यति बेला प्राकृति प्रकोपका कारण देश नै तहसनहस भएको छ। मर्नेले अकालमा ज्यान गुमाए, बाँच्नेले आफ्नै अगाडि त्रासदीपूर्ण रूपमा आफन्त गुमाए।
सबभन्दा दुःखदायी दृश्य ललितपुरको नक्खु खोलाले चारैतिरबाट घेरेपछि अस्थायी टहराको छानामा आफ्ना बालबच्चासहित उद्धारको आशामा हारगुहार गरिरहेको परिवारको थियो। बाढीमा फसेको परिवार, त्यो परिवारलाई बचाउन हारगुहार गर्दै गरेको जनमानस र आफूसँग भएको डोरी टाँग्दै उद्धारको प्रयास गर्दै गरेका साधनस्रोतविहीन प्रहरीहरूको दृश्य साह्रै कारूणिक थियो।
हृदयविदारक त गुहार गर्दागर्दै छानो खसेर तीन जना बगेको दृश्य भइदियो।
सोही घटनामा सामाजिक सञ्जालमा सरकारप्रति ठूलो आक्रोश पोखिएको छ। एक घण्टाभन्दा धेरै समय बाढीमा फसेर चिच्याउँदा पनि देशको राजधानीमै उद्धार हुन सकेन। दूरदराजका जनताको अवस्था के होला!
विशेषतः कतै कुनै प्राकृतिक दुर्घटना हुँदा गुहार्ने प्रहरीलाई नै हो। खबर पाउनासाथ प्रहरी सक्रिय हुन्छ तर काम गर्ने कसरी?
अहिलेको प्राकृतिक प्रकोपको उद्धारका सन्दर्भका फोनमा कुरा हुँदा एउटा प्रहरी कार्यालयका प्रमुखले भने – यति निःसहाय अवस्था त उस बेला माओवादीसँग भिड्दा पनि भएको थिएन। बाढीले सर्वत्र तहसनहस गरेको यस अवस्थामा चारैतिरबाट चित्कारसहितको फोन आउँछ तर प्रहरी तत्काल आवश्यक सहयोग गर्न सक्दैन।
उनले गुनासो गरे – तुरून्तै घटनास्थलमा पुगेर उद्धार गर्न मन छ तर साधन छैन, आफूले चाहेर पनि उद्धार गर्न नसक्दा बडो विरक्त लाग्दोरहेछ, जनताले प्रहरीबाट आशा राखेका हुन्छन् तर प्रहरी निरीह छ।
ती प्रहरी अघिकारीको कुरा सुनेपछि मलाई ३० वर्षअघिको एउटा घटना याद आयो।
२०५१ सालको कुरा, म पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गणमा कार्यरत थिएँ। मोरङको कटहरी भन्ने ठाउँको जुटमिलमा भीषण आगलागी भयो। जिल्ला प्रहरी कार्यालय, मोरङबाट अग्नि नियन्त्रणका लागि मद्दतको अनुरोध आयो। मेरो कमाण्डमा एक प्लाटुन (प्रहरीको वान टन गाडीमा अट्नेजति) लिएर म अघि बढेँ।
बाटोमा जताततै रिक्सा, घरपालुवा जनावर, कुकुर र मान्छे छल्दै हामी घटनास्थल पुग्यौं। तराईको उखरमाउलो गर्मी, आगो दन्किएको छ, जुटमिल वरिपरि फुसको छाना भएका घरहरू छन्। त्यहाँका बासिन्दाहरू कोलाहल गर्दै हातहातमा बाल्टी लिएर आगोमा पानी हाल्दै छन्।
प्रहरी टोली पुगेपछि मानिसहरू आशाको भावमा कराए– उः पुलिस आयो, पुलिस आयो!
