स्वच्छ, आधुनिक, सस्तो र भरपर्दो ऊर्जा मानव जीवनको गुणस्तर मापनको एक महत्त्वपूर्ण सूचक हो। विश्वमा बढ्दो जनसंख्या, सहरीकरण, विश्वव्यापीकरण र औद्योगिकीकरणले प्रत्येक वर्ष ऊर्जाको माग बढ्दै गएको छ।
यो मागको अधिकांश हिस्सा मूलतः गैरनवीकरणीय स्रोत जीवाश्म इन्धनबाट प्राप्त हुन्छ।
सन् २०२२ को तथ्यांकअनुसार विश्वभर ऊर्जा मागको ३२ प्रतिशत खनिज तेल, २७ प्रतिशत कोइला र २४ प्रतिशत प्राकृतिक ग्यासबाट प्राप्त हुँदा १७ प्रतिशत ऊर्जा नवीकरणीय स्रोत (जलविद्युत, सौर्य, वायु, जैविक इन्धन, जियोथर्मल र आणविक) बाट प्राप्त भएको थियो।
विगत ६ दशकको प्रवृत्ति अध्ययन गर्दा विश्व ऊर्जा मिश्रणमा नवीकरणीय ऊर्जाको परिमाण बढ्दै गए पनि तुलनात्मक रूपमा गैरनवीकरणीय ऊर्जाको खपत ह्वात्तै बढेको देखिन्छ।
सन् १९६५ मा जीवाश्म इन्धनको खपत ४०,४३४ टेट्रावाट घन्टा रहेकामा १९९० मा दोब्बरभन्दा बढीले वृद्धि भई ८२,९९३ टेट्रावाट घन्टा पुगेको थियो।
यो क्रम बढ्दै जाँदा जीवाश्म ऊर्जाको खपत सन् २०१० मा एक लाख २१,४८० र सन् २०२२ मा एक लाख ३७,२७३ टेट्रावाट घन्टा पुगेको तथ्यांक छ।
जीवाश्म ऊर्जाको बढ्दो प्रयोगले कार्बन डाइअक्साइड लगायत अन्य हरित ग्यास उत्सर्जन बढ्दै जाँदा विश्व तापमान वृद्धि भएर वातावरणीय सन्तुलन बिग्रिँदै गएको छ। विश्वव्यापी रूपमा बढ्दै गएको कार्बन उत्सर्जन जलवायु परिवर्तनको मुख्य उत्प्रेरक हो।
समग्र हरित ग्यास उत्सर्जनमा कार्बन डाइअक्साइडको हिस्सा ७५ प्रतिशतभन्दा बढी छ।
विगत ६ दशकको तथ्यांक विश्लेषण गर्दा सन् १९६५ मा कार्बन उत्सर्जनको परिमाण ११.३२ बिलियन मेट्रिक टन रहेकोमा सन् १९९० मा दोब्बरले वृद्धि भई २२.७६ बिलियन मेट्रिक टन पुगेको देखिन्छ। यो परिमाण बढ्दै सन् २०१० मा ३३.३६ र सन् २०२२ मा ३७.४९ बिलियन मेट्रिक टन पुगेको तथ्यांक छ। यसमध्ये ठूलो अंशको कार्बन उत्सर्जन गैरनवीकरणीय ऊर्जा खपतबाट भएको देखिन्छ।
बढ्दो कार्बन डाइअक्साइड उत्सर्जनका कारण विश्वले तापक्रम वृद्धि, जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, अतिवृष्टि, अनावृष्टि आदि चुनौतीहरू सामना गर्नुपरेको छ।
एक अध्ययनअनुसार ऊर्जाका स्रोतमध्ये कोइलाबाट प्रतियुनिट बिजुली (किलोवाट घन्टा) ले ८२० ग्राम कार्बन डाइअक्साइड बराबर हरित ग्यास उत्सर्जन गर्छ। कोइलाबाट उत्पादित प्रतिटेट्रावाट घन्टा ऊर्जासँगै उत्सर्जन हुने कार्बनका कारण सरदर २५ जनाको मृत्यु हुने गरेको छ।
सोही अध्ययनअनुसार खनिज तेलबाट उत्पादित प्रतियुनिट बिजुलीले ७२० ग्राम कार्बन डाइअक्साइड बराबर हरित ग्यास उत्सर्जन गर्छ। यसबाट उत्पादित प्रतिटेट्रावाट घन्टा ऊर्जासँगै उत्सर्जन हुने कार्बनका कारण हुने मृत्यु दर १९ जना छ।
