बेइजिङ डायरी
चीनको बेइजिङमा होटल संघ नेपाल र नेपाली दूतावासको संयुक्त आयोजनामा गत जुन ३ मा नेपालमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भयो। होटल संघका अधिकांश पदाधिकारीसहित नेपालका विभिन्न क्षेत्रमा स्थापित होटलका प्रतिनिधिले 'सेल्स मिसन' का रूपमा आफ्नो होटलका सेवा-सुविधाबारे चिनियाँ पर्यटन व्यवसायीलाई जानकारी दिए।
त्यसअघि मे २० मा पनि नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स (नाटा) ले नेपाली दूतावाससँग मिलेर बेइजिङमै यस्तै कार्यक्रम गरेको थियो। दुवै कार्यक्रममा नेपाल पर्यटन बोर्ड पनि सहभागी थियो।
बोर्डका अनुसार सन् २०२४ को ६ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
कोरोना महामारीपछि नेपाली पर्यटन उद्योग जुर्मुराउन थालेको छ तर अपेक्षाकृत पर्यटकको आगमन अझै हुन सकेको छैन। सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले मात्रै पर्यटक आगमन बढेको छ। यही गतिमा बढ्दै गए पनि आर्थिक वर्ष २०८२/८३ मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुन सक्दैन। सन् २०१९ को तुलनामा ३३ प्रतिशतले पर्यटक भित्रिने क्रम वृद्धि भयो भने मात्र सरकारी लक्ष्य पूरा हुनेछ।
नेपालको पर्यटन उद्योगका लागि चिनियाँ पर्यटक आधारस्तम्भ नै हुन्। अफ-सिजनमा पनि नेपाली पर्यटन उद्योगलाई चिनियाँ पर्यटकले धान्दै आएका छन्। कोरोना महामारीपछि भर्खर तंग्रिँदै गरेको पर्यटन उद्योगलाई अझै सशक्त बनाउन हामीले चीनमा पर्यटन प्रवर्द्धन गर्नु अपरिहार्य छ। तर चीनमा भइरहेका नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम प्रभावकारी देखिएका छैनन्।
अहिले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले कुनै आमसूचना वा विज्ञापनका आधारमा नेपाल रोजेका होइनन्। पहिले नेपाल भ्रमण गरेका चिनियाँ साथी, आफन्त वा नेपालमा व्यवसाय गर्ने चिनियाँको सूचनाका आधारमा इच्छुक भएका हुन्। कतिपय चिनियाँ त नेपालमा बिहे गर्न पाइन्छ भनेर पनि जान्छन्।
तसर्थ, चिनियाँ पर्यटक गुटमुटाउने आमसूचनाको अभाव अझै पनि छ। होटल संघ, नाटा, पर्यटन बोर्डले गरेका कार्यक्रम अहिलेसम्म सामान्य औपचारिकता निर्वाह गर्ने खालका मात्र देखिएका छन्। नेपालको सौन्दर्य झल्किने लघु भिडिओ चिनियाँ भाषामा बनाएर चिनियाँ आमसञ्चारमा व्यापक प्रचार गर्ने हो भने चिनियाँ पर्यटकको बाढी लाग्ने सम्भावना धेरै छ। बिडम्बना, अहिलेसम्म नेपालका न सरकारी, न निजी, कुनै क्षेत्रले यस विषयमा गम्भीर चासो राखेको देखिँदैन।
