सन् २०१६ जनवरीमा हिन्दुस्तान टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा मधेसी नेता सिके राउतले भनेका थिए, 'सन् २००० को डिसेम्बरमा ऋतिक रोशन काण्ड हुनुअगाडि म आफूलाई असली नेपाली मान्थेँ। त्यो घटनाले मलाई मधेसी बनायो। ऋतिक रोशनको एउटा कथित नेपालविरोधी भनाइलाई लिएर नेपालभर दंगा फैलाइयो र मधेसीलाई निशाना बनाइयो। (रोशनले त्यस्तो कुनै कुरा भनेको कुरालाई अस्वीकार गरे।) त्यो बेला म काठमाडौंमा इञ्जिनियरिङको विद्यार्थी थिएँ र त्यहाँ हिउँदे बिदामा बसेको थिएँ।
मैले मेरै आँखाले मधेसीहरू निर्ममतापूर्वक कुटिएको देखेँ। मधेसीहरूका घर जलाइएको देखेँ। म आफै आफ्ना नजिकका साथीहरूको शिकार बनेँ। त्यो घटनाले मलाई वास्तवमै आफैतिर हेर्न र आफ्नो पहिचान र राष्ट्रियताको खोजी गर्न बाध्य तुल्यायो। जुन बेला म नेपालका लागि मर्न चाहन्थेँ, त्यो बेला मेरो नेपालीपनमाथि प्रश्न उठ्दै थियो।'
ऋतिक रोशन काण्डका बेला म भर्खर चितवन झरेर कक्षा ११ मा पढ्दै थिएँ। सिंगो पृथ्वीलाई एउटै देश बनाउने अन्तर्राष्ट्रियतावादी वाम पाठशालामा दीक्षित मेरा लागि त्यो घटना सर्वथा अनपेक्षित थियो।
कारण — धमाधम देशैभर अनुहारको रङ र बोलीको लवजका आधारमा मानिसहरूलाई 'भारतीय' करार गर्दै हमला गर्दै थिए युवाहरू, राष्ट्रवादका नाममा। तिनका पसलमा लुटपाट, तोडफोड र आगजनी गर्दै थिए। तिनमा पनि कम्युनिस्ट भनिने पार्टीका युवा र विद्यार्थी संगठन घोषित रूपमै र सबभन्दा संगठित रूपमा दंगामा उत्रिरहेका थिए।
आफूले निर्माण गर्न लागेको वर्गविहीन समाजमा अर्थै नरहने भनिएको 'देश' माथि अर्को देशको एउटा अभिनेताले भनेको भनिएको कुरालाई लिएर आफ्नो अगाडि आइपुग्ने निर्दोष व्यक्तिमाथि हमला गर्न जस्तो 'नीच' साम्प्रदायिक र नश्लीय चेतना चाहिन्छ, त्यो त्यसभन्दा अगाडि मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो।
कम्युनिस्ट विचारधारा बोक्नेहरूको असली चेहरा र नेपालमा चल्तीमा रहेको राष्ट्रवाद र राष्ट्रियताको नश्लीय जरोबारे त्यो प्रकरणले मलाई धेरै कुरा सिकायो जस्तो लाग्छ।
अब नेपालमा आक्कलझुक्कल बाहेक ऋतिक रोशन प्रकरण खासै चर्चामा आउँदैन। आओस् पनि किन, छोटो सामूहिक स्मृति हाम्रो सनातनी प्रवृत्ति बनिसकेको छ। हामी गल्ती गर्न, त्यसलाई बिर्सिन र फेरि दोहोर्याउनमा खप्पिस नै छौं।
त्यसमाथि अब अर्को समुदायप्रति विषवमन र हिंसा गर्न २०५७ सालमा झैं लाठी बोकेर सडकमा निस्किनुपर्दैन। साम्प्रदायिक वैमनश्यले लैश एउटा वाक्पटु लठैत भेटियो भने पचास जना 'युट्युबे' हरू र केही टेलिभिजनका प्रस्तोताहरू समेत माइक र क्यामरा बोकेर उसका अगाडि जान्छन्। वा, उसलाई स्टुडियोमै बोलाउँछन्, हतप्रभ भएर उसका अन्टसन्ट कुराहरू रेकर्ड गर्छन् र लाखौं मानिससम्म पुर्याउँछन्। त्यो पनि घन्टैपिच्छे, दिनैपिच्छे। ती भिडिओमा हजारौं अरू उग्र साम्प्रदायिक राष्ट्रवादीहरूले आफ्ना भावना पोख्छन्।
याद गर्नोस् त — सोह्र परिवार मारवाडीहरूले नेपाल सके' भन्ने वाक्य तपाईंले अहिलेसम्म कतिपटक सुन्नुभयो?