प्राकृतिक ग्यासबाट उत्पादित प्रतियुनिट बिजुलीले ७२० ग्राम कार्बन डाइअक्साइड बराबर हरित ग्यास उत्सर्जन गर्छ र प्रतिटेट्रावाट घन्टा ऊर्जासँगै उत्सर्जन हुने कार्बनका कारण हुने मृत्युदर ३ जना छ।
नवीकरणीय ऊर्जामा यो तथ्यांक न्यून छ।
जलविद्युतबाट उत्पादित प्रतियुनिट बिजुलीले २४ ग्राम कार्बन डाइअक्साइड बराबर हरित ग्यास उत्सर्जन गर्दा सौर्य ऊर्जाले ४८ ग्राम, वायु ऊर्जाले ११.२ ग्राम, आणविक ऊर्जाले १२ ग्राम, जियो थर्मलले ३८ ग्राम कार्बन डाईअक्साइड बराबर हरित ग्यास उत्सर्जन गर्छ।
यी नवीकरणीय स्रोतबाट उत्पादित प्रतिटेट्रावाट घन्टा ऊर्जासँगै उत्सर्जन हुने कार्बनका कारण हुने मृत्युदर १ जनाभन्दा कम रहेको अध्ययनको निष्कर्ष छ।
गैरनवीकरणीय ऊर्जाको बढ्दो प्रयोग, यसबाट हुँदै गरेको क्षति र प्रवृत्तिबाट पृथ्वी जोगाउन ठोस प्रयासहरू आवश्यक देखिन्छ। अबको प्रयत्न र मार्गचित्र कार्बन उत्सर्जन न्यूनीकरण गर्दै एउटा निश्चित समय सीमाभित्र कार्बन तटस्थता अर्थात् खुद शून्य कार्बनको अवस्थामा पुग्नुपर्ने चुनौती छ।
त्यो लक्ष्य प्राप्तिका लागि नवीकरणीय ऊर्जा एक मात्र भरपर्दो विकल्प हो।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०५० सम्ममा खुद शून्य कार्बन र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न सन् २०२१ सम्ममा खनिज तेल, कोइला र प्राकृतिक ग्यासको नयाँ खानी उत्खनन बन्द गरिसक्नुपर्ने थियो। यसो हुन सकेन।
अध्ययन अनुसार विश्वमा मागको ७५ प्रतिशत ऊर्जाको आपूर्ति नवीकरणीय स्रोतबाट गर्न सकिने देखिन्छ।
सन् १९६५ देखि प्राथमिक ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको हिस्सा बढ्दै गएको छ। सन् १९६५ मा प्राथमिक ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको हिस्सा ६.४५ प्रतिशत रहेकोमा सन् १९९० मा ७.१८, सन् २०१० मा ८.८१ र सन् २०२१ मा १३.४७ प्रतिशत पुगेको देखिन्छ।
यो वृद्धिको गतिमा सन् २०५० सम्ममा कार्बन तटस्थताको लक्ष्य प्राप्ति कठिन हुनेछ। लक्ष्यमा पुग्ने हो भने सरोकारवाला पक्षहरूको तदारूकता र सहयोग आवश्यक छ।
सन् २०१९ मा नवीकरणीय ऊर्जाको खपत ७४ एक्साजूल थियो। सन् २०५० सम्ममा कार्बन तटस्थताको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जाको खपत सन् २०३० मा ११६, सन् २०४० मा १८० र सन् २०५० मा २४७ एक्साजूल पुर्याउनुपर्ने देखिन्छ।
यो लक्ष्य हासिल गर्न अहिले न्यून क्षमतामा उत्पादन भइरहेको नवीकरणीय ऊर्जा स्रोतको पहिचान र अधिकतम उपयोग अत्यावश्यक देखिएको छ।
नवीकरणीय ऊर्जाको प्रमुख स्रोत जलविद्युत हो। विश्वको अनुमानित जलविद्युत क्षमता २५.४८ पेटावाट-घन्टा प्रतिवर्ष भए पनि ९५ प्रतिशत बहाबमा आधारित उत्पादन योग्य क्षमता ५.४२ पेटावाट-घन्टा प्रतिवर्ष मानिएको छ।