विश्व पर्यटन क्षेत्रमा सबभन्दा ठूलो हिस्सा चिनियाँ पर्यटकले लिएका छन्। हरेक वर्ष करोडौं चिनियाँहरू विदेश भ्रमणमा जान्छन्। सीमा जोडिएको र स्थलमार्गबाट पनि भ्रमण गर्न सकिने भएकाले चिनियाँका लागि नेपाल सहज र सस्तो गन्तव्य हुन सक्छ। चीनभन्दा धेरै टाढाका मुलुकले जसरी नेपालले चिनियाँलाई आकर्षित गर्न नसक्नु सुखद कुरा होइन।
नेपाल नजिकै रहेको चीनको तिब्बत स्वायत्त प्रदेशमा घुम्न जाने पर्यटकको तीन प्रतिशत हिस्सा मात्र नेपाल तान्न सक्ने हो भने वर्षमा सरदर १५ लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ।
पर्यटन उद्योगलाई व्यवस्थित र सेवामुखी बनाउँदा कसरी दीर्घकालीन फाइदा हुन्छ भन्ने कुराको दृष्टान्त तिब्बतमा देख्न सकिन्छ। नेपालभन्दा आठ गुणा ठूलो तिब्बतको मुख्य बाँच्ने आधार नै पर्यटन हो। पर्यटन उद्योगको विकासले नै तिब्बत यति बेला चीनको सबभन्दा धेरै आर्थिक वृद्धि हुने प्रान्त र सबभन्दा धेरै प्रतिव्यक्ति आय भएको प्रान्तका रूपमा चिनिएको छ।
तिब्बतको पर्यटन अवस्थाको थोरै चर्चा गरौं।
सन् २०२४ मे २३ मा बेइजिङमा चिनियाँ राज्य परिषदले एक पत्रकार सम्मेलन गरेको थियो।
'नयाँ युगमा तिब्बतको दीर्घकालीन सुरक्षा र उच्च गुणस्तरीय विकास' शीर्षकमा आयोजित उक्त पत्रकार सम्मेलनमा दिइएको जानकारीले चीनको तिब्बत स्वायत्त प्रदेशको विकासका केही तथ्यहरू प्रस्तुत गरेको थियो।
पत्रकार सम्मेलनमा तिब्बत स्वायत्त प्रदेश पार्टी समितिका उपसचिव तथा तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष यान चिनहाईले चौधौं पञ्चवर्षीय योजनादेखि तिब्बतको कुल गार्हस्थ्य उत्पादन १९० अर्ब युआनबाट बढेर २४० अर्ब युआन पुगेको बताए। तिब्बतमा प्रतिव्यक्ति वार्षिक आम्दानी ५२ हजार ३०० युआनबाट बढेर ६० हजार युआन पुगेको र सहरी तथा ग्रामीण बासिन्दाको प्रतिव्यक्ति डिस्पोजेबल आयको वृद्धिदर धेरै वर्षदेखि चीनकै अग्रस्थानमा रहेको जानकारी दिए।
सन् २०२३ मा मात्र ५ करोड ५१ लाख ७० हजार स्वदेशी र विदेशी पर्यटकले तिब्बत भ्रमण गरेका छन्। ती पर्यटकबाट तिब्बतले ६५ अर्ब १० करोड युआन राजस्व संकलन गरेको छ। सन् २०२२ को तुलनामा सन् २०२३ मा तिब्बतमा पर्यटक वृद्धि ८३.७ प्रतिशत छ। पर्यटकबाट प्राप्त राजस्व ६० प्रतिशतले वृद्धि भएको छ।
तिब्बतलाई समृद्ध बनाउने मुख्य उद्योग नै पर्यटन बनेको कुरा चिनहाईले बताए। यही गति रहिरहे तिब्बतको अर्थतन्त्र सन् २०२४ मा दोहोरो अंकले वृद्धि हुने अनुमान गरिएको छ।
तिब्बतमा पर्यटक वृद्धिदर कसरी उकालो लागेको छ भन्ने पछिल्ला आठ वर्षको आँकडा हेर्दा स्पष्ट हुन्छ।
तेह्रौं पञ्चवर्षीय योजना अवधिमा १५ करोड ८० लाख पर्यटकले तिब्बत भ्रमण गरेका थिए। यो संख्या बाह्रौं पञ्चवर्षीय योजना अवधिको तुलनामा २.३ गुणाले बढी थियो। चीनमा सन् २०१६ देखि सन् २०२० सम्म तेह्रौं पञ्चवर्षीय योजना अवधि थियो। सन् २०२१ देखि सन् २०२५ सम्म चौधौं पञ्चवर्षीय योजना अवधि हो।
