विद्यालय शिक्षामा शिक्षकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। शिक्षक विद्यार्थीलाई शैक्षिक ज्ञान दिन्छन्, तिनको जीवनमा मार्गदर्शन गर्छन्, नैतिक मूल्य सिकाउँछन् र व्यक्तित्व विकासमा सहयोग गर्छन्।
सामान्यतया विद्यार्थीहरूले आफ्ना शिक्षकलाई एक आदर्श व्यक्तिका रूपमा लिन्छन्। शिक्षकको प्रत्येक क्रियाकलाप र व्यवहारले विद्यार्थीको सोच, आचरण र दृष्टिकोणमा प्रभाव पार्छ। राम्रो शिक्षकले विद्यार्थीको प्रतिभा उजागर गर्न, असल कर्ममा प्रेरित गर्न र आत्मविश्वास बढाउन मद्दत गर्छ।
झर्किने, रिसाउने र गाली गर्ने स्वभावका शिक्षक छन् भने विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्छ। कक्षाको वातावरण असुरक्षित हुन सक्छ। विद्यार्थीहरू असुरक्षाको डर र मानसिक तनावको शिकार हुन सक्छन्।
शिक्षकको नकारात्मक व्यवहारले विद्यार्थीको आत्मसम्मानमा असर गर्छ। उनीहरूको शैक्षिक प्रदर्शनमा पनि प्रतिकूल प्रभाव पार्न सक्छ।
यसअतिरिक्त नकारात्मक वातावरणले विद्यार्थीको मनोवैज्ञानिक विकासमा पनि असर पर्न सक्छ। परिणामस्वरूप तिनको भावनात्मक सन्तुलन बिग्रिन सक्छ।
झर्किने र गाली गर्ने शिक्षकबाट विद्यार्थीले पनि त्यस्तै व्यवहार सिक्ने हुन्छ। त्यसको दीर्घकालीन प्रभाव निकै नकारात्मक हुन सक्छ।
विद्यार्थीसँग झर्केर बोल्ने र तिनलाई गाली गरिरहने शिक्षक छन् भने विद्यार्थीको सामाजिक सम्बन्ध, भावी व्यावसायिक जीवन र समग्र व्यक्तित्वमा नकारात्मक प्रभाव पर्न जान्छ।
शिक्षकको यस्तो व्यवहार शिक्षणमा एउटा समस्या हो।
यस्तो समस्या समाधानका लागि शिक्षकको व्यवहार सुधार गर्नुपर्छ।
शिक्षणमा कक्षाको वातावरण सुरक्षित र सहयोगी हुनु अत्यन्त आवश्यक हुन्छ। सुरक्षित वातावरणमा विद्यार्थीहरूले आफूलाई खुसी र सन्तुलित अनुभव गर्छन्। यसबाट उनीहरूको सिकाइ र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पर्छ।
शिक्षक विद्यार्थीसँग रिसाइरहने, झर्किने र गाली गर्ने स्वभावका छन् भने कक्षाको वातावरण असुरक्षित बन्छ।
असुरक्षित वातावरणमा विद्यार्थीहरूले आफूलाई अभिव्यक्त गर्न असजिलो महसुस गर्छन्। तिनको मनमा तनाव अनुभव हुन्छ। यस्तो वातावरणमा विद्यार्थीको मनोवैज्ञानिक सन्तुलन असर पर्छ। परिणामस्वरूप तिनीहरूको आत्मविश्वास घट्छ। सिकाइमा नकारात्मक असर पर्छ।
यस्तो वातावरणमा विद्यार्थीहरू प्रश्न गर्न हिच्किचाउँछन्, आफ्नो विचार प्रकट गर्न असमर्थ हुन्छन्, गल्ती पो भइहाल्ने हो कि भन्ने डरमा हुन्छन्। उनीहरूको रचनात्मकता र नवीनतामा बाधा पुग्छ।
तनाव र डरको असुरक्षित वातावरणले विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा पनि दीर्घकालीन असर पर्न सक्छ। उनीहरूमा चिन्ता र निराशा बढ्न सक्छ। अन्य मानसिक समस्या उत्पन्न हुन सक्छ। असुरक्षित वातावरणमा विद्यार्थीहरू समूहमा काम गर्न कठिनाइ अनुभव गर्छन्। उनीहरूको सामाजिक कौशल र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ। विद्यार्थीले आफूलाई सिकाइमा योग्य नठान्न सक्छ।
