यो 'डब्ल्युजिबिएच' रेडियोले छिनछिनमा आर्थिक सहायता मागेको सुनेर म अचम्म पर्छु। यसो बाहिरफेर निस्कँदा रेडियो सुनौं न त भन्यो, 'म डुब्न लागेँ, बचाऊ!' शैलीमा सहयोगको याचना गरिहाल्छ।
अरे! अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपिआर) सँग आबद्ध डब्ल्युजिबिएचलाई पनि यस्तो आर्थिक संकट!
स्रोता कञ्जुस भएका हुन् कि रेडियो खर्चालु! आम्दानी र खर्चको खाडल बढेको पो हो कि!
रेडियो अझै फकाउँछ, 'अल मेड पसिबल विथ योर डोनेसन!'
विश्वसनीयताको कसीमा आफूलाई अब्बल दाबी गर्दै रेडियो भन्छ, 'आर्थिक अभावमा तपाईंको विश्वासिलो रेडियो संकटमा छ, बचाउनुस्!'
मिडियाको विश्वसनीयता पनि कस्तो गज्जबको चिज; परेको बेला पैसासँग साट्न भए पनि आर्जन गर्नुपर्ने!
रेडियो चिन्तनमा डुब्दाडुब्दै हार्वर्ड स्क्वायर आइसकेछ।
मनोज अधिकारीसँग २ बजे भेट्ने निधो भएको थियो। म पाँच मिनेट छिटो पुगेछु। टन्टलापुर घाम छल्न यहाँ गजबको ठाउँ थियो – आउट अफ टाउन न्युज जहाँ संसारभरका पत्रपत्रिका पाइन्थ्यो, संसारभरका पाठक धुइरिन्थे। कोभिडअघि नै बन्द भएको पसललाई म्यासाच्युसेट्सको क्याम्ब्रिज सिटीले आर्ट सेन्टर बनाउँदै छ भन्ने सुनेको थिएँ, अझै पूरा भएको रहेनछ।
अरू सबथोक फस्टाएको यो चोकमा पत्रिका पसल भने चल्न सकेन। पहिले पत्रिकाहरू बन्द हुँदै गए, त्यसपछि पसल भयो।
आफूले छोटो विगत बिताएको ठाउँमा उभिँदै अलि लामो विगत बिताएको पत्रिकाको भविष्य सोच्दै थिएँ, छुस्स हर्न बज्यो। मनोज आएछन्।
यो शनिबारलाई मित्र-मिलनको दिन बनाऊँ भन्दै हामी डुल्न निस्किएका थियौं।
सांगीतिक प्रस्तुतिका लागि बस्टन आएका गायक सुगम पोखरेलले जब रेडियोमा काम गर्दाका सहकर्मी मनोज अधिकारी र नारायण श्रेष्ठ यतै रहेको चाल पाए, हाम्रो यो भेटघाटको चाँजो बन्यो।
मनोजको गाडीमा पनि उही रेडियो बजिरहेको थियो, डब्ल्युजिबिएच।
'गाडीमा रेडियो छ र हामी सुन्दै छौं,' रेडियोको भोल्युम घटाएर मैले आफ्नो आवाज बढाएँ, 'रेडियो सुन्न सेट नै चाहिने भए यी स्टेसनका गति के हुन्थ्यो होला!'
'यो पनि उही आउट अफ टाउन न्युज हुन्थ्यो, बन्द!' सदाबहार 'सेन्स अफ ह्युमर' मिसाएर बोले मनोज।
'सुगम, नारन र मेरो पत्रकारिता रेडियो सगरमाथाबाट सुरू भएको,' गाडी चार्ल्स रिभर किनारको 'मेमोरियल ड्राइभ' तिर मोडियो। मनोज आफ्नो रेडियो पत्रकारिताका सुनौला दिनतर्फ फर्किए।
काठमाडौंमा एउटा समय थियो, जति बेला कान्तिपुर एफएम ९६.१ को जिंगल बज्दा यस्तो लाग्थ्यो, त्यो दुन्दुभी बजेको हो। माओवादी द्वन्द्व बेला त्यही दुन्दुभीपछि सुरू हुन्थ्यो संग्रामका समाचार। मनोजलाई मैले त्यही संग्रामका समाचार फुक्ने वाचकका रूपमा चिनेको हुँ। पछि एउटै सञ्चारगृहमा काम गरे पनि हिमचिम बाक्लो यतै बसाइ सरेपछि भयो।
मेमोरियल ड्राइभ जुनसुकै ऋतुमा सुन्दर लाग्छ मलाई। आफ्ना स्मृतिमा टाँसिएका पलहरू जस्तो। किनार यताको भए पनि यादहरूले कतिखेर नदी पार गर्छ थाहै नहुने!
