जाली, फटाहा, शोषक र सामन्तीहरूको शासन परास्त गर्न नेपालको मध्यपश्चिमबाट माओवादी आन्दोलन उठेपछि म पनि कलिलै उमेरमा त्यही 'रातो आन्दोलन' मा क्रान्तिकारी योद्धा बनेर छिरेको युवा हुँ।
त्यो बेला कति ठूलो उत्साह थियो, आत्मविश्वास कति ठूलो थियो, अनि कति ठूलो थियो सपना!
म जुन उत्साह र भरोसाका साथ माओवादी आन्दोलनमा होमिएको थिएँ, शान्ति प्रक्रियापछि संविधान सभाको चुनावमा आउँदा नेपाली जनताले पनि हाम्रो पार्टीप्रति त्यही भरोसा देखाएका थिए।
२०६४ सालको संविधान सभा निर्वाचनमा करिब २९ प्रतिशत मत पाएर हाम्रो पार्टी माओवादी पहिलो पार्टी बनेको थियो। तर पार्टी ठीक ढंगले चलाउन नसक्दा २०७० मा १५ प्रतिशत, २०७४ मा १३ हुँदै २०७९ को निर्वाचनमा ११ प्रतिशत हाराहारी मतमा खुम्चियो।
हाम्रो नेतृत्वले कहिले एमालेसँग अँगालो र कहिले कांग्रेससँग हातेमालो गर्दागर्दै आफू खुम्चिएको पत्तै पाएन। योभन्दा पनि गम्भीर कुरा, कांग्रेस या एमालेको सहाराबिना चुनावमा समेत खडा हुनै नसक्ने गरी पार्टीलाई परजीवी बनायौं।
एक समयको विशाल पार्टीलाई यति रूग्ण र परजीवी कसले बनायो?
अन्याय र असमानताविरूद्ध लडेको, अनि त्याग, समर्पण र बलिदानपूर्ण संघर्षको नेतृत्व गरेको अद्वितीय इतिहास हामीसँग छ। शान्ति प्रक्रियामा आएको १७ वर्षमा कुनै न कुनै रूपमा हाम्रो दल सत्ताकै वरिपरि थियो। सत्तामै थियो। आज सत्ताबाट बाहिरिरहँदा टेक्नका लागि माओवादीसँग जनताको आँगन पनि छैन। किन?
हामीलाई हिजो भरोसा गरेर जिताएका जनताका आँखामा आज आक्रोशमिश्रित कैयन प्रश्न छन्। ती जायज प्रश्नहरूको हामीसँग जबाफ छैन। जनाधार झनै खस्किएको छ, विश्वास झनै गुमेको छ।
जनतामाझ गिरेको साख र दलभित्र बढ्दो वैचारिक अस्थिरता र सांगठनिक अराजकताले आज माओवादीलाई जहाँ पुर्याएको छ, त्यसको प्रमुख दोष मूल नेतृत्वले नै लिनुपर्छ। बालुवाटारबाट बाहिरिएर एमालेले धोका दियो या कांग्रेसले साथ दिएन भनेर मूल प्रश्नबाट विषयान्तर नगरौं। मूल विषयबाट नभागौं।
हामी आफैलाई सोधौं — यी १७ वर्षमा हामीले के गर्यौं?
आज हामी ऐना हेरेर आफूले आफैलाई प्रश्न गर्ने ठाउँमा पुगेका छौं। आज हामी आफ्नो प्रश्नको जबाफ आफैले खोज्ने परिस्थितिमा छौं। आफूले आफैलाई प्रश्न गर्नु भनेको आत्मसमीक्षा गर्नु हो। आत्मसमीक्षा हामी कम्युनिस्टको शब्दकोषमा सबभन्दा सजिलो शब्द हो।
शान्ति प्रक्रियाभन्दा अगाडि एउटा परिस्थिति थियो। त्यसबारे अहिले म यहाँ केही उल्लेख गर्न चाहन्नँ। शान्ति प्रक्रियापछिका प्रत्येक दिन, प्रत्येक पल हामीले जनताको काममा लगाउनुपर्ने थियो। तर पार्टी नेतृत्वले आफूलाई यसरी विकसित गर्यो कि, नेतृत्वको वरिपरि देखा नपर्नेहरूलाई कार्यकर्ता नै मान्न छोडियो। जनताकै बीचमा बस्ने, जनताकै काम गर्ने माओवादीका नेता-कार्यकर्तालाई मिति गुज्रिएका औषधिजस्तै व्यवहार गर्न थालियो।
कार्यकर्ताले छानेर होइन, नेतृत्वले टिपेर नेता बनाउने प्रवृत्ति मौलाउँदै गयो। नेता बन्न अझ ठूलो नेताले मात्रै चिन्दा पुग्ने भएपछि कार्यकर्ताको पंक्ति जनता छाडेर खर्लप्पै नेतातिर फर्कियो। कार्यकर्ता जनतासँग टाढियो। यसले पार्टीमा सांगठनिक स्वेच्छाचारिता विकास गर्यो।
