हालै एसइईको नतिजा प्रकाशित भयो। गाउँगाउँमा र देशविदेशमा यसको चर्चा जारी छ। ग्रेडेड (उत्तीर्ण) भन्दा ननग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीको संख्या धेरै भयो। आधाभन्दा बढी, ५२.१४ प्रतिशत, विद्यार्थी ननग्रेडेड (एनजी) भए।
यति ठूलो संख्यामा विद्यार्थी एनजी भएपछि शिक्षक र सरकारी अधिकारीहरूमाथि गाली वर्षा हुने क्रम जारी छ। टाउको जोगाउन र गालीको दबाब कम गर्न जति विषयमा एनजी भए पनि पूरक परीक्षा दिन पाउने निर्णय भएको छ, नत्र दुई विषय एनजी हुनेले मात्र दिन पाउने भनिएको थियो।
यतिका धेरै विद्यार्थी एनजी किन भए त? यस प्रश्नमा थोरै विचार गरौं।
विद्यार्थी, शिक्षक र अभिभावक
कक्षा १० को परीक्षालाई एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट) भन्दै आएकामा २०७२ पछि एसइई (स्कुल एजुकेसन एक्जामिनेसन) नामकरण गरियो। एसएलसी परीक्षाले ‘फलामे ढोका’ भन्ने संज्ञा पाएको थियो। एसइई भएपछि अलिक उदार भयो, ढोका अलिक खुकुलो भयो।
‘फलामे ढोका’ मानिँदासम्म विद्यार्थी र अभिभावकमा यसको जबर्जस्त दबाब थियो। फलामे ढोका पार गर्न कठिन छ भन्ने मान्यताले मेहनतका लागि मनोवैज्ञानिक दबाब सिर्जना गरेको थियो। यसको प्रभाव पनि सकारात्मक थियो।
अभिभावक पनि १० कक्षामा पढ्ने छोराछोरीको पढाइका लागि अलिक सचेत रहन्थे। फलामे ढोका पार गर्न मेहनत गराउने प्रयास गर्थे। शिक्षकमाथि पनि यस्तै दबाब थियो।
२०७२ सालपछि फलामे ढोका एकाएक रबरको ढोकामा बदलियो। उत्तीर्ण गराउन उदार नीति आयो। परीक्षामा सहभागी भएपछि कक्षा ११ पढ्नबाट बञ्चित हुनु नपर्ने भयो। यसले विद्यार्थीहरूमा फेल भइँदैन भन्ने मनोविज्ञान विकास गर्यो, ठीकठीकै पढ्दा पनि हुन्छ भन्ने भयो। अभिभावकलाई पनि यस्तै भयो।
यसो भएपछि शिक्षक, अभिभावक र विद्यार्थी तीनैतिरबाट मेहनत अलिक कम भयो। सिकाइ उपलब्धि कमजोर भयो। सिकाइको गुणस्तर घट्दै गयो।
अझ रोचक त के भयो भने, नतिजा कसरी र कुन मापदण्डका आधारमा निकाल्ने भन्ने काम परीक्षा बोर्डले अन्तिम समयमा गर्न थाल्यो। यसो भएपछि परीक्षामा सबैलाई पास गराउँछन् भन्ने आमधारणा बन्दै गयो।
यसपटक त्यसो भएन। बोर्डले भन्दै आएझैं कठोर निर्णय लियो र सबै विषयमा ३५ प्रतिशत अंक नल्याउने जति ननग्रेडेड भए।
पढाउने र सिकाउने विधि
अझै पनि थोरै विद्यालय र शिक्षक छाडेर अधिकांशको कुरा गर्दा शिक्षण विधि परम्परागत नै छ, कुनै परिवर्तन छैन। शिक्षकले कक्षामा प्रवचन दिने, विद्यार्थीलाई रटाउने र परीक्षामा लेख्न लगाउने काम जारी छ। शिक्षकका लागि सबैभन्दा सजिलो विधि यही हो।
यस विधिमा पाठयोजना र अतिरिक्त पाठ्यसामग्री केही पनि चाहिएन। विद्यार्थीलाई थप क्रियाकलाप गराउनु पनि परेन। शिक्षकले अतिरिक्त मेहनत र तयारी गर्नु परेन। आफूले जानेको कुरामा प्रवचन दिँदा भइहाल्यो।
