विज्ञान-प्रविधिले चमत्कार गरेको छ। एपोलो-११ यान चन्द्रमामा अवतरण गरेको ५५ वर्ष भइसक्यो। एकैपटकमा विश्वको ठूलो भूभाग विनाश गर्न सक्ने हतियार बनेका छन्। कुनै एक ठाउँको घटनाको सूचना केही सेकेन्डमै विश्वभरि पुग्न सक्छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासले त झन् अकल्पनीय चमत्कार गरेको छ।
यता जलवायु परिवर्तनका कारण पृथ्वीमा समस्या विकराल बन्दै छ। वायुमण्डलको तापक्रम बढ्दै छ। खडेरी हुने, बाढीपहिरो आउने र हिउँ पग्लिने क्रम बढ्दै छ। समुद्री सतह बढ्दै छ। अनेक रोग फैलिने क्रम पनि बढेको छ।
असीमित भन्न मिल्ने वैज्ञानिक-प्राविधिक उपलब्धिका बीच पनि उल्लिखित समस्या निराकरणका उपाय पत्ता लाग्न सकेको छैन।
जलवायु परिवर्तन सम्बन्धी अन्तर्सरकारी समूह (आइपिसिसी) ले आगामी दुई दशकमा विश्व समुदायले जलवायु परिवर्तनका कारण धेरै प्रकारका जोखिमहरू बेहोर्नुपर्ने चेतावनी दिएको छ। जलवायु परिवर्तन सम्बन्धी बहस सन् १९७० को दशकमा सुरू भएको हो। त्यसपछि सन् १९९० को दशकमा जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरण र अनुकूलनका प्रयासहरू सुरू गरिए तर ती प्रयासहरू अपेक्षाअनुसार सार्थक हुन सकेका छैनन्।
सन् १९९२ मा 'जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि ढाँचा' ले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढ्न नदिने र स्थिरीकरण गर्ने लक्ष्य लिएको थियो। यो लक्ष्यअनुसार पनि काम हुन सकेको छैन।
प्रत्येक वर्ष विश्वका राष्ट्र प्रमुख, राजनीतिज्ञ, वैज्ञानिक, सरकारी तथा गैरसरकारी प्रतिनिधि, पत्रकार लगायत हजारौंको सहभागितामा जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन हुने गरेको छ। हालसम्म २८ वटा यस्ता सम्मेलन भएका छन्। सम्मलेनमा अनेक प्रतिबद्धता जनाइएका छन्। यसअतिरिक्त पनि जलवायु परिवर्तनको नाममा हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका सभासम्मेलन हुन्छन्।
यस्ता सभासम्मेलन गर्दा सिर्जित हरितगृह ग्यासले पनि जलवायु परिवर्तनमा असर गरेको छ भन्ने बहस हुन थालेको छ।
जीवाश्म इन्धन नै हरितगृह ग्यासको मुख्य स्रोत हो। यस्तो इन्धनको प्रयोग घटाउन सौर्य ऊर्जा, वायु ऊर्जा, भूतापीय ऊर्जा जस्ता नवीकरणीय ऊर्जाको प्रयोग व्यापक बनाइएको छ।
ऊर्जा दक्षता अभिवृद्धि गरी कम ऊर्जाको उपयोगबाट धेरै काम गर्न सकिने गरी सुधारको प्रयास भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा प्रयोग हुने कुल प्राथमिक ऊर्जाको करिब १४ प्रतिशत अंश नवीकरणीय स्रोतबाट पूर्ति भएको छ।
अनेक प्रयास भइरहे पनि जलवायु परिवर्तन किन विश्वको टाउको दुखाइको विषय बनेको छ? महाशक्ति मानिएका देशहरू किन यसको परिणाम टुलुटुलु हेर्न बाध्य छन्?