व्यक्ति संगठनको अधिनस्थ, अल्पमत बहुमतको अधिनस्थ, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ, पार्टीका सम्पूर्ण कमिटीहरू केन्द्रीय कमिटीको अधिनस्थ, केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ र महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरूको अधिनस्थ हुने हाम्रो मूल मन्त्र थियो। त्यसलाई पार्टी नेतृत्वले पूरै बिर्सियो। वा, बेवास्ता गर्यो। पार्टी मूल नेता र तिनका परिवारको अधिनस्थ हुन थाल्यो। परिवारलाई केन्द्रमा राखेर पार्टीका निर्णय हुन थाले।
पार्टी सदस्यहरूका बीचबाट प्रतिनिधि छनौट हुन्छ, छनौट भएका प्रतिनिधिबीच अधिवेशन हुन्छ र यसले नै संगठनको निर्वाचन गर्छ भन्ने कुरा बिस्तारै बिस्तारै हाम्रो व्यवहार र विधानबाट समेत हराउँदै गयो। हामीले नीति बिर्सियौं, विधि बिर्सियौं, अनि पद्धति बिर्सियौं। नीति, विधि र पद्धतिको कुरा उठाउने कार्यकर्ताहरू नेतृत्वको नजरमा अराजक ठहरिए। सिंगो पार्टी भनेकै 'हेडक्वार्टर' मात्रै हो भन्ने बुझाइ प्रत्येक कार्यकर्ताको मानसपटलमा मन्द विषजस्तै फैलियो। जसले विधि र पद्धतिको कुरा गर्छ, उसको साइनो हेडक्वार्टरसँग दुरदुरसम्मको पनि हुन सकेन!
पार्टी सदस्य नै सर्वेसर्वा हुने जनवाद र यसलाई व्यवस्थापन गर्ने केन्द्रीयता हाम्रो आफ्नै विधि थियो। शान्ति प्रक्रियापछि र सत्तारोहणका यी १७ वर्षमा हाम्रो पार्टीले त्यो विधिमाथि भद्दा मजाक गर्यो। दुर्भाग्य, यो मजाकको प्रमुख रचनाकार नै मूल नेतृत्व थियो!
नेताले नै नेता नियुक्ति गर्नेदेखि खल्तीबाट कमिटी बनाउने गलत तरिकाको हामी सिकार भयौं। माओवादीसँग कतैको पनि साइनो नभएकाहरू आएर पार्टीमा हालिमुहाली गर्न थाले। विधान छाडेर पार्टी बिस्तारै नेता प्रधान बन्यो। समितिहरू सभा जस्ता भए। बैठकहरू भेला र सम्मेलन जस्ता भए।
जनयुद्धभरि हामीलाई 'भोलि पार्टीले सत्ता हात पारेपछि नेतृत्वमा रहेको दोस्रो पंक्तिले सत्ता चलाउने हो, शीर्ष नेतृत्व पार्टीमै बस्ने हो, दोस्रो पंक्तिले नै पार्टी नै चलाउने हो' भनियो। तर सत्ता हात लाग्नेबित्तिकै पहिलो पंक्ति नै सत्तामा हाम फाल्यो। एकातिर पहिलो पंक्ति सत्ता लिप्सामा फस्यो, अर्कोतिर दोस्रो पंक्ति दलालीमा मस्त बन्यो। त्यति भएपछि '२१औं शताब्दीको जनवाद' पानी पनि भन्न नपाई मुर्झाएको मुर्झायै भयो।
नेकपाको स्थापनाकालदेखि नेकपा माओवादी बन्दासम्म सही विचार निर्माणमा हामीले ठूलो समय खर्चेका थियौं। नेपाली कम्युनिस्ट आन्दोलनमै विचार निर्माणका हिसाबले सबभन्दा धेरै समय खर्चिएको समय थियो यो। जनयुद्ध सुरूआत गर्ने तयारी गर्दै गर्दा त्यो बेलासम्मको अनुभवका आधारमा विचारलाई 'मालेमावाद' का रूपमा संश्लेषण गरिएको थियो।
वर्षौंको कठोर बहस, छलफल, अभ्यासको निचोडपछि विचार सही भयो भने मात्र सही नेतृत्व छान्न सकिन्छ। त्यसले मात्र सही कार्यदिशा निर्धारित हुन्छ। त्यसैको आधारमा व्यापक समर्थन र बलियो संगठन निर्माण गर्न सकिन्छ। अनि मात्र सत्ता र शक्ति प्राप्त हुन्छ।
यही मान्यता अनुरूप मालेमावादको निचोडलाई जनयुद्धमा गरिएको सफल प्रयोगबाट सिर्जित 'प्रचण्डपथ' बोकेर शान्ति प्रक्रियामा हामी आयौं। त्यसैले नेपाली इतिहासको कायापलट गर्ने युगान्तकारी परिवर्तन सम्भव भएको थियो।