यसो भयो भने सिकाइमा गम्भीर नकारात्मक असर पर्छ। सुरक्षित र समर्थनात्मक वातावरणको कमीले विद्यार्थीहरूको समग्र विकासमा बाधा पुग्छ।
शिक्षकले कक्षामा सुरक्षित, सकारात्मक र सहयोगी वातावरण निर्माण गर्न प्रयत्न गर्नुपर्छ। शिक्षक संयमित हुनुपर्छ। यसो हुँदा विद्यार्थीहरूको आत्मविश्वास बढ्छ। प्रश्न गर्न उत्साहित हुन्छन्, शैक्षिक र व्यक्तिगत जीवनमा सकारात्मक प्रभाव पर्छ। आत्मसम्मानको कमीले विद्यार्थीको सिकाइ र व्यक्तिगत जीवनमा दीर्घकालीन रूपले नकारात्मक प्रभाव पर्न सक्छ। यसो हुन नदिन शिक्षकले विद्यार्थीले आफ्नो क्षमतामा पहिचान गर्न सक्ने वतावरण बनाउनुपर्छ।
नकारात्मक मनोवैज्ञानिक प्रभावका कारण विद्यार्थीको आत्मविश्वास घट्छ। आफ्नो क्षमता प्रदर्शन गर्न असमर्थ हुन्छ। आत्मविश्वासको कमीले तिनीहरूलाई कक्षा कोठामा, दैनिक जीवनमा र परीक्षामा चुनौतीको सामना गर्न नसक्ने बनाउँछ। निरन्तरको चिन्ताले अवसादको समस्या सिर्जना गर्न सक्छ। अवसादले शारीरिक स्वास्थ्यमा पनि असर पर्न सक्छ। परिणामस्वरूप बढी थकान अनुभव गर्ने, बढी निद्रा लाग्ने वा अनिद्रा हुने जस्ता समस्या हुन सक्छन्।
विद्यार्थीहरूमा यस्तो समस्या हुन नदिन शिक्षकले आफ्नो व्यवहार सुधार गर्नुपर्छ। शिक्षकमा सधैं सकारात्मक र समर्थनात्मक दृष्टिकोण हुनुपर्छ। प्रत्येक शिक्षकले विद्यार्थीले आत्मसम्मान अनुभव गर्ने, तिनको आत्मविश्वास बढ्ने र मनोवैज्ञानिक सन्तुलन सुदृढ गर्ने वातावरण बनाउनुपर्छ।
विद्यार्थीहरूले शिक्षकलाई आफ्नो आदर्श मान्छन्। शिक्षकको व्यवहार र दृष्टिकोणले विद्यार्थीको जीवनमा गहिरो प्रभाव पार्छ। शिक्षकको हरेक क्रियाकलापले विद्यार्थीहरूको सोच, व्यवहार र मूल्य प्रणालीमा छाप छोड्छ। विद्यार्थीले शिक्षकको व्यवहार अनुकरण गर्छन्। शिक्षकको व्यवहार नकारात्मक भयो भने विद्यार्थीको व्यक्तित्व विकासमा हानि पुग्छ।
विद्यार्थीले शिक्षकको नकारात्मक व्यवहार अनुकरण गर्न थाले भने त्यसले यक्तिगत जीवनमा मात्रै होइन, दीर्घकालमा राष्ट्रलाई पनि असर गर्छ।
शिक्षकको नकारात्मक व्यवहारले विद्यार्थीहरूको सामाजिक सम्बन्धमा समस्या उत्पन्न गर्न सक्छ, उनीहरूले आफ्ना साथीसँग, परिवारजनसँग र अन्य व्यक्तिहरूसँग असभ्य व्यवहार गर्न सक्छन्। यस्तो नकारात्मकताले विद्यार्थीको चरित्र विकासमा गम्भीर असर पार्छ। नैतिक मूल्य ह्रास हुन्छ। इमानदारी, आदर, सहिष्णुता र करूणाभाव कमजोर हुन्छ। स्वार्थी, असहिष्णु र अनैतिक बन्न सक्छन्।
यसले समग्रमा भविष्यमा देशको नागरिकको सामाजिक जीवन खराब हुन सक्छ।
यसो हुन नदिन शिक्षकले आफूलाई एक सकारात्मक आदर्शका रूपमा प्रस्तुत गर्नुपर्छ। शिक्षक संयमित, धैर्यवान र सहयोगी हुनुपर्छ।