यसखाले सञ्जालीय बौलठ्ठी सुरू हुनुभन्दा निकै अगाडि २०५७ को उक्त प्रकरण कति हास्यास्पद रूपमा सुरू भएको थियो भन्ने बुझ्न अग्रज पत्रकार मोहन मैनालीको एउटा गहन निबन्ध पढे पुग्छ।
'देखेको देश' पुस्तकमा समाविष्ट 'नेपाली पत्रकारितालाई अनुजाको गुन' शीर्षक निबन्धमा ऋतिक रोशनको काल्पनिक भनाइसम्बन्धी लफ्फाबाजी कसरी सुरू भयो, कसरी फैलियो र त्यसमा क-कसले के के भूमिका खेले भन्ने सटिक विवरण छ —
'...त्यति बेला चितवनका विज्ञान पढ्ने केही युवाहरूलाई चर्चित हुने सनक चल्यो। विज्ञानसम्बन्धी पत्रिका निकालेर त्यो इच्छा पूरा गर्न खोजे, जुन असफल हुनु स्वाभाविक थियो। त्यसपछि उनीहरूलाई कसैले सल्लाह दियो, पत्रकार बोलाउने। हिन्दी फिल्मको हिरो ऋतिक रोशनले नेपालीलाई मन पराउँदिनँ भनी दिएको अन्तर्वार्ता कुनै एउटा हिन्दी च्यानलमा प्रसारण भएको भनी त्यसको विरोधमा अलिकति कागज भेला पारेर डढाउने।'
यो झिल्को नेपालका पहाडीहरू र त्यसमाथि पनि बामपन्थीहरूमा घाँटीसम्म आउने गरी भरिएको नश्लभेदी र हिंस्रक राष्ट्रवादको बारूदमा आगो सल्काउन काफी थियो।
यस्ता कुराहरु पढिरहँदा २०५७ सालमा समाज कहाँ थियो भनेर थकथकी त हुन्छ नै, २०८१ मा आइसक्दा पनि हाम्रो चेतना कसरी उहीँको उहीँ रह्यो भन्ने थकथकी झन् बढी हुन्छ।
यति भनिरहँदा के चितवनका केही युवाको स्टन्ट नै चार जनाको ज्यान जाने र सयौं घाइते हुने गरी दंगा गराउन काफी थियो त?
थिएन।
सुकेतु मेहताले आफ्नो किताब 'म्याक्सिमम सिटीः बम्बई लस्ट एन्ड फाउन्ड' मा भारतीय सिने उद्योग र भूमिगत गिरोहहरूबीचको सम्बन्धबारे लामै विवेचना गरेका छन्। ती गिरोहहरूको एउटा प्रमुख धन्दा हो हिन्दी फिल्ममा लगानी गर्नु, स्टार र सुपरस्टारहरूको ख्याति बेचेर अकुत कमाइ गर्नु अनि ती कलाकारलाई नियन्त्रण गरेर तिनले विश्वभर गर्ने स्टेज कार्यक्रमको कमाइबाट समेत हिस्सा असुली गर्नु।
सन् २००० मा पहिलो फिल्म 'कहो ना प्यार है' सुपरहिट भएपछि रातारात स्टार बनेका ऋतिक रोशनमाथि त्यस्तो नियन्त्रण जमाउन चाहन्थ्यो दाउद इब्राहिमको 'डी कम्पनी' बाट छुट्टिएर बनेको अबु सलेमको गिरोह।
ऋतिकका बाबु तथा उक्त सिनेमाका निर्देशक राकेश रोशनले ऋतिकलाई अबु सलेमको लगानी भएको फिल्ममा अभिनय गर्न दिन अस्वीकार गरेपछि सलेमका शूटरहरूले त्यही वर्ष उनको छातीमा ६ वटा गोली दागेका थिए। तुरून्त उपचार पाएकाले उनको ज्यान मुस्किलले जोगिएको थियो।
ऋतिक रोशन प्रकरणका बेला दंगा फैलाउने गरी भ्रामक समाचार उराल्ने काम गरेका तत्कालीन 'स्पेसटाइम दैनिक' र 'च्यानल नेपाल टिभी' का मालिक जमिम शाहको पाकिस्तानमा आधारित त्यस्ता गिरोहसितको सम्बन्ध रहेको भन्दै त्यो बेला भारतीय मिडियाले निकै लेखेका छन्। तीमध्ये धेरैले भारतीय गुप्तचर निकायहरूलाई उद्धृत गरेका छन्।