प्रहरीहरू एक्सनका लागि तयार भए तर हाम्रो हालत देखेर मानिसहरू हैरान भए। हामी पनि उही बाल्टिन र बेल्चा बोकेर आगोसँग भिड्न अघि सर्यौं। त्यही काम त त्यहाँका मानिसहरू नै गर्दै थिए। फरक यति थियो कि हामी प्रहरीको पोसाक (निलो डांग्री) मा थियौं।
प्रहरीको त्यो पोसाक र फुली (दर्ज्यानी चिह्न) मात्र अग्नि नियन्त्रणका लागि काफी थिएन। मानिसहरू आफ्नै भाषामा प्रहरीप्रति निराशा व्यक्त गर्दै प्रहरीसँगै मिसिए। म जुटमिलको पछाडिपट्टि गएर दन्किएको आगो हेर्दै स्थानीय बासिन्दाबाट छलिने प्रयासमा थिएँ।
अहिले पनि साधनस्रोतका दृष्टिले नेपाल प्रहरीको अवस्था त्योभन्दा धेरै फरक नहोला। प्रहरीले गर्न नपर्ने काम केही पनि छैन तर गर्न सक्ने गरी साधनस्रोत र सुविधा छैन।
विकसित देशहरूमा सुरक्षा व्यवस्था पहिलो प्राथमिकतामा पर्छ। प्रहरीसँग गुड्ने र उड्ने साधनसहित सबै सुविधा हुन्छ, सबै व्यवस्थित हुन्छ। सरकार र जनतालाई थाहा होला, प्रहरीलाई साधनस्रोतले सम्पन्न बनाउनु भनेको आफैलाई सुरक्षित बनाउनु हो।
कहिलेकाहीँ अपराधीलाई पछ्याउँदै र उद्धारका लागि आकाशमा उड्दै गरेका ब्रिटिस पुलिसका हेलिकप्टर देख्दा नेपाल प्रहरीसँग पनि यस्तै साधन हुँदो हो त परिणाम ब्रिटिस पुलिसकै जस्तो दिँदो हो जस्तो लाग्छ। नेपालको सरकार अलिक पछि गरे पनि हुने वा गर्दै नगर्दा पनि हुने ठाउँमा भरमार लगानी गर्छ तर पर्याप्त साधनस्रोत चाहिने सुरक्षा निकायलाई अड्कोपड्को तेलको धुपजस्तो अवस्थामा राख्छ।
नेपाललाई बेलायतजस्तो विकसित देशसँग तुलना गर्नु धेरै उपयुक्त नहोला तर नागरिकको सुरक्षा आवश्यकता त उस्तै हो नि!
मलाई एउटा घटना स्मरण भएको छ।
२०५३ सालमा नेपाल पुलिस एकेडेमीमा एड्भान्स तालिममा बेलायती प्रहरीका अधिकारी पनि प्रशिक्षक थिए। ती बेलायती प्रहरी शंकास्पद व्यक्तिलाई कसरी पिछा गर्ने भनेर हामीलाई सिकाउँदै थिए।
उनले ‘सेट अप’ का अरू कुरा भन्दै गर्दा आवश्यक साधनको सूची बताए। हामी प्रशिक्षार्थीहरू मुसुमुसु हास्यौं।
उनले एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले पिछा गर्न कम्तीमा चारवटा गाडी, दुइटा मोटरसाइकल, एउटा साइकल र आकाशमा एउटा हेलिकप्टर चाहिन्छ भने।
उनले हाम्रो कल्पनाभन्दा बाहिरको कुरा गरेका थिए। सुनेर नेपाल प्रहरीका सिनियर प्रहरी अधिकृतहरू अचम्मित भएका थिए। त्यस्तो कुराले हामी मुसुमुसु गर्ने नै भयौं। उनलाई हाम्रो हावभाव अविश्वसनीय लागेर होला, के भयो भनेर सोधे। हामी केही पनि बोलेनौं, आपसमा मुखामुख गर्यौं।
म एकेडेमीकै अधिकृत रहेकाले उनले मैतिर फर्केर सोधेका थिए।
मैले हाँस्दै भनेँ – तपाईंले भनेको जति साधन अहिले नेपाल प्रहरीसँग हुन सम्भव छैन, यस्तो साधन त राजाको सवारीमा मात्रै प्रायोग हुन्छ।
अहिले पनि बेलाबखत ब्रिटिस प्रहरीका अधिकारीहरूसँग नेपाल प्रहरीका बारेमा प्रसंगबस् कुरा हुँदा म नेपाल प्रहरीसँग हवाई साधन छैन, सेनासँग छ, हेलिकप्टर चाहियो भने नेपाली सेना वा निजी कम्पनी गुहार्नुपर्छ भन्छु।