शिक्षकले विद्यार्थीमा सकारात्मक सोच, सहिष्णुता र इमानदारी विकास गर्न हरतरहले मद्दत गर्नुपर्छ। शिक्षक शालीन, सभ्य र सुसंस्कृत छन् भने विद्यार्थीहरूले पनि त्यही मार्ग अनुसरण गर्छन्।
विद्यालयको शिक्षण गतिविधि बलियो र शिक्षकलाई मार्गदर्शक बनाउन निम्न उपायहरू प्रभावकारी हुन सक्छन्।
शिक्षक प्रशिक्षण
शिक्षकहरूको व्यवहार सुधार गर्न उनीहरूलाई नियमित रूपमा प्रशिक्षण दिनु आवश्यक छ। प्रशिक्षणले शिक्षकको शिक्षण कौशल र व्यावसायिक विकासमा सहयोग पुर्याउँछ। नवीनतम शिक्षण विधिहरूसँग अद्यावधिक राख्छ। शिक्षकहरूले सुसंस्कृत व्यवहार र प्रभावकारी सञ्चारकला सिक्छन्। यस्ता शिक्षकबाट विद्यार्थीले सहयोगी वातावरण पाउँछन्।
अर्को महत्त्वपूर्ण पक्ष शिक्षकको ‘भावनात्मक बुद्धिमत्ता’ विकास पनि हो। यससम्बन्धी प्रशिक्षणले शिक्षकलाई विद्यार्थीको मनोभाव थाहा पाउन र व्यवस्थापन गर्न सिकाउँछ। शिक्षकहरूले आफ्नो भनोभाव पनि व्यवस्थापन गर्न सिक्छन्। आफ्नो मनोभाव व्यवस्थापन गर्न सक्षम शिक्षक कक्षामा शान्त र सकारात्मक रहन सक्छ। कुनै विद्यार्थीले कक्षामा अनुशासन भंग गरेको अवस्थामा पनि शिक्षकले संयमका साथ विद्यार्थीलाई नियन्त्रणमा राख्न सक्छ।
प्रशिक्षण कार्यक्रमहरूको एक हिस्सा शिक्षकका लागि सहकार्य र समूह कार्यशाला हो। यसले शिक्षकलाई आफ्ना अनुभवहरू साझा गर्न, एकअर्काबाट सिक्न र आफ्नो शिक्षण अभ्यास सुधार गर्न अवसर दिन्छ।
कुनै विद्यालयले शिक्षकका लागि मासिक रूपमा समूह बैठक आयोजना गर्न सक्छ जहाँ शिक्षकहरूले आफ्नो सफलताका कथा र समाधान हुन नसकेका समस्याहरूबारे छलफल गर्छन्। यसले शिक्षकको व्यक्तिगत क्षमता र व्यावसायिकता र विकासमा मद्दत गर्छ।
सकारात्मक प्रोत्साहन
विद्यार्थीको व्यवहार सुधार गर्न सकारात्मक प्रोत्साहन निकै महत्त्वपूर्ण हुन्छ। यसले विद्यार्थीको आत्मविश्वास बढाउँछ। कुनै विद्यार्थीले नियमित गृहकार्य गर्दा, उत्कृष्ट नतिजा प्राप्त गर्दा, परियोजना कार्य उत्कृष्ट गर्दा विद्यालयले पुरस्कृत र प्रोत्साहित गर्न सक्छ।
विद्यालयले ‘महिनाभरिको उत्कृष्ट विद्यार्थी’ लाई पुरस्कृत गर्न सक्छ। यसले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्छ। सिकाइ गतिविधिमा सहभागिता बढाउँछ। यस्तो गतिविधिले सबै विद्यार्थीलाई उत्कृष्ट नतिजाका लागि प्रेरित गर्छ।
सकारात्मक प्रोत्साहनको अर्को तरिका सामूहिक कार्य हो। यसले विद्यार्थीहरूलाई समूहमा काम गर्न र एकअर्कालाई सहयोग गर्न मद्दत गर्छ। सामूहिक सहभागिता, छलफल र निर्णयबाट विद्यार्थीहरू समस्या समाधानका उपायहरू पहिल्याउन सक्छन्। यसका लागि शिक्षकले सामूहिक परियोजना कार्य दिन सक्छन्।
मनोवैज्ञानिक सहयोग
विद्यार्थीहरूको मानसिक स्वास्थ्य सबल बनाउन मनोवैज्ञानिक परामर्श दिनुपर्छ। यस्तो परामर्शले विद्यार्थीलाई आफ्नो भावनात्मक समस्या समाधान गर्न मद्दत गर्छ। कुनै विद्यार्थीले कुनै कारणले तनाव वा चिन्ता अनुभव गरेको छ भने मनोवैज्ञानिक परामर्शमार्फत उसलाई सहज अवस्थामा फर्काउन सकिन्छ।