विद्युत प्रणालीमा जलविद्युतको हिस्सा घट्दै गएको छ। सन् १९८५ मा विश्व विद्युत प्रणालीमा जलविद्युतको हिस्सा २०.०३ प्रतिशत रहेकोमा सन् २००५ मा १५.७४ र सन् २०२१ मा १५.२२ प्रतिशत रह्यो। सन् १९८५ मा कुल जलविद्युत उत्पादन १९८० टेट्रावाट-घन्टा रहेकोमा सन् २००५ मा २८९५ र सन् २०२१ मा ४२३४ टेट्रावाट-घन्टा पुगेको देखिन्छ।
सन् २०२१ मा चीन, क्यानडा र ब्राजिल जलविद्युत उत्पादनमा अग्रणी स्थानमा थिए। अहिले पनि डेमोक्रेटिक रिपब्लिकन कंगो, कंगो, इथियोपिया, एंगोला, सुडान, मडागास्कर लगायत विश्वका कैंयौ मुलुकमा क्षमता अनुसार जलविद्युत उत्पादन भएको छैन। यी देशमा निकै ठूलो परिमाणमा उत्पादन हुने क्षमता छ।
नवीकरणीय ऊर्जाको अर्को महत्त्वपूर्ण स्रोत सौर्य ऊर्जा (सोलार पावर) हो। सन् २००५ सम्ममा ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको त्यति धेरै महत्त्व देखिँदैन। त्यस वर्ष विश्व ऊर्जा प्रणालीमा सौर्य ऊर्जाको जडित क्षमता केवल ५ गिगावाट र त्यसबाट उत्पादित इनर्जी ४ टेट्रावाट-घन्टा भन्दा कम थियो।
सन् २०१० पछि सौर्य ऊर्जा विकासमा उल्लेखनीय प्रगति भएको देखिन्छ। उक्त वर्ष सौर्य ऊर्जाको जडित क्षमता ४० गिगावाट हुँदा सन् २०१५ मा २२३ गिगावाट पुग्यो। यो क्षमता सन् २०२१ मा ८४३ गिगावाट पुगेको तथ्यांक छ। सन् २०१० मा सौर्य ऊर्जाबाट ३१ टेट्रावाट-घन्टा इनर्जी प्राप्त हुँदा सन् २०१५ मा ३५४ र सन् २०२१ मा १०४० टेट्रावाट-घन्टा इनर्जी उत्पादन भएको थियो।
सन् २०१० मा विश्व ऊर्जा प्रणालीमा सौर्य ऊर्जाको अंश ०.१५ प्रतिशत रहेकोमा २०२१ मा ३.७४ प्रतिशत पुग्यो।
अहिले पनि सौर्य स्रोतको प्रयोगबाट ठूलो परिमाणमा ऊर्जा उत्पादन गर्न सकिने सम्भावना छ तर समग्र ऊर्जा प्रणालीमा यसको हिस्सा ४ प्रतिशतभन्दा कम देखिन्छ।
नवीकरणीय ऊर्जाको अर्को महत्त्वपूर्ण स्रोत वायु हो।
प्रचुर सम्भावना र न्यून कार्बन उत्सर्जन गर्ने ऊर्जा स्रोत भए पनि सन् २००० मा प्राथमिक ऊर्जाका रूपमा वायु ऊर्जाको उत्पादन ०.१ प्रतिशतभन्दा कम थियो। सन् २०२१ मा विश्व ऊर्जा प्रणालीमा वायु ऊर्जाको हिस्सा २.९५ प्रतिशत पुयो।
सन् २००० मा वायु ऊर्जाको कुल उत्पादन १७ गिगावाट रहेकोमा सन् २०१५ मा ४१ र सन् २०२१ मा ८२४ गिगावाट पुगेको देखिन्छ।
सन् २००० मा वायु ऊर्जाबाट ३१ टेट्रावाट-घन्टा इनर्जी प्राप्त भएकोमा सन् २०१५ मा ८२८ र सन् २०२१ मा १८४८ टेट्रावाट-घन्टा पुगेको तथ्यांक छ।
विगत दुई दशकमा वायु ऊर्जाको लोकप्रियता बढेको देखिन्छ। यसो भए पनि विश्व ऊर्जा प्रणालीमा वायु ऊर्जाको हिस्सा ३ प्रतिशत भन्दा कम छ। निकै ठूलो प्राकृतिक स्रोतका बाबजुद न्यून परिमाणमा मात्रै वायु ऊर्जा उत्पादन भएको छ।
