साउन ३२ गते सोलुखुम्बुको थामे गाउँमाथि हिमताल विस्फोट भएर आएको भेलबाढीले गरेको विनाशको खबर क्षणभरमै संसारभरमै फैलियो।
तर त्यो भेलबाढीभन्दा ४२ दिनअघि थामेबाट पश्चिमतिर पर्ने रोलवालिङ क्षेत्रमा गएको अर्को विनाशकारी भेलबाढीबारे अधिकांश नेपाली नै बेखबर छन्।
थामेमा भेलबाढी आउनेबित्तिकै सामाजिक सञ्जालमार्फत त्यसको प्रत्यक्ष प्रसारण सुरू भयो। क्षणभरमै त्यो समाचार नेपालभर मात्र होइन, विश्वभर फैलियो। थामे नदीमा भीषण भेलबाढी झरिरहेको दृश्य आफैमा नाटकीय थियो नै; त्यसमाथि त्यो घटना विश्वविख्यात सगरमाथा आरोहीहरूको गाउँमा भइरहेको थियो।
थामे भेलबाढीको मूल कारण पत्ता लगाउने काम भोलिपल्ट आकास खुल्नेबित्तिकै भइहाल्यो। गाउँपालिकाका अधिकारी र संघीय राजधानी काठमाडौंका उच्च अधिकारीहरू बोकेका दुई हेलिकप्टर थामे खोलाको किनारै किनार पश्चिमतिर टाशीलाप्चा भन्ज्याङ नजिकै पुगे। फर्किनेबित्तिकै त्यहाँ भर्खरै फुटेका दुई हिमतालका तस्बिर तथा भिडिओ छ्याप्छ्याप्ती बनाइदिए।
त्यसपछि थामे पुनर्निर्माणका लागि विश्वव्यापी चन्दा संकलन अभियानहरू सुरू भएका छन्।
अब थामेदेखि पश्चिममा पर्ने ५७०० मिटर उचाइको टाशीलाप्चा भन्ज्याङवारिको चर्चा गरौं।
घटना थामेदेखि मात्र ३० किलोमिटर जति पश्चिममा पर्ने रोलवालिङ उपत्यकाको हो। त्यहाँ पुग्न थामेदेखि कठिन उच्च हिमाली भेगको पदयात्रा गरेर जाने हो भने तीन दिन लाग्छ। घटना थामे भेलबाढी आउनुभन्दा ४२ दिनअघि, गत असार २१ को हो। त्यो दिन च्छो रोल्पादेखि पश्चिमतिर गौरीशंकर हिमालनजिकै त्यस्तै प्रकृतिको हलचल भएको थियो।
रोलवालिङबासीको भनाइमा त्यस दिन च्छो रोल्पादेखि पश्चिमतिर पर्ने यालुङ-री नामक चुचुरादेखि पश्चिमतिर दोर्जे फाङ्मो र छ्याङ्मादेखि तल दुई साना हिमताल विस्फोट भएका थिए। जसका कारण च्छो रोल्पा हिमताल क्षेत्र जाने गोरेटोमा पर्ने कम्तीमा तीनवटा पुलसँगै बाटो र रोलवालिङ खोला किनारमै बसेको डोङयाङ भनिने सानो बस्ती नै निमिट्यान्न भएर बगरमा परिणत भयो।
भोलिपल्ट शनिबार, यसबारे राष्ट्रिय समाचार समिति (रासस) मार्फत् खबर छापियोः दोलखामा बाढीले तीन घर बगायो, एक जना बेपत्ता।
तर मोबाइल र इन्टरनेट जताततै नचल्ने रोलवालिङमा अचानक आएको भीषण भेलबाढीका दृश्य न प्रत्यक्ष प्रसारण भए, न त्यहाँका भिडिओ पारि थामेको जसरी दसौं हजार जनाले सेयर गर्न पाए।
त्यही भेलले रोलवालिङ खोला किनारका आफ्ना पक्की घरहरूसहित बगाएकी जाङ्मु शेर्पाको अहिलेसम्म अत्तोपत्तो छैन। डोङयाङ हुँदै ओहोरदोहोर गर्ने हामीजस्ता पदयात्रीलाई प्रेमपूर्वक गाँस र बासको व्यवस्था गर्ने ६२ वर्षीया जाङ्मु शेर्पाको चर्चा अलि पछि गर्छु।
काठमाडौंले बेवास्ता गरेको दुखेसो