गम्भीर मानसिक स्वास्थ्य समस्या भएका विद्यार्थीहरूका लागि मनोवैज्ञानिक थेरापी निकै महत्त्वपूर्ण हुन्छ। यसमा विद्यालयले व्यावसायिक थेरापिस्टको मद्दत लिनुपर्छ। केही दिनको नियमित थेरापीले आघात, अवसाद वा अन्य मानसिक समस्या समाधानमा मद्दत पुर्याउँछ।
विद्यालयले मानसिक स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम पनि आयोजना गर्नुपर्छ। यसबाट विद्यार्थीहरूले मानसिक स्वास्थ्यबारे जानकारी हासिल गर्छन्। आफ्ना समस्या पहिचान गर्न सक्ने र सहयोगका लागि आग्रह गर्न सक्ने हुन्छन्। यस्तो कार्यक्रमका लागि विद्यालयले विशेषज्ञको मद्दत लिनुपर्छ।
अभिभावकको सहभागिता
विद्यालयमा हुने शैक्षिक गतिविधिमा अभिभावकको सक्रिय सहभागिता आवश्यक पर्छ। अभिभावकको जति बढी सहभागिता हुन्छ तिनले आफ्ना विद्यार्थी-छोराछोरीको सिकाइ र व्यक्तित्व विकासमा त्यति नै बढी मद्दत गर्न सक्छन्।
अभिभावकको सहभागिता बढाउन विद्यालयले अभिभावक-शिक्षक बैठक आयोजना गर्नुपर्छ। अभिभावक र शिक्षकबीचमा बलियो सम्बन्ध बनाउनुपर्छ। विद्यालयमा आएर आफ्ना विद्यार्थी-छोराछोरीको जानकारी लिन अभिभावकलाई प्रेरित गर्नुपर्छ। अभिभावकलाई विद्यालयका संस्थागत गतिविधिमा सहभागी गराउनु अर्को राम्रो तरिका हो। यसले सकारात्मक शैक्षिक वातावरण बनाउन मद्दत पुग्छ।
'अभिभावक दिवस' यस्तै एउटा संस्थागत गतिविधि हो जसमा अभिभावकहरूले आफ्ना छराछोरीको अतिरिक्त क्रियाकलापबारे जानकारी पाउँछन्। यसले विद्यार्थीहरूमा उत्साह र प्रेरणा उत्पन्न गर्छ। विद्यालयले अभिभावकहरूलाई शैक्षिक सामग्री, अनलाइन स्रोत र शैक्षिक रणनीतिहरूबारे जानकारी दिने कार्यक्रम पनि आयोजना गर्नुपर्छ। यसो हुँदा अभिभावकले आफ्ना छोराछोरीको सिकाइ प्रक्रियामा सहयोग गर्न सक्छन्।
निष्कर्षमा, शिक्षक जहिले पनि विद्यार्थीको सहयोगी बन्नुपर्छ। शिक्षकले विद्यार्थीको आत्मविश्वास बढाउनुपर्छ, सिकाइका लागि उनीहरूलाई प्रेरित र प्रोत्साहित गर्नुपर्छ। सिकाइमा शिक्षक एक प्रेरक र आदर्श व्यक्ति बन्न सक्नुपर्छ।
हरेक शिक्षकमा विद्यार्थीलाई पार लगाउन सक्छु, उत्कष्ट नतिजाका लागि प्रेरित गर्न सक्छु, कमजोरलाई पनि न्यूनतम सिकाइको स्तरमा पुर्याउन सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ। यसो भए मात्र विद्यालयले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सक्छ।
शिक्षकको काम विद्यार्थीलाई पुस्तकको पाठ पढाउनु, पाठको अभ्यास गराउनु र परीक्षामा उत्तीर्ण गराउनु मात्र होइन; उनीहरूको मार्गदर्शक र प्रेरणाको स्रोत बन्नु पनि हो। संयमित, धैर्यवान र सकारात्मक दृष्टियुक्त शिक्षक मात्रै साँच्चैको मार्गदर्शक, प्रेरक र समग्रमा आदर्श व्यक्ति हुन सक्छ।
यस्ता शिक्षक भएको अवस्थामा मात्र हाम्रो विद्यालय शिक्षा बलियो हुन सक्छ।