बुधबार मेरो नेतृत्वमा हाम्रो स्वतन्त्र एक्टिभिस्ट संगठन 'कास्ट वाच नेटवर्क' को प्रतिनिधि मण्डलले पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई उनकै निवासमा भेटी एउटा ज्ञापन पत्र बुझायो।
ज्ञापन पत्रको मुख्य माग यस प्रकार थियो — छुट्टै प्रेस वक्तव्य वा कुनै सार्वजानिक प्लेटफर्मबाट आफ्नो गलत शब्दावली प्रयोगका कारण पीडितजनमा पर्न गएको मानसिक पीडाप्रति खेद वा आत्मालोचना व्यक्त गर्नुहोस्।
गत कात्तिक २८ गते एक सार्वजनिक भेलामा प्रचण्डले विपक्षी दलहरूलाई 'कुजात', 'संगत गर्नै नहुने जात' भन्दै तिनको संसर्गले आफू पनि धेरथोर 'मैलाधैला' भएको विचार प्रकट गरेका थिए।
प्रत्यक्ष रूपमा दलितलाई नभनिए पनि त्यो स्तरका नेताको त्यति जातिवादी बोलीले दलित समुदायको घोर अपमान भयो भन्दै हामीले सामाजिक सञ्जालमा आवाज उठाउँदै आएका छौं।
कात्तिक ३० गते सेतोपाटीमा 'प्रचण्डले दलितसामु माफी माग्नुपर्छ' शीर्षकमा मेरो विचार प्रकाशन भयो।
आज बुधबार प्रचण्ड उनीसँगको भेटमा थाहा भयो, सो लेख उनले पनि पढेका रहेछन्। र, हाम्रोबारे जिज्ञासु भएछन्।
भेटमा प्रचण्डले कुनै हिसाबले पनि दलितको अपमान गर्ने मनसाय नराखेको बताए। तैपनि भुलबस गलत शब्द र वाक्यहरूको प्रयोगबाट दलितहरूको आत्मसम्मानमा चोट परेको भए 'सरी' भन्ने योजना बनाएको जानकारी दिए।
हामीसँग प्रत्यक्ष भेटेर छलफल गर्नु र 'कुजात' शब्दको अर्थबारे विवाद गर्नुको साटो आत्मालोचित हुनु प्रचण्डको महानता हो। हामीले यसलाई फलेको हाँगो झुक्छ भन्ने रूपमा लियौं।
त्यस्तै प्रचण्डमा दलित मुक्तिप्रति चासो र चिन्ता अझै बाँकी रहेछ भन्ने संकेतका रूपमा पनि हामीले बुझेका छौं।
सबै दल वा पक्षका नेतृत्वले, नेता, अगुवाहरूले यसबाट विशेष शिक्षा लिनुपर्छ। आफ्नो व्यवहार र बोली सुधार्नुपर्छ।
भेटमा प्रचण्डले यो पनि स्वीकार गरे — माओवादीले युद्धताका जातीय समानताका खातिर धेरै संघर्ष गरे पनि संसदीय खेलमा प्रवेश गरी आफै शासक बनिसकेपछि दलितको मुद्दालाई त्यति सशक्त रूपमा उठाउन सकेको छैन।
जातीय मुक्तिका लागि पूर्ण प्रतिबद्ध हाम्रो अभियान कुनै दलमा आबद्ध छैन। तर हामी सबै परिवर्तनगामी व्यक्तित्वहरूसँग, शक्तिहरूसँग, दलहरूसँग सहकार्य गर्दै छुवाछुत रूपी सामाजिक/सांस्कृतिक रोग उपचार गरेर वास्तवमै समतामूलक र एकताबद्ध समाज निर्माण गर्न चाहन्छौं। व्यवहारमै छुवाछुतमुक्त राष्ट्र बनाउन चाहन्छौं।
प्रचण्डसँगको आजको भेटले हामीलाई थप उत्साहित बनाएको छ। प्रचण्ड र सम्बन्धित सबैप्रति हामी आभार व्यक्त गर्छौं, धन्यवाद ज्ञापन गर्छौं।
साथै, विशेषतः दलित अगुवा, नेता, अभियन्ता, बुद्धिजीवीहरूलाई आग्रह गर्छौं — हामी शासकका सामु नतमस्तक बन्नु हुँदैन। सधैं आश र त्रासमा बस्नेले जातीय घृणा, अपमान र हिंसा अन्त्य गर्न सक्दैन।
विभिन्न विचार, पार्टीमा आस्था राख्नु ठीक छ। आफ्नो दलको अनुशासनमा पनि बस्नुपर्छ। तर त्यसको मतलब नेतृत्वको सबै गलत हर्कतको प्रतिरक्षा गर्नु मूर्खता हुन्छ।
आजको लोकतान्त्रिक गणतन्त्रमा कोही पनि कानुनभन्दा माथि छैन। कोही कसैको रैती होइन — बनाउन खोजिए पनि रैती बन्नु हुँदैन।
आफ्नो हकअधिकार सुरक्षाका निम्ति हामी बोल्न डराउनु हुँदैन। चाहे त्यो पीडक शीर्ष नेता होस् या सामान्य कार्यकर्ता। हामीले निरन्तर सजग गरायौं र झक्झक्यायौं भने मात्रै शासकवर्गले पनि हाम्रो हितमा काम गर्नेछन्।


(लेखक डा. मित्र परियार समाजशास्त्री तथा दलित अभियन्ता हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटर- @MitraPariyar