हालैको एक दिन बिहान हिँड्दै गर्दा ८ कक्षामा पढ्ने मेरा छोराले सोधे – बाबा, हामीले दसैं बिदाको गृहकार्य र परियोजनाकार्य कहिले पाउँछौं?
मैले प्रतिप्रश्न गरेँ – बिदा हुन धेरै दिन बाँकी छ, अहिले नै किन चाहियो?
उनले भने – त्यसै।
मैले जोडबल गरेपछि फेरि भने – आजभोलि पाएको भए चाडैं सकिन्थ्यो अनि दसैंभरि आनन्द हुन्थ्यो।
छोरासँगको कुराले मलाई आफू विद्यार्थी हुँदा पाएको दसैं बिदाको गृहकार्य र त्यसको साथमा घरको कामको सम्झना भयो।
२०५१ सालको कुरा म ८ कक्षामा पढ्थेँ। स्कुल छँदा दसैं बिदाको गृहकार्य भनेर किताबका अभ्यासहरू गर्न दिइएको हुन्थ्यो। हामी दसैं बिदा हुनुभन्दा एक साताअघि नै शिक्षकहरूलाई हैरान पार्थ्यौं र गृहकार्य चाँडै पाउँथ्यौं।
गृहकार्य गर्नुको मुख्य उद्देश्य शिक्षकहरूको गाली र सजायबाट बच्ने हुन्थ्यो। गृहकार्य नसकिँदासम्म साथीहरूबीच आपसमा कुरा हुन्थ्यो – तैंले कति भ्याइस्, मेरो त गणितको सिंगै बाँकी छ, ए! तैंले पनि विज्ञान छोएकै छैनस्, इत्यादि।
दसैंको बिदा हुँदासम्म वा बिदा भएको दुई-तीन दिनमा गृहकार्य सक्ने धुन हुन्थ्यो। त्यसो गरेपछि दसैंभरि ढुक्क हुन्थ्यो। गर्न नसके मनमा गृहकार्य गरेको छैन भन्ने तनाव र दबाब भइरहन्थ्यो।
दसैंको गृहकार्य बिदामा पनि निरन्तर सिकाइ गर्ने र सिकेको जति नबिर्सिने अभ्यास हो भन्ने लाग्दैनथ्यो, अनावश्यक भारी जस्तो लाग्थ्यो। भरियालाई आफ्नो भारी जति छिटो गन्तव्यमा पुर्यायो त्यति नै आनन्द भएजस्तै हुन्थ्यो हामीलाई पनि।
चाँडो गृहकार्य सकेर खेल्ने, घुम्ने र साथीहरूसँग रमाइलो गर्ने उद्देश्य हुन्थ्यो।
अहिले विचार गर्दा पढाइ-सिकाइ निरन्तरको काम हो, बिदाको समयमा पनि हरेक दिन थोरैथोरै भए पनि गरिरहनुपर्छ भनेर दसैंको लामो बिदामा गृहकार्य दिने गरिएको रहेछ।
बिदापछि गृहकार्य बुझाइन्थ्यो। शिक्षकहरूले कापीमा गृहकार्यमा ‘ठीक चिह्न’ लगाउनुहुन्थ्यो। उहाँहरू पनि गम्भीरतापूर्वक हेर्ने र विद्यार्थीलाई सुझाब दिने वा यस्तो गृहकार्यलाई नियमित मूल्यांकनमा सामेल गर्नु हुन्न थियो।
हामी विद्यार्थीको दसैं त गृहकार्य सकिएपछि मात्र सुरू हुन्थ्यो।
दसैंको समयमा रातो माटो र कमेरो (सेतो माटो) ल्याउने, घरको सफाइ गर्ने, पेटी र आँगन सफा गर्ने, खाल्डाखुल्डी पुर्ने जस्ता काम मुख्य हुन्थे।
कोठाचोटा मिलाउने र सफा गर्ने काम पनि दसैंमै हुन्थ्यो। ब्याट्री (रेडियो बजाउने र टर्च लाइट बाल्ने) को कालो बनाएर झ्यालढोका र बार्दलीमा पोत्नु हाम्रो अर्को ठूलो काम मानिन्थ्यो।