यी प्रश्नको जबाफ खोज्ने विश्व समुदायले र महाशक्तिहरूले नै हो।
जलवायु परिवर्तन सम्बन्धी 'पेरिस सम्झौता' मा औद्योगिक विकास सुरू हुँदाको तापक्रमलाई आधार मानेर त्यसको तुलनामा समग्र वायुमण्डलमा १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने प्रतिबद्धता जनाइएको थियो। सन् १८५० को दशकलाई औद्योगिक विकासको दशक मानेर त्यो समयको वायुमण्डलको समग्र तापक्रमलाई आधार मानिएको थियो।
विश्व मौसम विज्ञान संगठनले पेरिस सम्झौताको प्रतिबद्धता पूरा नहुने चेतावनी दिएको छ। यस संगठनका अनुसार वायुमण्डलमा ०.१ डिग्री सेल्सियसले तापक्रम बढ्दा कृषि क्षेत्र सुख्खाको चपेटमा पर्नेछ। पारिस्थितिक प्रणाली खलबलिने छ।
यस्तो परिणामका संकेतहरू देखिएका छन्।
युरोपियन युनियनको कोपर्निकस जलवायु परिवर्तन सेवाले जनाएअनुसार तापक्रम मापनको इतिहासमा सन् २०२४ को जुन महिनामा सबभन्दा उच्च तापक्रम रेकर्ड भयो। पेरिस सम्झौताले लिएको तापक्रमको लक्ष्य प्राप्त गर्न सन् २०१९ को तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशतले, सन् २०३५ सम्ममा ६० प्रतिशतले र सन् २०४० सम्ममा ६९ प्रतिशतले हरितगृह ग्यासको उत्सर्जन घटाउनुपर्ने छ।
यसो हुन सम्भव देखिएको छैन।
हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि राष्ट्रहरूले लिएका लक्ष्य पूरा गर्दा पनि सन् २०३० सम्ममा ७ प्रतिशतले मात्र घट्ने छ। हालको स्तरको न्यूनीकरणले पेरिस सम्झौताको लक्ष्य प्राप्त हुन सक्दैन। फलस्वरूप जलवायु परिवर्तनको प्रभाव भयावह हुँदै जानेछ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले जलवायु परिवर्तन सम्बन्धमा गरेको सार्वजनिक विचार सर्भे (जनता जलवायु मतदान, २०२४) मा ८० प्रतिशत सहभागीहरूले जलवायु परिवर्तनको प्रभाव कम गर्न महत्त्वाकांक्षी योजना आवश्यक छ भनेका छन्। राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) ले हालै प्रकाशन गरेको अध्ययन प्रतिवेदन अनुसार सबैका प्रिय र भविष्यका आधारस्तम्भ बालबालिकाहरू अधिक तापमानको कारणले संकटासन्न छन्।
दिनदिनैको उच्च तापमानका कारण बालबालिका बढी प्रभावित छन्। बालबालिकाको शरीर छिटो तात्ने र ढिलो सेलाउने प्रकृतिको हुने भएकाले उनीहरू जलवायु परिवर्तनको बढी जोखिममा छन्। गत जुन १७ मा बिबिसी विश्वसेवाले प्रकाशन गरेको एक समाचारअनुसार सात करोड अमेरिकी जनता ४१ डिग्री सेल्सियसभन्दा बढी अधिकतम तापक्रमका कारण उच्च तापको सतर्कतामा थिए।
यस्तो उच्च तापले अधिक वाष्पीकरण हुन्छ र आद्रताले बादल निर्माण हुन्छ। सामान्यतया १ डिग्री सेल्सियस तापक्रम बढ्दा वायुमण्डलमा ७ प्रतिशतले आद्रता बढ्छ। परिमाण स्वरूप ठूलो वर्षा हुन्छ। अफ्रिकी देश सुडानमा सन् १९६० मा वर्षभरिमा ११० दिन ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम थियो। सन् २०२४ मा १६५ दिन पुगेको छ।
गर्मी मौसममा अधिक तापक्रमका कारण गत एक वर्षमा युरोप र मध्य एसियाका चार सय बालबालिकाको मृत्यु भएको विवरण छ। पूर्वीअफ्रिकामा सन् २०२० देखि २०२२ को बीचमा पानी पर्नुपर्ने पाँचवटा मौसममा पानी नपरेका कारण ४० वर्षयताको खराब खडेरी बेहोर्नुपरेको थियो। यसबाट सोमालियामा मात्र १२ लाख मानिस विस्थापित भएका थिए।
क्रिस्चियन एडले सन् २०२४ जुनमा गरेको एक अध्ययनले सन् २०२३ डिसेम्बरदेखि २०२४ मे (६ महिना) मा उग्र मौसमका कारण कम्तीमा ४१ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरेको छ। यस अवधिमा दक्षिण तथा दक्षिण पूर्वीएसियामा जलवायु परिवर्तनबाट सिर्जित बाढीका कारण २१४ जनाको मृत्यु भयो। संयुक्त अरब इमिरेट्समा बीमा गरिएको मात्र ८५० मिलियन अमेरिकी डलर बराबरको क्षति भयो।
सन् १९९३-२०२३ (३० वर्ष) अवधिमा विश्वका अन्य क्षेत्रमा भन्दा एसिया क्षेत्रमा तापमान बढ्ने दर उच्च रह्यो। हिउँ पग्लने दर र समुद्री सतह बढ्ने क्रम निरन्तर चलिरह्यो। यस क्षेत्रका करिब ९१ प्रातिशत हिमशृंखलाहरूमा उच्च तापमानका कारण हिउँको मात्रा घट्दै गएको छ। यसैकारणले दक्षिण एसियाली क्षेत्रमा स्वच्छ पानी आपूर्तिको महत्त्वपूर्ण स्रोतका रूपमा रहेका हिमनदीहरूको भविष्य जोखिममा परेको छ।
