार हुने क्रम जारी नै थियो, छ। अब सिकाइ, अनुसन्धान र दैनन्दिनका अरू विभिन्न काममा प्रयोग हुने च्याटबट र अरू किसिमका एआईहरूमा सस्तो मूल्यकै कारण पनि चिनियाँ आधिपत्य कायम हुने निश्चित जस्तै देखिन्छ।
त्यसले कम्तीमा पनि उत्तर अमेरिका र पश्चिम युरोपबाहेकको विश्व बजारमा चिनियाँ एआईको दबदबा हुने निश्चित छ भन्ने मलाई लाग्छ।
त्यसैले डिपसिकले उघारेको ढोका सीमित अमेरिकी कम्पनीहरूले शेयर बजारमा कति गुमाए भन्नेभन्दा धेरै व्यापक छ। अझै बृहत स्केलमा हेर्ने हो भने, डिपसिकजस्ता माध्यमले आज सूचनाको विश्व बजारमा कसका कुरा बिक्ने र यथार्थबारे कसको भर्सन स्थापित हुने भन्ने तानातानीमा चीनको हात माथि पार्ने निश्चित जस्तै छ।
डिपसिक प्रयोगको पहिलो चरणमा मैले चिनियाँ नीति अनुकूलका संकथन निर्माणमा यो प्लेटफर्म कति चुस्त छ र चिनियाँ कम्युनिस्ट पार्टीको संकथनलाई भरथेग गर्न कुन हदसम्म जान सक्छ भनेर जान्ने कोसिस गरेको थिएँ।
प्रस्तुत छ सुरूमा केही पृष्ठभूमि रहेको तर मूलतः त्यही संवाद समेटिएको यो भिडिओः
एक्स (ट्विटर) @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)