त्यही बेला बारीमा मकै, मास र भटमास थन्क्याउन ठिक्क हुन्थ्यो। बारी नसुक्दै आलु, काउली, बन्दा, खुर्सानी आदि लगाउने समय पनि त्यही हुन्थ्यो।
दसैंको टीकाअघि यी सबै काम सक्नुपर्थ्यो। दसैंभरिलाई चाहिने दाउरा, गाइवस्तुलाई घाँस वा परालको व्यवस्था पनि गर्नुपर्थ्यो।
पिङ बनाउन वनमा गएर बाबियो ल्याउने, पिङको लट्ठा बाट्ने, बाँस काटेर पिङको लिंगो गाड्ने र पिङ हाल्ने काममा पनि सहभागी हुनै पर्थ्यो। त्यही समय धान पाक्न सुरू हुन्थ्यो। नयाँ धानको न्वागी बनाउनु अर्को महत्त्वपूर्ण काम हुन्थ्यो।
नयाँ धानको चिउरा मिठो हुन्छ भन्ने मानिन्थ्यो र नयाँकै चिउरा बनाइन्थ्यो। धान कुटेर चामल बनाउने र तेल पेल्ने काम पनि हुन्थ्यो।
सेल रोटीको पिठो बनाउने, सिमलको बोक्रा कुटेर रोटीको दाउन बनाउने कामले भ्याइनभ्याइ हुन्थ्यो। फुर्सद निकालेर गुच्चा र डन्डीबियो खेल्नु त छँदै थियो।
घरको यति धेरै काम हाम्रो गृहकार्यमा गनिँदैन थियो। घरको यस्तो काममा पनि सिकाइ हुन्छ भन्ने मानिँदैन थियो होला। यस्तो काम शिक्षा र सिकाइसँग जोडिन्थ्यो कि जोडन्नथ्यो, थाहा भएन। स्कुलका विद्यार्थीहरू बिदा भएपछि खेलेर समय बिताउँछन्, यिनलाई धेरै गृहकार्य दिनुपर्छ भन्ने मानिन्थ्यो होला। दसैंको काम र रमाइलोका बीचमा पनि शिक्षकहरूले किताबबाट दिने गृहकार्य पूरा गर्नु अनिवार्य थियो।
आज आएर विचार गर्दा घरमा गरिने त्यस्ता गतिविधिबाट हाम्रो शारीरिक र मानसिक विकास भएको रहेछ भन्ने लाग्छ।
अहिले परिस्थिति बदलिएको छ। जनगणना, २०७८ को तथ्यांकअनुसार एक दम्पतीका बढीमा दुईजना नत्र एकजना मात्र सन्तान छन्। परिवारहरू टुक्रिँदै छन्। गाउँका धेरै परिवार छोराछोरी पढाउन सहरमा बस्ने गरेका छन्।
सकेसम्म आफ्ना छोराछोरीलाई संस्थागत (निजी) विद्यालयमा पढाउने प्रवृत्ति बढ्दो छ। स्मार्टफोन, ल्यापटप वा यस्तै प्रकृतिको साधन उनीहरूको खेल, मनोरञ्जन र खुसी माध्यम भएको छ। शारीरिक सक्रियता घट्दो छ।
तीस वर्षअघिको र आजको समयमा शिक्षकले दसैं बिदाको गृहकार्य दिने र त्यसको मूल्यांकन गर्ने तरिकामा पनि परिवर्तन आएको छ। विद्यार्थीको विचार भने तीस वर्षअघि ८ कक्षा पढ्दाको म र आज ८ कक्षामा पढ्ने मेरा छोराको उस्तै छ, गृहकार्यलाई नगरी नहुने अतिरिक्त बोझ।
दसैं बिदाको गृहकार्य के हो, कस्तो हुनुपर्छ, किन दिनुपर्छ, यसबाट के सिकाइ हुन्छ, अभिभावक कसरी सहयोगी बन्ने र यसलाई मूल्यांकनमा कसरी जोड्न सकिन्छ भन्ने बारेमा छलफल आवश्यक छ। यसमा शिक्षक, अभिभावक र विद्यार्थीको संलग्नता हुनुपर्छ। यहाँ यसबारे चर्चा गरिएको छ।
शिक्षकको भूमिका
१. लामो बिदामा गृहकार्य (परियोजनाकार्य समेत) दिने कि नदिने?