रोलवालिङ जाने बाटोमा पर्ने सुर्मुचेको टाकुरामा होटल चलाएर बसेका बोलेन्द्र आचार्य बेदिङ-साङ्गाछोलिङ गुम्बा विद्यालयका शिक्षक समेत हुन्।
उनले सेतोपाटीसँग भने, 'यहाँका लामाहरूका अनुसार त्यस दिन बेदिङबाट ना गाउँ जाने बाटोदेखि दक्षिणपट्टि पर्ने दोर्जे फाङ्मो क्षेत्रमा दुइटा साना हिमताल फुटेका थिए। त्यही बेला हिउँनदीहरू पनि पग्लिएको र गौरीशंकर क्षेत्रमा धेरै वर्षा भएको थियो।'
हिमताल फुटेको आंशका गरिए पनि हिमताल फुटेको क्षेत्र निकै कठिन हिमाली क्षेत्रमा भएकाले त्यसको यकिन प्रमाण जुट्न नसकेको उनको भनाइ छ।
'गाउँपालिकाका अध्यक्षले त्यो घटना र क्षतिबारे अध्ययन गर्ने भनेका छन् तर काठमाडौंबाट अध्ययनका लागि अझै कोही आउनुभएको छैन,' उनले भने।
गौरीशंकर हिमाल नेपालको पूर्वतिर भएपछि त्यसैलाई आधार बनाएर नेपाली समय निर्धारण गरिएको छ।
अब प्रश्न उठ्छ — नेपालका लागि त्यति धेरै महत्त्वपूर्ण क्षेत्र भएर पनि गौरीशंकर हिमाल नजिकै भएको सम्भाव्य हिमताल विस्फोटन र त्यसपछि मच्चिएको विनाशलीलाप्रति किन सरकारले पर्याप्त चासो नदिएको?
ठूला सञ्चार माध्यममा त्यसबारे किन धेरै चर्चा हुन नसकेको? के रोलवालिङ क्षेत्र मोबाइल, इन्टरनेट र पर्यटकीय गतिविधिका हिसाबले खुम्बुभन्दा कमजोर भएर छायामा परेको हो?
डोङयाङको बस्ती नै बगाउने भीषण बाढीपछि यस्तै यस्तै प्रश्नले रोलवालिङबासीलाई सताइरहेको छ।
खुम्बु क्षेत्र जस्तै टाशीलाप्चा पारिको रोलवालिङ पनि शेर्पाहरूको आफ्नै थातथलो हो। उनीहरू सबै पर्वतारोहण वा ट्रेकिङ पर्यटनमा जमेका छन्। १६ पटक सगरमाथा चढिसकेका कीर्तिमानधारी आरोही फुर्वा तेन्जिङ शेर्पा पनि च्छो रोल्पा हिमताल नजिकै भएको र हुन सक्ने हिमताल विस्फोटबारे सरकारले कुनै अध्ययन अनुगमन र अनुसन्धान नगरेकोमा दुःखी छन्।
फुर्वा तेन्जिङ दुखेसो पोख्छन्, 'त्यस दिन दक्षिणतिर ताल मात्रै फुटेनन्, हाम्रो गाउँको पानीको स्रोतको रूपमा रहेको गौरीशंकरको काखबाट बहने छुमी गन्जोक खोलामा ठूलो बाढी पनि आयो। डोङयाङ मात्र होइन, छुमी गान्जोक गाउँ पनि बगायो। च्छो रोल्पा प्रवेशद्वारमा रहेको धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको समदर देउथान पनि बगाइदियो। धेरै क्षति भयो।'
असार २१ मा डोङयाङ बगाएको थाहा पाउने बित्तिकै उनले आफ्नो फेसबुकमा थिए, 'हिजो रातिको बाढीपहिरोले डोङयाङको यस्तो हविगत बनायो। आनी जाङ्मुलाई बेपत्ता बनायो। हाम्रो माननीयज्यूहरू प्लिज हेलीमा मात्रै माथि रोलवालिङ भ्रमणमा नआउनु होला, फोटो मात्र नखिच्नु होला। हाम्रो च्छो रोल्पाको पानी मापन, जोखिम न्यूनीकरण र जनधनको सुरक्षामा पनि ध्यान पुर्याउनु होला। पहिला त्यहाँ साइरन जडान गरिएको थियो। अहिले न त्यहाँ कर्मचारी छन्, न कुनै साइरन, न केही रोकथामका कदम। नेपाल सरकार कहाँ छ?'