रेडियालाई पार्श्वध्वनि बनाएर यता हुइँकिएको म कतिखेर नुवाकोट पुगेँ पुगेँ!
कोठामा रेडियो थिएन, तर मैले सबभन्दा धेरै रेडियो सुनेको जन्मथलो राइसिङ बजारमा हो। त्यो दाँतका पंक्तिजस्तै जोडिएको बजार। हरेक घरमा पसल, हरेक पसलमा रेडियो र हरेक रेडियोमा बज्थ्यो रेडियो नेपाल। बजारको वल्लो छेउबाट हिँडेर पल्लो छेउ पुग्दासम्म रेडियोमा प्रसारित सामग्रीको तारतम्य टुट्न पाउँदैनथ्यो। त्यसैले उठेदेखि नसुतेसम्म रेडियोको लयमा चल्थ्यो जिन्दगी!
त्यतिखेर वैशाख/जेठमा बिहानको पढाइ हुन्थ्यो। रेडियोमै बज्ने शंखध्वनिले उठाउँथ्यो। रेडियोकै बाल कार्यक्रमले सिकाउँथ्यो, त्यसमै आउने अनुरोध संगीतले नचाउँथ्यो।
जाडो महिनामा कुहिरोले अबेरसम्म छोप्थ्यो राइसिङलाई। त्यतिखेर त्यही रेडियो बिहान घर्किएको जनाउ दिँदै घन्किन्थ्यो।
'सुपर टप ... धुलाइको साबुन सुपर टप!'
त्यो विज्ञापनसँगै रेडियाले टुँट, टुँट, टुँट गरेर ९ बजेको समाचार भन्न नथाल्दो हो त हामीले स्कुल जाने बेला बितेको पत्तै पाउँदैनथ्यौं। त्यही आवाज त थियो, खेल्दाखेल्दैको गुच्चा छाडेर हारजितको टुंगै नलगाई स्कुल कुदाउने!
रेडियोको रफ्तारमै पूरा हुन्थ्यो उठ्ने, पढ्ने, खेल्ने, खाने, चुठ्ने, कुद्ने र सुत्ने काम।
'आई नाइन्टी-थ्रीमा अलिक ट्राफिक देखायो, हामीले आई नाइन्टी-फाइभ लिनुपर्ने भयो है,' दिमागमा रेडियो बज्दा हाइवेका नाम पनि रेडियोको 'फ्रिक्वेन्सी' जस्तै लाग्दो रहेछ।
मनोजले सडक बदल्ने कुरा गरेका रहेछन्, मैले ठानेँ रेडियो फ्रिवेन्सी फेर्ने कुरा। फेरि यसो सोच्दा सडक र रेडियाको तारतम्य पनि मिल्दोजुल्दो लाग्यो।
त्यतिखेर राइसिङबाट त्रिशूली बजार हुँदै काठमाडौं जाने एउटै मात्र सडक थियो। र, थियो रेडियो नेपालका स्रोता र त्यो सडकका बाक्ला यात्रु। खचाखच यात्रुको भिडमा च्यापिँदै काठमाडौं पुगेपछि मैले चाल पाएको हुँ, कहिल्यै नहिँडेका बाटा र कहिल्यै नसुनेका रेडियोबारे।
'ला सुगम (पोखरेल) अझै उठेको छैन रे। पहिला मै कहाँ आओ भन्यो नारन (श्रेष्ठ) ले,' विकल्प छ र त बदलिन्छ, हामीलाई 'डेस्टिनेसन' बदल्न दुबिधा भएन।
हाम्रो यात्रा नारायणको घरतिर सोझियो।
नारायण श्रेष्ठ रेडियो नेपालको विकल्पमा रेडियो सगरमाथा सुन्न थालेपछि चिनेका साथी हुन्। पहिला रेडियोमा सुनेँ, अलिक पछि रत्नराज्यलक्ष्मी कलेजमा भेटिए। हामी त पत्रकारिताका सहपाठी पो रहेछौं। उनले श्रव्यदृश्य पत्रकारितामा छलाङ लगाए। बिबिसीको 'साझा सवाल' मा खुब रूचाइएका नारायण साराले सफल देखिरहेका बेला एक्कासि अलप भए।
'नारायण त युनिभर्सिटी अफ बाल्टिमोर मेरिल्यान्डबाट ग्लोबल अफेयर्समा मास्टर्स गर्दैछन्,' जतिखेर म पत्रकारिताको कोलाहलबाट वञ्चित बन्नुपरेकाले अशान्त थिएँ, त्यही बेला स्रोतले यो कुरा सुनायो।
यो खबरले मलाई दुइटा खुसी एकसाथ दियो। एउटा खुसी मनमै राखेँ, अर्को तत्काल उनलाई फोन गरेर सुनाएँ, 'म पनि यतै आएँ नि।'
'अनि के गरिँदै छ?'