कतिपयले चाडपर्वको बिदामा गृहकार्य दिँदा उनीहरूको स्वतन्त्रता र मनोरञ्जनको अधिकार हुन्छ भन्ने तर्क गर्ने गरेका छन्। उनीहरूका विचारमा यस्तो बिदामा गृहकार्य दिनु उचित होइन।
मेरो विचार फरक छ, गृहकार्य दिनुपर्छ, दिनु आवश्यक छ भन्छु। गृहकार्यले विद्यार्थीको सिकाइमा पुनर्ताजगी गर्छ। आफ्नो मुख्य काम र उद्देश्यप्रति चनाखो, जागृत र मेहनती बनाउँछ। स्वाध्यायनका लागि प्रेरित गर्छ।
२. केकस्तो गृहकार्य–परियोजना दिने?
बोर्ड परीक्षा दिने कक्षा ८, १० र १२ का विद्यार्थीलाई परीक्षासम्बन्धी अभ्यासहरू दिनु उपयुक्त हुन्छ। शिक्षकले कक्षाकोठामा सिकाएको तर विद्यार्थीले बढी मेहनत गर्नुपर्ने खालका अभ्यास दिनु राम्रो हुन्छ।
आन्तरिक मूल्यांकनले तोकेका परियोजनाकार्य दिनु अझ बढी उपयोगी हुन्छ। परिवारका सबै उमेरका सदस्यसँग, साथीहरूसँग र समाजमा घुलमिल हुन सघाउ पुग्ने किसिमका परियोजना छनौट गर्नुपर्छ।
३. कति समय लाग्ने गृहकार्य दिने?
सकेसम्म विद्यार्थीको ज्ञान, सीप र क्षमताका आधारमा फरकफरक गृहकार्य दिनु उचित हुन्छ। दसैंको मुख्य आठ दिन र तिहारको मुख्य पाँच दिन छाडेर प्रत्येक दिन बढीमा तीन घण्टा काम गर्दा सकिने खालको गृहकार्य दिँदा धेरै दबाब पर्दैन।
गृहकार्य–परियोजनाकार्य दिँदा हरेक दिन कति काम गर्ने र कसरी सम्पन्न गर्ने भन्नेबारे प्रस्ट जानकारी पनि गराउनुपर्छ।
४. पाठ्यक्रमसँग कसरी जोड्ने?
आन्तरिक मूल्यांकन प्रणालीमा दिइएका परियोजनाकार्य वा प्रयोगात्मक कार्य दिँदा पाठ्यक्रमसँग जोडिन्छ।
सिर्जनशील शिक्षकले पाठ्यक्रमको कुनै उद्देश्य पूरा हुने गरी परियोजना दिन सक्छ। विभिन्न विषयसँग जोडेर एकीकृत परियोजना दिन सक्दा विद्यार्थीको सिप विकास र समाजिकीकरणमा मद्दत पुग्छ।
५. कसरी सान्दर्भिक, सिर्जनात्मक र सिकाइउन्मुख बनाउने?
विद्यार्थीहरूको उमेर, आवश्यकता, अभ्यस्त रहेको प्रविधि, अभिरूचि, तत्कालको सन्दर्भ र भावी सम्भावनासँग जोडेर काम दिन सक्दा उनीहरूको सिर्जनात्मक क्षमता विकास हुन्छ।
६. मूल्यांकन कसरी गर्ने?
विद्यार्थीले गरेको काम मूल्यांकनसँग जोड्न सकिन्छ। आन्तरिक मूल्यांकनमा जोडिने प्रक्रियाबारे राम्ररी बताइदिनुपर्छ। यसो गर्दा राम्रो गर्ने उत्साह हुन्छ, आपसमा प्रतिस्पर्धा पनि हुन्छ।
खालि रातो मसीले ‘ठीक’ दिनाले मूल्यांकन हुँदैन। यस्तोमा विद्यार्थीले गृहकार्यलाई उति महत्त्व पनि दिँदैन।
सही मूल्यांकन र पृष्ठपोषण हुन सकेन भने सिकाइ पनि कम हुन्छ। मूल्यांकनका प्रक्रिया र आधारहरू गृहकार्य दिँदा नै उपलब्ध गराउन सक्दा विद्यार्थीमा स्वमूल्यांकनको बानी पनि विकास हुन्छ।
विद्यार्थीलाई कतैबाट सरक्क सारेर आफ्नो गृहकार्य पूरा गरेको देखाउने काममा निरूत्साहित गर्ने उपायहरू पनि शिक्षकले खोज्नुपर्छ।
अभिभावकको भूमिका