नवीकरणीय ऊर्जाको अर्को स्रोत जियोथर्मल हो। यो ऊर्जा पृथ्वीको सतहमुनिको तापबाट प्राप्त हुन्छ। हालैको दशकदेखि यो ऊर्जाप्रति रूचि बढ्दै गएको देखिन्छ।
सन् २००० मा जियोथर्मलको उत्पादन क्षमता ८ गिगावाट रहेकोमा सन् २०१५ मा १२ र सन् २०२२ मा १५ गिगावाट पुगेको तथ्यांक छ।
मूलतः आइसल्यान्ड, एल साल्भाडोर, न्युजिल्यान्ड, केन्या र फिलिपिन्सले आफ्नो आन्तरिक ऊर्जाको माग धान्न जियोथर्मल ऊर्जा प्रयोग गरेको देखिन्छ।
प्रचुर सम्भावनाका बाबजुद विश्व ऊर्जा प्रणालीको नवीकरणीय कुल ऊर्जामा जियोथर्मल ऊर्जाको हिस्सा ०.५ प्रतिशत भन्दा कम छ।
नवीकरणीय ऊर्जाको अर्को महत्त्वपूर्ण स्रोत आणविक ऊर्जा हो। यो न्यून कार्बन उत्सर्जन गर्ने एक पुरानो प्रविधि हो।
सन् १९६५ मा आणविक ऊर्जाको उत्पादन ३० टेट्रावाट-घन्टाभन्दा कम रहेकोमा सन् १९९० मा २००० टेट्रावाट-घन्टा पुग्यो। सन् २००५ मा २,६८६ र सन् २०२२ मा २,६१० टेट्रावाट-घन्टा आणविक ऊर्जा उत्पादन भएको तथ्यांक छ।
अहिलेको प्रवृत्तिअनुसार सन् २०३० सम्ममा ३,३५१ र सन् २०५० सम्ममा ४,२६० टेट्रावाट-घन्टा आणविक ऊर्जा उत्पादन हुने प्रक्षेपण छ। सन् १९६५ देखि सन् २०२२ सम्मको तथ्यांक विश्लेषण गर्दा आणविक ऊर्जा उत्पादन घटेको देखिन्छ।
सन् १९९० मा विश्व विद्युत प्रणालीमा आणविक ऊर्जाको हिस्सा १६.७२ प्रतिशत रहेकोमा सन् २००५ मा १५.१५ र सन् २०२० मा १०.०३ प्रतिशत रहेको तथ्यांक छ। फ्रान्स, स्लोभाकिया र युक्रेनमा विद्युत प्रणालीको ५० प्रतिशतभन्दा बढी हिस्सा आणविक ऊर्जाको छ।
बेल्जियम, स्लोभानिया र चेक रिपब्लिक देशहरूको विद्युत मागको ३३ प्रतिशतभन्दा बढी आपूर्ति आणविक ऊर्जाबाट हुने गरेको छ।
त्यसैले, कार्बन तटस्थताको लक्ष्य प्राप्तिका लागि जीवाश्म इन्धनको प्रयोग न्यूनीकरण गरी नवीकरणीय ऊर्जाको हिस्सा बढाउँदै लैजानुको विकल्प छैन।
ठूलो परिमाणमा उपलब्ध एवं भण्डारण रहेको नवीकरणीय ऊर्जाका स्रोतहरू जलविद्युत, सौर्य, वायु, जियोथर्मल न्यून क्षमतामा मात्र उत्पादन र उपयोग भएको छ। यी स्रोतहरू पूर्ण क्षमतामा प्रयोग गर्नेतर्फ सरोकारवाला सबैको ध्यान जान जरूरी छ।
यसका लागि समुचित लगानी, कानुन, नियमन तथा संस्थागत संरचना आवश्यक पर्छ। प्राविधिक विकास र पूर्वाधार तयारीका साथै जनचेतनामा पनि जोड दिन आवश्यक छ।
सन् २०५० सम्ममा कार्बन तटस्थताको लक्ष्य हासिल गर्न विश्व ऊर्जा प्रणालीको ७५ प्रतिशत हिस्सा नवीकरणीय ऊर्जामा आधारित बनाउने मार्गचित्र कार्यान्वयनका लागि सबै सचेत र संवेदनशील हुनुपर्ने भएको छ।
(डा. मुकेशराज काफ्लेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @MukeshKafle4