मेरो कुरा सुनेर उनीहरू छक्क पर्छन्। आजको युगमा प्रहरीका लागि हेलिकप्टर आधारभूत आवश्यकता हो।
नेपालमा दुइटा प्रहरी संगठन छन्, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल; दुबै संगठनसँग हेलिकप्टर छैन। जरूरी पर्दा नेपाली सेनाको वा निजी कम्पनीको हेलिकप्टर गुहार्छन्। आपतकालीन अवस्थामा शीघ्र कारबाहीको विशेष अर्थ हुन्छ, आगो लागेपछि कुवा खन्न थाल्नुको अर्थ हुँदैन।
प्राकृतिक प्रकोप वा जुनसुकै आकस्मिक घटनामा पनि पीडितले सबभन्दा पहिले सम्झिने प्रहरीलाई नै हो। प्रहरी संगठन हामीसँग साधन छैन भनेर उम्किन पाउँदैन, आवश्यकता अनुसार काम गर्न पनि सक्दैन।
यस्तो अवस्थामा प्रहरी निरीह देखिन्छ। यसभित्र सरकारको निरीहता पनि देखिन्छ। प्रहरीले गर्न नसक्नु भनेको सरकारले गर्न नसक्नु हो। स्थानीय रूपमा आपत् पर्दा सरकारलाई भेट्नु भनेको स्थानीय प्रहरी भेट्नु हो।
आपतकालमा प्रहरी कर्मचारीहरूले आफ्नो ज्यान खतरामा राखेर नागरिकलाई बचाउने प्रयास गरेका हुन्छन्। तैपनि नागरिकको आक्रोश पाखिन्छ। प्रहरी भने अनिवार्य सामग्री समेत नपाएर निरीह बनेको हुन्छ।
प्राकृतिक प्रकोपमा गर्नुपर्ने आपतकालीन उद्धारका लागि सेनाकै अवस्था पनि बलियो छैन।
केही वर्षअघि गोरखा, धादिङ र सिन्धुलीतिर बाढीपहिरो आएर केही गाउँहरू सम्पर्कविहीन भए। उसबखत केही प्रहरीहरू खतरा मोलेर पुगे, पहिरोमा फसेका पीडितलाई आफ्नो पिठ्युँमा बोकेर उद्धार गरे। यस्तो कारूणिक दृश्य सञ्चारमध्यममा आएको थियो।
यस्ता घटनाबाट पनि सरकारले सिकेन, प्रहरीलाई साधानस्रोतले सुसज्जित बनाउन प्रयास गरेन। आज पनि स्थिति उही छ। बर्दीले मात्र त प्रहरीले केही पनि गर्न सक्ने होइन।
प्रहरीलाई सुसज्जित बनाउनु भनेको सरकार सुसज्जित हुनु हो, नागरिक सुरक्षित हुनु हो भन्ने तथ्य नेताहरूले बुझेनन्। प्रहरी सबल हुनु भनेको राज्यका अन्य अंग पनि सबल हुनु हो भन्ने बुझाइ कहिल्यै भएन।
हतियारको कुरा मात्र होइन, अन्य साधनस्रोतमा प्रहरीमाथि पनि अंकुश लगाउने काम भइरह्यो। सशस्त्र द्वन्द्वको समयमा २०५३ सालमा तत्कालीन आइजिपी (प्रहरी महानिरीक्षक) मोतीलाल बोहराका पालामा प्रहरीलाई हेलिकप्टर किन्न बजेट छुट्ट्याइयो। पाइलट कोर्स गर्ने तयारी भयो। तर त्यसले पूर्णता पाउने सकेन। आजसम्म पनि भएन।
प्रहरीलाई हेलिकप्टर आतंककारीसँग लड्न मात्रै होइन, अपराध नियन्त्रण र प्राकृतिक विपत्तिमा पनि अत्यावश्यक हुन्छ। सरकारले यसलाई कहिल्यै गम्भीरतापूर्वक लिएन। प्रहरीलाई राज्यका अरू अंगको परिपूरकका रूपमा होइन कि, प्रतिस्पर्धीका रूपमा लिने प्रवृत्ति देखा पर्यो। यसले गर्दा आपतकालमा प्रहरीले नागरिकको सेवामा सधैं अभाव भोग्नुपर्यो।