समुद्री सतहको उचाइ बढ्दै जाँदा प्रशान्त क्षेत्रमा टापूका रूपमा रहेका धेरै देशहरूको अस्तित्व मेटिने सम्भावना बढेको छ।
हालै राष्ट्र संघीय महासचिव एन्टोनियो गुटरेसले उक्त क्षेत्रको भ्रमण गर्ने क्रममा तापक्रम वृद्धिका विषयमा विश्व समुदायलाई सचेत गराउनुले पनि जोखिमको गम्भीरता पुष्टि हुन्छ।
गत वर्ष (सन् २०२३) मा मात्रै यस क्षेत्रमा बाढी र आँधीबेहरीका कारण पानीसँग सम्बन्धित ७० वटा रोग देखापरे। फलस्वरूप दुई हजार मानिसको मृत्यु भयो, ९० लाख मानिस प्रभावित भए।
सन् २०२१ मा विश्व बैंक र एसियाली विकास बैंकद्वारा संयुक्त रूपमा प्रकाशित एक प्रतिवेदन अनुसार विश्व तापमान बढ्ने कारणले यस शताब्दीको अन्त्यसम्ममा हिमाली क्षेत्रमा हिउँको मात्रा ३६ देखि ६४ प्रतिशतसम्मले कम हुनेछ। यसको प्रत्यक्ष प्रभाव जलविद्युत उत्पादन, सिँचाइ र खानेपानीमा पर्नेछ। यो प्रक्षेपण मिल्न गएमा नेपालको जलविद्युत र सिँचाइ क्षमता आधाभन्दा बढीले घट्ने छ।
जलवायु परिवर्तन सम्बन्धी अन्तर्सरकारी समूह (आइपिसिसी) ले गरेको प्रक्षेपण अनुसार हरितगृह ग्यास उत्सर्जनमा मध्यमस्तरको मार्ग पछ्याउन सक्दा पनि सन् २०१६ देखि २०४५ को अवधिमा नेपालको तापक्रम ०.९ डिग्री सेल्सियसले वृद्धि हुनेछ। फलस्वरूप बाढीबाट प्रभावित हुने संख्या सन् २०१० को तुलनामा २०३० सम्ममा दोब्बर हुनेछ र हिउँद याम अझ बढी सुख्खा हुनेछ। वर्षाको मात्रामा तीन गुणा वृद्धि हुनेछ।
तीन-चार दशकअघिसम्म पौडी खेल्न मिल्ने कतिपय खोलामा अहिले वर्षातको समयमा मात्र पानी देख्न पाइन्छ। यसबाट पनि यो शताब्दीको अन्त्यसम्ममा जलवायु परिवर्तनले भयवह अवस्था सिर्जना हुने अनुमान गर्न सकिन्छ।
नेपालमा गत साउन ३२ गते सोलुखुम्बुमा थामेको शिरबाट आएको अस्वाभाविक भेलबाढीले आयो। त्यसले २० वटा घर, एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी र ९५० किलोवाट क्षमताको जलविद्युत परियोजना बगायो। एउटा मनोरम उपत्यका थामे बगरमा परिणत भयो। यो घटना अधिक वर्षाका कारणले भएको थिएन। दुइटा हिमताल विस्फोट भएर तल्लो तटीय क्षेत्रमा भेलबाढी आएको थियो। सम्भवतः ती हिमताल विस्फोट हुने अनुमान नै थिएन।
यो घटनाले नेपालको हिमाली क्षेत्रमा ठूलो संख्यामा रहेका हिमतालको अवस्था र भविष्यमा हुन सक्ने दुर्घटनाको संकेत गरेको छ। यस स्थितिमा हिमतालहरूको जोखिम अध्ययन गरी क्षति न्यूनीकरणका उपायहरू अवलम्बन गर्न आवश्यक भएको छ।
तीन वर्षअघि सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा ठूलो पहिरो गयो। त्यसले मेलम्ची नदीमा भयावह बाढी ल्यायो र कहालीलाग्दो विपत्ति निम्त्यायो। यसै वर्ष महाकालीपारिको दोधराचाँदनी लगायत देशका केही ठाउँमा हाँडीघोप्टे वर्षा भयो। ठाउँठाउँमा धनजनको निकै ठूलो क्षति भयो। मैले यो लेखमा पछिल्लो समयका थोरै उदाहरणहरू प्रस्तुत गरेको हुँ। यतिकै आधारमा अहिले नै आत्तिनुपर्ने होइन तर बढ्दो तापमान नियन्त्रण हुन नसके संकट टर्ने छैन।
खासगरी सन् १८५० यताको करिब १७५ वर्षमा भएको अव्यवस्थित-अनियन्त्रित ओद्यौगिकीकरण र विकास निर्माणका कामले हरितगृह ग्यास अधिक उत्सर्जन भएको हो। त्यसकै नकारात्मक प्रतिफल विश्व समुदायले भोग्नुपरेको हो।
विश्व समुदायले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणको प्रयास गरेको ३५ वर्षजति भयो तर पर्याप्त हुन सकेन। अधिक हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकहरूले प्रतिबद्धता पूरा गर्न सकेनन्।
चमत्कारी विज्ञान-प्रविधि एआईमा पुग्दा पनि हरितगृह ग्यास उत्सर्जन हवात्तै घटाउने सूत्र पत्ता लागेको छैन। विश्व समुदायको प्रतिबद्धता र सावधानी ज्यामितीय गतिले बढाउन सके मात्र आगामी मानव पुस्ताले जीवनयोग्य पृथ्वी पाउनेछ।