ती सबै कुराको स्वतन्त्र पुष्टि गर्न कठिन भए पनि त्यो प्रकरणका बेला शाहको स्वामित्वका मिडियाले दंगा फैलाउनमा खेलेको भूमिका कसैबाट लुकेको थिएन। च्यानल नेपालजस्तो टेलिभिजन र स्पेसटाइमजस्तो स्थापित राष्ट्रिय दैनिकले त्यसरी नउरालेको भए चितवनको एउटा स्थानीय दैनिकबाट सुरू भएको त्यस्तो दुष्प्रचार देशभर आगोको झिल्कोझैं फैलिने सम्भावना निकै कम थियो।
२०१० फेब्रुअरीमा जमिम शाहको हत्या भएलगत्तै प्रकाशित समाचारमा बिबिसीले यस्तो लेखेको अहिले पनि भेटिन्छ — दस वर्षअगाडि एक बलिउड स्टारले नेपालविरोधी अभिव्यक्ति दिएको भन्ने गलत हवाला दिएर दंगा फैलाएका कारण उनको टेलिभिजन च्यानल नेपाल अस्थायी प्रतिबन्धमा परेको थियो।
त्यस बेला भर्खर रिलिज भएको ऋतिक रोशनको दोस्रो फिल्म 'मिसन कश्मिर' पनि हिट हुँदै गर्दा कम्तीमा नेपालमा त्यसको बजार धराशायी बनाएर उनका बाबु राकेश रोशनसित अबु सलेमले बदला लिन खोजेको भनेर सुकेतु मेहताले आफ्नो किताबमा लेखेका छन्। त्यही प्रयोजनका लागि उनको गिरोहले जमिम शाहमार्फत यहाँको दंगाको आगोमा घिउ थपेको भन्ने उनको निश्कर्ष छ।
हुन पनि जमिम शाह नेपालमा टिभी र पत्रिकाका मालिक मात्रै थिएनन्, काठमाडौंको केबल टेलिभिजन व्यवसायमा उनको एकछत्र राज थियो। नेपालको पहिलो स्याटलाइट टिभी च्यानल नेपाल एसियाका ५२ देशमा प्रसारण हुन सक्थ्यो। काठमाडौंवासीले टेलिभिजनमा के हेर्न पाउने र नपाउने भन्ने निर्धारण गर्नमा उनको महत्त्वपूर्ण भूमिका थियो।
ऋतिक रोशन प्रकरणको परिणामस्वरूप नेपालमा 'मिसन कश्मिर' र अरू हिन्दी फिल्ममाथि त निषेध लाग्यो नै, भारतीय केबल टेलिभिजन समेत तत्कालका लागि बन्द भए।
यसरी जब सुदूर दक्षिण-पश्चिमको बम्बई नगरमा चलेको लेनदेन र धन्दाको मामुली विषय ऋतिक रोशनले बोल्दै नबोलेको एउटा वाक्यको काँध चढेर नेपाल आइपुग्यो, त्यसले नेपालमा वामपन्थीदेखि राजावादी कित्तासम्मबाट राष्ट्रियताको ठेक्का दाबी गरिरहेका नेपालीहरूमा साम्प्रदायिकताको अन्धो नशा जाग्यो।
यति सबै पढ्दै गर्दा तपाईंहरू कसैलाई त्यो प्रकरण बहकिएका युवाहरूको क्षणिक आवेग वा उत्तेजनाको परिणाम लाग्छ भने म फेरि मोहन मैनाली दाइको उल्लिखित निबन्ध पढ्न सिफारिस गर्छु। त्यसमा त्यो बेला देशका प्रमुख पार्टीहरूले खेलेको भूमिकाबारे यस्तो लेखिएको छ —
'नेकपा एमाले त्यति बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरूद्ध खोइरो खन्दै थियो। त्यसका नेताहरूले यही कुरालाई निहुँ बनाएर गिरिजालाई हटाएर आफू सत्तामा जाने सपना देखे। त्यसैले उनीहरूले ऋतिक रोशनले त्यसो भनेकै हो भनेर आगोमा घिउ थपे। उग्र राष्ट्रवादीहरूले पनि आफ्नो नाथ्रो फुटाएर देशभक्ति प्रदर्शन गर्ने राम्रो अवसर पाए। हुँदाहुँदा नेपाली कांग्रेसकै एउटा चिरा पनि गिरिजाविरूद्धको यस आगोमा घिउ थप्न अघि सर्यो।'