तर कुनै पनि विचार सर्वकालिक हुँदन। निश्चित अवधिको प्रयोगपछि सो विचारले उही रूपमा काम गर्न सक्दैन। कि त त्यसको विकास हुनुपर्छ, कि त्यसको विनाश हुन्छ।
हामीले प्राप्त गरेका कुराहरू गुम्दै गएको आजको अवस्थामा हामी वैचारिक रूपमा गलत ठाउँमा उभिएका छौं वा पुगेका छौं भन्न डराउनु हुँदैन। एउटा पार्टी निर्माण हुन विचार निर्माणको प्रश्न सबभन्दा महत्त्वपूर्ण हुन्छ। संसार परिवर्तनशील छ र सम्पूर्ण कुराहरू गतिमा छन्। मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण हो भन्ने कुरा त स्वयं कार्ल मार्क्सले पटक पटक भनेका हुन्। त्यसैले हामी प्रयोगको यो चरणमा फेरि एउटा वैचारिक संश्लेषणको बिन्दुमा छौं।
तर हामी यो मान्न तयार देखिँदैनौं। नेतृत्व त्यो मान्न तयार देखिँदैन। हाम्रो कार्यशैलीमा सत्तामा हुँदा एकथरी र बाहिर हुँदा अर्काथरी हुने पुरानो रोग यसपालि पनि बल्झिने निश्चित जस्तै छ। विचारका आधारमा कार्यदिशा निर्धारित हुन्छ, कार्यदिशा अनुरूप कार्यक्रम बन्छ भन्ने हाम्रो पुरानो र विकसित मान्यतामा अहिले कुनै तादम्यता देखिँदैन।
मालेमावादलाई प्रचण्डपथमा गरेको विकास हामीले भोट बटुल्ने राजनीतिमा बिसायौं। हाम्रा वर्ग मित्र र वर्ग शत्रुको कुनै सीमा राखेनौं। प्रचण्डपथको आलोकमा आएको '२१ औं शताब्दीको जनवाद' अहिले फर्किएर हेर्दा काल्पनिक कथा जस्तो मात्रै भयो।
विचारले भविष्य देखाउँछ, त्यहाँसम्म पुग्ने बाटो निर्माण गर्छ र हिँड्ने तरिका सिकाउँछ, संगठनले वर्तमानमा आधार दिन्छ। तर सत्ताका निम्ति हामीले विचार र संगठन दुवैलाई बेवास्ता गर्यौं। बरू हाम्रो पार्टीको शीर्ष नेतृत्व सत्ता वरिपरि घुम्ने तिक्डम बनाउनै व्यस्त भयो, दोस्रो पुस्ता अध्यक्ष कमरेडको रहर पूरा गर्न सधैं सारथि बनेर उभियो। दस्तावेज एकातिर र पार्टी अर्कोतिरको दुबिधाबाट गुज्रिनुपरेको तीतो विगत छँदै थियो नै, अहिले त न हामीसँग विचार छ, न संगठन।
आफ्ना कार्यकर्ताबारे एकछिन पनि सोच्न नभ्याउने दोस्रो पुस्ताका नेताहरूले पार्टी नेतृत्वलाई सही सुझाव दिन सकेनन। अध्यक्ष कमरेडका वरिपरि झुम्मिने परिवारभित्र र बाहिरकाहरूलाई पार्टीबारे मतलब हुने कुरा पनि भएन! पार्टीलाई प्राइभेट कम्पनीजस्तो बनाउने र अलिअलि बचेको संसदीय संख्यालाई सत्ता उलटफेरमा लगाउने गर्दा अहिले हामी त्यही पुगेका छौं जहाँ पुग्न अवस्यम्भावी थियो।
हामीसँग अब संघीय र प्रदेश सरकारहरू मात्रै छैनन्, जनताकहाँ जाने एजेण्डा पनि छैन, न त त्यहाँ पुग्ने संगठन नै छ। जनतालाई हामीसँग विश्वास छैन, हामीलाई हाम्रो नेतृत्वसँग विश्वास छैन। कार्यकर्तालाई सडकमा उतारेर आफू सत्ताका लागि कहिले एमालेको दैलो, कहिले कांग्रेसको आँगन धाउने कुराले हामीलाई मैदानमा ल्याएर पछारेको छ।
यो विचारहीनता र संगठनहीनताबीच फेरि पार्टीलाई पुनर्ताजगी गर्न सकिन्छ भन्ने भ्रम बाँड्नु पार्टी पंक्तिलाई थप धोका दिनु हो। त्यसैले, पार्टीको महाधिवेशन सक्दो चाँडो बोलाऔं, पार्टीको नीति र नेतृत्व दुवैबारे समीक्षा गरौं।
(वीरेन्द्र बस्नेत माओवादी केन्द्रको प्रदेश कमिटी सचिवालय सदस्य हुन्।)