'खै के भनुँ, म त रनभुल्ल छु।'
'त्यसो भए कलेज ज्वाइन गरिहाल, बाँकी कुरा आफै प्रस्ट हुँदै जान्छ,' उनले सिधै पढ्न सुझाए।
केही पढौं न त भनेर म बस्टन आएँ। मेरिल्यान्डमा पढाइ सकेर नारायण कामको सिलसिलामा मिनिसोटा पुगे। अहिले हामी करिब करिब छिमेकी भएका छौं। भेटघाट, जमघट बाक्लिँदै गएको छ। तैपनि एउटा जिज्ञासा अझै थियो।
'पत्रकारितामा त्यति सफल मान्छे एक्कासि किन यता आए?' प्रश्नको तीरले सबलाई आच्छुआच्छु पार्ने श्रेष्ठलाई उनकै घरमा, उनैले बनाएको कफीको पहिलो घुट्को निलेपछि मैले सोधेँ।
'खोजी गर्ने सिलसिलाकै निरन्तरताले,' यति मात्र सुन्दा अलिक अमूर्त लागेपछि मैले यो वाक्यको पृष्ठभूमि जान्न खोजेँ।
उनी पनि आफ्नो जन्मथलो गोरखा पुगे। मूलढोकाकै नजिक झुन्ड्याएको रेडियो उसैगरी बजिरहेको थियो। तर त्यो दिन जे चिजले जसरी उनलाई छोयो, त्यसअघि त्यस्तो भएको रहेनछ।
'२०४६ सालको जनआन्दोलनपछि बनेको पहिलो प्रजातान्त्रिक सरकारको बजेट प्रस्तुत गर्दै थिए अर्थमन्त्री महेश आचार्य। बजेटलाई लिएर गाउँलेहरूमा धेरै आशा र अपेक्षाहरू थिए। तर ती पूरा भएनन्। त्यो भाषणलाई लिएर मन्त्रीका अन्तर्वार्ताहरू पनि आए। तर म र मेरा गाउँलेका मनमा उब्जिएका प्रश्न कसैले सोधिदिएन,' उनलाई त्यही दिन लाग्यो हातमा माइक हुनेसँग 'पावर' हुन्छ, जनताका प्रश्न शासकसामु राख्न सक्ने।
स्कुल सकेपछि त्यही 'पावर' खोज्न उनी काठमाडौं छिरे।
आफूलाई प्रमाणित नगरी 'पावर' मा पुगिँदैन। मैले चिन्दा उनी सायद आफूलाई प्रामाणित गर्ने प्रारम्भिक चरणमा थिए।
नेपाल ग्यासजडित नयाँ भान्सा, भृकुटीमण्डपमा किनेको नयाँ चाइनिज रेडियो, प्राइम ब्रोडकास्टिङको नयाँ जागिर, त्योभन्दा बढी म नयाँ 'कुक'। रेडियो सगरमाथामा ९ बजे बिहान 'मिर्मिरे भाका' आउँदा म कराईमा झ्वाइँय्य तरकारी ओइरिरहेको हुन्थेँ।
'कुहिरो चिर्दै रूखका पात-पातमा घामका किरण छिर्दैछन्। कठ्याङ्ग्रिएको काठमाडौंले राहतको न्यानो पाउँदैछ...' यस्तै यस्तै साहित्यिक स्क्रिप्ट पढ्ने ती साथी मलाई निकै बौद्धिक लाग्थ्यो।
'नाइट क्याप्पस' मा भेटिँदा म सोध्थेँ, 'कसरी आउँछन्, धाराप्रवाह यस्ता शब्द?'