सोही पत्रकार सम्मेलनमा तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष स्यु चथाउले पर्यटन विकासमा देखा परेका समस्या र अड्चनबारे सटिक व्याख्या गरे।
उनका अनुसार, तिब्बतमा यातायात पूर्वाधार चीनका अन्य प्रान्तको तुलनामा त्यति सुविधाजनक छैन। ठूलो क्षेत्रफल भएकाले एक पर्यटकीय स्थलबाट अर्को स्थलमा पुग्न निकै लामो दुरी छिचोल्नुपर्छ। जसले गर्दा यात्रामै समय र लागत बढी लाग्छ। त्यसमाथि त्यहाँको भौगोलिक अवस्थाले पनि पर्यटकलाई चुनौती थपिदिन्छ। तिब्बतको सरदर उचाइ ४ हजार मिटरभन्दा बढी भएकाले पर्यटकलाई लेक लाग्ने समस्या हुन सक्छ। तसर्थ, चिनियाँ तथा विदेशी पर्यटक निकै सोचेर मात्र तिब्बत जाने निर्णय लिन्छन्।
यसको अर्थ के हो भने, जोसुकै चिनियाँ वा विदेशी पर्यटक तुरून्तै तिब्बत गइहाल्दैन। बरू चीनकै अन्य भूभाग जान सक्छ। यसले गर्दा तिब्बतमा छाँटिएर मात्र पर्यटक पुग्छन्।
यसका बाबजुद तिब्बतले कसरी यति धेरै पर्यटक आकर्षित गर्न सक्यो?
केही आधारहरू यहाँ प्रस्तुत गरिएको छ।
तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष स्युले पत्रकार सम्मेलनमा भने, 'तिब्बतले पर्यटन विकास सम्बन्धी योजना बनाएर चिनियाँ सांस्कृतिक पहिचानयोग्य, पर्यावरणीय सभ्यताको संरक्षण र विश्वस्तरीय पर्यटन क्षेत्र निर्माण गरेको छ। त्यसैगरी संस्कृति र पर्यटन सम्मिलित तिब्बती जडिबुटी, पठारमा ट्रेकिङ लगायत विशेषतायुक्त पर्यटन विकास गरेको छ। वैदेशिक खुलापनलाई तीव्र पारेर विदेशीको प्रवेश प्रक्रिया सुधार गर्ने र अनुवाद तथा भुक्तानी सहज बनाउने कामले अझै बढी विदेशी पर्यटक आकर्षित भएका छन्। पर्यटन सेवाको गुणस्तर उकासेर अझ बढी प्रत्यक्ष हवाई सेवा सञ्चालन गर्नुका साथै अझ बढी लगानी आकर्षण गरिएको छ।'
तिब्बतको समृद्धिको आधार र काँचुली फेर्ने मुख्य उद्योगका रूपमा रहेको पर्यटन विकासमा चीनले अत्यन्त महत्वाकांक्षी योजनाहरू अगाडि सारेको छ।
तिब्बतले उच्चस्तरीय पर्यटन प्रवर्द्धन कार्यक्रम अगाडि ल्याउँदैछ। तिब्बती सांस्कृतिक पर्यटन उद्योगको विकास योजना सुरू गर्ने तयारी छ। र, यसले धेरै वर्षदेखि चिनियाँ संस्कृतिको प्रतिष्ठित र राष्ट्रिय पारिस्थितिक सभ्यताको उच्च भूमिको प्रतिनिधित्व गर्ने सांस्कृतिक पर्यटन करिडोर र विश्वस्तरीय पर्यटकीय स्थलहरू निर्माण गर्ने योजना बनाएको छ।