थामेमाथि हिमताल फुटेपछि भएको जस्तै ठूलो चर्चा र होहल्ला जोखिमको सूचीमा रहेको च्छो रोल्पा हिमताल रहेको रोलवालिङमा हुने गरेका विपदबारे पनि हुन जरूरी भएको उनी बताउँछन्।
शिक्षक बोलेन्द्र आचार्यको बुझाइमा रोलवालिङमा असार २१ गते आएको ठूलो बाढीपहिरो र क्षतिको कारक जलवायु परिवर्तन नै हो।
उनले आफ्नो फेसबुकमा लेखेका छन् —
'यदि च्छो रोल्पा तालको किनार पनि यसरी नै अकस्मात भत्किन गयो भने (भगवानसँग कृपा गरौं त्यो कहिल्यै नभत्कियोस्) हामीले सोचेभन्दा धेरै ठूलो क्षति हुन सक्ने रहेछ!
च्छो रोल्पा तालमा केही वर्ष अगाडिसम्म दुई-तीन जना सुरक्षाकर्मी राखिएको थियो। उनीहरूले वर्षा याममा त्यहाँको अवस्थाबारे जानकारी दिइरहन्थे। तर उनीहरू त उहिल्यै लखेटिइसकेका रहेछन्। त्यहाँ सुरक्षाकर्मी नराख्नुको कारण के होला? उनीहरूलाई तलब दिएर राख्न नसक्ने सरकारले भोलि ठूलो क्षति बेहोर्नुपर्दा घटना-परिघटनाको फोटो र समाचार पोस्ट गर्नुबाहेक अरू केही हुँदैन। बेलैमा सोचविचार गरियोस्।'
बेपत्ता जाङ्मु शेर्पाको खोजी
यो भयो अन्जान भविष्यको कुरा!
वर्तमानमा भने डोङयाङबाट बगेर झर्ने रोलवालिङ र त्यो गएर मिसिने तामाकोसी खोलाका किनारमा अझै पनि असार २१ को भीषण भेलबाढीले घरसँगै बगाएर बेपत्ता जाङ्मु शेर्पाको खोजी जारी छ।
च्छो रोल्पा जाने पैदलबाटो सुरू हुने छ्योछ्योत नजिकै रोलवालिङ तामाकोसीमा झर्छ। निमातेन्जी वाइबाको सानो होटल त्यही बजारमा छ।
उनी भन्छन्, 'आनी जाङ्मुलाई हामीले धेरै खोज्यौं। तर अहिलेसम्म उनको केही पनि भेटिएको छैन।'
असार २१ को बाढीपछि च्छो रोल्पा पदयात्रा पूरै ठप्प हुन पुगेकामा उनी दुःखी छन्। ती पदयात्रीहरू पहिलो दिनको बास बस्न डोङयाङ पुग्थे। हालैका दुई पदयात्राका बेला हामीलाई जाङ्मु शेर्पाले रातो च्याउको सुप र तातो भात खुवाएको म अझै झलझली सम्झिरहन्छु। खोला किनारैको भवनमा उनको भान्छा र आवास थियो।
अलिकति पर पदमार्ग पारि, भित्तापट्टि अर्को लामो पाहुना घर थियो। जाङ्मुलाई हिमताल फुट्ने चिन्ता थिएन।
उनी भन्थिन्, 'यो क्षेत्रमा काटमार हुँदैन, कुनै पाप कर्म हुँदैन। त्यसैले ईश्वरले हाम्रो रक्षा गर्छन् र हिमताल फुट्दैन।'
तर उनले सोचे जस्तो भइदिएन।
असार २१ गते साना हिमताल फुटेर आएको बाढीले जाङ्मुलाई गलत साबित गरिदियो। अचानक उर्लिएको रोलवालिङले उनीसँगै उनको सानो संसार नै बगाइदियो। क्षणभरमै सबै थोक इतिहास बनाइदियो।
(बिबिसीका पूर्वसंवाददाता सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनी जलवायु, वातावरण, समाज र भूराजनीतिक विषयमा चासो राख्छन्।)
सुरेन्द्र फुयालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।