लेख्नुपर्ने कुरा बोर्डमा लेखिदिने, सार्न लगाउने र घोकाउने परम्परागत विधिको शिक्षण छ। अनुशासनको डण्डा चलाउने, तपाईंको छोरो-छोरी पढ्दै पढ्दैन, भनेको मान्दैन, गृहकार्य गर्दैन इत्यादि फन्डा चलाउने प्रवृत्ति बलियो छ। अंग्रेजी, गणित र विज्ञान विषयमा धेरै विद्यार्थी ननग्रेडेड छन्। यी प्रयोगात्मक विषयहरू हुन्। यिनमा प्रयोगपरक अभ्यास आवश्यक पर्छ तर पढाइ घोकाउने र घोक्ने विधिमै अल्झिएको छ। यसो भएपछि सिकाइको स्तर र नतिजा बढ्ने भएन।
परीक्षा प्रणाली
एकातिर विद्यालय तहको अन्तिम परीक्षा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसिई) भनिएको छ र यो कक्षा १२ को परीक्षा हो भनिएको छ। अर्कातिर कक्षा १० मा राष्ट्रिय स्तरमा एसइई लिइन्छ।
परीक्षाको नाम फेरियो, नतिजामा अंक दिने ठाउँमा अक्षर दिन थालियो। परीक्षा लिने निकाय र प्रणाली उही छ, प्रश्नको प्रवृत्ति उही छ, परीक्षा लिने प्रणाली उही छ। केबल उत्तरकापीमा विद्यार्थीले प्राप्त गरेको अंक अक्षरमा परिणत गरेर ग्रेड भनिन्छ।
एसएलसिई राष्ट्रिय परीक्षा हो, राष्ट्रिय परीक्षा बोर्डले गराउँछ भनियो। त्यसैअनुसारको प्रबन्ध गरियो। एसइईका लागि राष्ट्रिय परीक्षा बोर्डमै एउटा निकाय खडा गरियो। एसइई कुन तहको हो? कक्षा ८ को परीक्षा स्थानीय तहले गर्न सक्ने तर एसइई प्रदेशले गर्न किन नसक्ने? कुरा पनि चलेको थियो तर कार्यान्वयन गर्न केले रोक्यो? कुन विधिले छेक्यो?
उत्तरपुस्तिका परीक्षण
सरकारले उत्तरपुस्तिका परीक्षण विधिका आयामहरू समेटेर निर्देशिका बनाएको छ। शिक्षकहरू उत्तरपुस्तिका परीक्षण गर्छन्। परीक्षण गराउनेले शिक्षकको दक्षतामा भन्दा कार्यालय नजिकका र चिनजानका शिक्षकलाई प्राथमिकता दिन्छन्। धेरै परीक्षकहरूको उद्देश्य मापदण्डअनुसार उत्तरपुस्तिका परीक्षण गर्नेभन्दा पनि धेरैभन्दा धेरै परीक्षण गरेर आर्जन गर्ने हुन्छ।
मसँग उत्तरपुस्तिका परीक्षणको ताजा अनुभव छ। अंग्रेजी विषयमा मैले १२ घन्टामा मुस्किलले ५० वटा कापी परीक्षण गर्दा, त्यही समयमा १५० कापी परीक्षण गर्ने शिक्षक पनि थिए। उनीहरूको क्षमता ‘अद्भूत’ थियो होला, तर यति ठूलो भिन्नता कसरी होला! यस्तो ‘अद्भूत’ परीक्षणको कुनै भर हुँदैन। जसले जति पनि अंक पाउन सक्छ, उत्कृष्ट विद्यार्थी ठगिने र कमजोरले बढी पाउने सम्भावना बराबर हुन्छ।
सिकाइ संस्कार
हामीकहाँ शिक्षाको होइन, संस्कारको समस्या छ।
के सिकाउनेभन्दा बढी महत्त्वपूर्ण कसरी सिकाउने भन्ने हुन्छ। यसमा व्यक्तिको व्यवहार र संस्कार जोडिएको हुन्छ। शिक्षक जति बढी व्यावहारिक र संस्कारी हुन्छ, विद्यार्थीले त्यति नै बढी सिक्छ। शिक्षकलाई विद्यार्थीले जसरी पनि बढी अंक वा राम्रो ग्रेड ल्याउनुपर्छ भन्ने भयो भने पनि सिकाइ राम्रो हुँदैन, सही पनि हुँदैन।