अब प्रहरीलाई यस्तो दुर्दशामा राख्नु हुन्न। हिजोका सरकारहरू गम्भीर नहुँदा प्रहरी संगठन समयानुकूल सुसज्जित हुन सकेन। फलस्वरूप राज्य आफै कमजोर भयो। सशस्त्र द्वन्द्वका समयमा रातभरि माओवादी लडाकुसँग भिडेर लखतरान भएका प्रहरी जवानका बीचमा भोलिपल्ट गृह प्रशासनका र प्रहरीका उपल्लो दर्जाका अधिकारीहरू प्रहरी जवानहरूको मनोबल बढाउने नाममा लामा भाषण दिन्थे। थकित र आक्रोशित प्रहरी जवानहरू हाम्रो राइफल फायर गर्दागर्दै जाम भयो, हामीलाई भाषण होइन हतियार चाहियो भन्थे।
एउटा दृष्टान्त छ।
सशस्त्र प्रहरी बलका संस्थापक आइजिपी कृष्णमोहन श्रेष्ठ नेपाल प्रहरीका कार्य विभागका एआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक) थिए। कालिकोटको कुनै चौकीमा माओवादी लडाकुको हमला भयो। प्रहरीले रातभर भिडेर चौकी जोगाए।
भोलिपल्ट एआइजी श्रेष्ठ सहितको टोली त्यहाँ पुग्यो। एआइजीले रातभर लडेका प्रहरीहरूको बहादुरीको प्रशंसा गर्दै मनोबल बढाउने कुरा गरे।
त्यही बेला एक प्रहरी जवानले उभिएर भने रे– अनुशासन तोडेर बीचमै बोलेँ, माफ पाऊँ सर! हामीलाई माओवादीसँग भिड्न पड्काउँदा पड्काउँदै जाम नहुने हतियार चाहिएको छ।
जवानको कुराले भावशून्य भएका एआइजी ती जवानको काध थप्थपाउँदै फर्किएका थिए रे!
तीन दशकपछि पनि प्रहरीको नियति उही छ।
अहिले पनि सरकार बोल्ने भनेको सिंहदरबारमा आपतकालीन बैठक गरेर ‘कुनै कसर बाँकी नराखी उद्धार कार्यमा खट्न निर्देशन दिने’ मात्रै हो। स्थानीय सरकार त्यही प्रहरीको आशामा बस्ने हो। प्रहरी टोली पुगेर सबै किसिमको जोखिम उठाउँदै सकेको काम गर्ने हो। सेनाको वा निजी कम्पनीको हेलिकप्टर आइहाल्छ कि आशा गर्ने हो।
नख्खु खोलामा उद्धार पर्खेर बसेको परिवारले आफ्नो नियति नभोगी भएन। प्रहरी निरीह छ, सेनाको हेलिकप्टर झिकाउने आफ्नै प्रक्रिया हुन्छ। त्यो प्रक्रिया पूरा हुँदासम्म प्रकृतिले आफ्नो लीला देखाइसकेको हुन्छ।
सरकारले नागरिकहरूलाई ठीक समयमा सुरक्षा दिने र आपतकालमा उद्धार गर्ने हो भने प्रहरीलाई सोहीअनुसार साधनस्रोतले सम्पन्न बनाउनुपर्छ। अहिलेकै साधनस्रोतबाट प्रहरीले नेपालको प्राकृतिक आपतमा पर्याप्त काम गर्न सक्दैन।
खासमा प्रहरी संगठन शान्ति सुरक्षा, अपराध नियन्त्रण र अपराध अनुसन्धानका लागि बनेको संगठन हो। प्राकृतिक प्रकोपमा उद्धारकार्यका लागि प्रहरीलाई पर्याप्त तयार राखिएको हुँदैन तर यस काममा नपुगी नहुने पनि प्रहरी नै हो।
नेपालको प्राकृतिक अवस्थामा प्रहरी संगठन आपतकालीन अवस्थामा चाहिने साधनस्रोतले सुसज्जित हुनुपर्छ। स्रोतसाधन प्रहरी कर्मचरीको मनोबलसँग पनि जोडिएको हुन्छ। साधन भएपछि जोखिम उठाएर परिणाम दिने साहस पनि आउँछ। नेपाल सरकारले यसतर्फ ध्यान दिन जरूरी छ।
(लेखक नेपाल प्रहरीका पूर्वअधिकारी हुन्। उनी हाल ब्रिटिस प्रहरीको ह्याम्प्सायर पुलिस कन्स्टेबुलरीका सल्लाहकार छन्।)
शिवजी श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्