'खै, स्टुडियो छिरेपछि कहाँबाट आउँथे आउँथे। त्यतिखेर यस्तो लाग्थ्यो, खुलामञ्चमा उभिएर दिनभरि कविता भन्न परे पनि सक्छु,' उनको जबाफ अहिले पनि त्यही छ।
'त्यतिखेर बोलेको अहिले सुन्दा कस्तो लाग्दो हो है, तर एउटै रेकर्ड सुरक्षित छैन,' नारायणको 'ब्याक यार्ड' मा बसेर पत्रकारिताका पुराना दिन सम्झँदा हामी तीनै जना रोमाञ्चित थियौं।
'तिमीलाई त सोसल मिडियामा सधैं देश फर्कन अनुरोध गरेको सुनिन्छ, के छ विचार ?' दर्शकको दुहाई दिँदै सायद मनोजले नारायणको मनोविज्ञान जान्न खोजे।
'तिमी नि?' उनले प्रतिप्रश्न गरेर टारे।
दुवै खिस्स हाँसे, अनि प्रसंग अन्तै मोडियो।
काठमाडौंलाई प्रश्न गर्न नारायणले गोरखा छाडे। काठमाडौंले उनलाई सिकायो, गाोरखालाई दिने जबाफभन्दा धेरै प्रश्नको कुहिरोमा राजधानी स्वयं रूमल्लिएको छ। जुन जबाफले आफ्ना गाउँलेलाई चित्त बुझाउन सकिँदैन, त्यो कार्यका लागि कति माइक तेर्स्याएर हिँडिरहनु?
एकदिन नारायणले सम्भवतः सबभन्दा धेरैले हेर्ने नेपाली टक शो चलाएर सबभन्दा धेरै तलब कमाउने काम छाडे।
'गोरखाबाट काठमाडौं छिरेकै मनोदशामा म अमेरिका हिँडे। काठमाडौं पनि गोरखा जत्तिकै निरीह रहेको चाल पाएपछि यताको बाटो तताएको हुँ।'
'कस्तो लागिरहेको छ त यताको बाटो?'
'बाटाहरू धेरै छन्, फराकिला छन् तर यात्रा नै गर्न पर्दैन। काम पनि घरबाट छ।'
'अनि?'
'अनि कहिलेकाहीँ कविता लेख्छु!'
जति म हिँड्दै जान्छु, बाटाहरू बांगिएर हिँड्छन मैसँग
र तुहिन्छन् कतै एकलासमा!
बाह्रखरी किताबका पानाहरूबाटै हराएजस्तो दाहिने र बाईमात्रा
भन्न खोजिरहेको छु म केही,
सायद, शब्दहरू नै छैनन्,
बोल्न खोजिरहेछु म
सायद, मसँग बोली नै छैन
लेख्न खोजिरहेछु म
सायद, अक्षरहरू नै भागी जान्छन्
नारायण मोबाइलमा कविता पढिरहेका थिए, मनोजकोमा सुगमको फोन आयो।
फोन कानमै टाँसेर हत्केलाले 'स्पिकर' छोप्दै उनले साउतीमा खबर पार गरे, 'सुगमले ठेगाना पठायो, निस्कौं।'
नारायणले चलाउने कार्यक्रम 'मिर्मिरे भाका' लगत्तै रेडियोमा रन्किन्थे सुगम। 'नयाँ पुस्ता' कार्यक्रमले उनलाई नयाँ पुस्तामा गतिलो चिनारी दिइसकेको थियो। त्यसमाथि त्यही ताक ल्याएको गीत 'फेरि त्यो दिन सम्झन चाहन्न' ले त उनलाई बिर्सनै नसक्ने बनायो।
लोकले सम्झने/बिर्सने चल्दै गर्छ। यतिखेर नारायण, मनोज, सुगम र म मित्रता निर्वाहमा उत्साहित छौं। पुराना साथी भनेका पुराना दिनका 'डेटा' हुन्। डेटाको आकार जति ठूलो, सम्बन्ध उति नै प्रगाढ!