सरकारले लिखित पाठ्यक्रम दिन्छ। हरेक समाजमा संस्कार र संस्कृतिका रूपमा अलिखित अर्थात सुषुप्त पाठ्यक्रम हुन्छ। शिक्षकले सिकाउने अधिकांश कुरा परीक्षा उत्तीर्ण गर्न र राम्रो ग्रेड हासिल गर्न मात्र हुन्छ। बिस्तारै थाहा हुँदै जान्छ, विद्यालय सिकाइ औपचारिक हो, परीक्षा उत्तीर्ण गर्न र जागिरका लागि हो।
तर विद्यार्थीका लागि दुवै पक्ष महत्त्वपूर्ण हुन्छ। औपचारिक शिक्षाले यी दुवै पक्षमा संयोजन गर्न सकेको हुनुपर्छ।
ग्याजेट प्रयोग
हाम्रो समाजमा बच्चा भनेका कच्चा हुन् भन्ने मनोविज्ञान छ। ठूलाले चलाउने चिज यिनलाई छुन दिनु हुँदैन भन्ने मानिन्छ। मोबाइल र ग्याजेट प्रयोगमा यस्तै मनोविज्ञानले काम गरेको छ। हामी ठूला मान्छे बच्चाकै सामुन्ने प्रयोग गर्छौं तर उसलाई निषेध गर्छौं।
सिगमन्ड फ्रायडले भनेझैं निषेधित गरेको काममा मान्छेको जिज्ञासा बढी हुन्छ। बालबालिकाहरू स्वभावैले फ्रायडले भने जस्ता हुन्छन्, जे गर्नु हुँदैन भनेको छ, त्यही गर्न अघि सर्छन्। मलाई किन रोक लगाएको होला भन्ने मनोविज्ञानले काम गर्छ।
अभिभावक र शिक्षक दुवैले बालबालिकालाई पढाइमा ग्याजेट प्रयोग गर्न र दुरूपयोग नगर्न सिकाएका छैनन्। यता भित्रभित्रै छोराछोरीले अनलाइन गेम, टिकटक र रील सिकेका छन्। उनीहरूलाई बन्देज लाउँदा पनि कसरी सिके त? त्यसैले प्रतिबन्धले काम गर्दैन। सदुपयोगले काम गर्छ। मोबाइल र ग्याजेटले छोराछोरी बिग्रिए, विद्यार्थी बिग्रिए भन्ने छट्पटिनुभन्दा औपचारिक शिक्षामा यी कुरा समेट्न जरूरी छ। ग्याजेट सदुपयोगको बाटो देखाउनुपर्छ।
घरमा आगो लागेपछि कुवा खन्ने चलन पुरानै हो। सकेसम्म चाँडो आगो निभाउने र दुई-चार दिन आगोभन्दा पनि चर्को चर्चा गर्ने, एउटा जाँचबुझ समिति गठन गर्ने, त्यसको प्रतिवेदन आउने बेलासम्म न घटना सम्झना हुन्छ, न प्रतिवेदन कार्यान्वयन हुन्छ। विषयवस्तु उही; नीति, विधि र तरिका उही; साधन र प्रविधि उही; उही माने परम्परागत, यसो भएपछि नयाँ र प्रगतिशील परिणाम आउँदैन।
छेपारोले रातभरिको जाडोमा भोलि घर बनाउँछु भन्छ रे, दिउँसो घामको न्यानोमा जाडो बिर्सिन्छ। हरेक दिन छेपारोलाई यस्तै हुन्छ रे। हाम्रो प्रवत्ति पनि छेपाराको जस्तै छ।
यो प्रवृत्ति बदलौं।
पहिले कारण खोजौं निर्मम समीक्षा गरौं, समाधानका उपाय खोजौं र दृढतापूर्वक लागू गरौं।
जबसम्म शिक्षण पद्धति सुधारेर विद्यार्थीलाई सिकाइको केन्द्रबिन्दु बनाउन सकिँदैन तबसम्म न त सिकाइ सुध्रिन्छ, न नतिजा सुध्रिन्छ। देश जहाँको त्यहीँ रहन्छ। सुधारको बाटामा अघि बढ्न ढिलो नगरौं।
(लेखक प्रेमबहादुर विश्वकर्मा सैनिक आवासीय महाविद्यालय, सुर्खेतका प्रिन्सिपल हुन्।)