तिब्बती पर्यटनको चर्को समस्या भनेको चिनियाँ प्रशासनको झन्झटिलो नीति हो। चीन भ्रमणमा आएका पर्यटक सहज रूपमा तिब्बत प्रवेश गर्न सक्दैनन्। त्यहाँ जान थप अनुमति आवश्यक पर्छ। अब तिब्बतले बाहिरी संसारमा जोडिने गति तीव्र बनाएर थप खुला हुने नीति अगाडि सार्दैछ। यसका लागि तिब्बत प्रवेशका सान्दर्भिक प्रक्रियाहरूको प्रभावकारितामा सुधार र एकै साथ भाषा अनुवाद र भुक्तानी सुविधा जस्ता समस्या समाधान गर्न आवश्यक छ। यस्ता सुधारले थप अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित हुन्छन्।
यसैगरी तिब्बतले सेवा सुधार्ने घोषणा गरेको छ। तिब्बत स्वायत्त प्रदेशले मुख्य भूमिका सहर र अन्तर्राष्ट्रिय बजारका लागि थप सिधा मार्गहरू खोल्ने, तिब्बती सांस्कृतिक पर्यटन बजारमा प्रवेश गर्न थप लगानीकर्ता कम्पनीलाई आकर्षित गर्ने, पठार तथा हिमाली क्षेत्रको उद्धार सम्पर्क संयन्त्र सुधार गर्ने, सांस्कृतिक पर्यटन बजारको सुपरिवेक्षण सुदृढ गर्ने र पर्यटकलाई थप सेवा उपलब्ध गराउने तयारी छ।
सन् २०२३ मा तिब्बतको कुल गार्हस्थ्य उत्पादन लगभग दुई खर्ब ४० अर्ब युआन थियो। यो सन् २०२२ भन्दा ९.५ प्रतिशतले बढेको हो। तिब्बतको कुल वित्तीय स्रोत ३ खर्ब ८० अर्ब युआन पुग्दा त्यहाँका नागरिकको प्रतिव्यक्ति वित्तीय स्रोत चीनमै पहिलो स्थानमा छ।
तिब्बतको अर्थतन्त्र कति चलायमान र सक्रिय छ भन्ने कुराको पुष्टि केही तथ्यांकले गर्छन्।
उदाहरणका लागि, गत वर्ष तिब्बतमा उपभोग्य वस्तुको कुल खुद्रा बिक्रीदर २१ प्रतिशतले बढेर चीनकै पहिलो स्थानमा रह्यो। गत मे महिनाको सुरूको 'सुनौलो सप्ताह' अन्तर्गतको पाँच दिने बिदामा मात्र ल्हासामा ८ करोड युआन बराबरका ५ सय ९१ वटा कार बिक्री भए।
नेपालको उत्तरी १४१४ किलोमिटरभन्दा बढी सीमा चीनको तिब्बतसँग जोडिन्छ। नेपाल र तिब्बत जोड्ने सिधा हवाई सेवा र स्थल मार्ग पनि छन्। अधिकांश तिब्बतीले बौद्ध धर्म अँगालेका छन्। तिब्बतका प्रायः सांस्कृतिक सम्पदा बौद्ध धर्मसँग सम्बन्धित छन्। त्यहाँ पुगेर बौद्ध धर्मका सांस्कृतिक सम्पदामा रमाएका पर्यटकलाई एकपटक लुम्बिनी पुग्ने रहर पक्कै हुन सक्छ। तर तिब्बत पुग्ने विदेशी तथा चिनियाँ पर्यटकलाई लोभ्याउने कुनै प्रभावकारी कार्यक्रम अहिलेसम्म नेपालले गरेको थाहा छैन।
आज तिब्बतको समृद्धि र विकास पर्यटनबाटै सम्भव भएको हो। कुनै बेला पशुपालनमा घुमन्ते जीवन बाँच्ने तिब्बतीहरू यति बेला चीनकै धेरै आर्थिक वृद्धि हुने नागरिक हुनुको पछाडि एक मात्र कारण पर्यटन उद्योग हो। पर्यटन उद्योगबाट तिब्बतले यस्तो छलाङ मार्न सक्छ भने नेपालले नसक्ने भन्ने हुँदैन। तसर्थ, तिब्बतको पर्यटकीय विकासका केही बाछिटा मात्र नेपालमा पर्ने हो भने पनि, नेपाली पर्यटन क्षेत्रको कायापलट हुनेछ!
(लेखक चेतनाथ आचार्य चीनको राजधानी बेइजिङमा रहेर चिनियाँ मिडिया ग्रुप 'सिएमजी' नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्। उनको 'बेइजिङ डायरी' शृंखला सेतोपाटीमा प्रकाशन हुनेछ।)