'तिमीहरूलाई मिडियाले यो ठाउँमा पुर्याएको हो। त्यसैले तिमीहरूले पनि मिडियाका लागि केही न केही गर्नुपर्छ,' सामान्य भलाकुसारीपछि सुगमले यसो भन्दा नारायण र मनोजले मुन्टो हल्लाएर स्वीकृति जनाएजस्तो गरे।
सुगमले मोबाइलतर्फ संकेत गर्दै अझै थपे, 'अहिले ब्रोडकास्टर हुन थोडी पहिलेजस्तो सगरमाथा वा बिबिसी चाहिन्छ। यी यही एउटा भए पुग्छ ब्रो!'
'दाइ तपाईं हुन्छ मात्रै भन्नु, हामी क्यामरा, माइक, स्टुडियो सबै प्रबन्ध गर्छौं,' सुगमको यत्ति आड पाएपछि नारायण नजिक पुगेर एक युवा बोले। पछि थाहा भयो उनी कुनै नेपाली संस्थामा आबद्ध रहेछन्, 'साझा सवाल' का फ्यान उनमा नारायणलाई प्रस्तोता बनाएर पोडकास्ट चलाउने धोको रहेछ।
मनोजले आँखा तन्काए, ल नछोड भनेजसरी।
सुगमले 'ल आजैबाट अघि बढ' शैलीमा धाप मारे।
नारायणले सबैतिर मुन्टो घुमाए र 'प्यानिङ' गरेको क्यामेरा कुनै वस्तुमा अडिएजसरी मलाई हेर्दै भने, 'अब यो टिमवर्क हो। साथीहरूले मिलेर गरौं भन्छौ भने गरौं।'
एकछिन त्यहाँ पत्रकारिताका ज्ञान, सिप र प्रभावका कुरा भए। प्रवासले दिनुपर्ने र दिनसक्ने 'कन्टेन्ट' का कुरा भए। नयाँ प्रविधि र प्रयोगका विषयमा विमर्श गरियो।
क्यानडाबाट सोझै अमेरिका आएका सुगम लगत्तै अस्ट्रेलिया जाँदै रहेछन्। उनको 'क्यालेन्डर' सुन्दा लाग्थ्यो, गीत बनाउन मात्रै नेपाल जाने हो, कमाउन त विदेशमै भ्याइनभ्याइ। प्रवासको प्रभाव संगीतमा मात्रै यतिविधि हो कि अरू क्षेत्रमा पनि होला? एकछिन विषय यतातिर मोडियो। निष्कर्ष के आयो भने जहाँ नेपाली त्यहाँ अवसर, जति धेरै नेपाली उति धेरै अवसर।
पुराना 'फोर इडियट्स' को मित्र-मिलनले त्यो दिन भरपुर ऊर्जा भरिएको महसुस भयो।
फर्कँदा गाडीमा हामी धेरै बोलेनौं। सबैको दिमागमा 'ब्रोडकास्टिङ ह्यापिनेस' प्रसारित भइरहेको हुनुपर्छ। हामीले भोलि बिर्सिएका थियौं, हिजोले हल्लाइरहेको थियो। पत्रकारिताको पुरानै नशाको रमरममा मस्त थियौं। गाडीमा उही रेडियो बजिरहेको थियो, रेडियो उसैगरी डोनेसन मागिरेहेको थियो। आई नाइन्टी-थ्री नर्थतिर लागेको गाडी बस्टन डाउनटाउन मुनिको सुरूङ हुँदै अगाडि बढ्यो।
'भोलि रिमोट हो कि अनसाइट?' मौनता चिर्दै मनोजले सोधे।
साइटमा जानुपर्ने सम्झेर मन बोझिलो हुँदै थियो, रेडियो पनि झ्यारझ्यार गर्न थाल्यो।
'यो सुरूङमा न राम्रोसँग जिपिएस चल्छ, न रेडियो,' मनोजले रेडियो बन्द गरे।
सुरूङभित्रका गाडीहरूले बालेका हेडलाइट 'रियरभ्यू मिरर' मा निकै चम्किलो देखिन्थ्यो। दिउँसै अँध्यारोमा यात्रा गर्नुपरेको उकुसमुकुसले गाँज्दै थियो, अलिपर सुरूङको पल्लोछेउ अलि अलि उज्यालो देखियो।
***