अभिभावकहरू सबै एकै किसिमका हुँदैनन्। सबैको क्षमता एकै हुँदैन। कोही अभिभावक गृहकार्य थोरै हुँदा घरमा खेलेर, दिक्क बनाउँछन्, अलिक धेरै दिनू भन्छन्। कोही बालबालिका खेल्न, घुम्न, रमाउन पाउनुपर्छ, गृहकार्य धेरै दिएर हैरान पार्नु हुँदैन भन्छन्।
यी दुबै कुरा आआफ्ना ठाउँमा आफ्नै तरिका ठिक सुनिन्छन्। अधिकांश अभिभावकको धारणा लामो बिदामा केही न केही गृहकार्य त दिनैपर्छ भन्न नै हुन्छ।
चाडपर्वमा घरमा हुने काम र रमाइलोसँगै विद्यालयले दिएको गृहकार्य पूरा गराउन अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ। उनीहरूले प्रेरणा दिनुपर्छ। गृहकार्यका लागि खास समय छुट्ट्याइदिनुपर्छ र त्यसमा सजग गराउनुपर्छ।
अभिभावकले लामो बिदाको समयमा दैनिक कामको तालिका बनाउन र तालिकाअनुसार काम गर्न प्रेरित गर्नुपर्छ। रूचिका काम गर्न छुट पनि दिनुपर्छ।
यसो भयो भने बालबालिका र किशोरकिशोरी छोराछोरीले खुसीका साथ काम गर्ने वातावरण बन्छ।
किशोर उमेरका छोराछोरीहरू कहिलेकाहीँ विद्यालयको गृहकार्य गर्ने बहानामा अनुचित गतिविधिमा लाग्ने पनि हुन सक्छन्। घरमा काम सघाउन भ्याउदिनँ, गृहकार्य धेरै छ भन्ने तर अनुत्पादक वा अनुचित गतिविधिमा अल्झिने हुन सक्छ। यसमा अभिभावकको संयमित निगरानी आवश्यक पर्छ।
विद्यार्थीको भूमिका
सिकाइको औपचारिक सुरूआतकर्ता शिक्षक भए अभिभावक अनौपचारिक शिक्षक र सहयोगी हुन्। विद्यार्थीहरू सिकाइका केन्द्रबिन्दु हुन्।
विद्यार्थीको सिकाइ विद्यालयको पाठ्यपुस्तक र शिक्षकले दिने गृहकार्यमा मात्र हुने होइन, पाइलापाइलामा सिकाइ हुन्छ। घरपरिवारका साथ, आफन्तहरूका साथ, साथीहरूका साथ र समाजमा आआफ्नो तरिकको सिकाइ हुन्छ।
यस किसिमको सिकाइका लागि शिक्षक र अभिभावक दुबैले प्रेरित गर्नुपर्छ। यसनिमित्त विद्यार्थी अग्रसर रहनुपर्छ। बिदा हो भनेर धेरै दिन पढाइ-सिकाइबाट टाढा रहनु राम्रो हुँदैन।
विद्यार्थीले बिदाका समयको परिवर्तित तालिका बनाएर समय सदुपयोग गर्नुपर्छ।
निष्कर्ष
दसैंतिहारको लामो बिदा विद्यार्थीका लागि एउटा अवसर पनि हो। विद्यालयमा राम्ररी अभ्यास गर्न नपाएको पाठ वा समस्यामा अभ्यास गर्ने, छुटेको पाठ पूरा गर्ने, आफूले सिक्न नसकेको केही भए कसैको सहयोगले सिक्ने अवसर हो।
लामो बिदामा पाठ पुनरावृत्ति गर्ने, परीक्षामा सोधिने किसिमका प्रश्नहरूमा अभ्यास गर्ने, आउने परीक्षाको तयारी गर्ने, सिर्जनशील लेखन जस्ता काम गर्ने अवसर पनि प्राप्त हुन्छ।
अभिभावकले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ। विद्यार्थी र अभिभावक दुबैले गृहकार्य-परियोजना कार्यलाई पनि कक्षाकार्यको विस्तारित रूप हो भन्ने थाहा पाउनुपर्छ।
दसैंदेखि तिहार वा छठसम्मको लामो बिदा यस किसिमले सदुपयोग गर्न शिक्षक र अभिभावक दुवैले विद्यार्थीहरूलाई प्रेरित गर्नुपर्छ।
(लेखक प्रेमबहादुर विश्वकर्मा सैनिक आवासीय महाविद्यालय, सुर्खेतका प्रिन्सिपल हुन्।)