अनि 'राष्ट्रियता जोगाउन' हजारौं युवा सडकमा निस्के, सबै रङका राष्ट्रवादीहरू। र, अन्धाधुन्ध आक्रमण गर्न थाले वर्षौंदेखि सँगै बसेका आफ्नै साथीलाई समेत। सिनेमा हल र पसलहरूमा तोडफोड र लुटपाटपछि 'राष्ट्रवादी' हरूको भीड भारतीय दूतावासमाथि हमला बोल्न निस्कियो।
बदलामा प्रहरीले गोली हान्यो। गोली लागेर दुई किशोरको त्यहीँ मृत्यु भयो। दंगाकै क्रममा थप दुई जनाको ज्यान गयो जसमध्ये एक घरमै बसिरहेकी निर्दोष बालिका थिइन्। १८० भन्दा बढी मानिसहरू घाइते भए।
'नेपाली (अन्ध-उग्र-पहाडी) राष्ट्रवाद' को अहिलेसम्म पनि सपाट अनुहार त्यही हो!
अनि 'राष्ट्रवादी कम्युनिस्ट' हरूले त्यही एकोहोरो भीडमा समावेश भएर निरर्थक प्रयोजनका लागि गोली खाएर सहिदसमेत हुन नसकेका तिनै किशोर र बालिकाको शवमाथि आफ्नो राष्ट्रवादिताको प्रमाणपत्र हासिल गरेका हुन्।
हालै जब म प्राध्यापक विजयकान्त कर्णसित बोध-वार्ताका लागि बसेँ, ऋतिक रोशन प्रकरणको अनुभवसम्बन्धी प्रश्न मैले उनलाई राख्ने धेरै प्रश्नमध्ये एउटा मात्रै थियो।
तर जब म त्यो प्रश्नमा पुगेँ, उनी भक्कानिए।
कारण — सिके राउतझैं उनी पनि आफूलाई त्यसअघि नेपालीबाहेक अरू केही सोच्दैनथे। तर जब आफ्नै घरमा दिनभर चुकुल लगाएर लुकिबस्नुपर्ने भयो, जब सडकमा निस्किँदा भीडले लखेटेर ज्यान जोगाउन मुस्किल भयो, जब छोरीले स्कुलबाट फर्केर 'बाबा, हामी मधेसी हो?' भनेर सोधिन्, उनको हृदय चिरा पर्यो।
जुन देशलाई उनी आफ्नो भन्थे, त्यो देशले त उनलाई पराइ मात्रै हैन, सडकमै मरणासन्न हुने गरी कुटिन र मारिन लायक अपराधी ठहर्यायो। दुई कक्षामा पढ्ने उनकी छोरीलाई तिनका साथीहरूले 'तिमी मधेसी हौ, तिमी अहिले घरबाट निस्कियौ भने (दंगाकारीहरूले) मार्न सक्छन्, त्यसैले घरमै बस्नु' भन्ने दिन आयो।
सडकमा अबुझ युवाहरूले मात्रै होइन, देशले मानेका नेताहरू सञ्चारमाध्यमदेखि संसदसम्म पुगेर भन्दै थिए — यो त राष्ट्रियतामाथि भएको प्रहारको स्वस्फूर्त प्रतिवाद थियो!
नेपाल मेरो देश होइन भने कुन हो त मेरो देश? — यसरी जीवनभर आफू खडा भएको धरातल भासिएझैं लाग्यो काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा सुविस्ताजनक जीवन बिताइरहेका, त्रिभुवन विश्वविद्यालयमा पढाइरहेका मध्यमवर्गीय हैसियतका कर्णलाई समेत।
हिंसाबाट बच्न रातारात काठमाडौं र अरू सहर छाडेर खाली खुट्टा मधेसतिर हिंडिरहेका विपन्न मधेसीलाई त्यो अनुभव अझ कति त्रासदीपूर्ण भए होला?
त्यो बेलाका मिडियामा आन्दोलनकारी विद्यार्थी र दलका नेताहरूका चर्का राष्ट्रवादी भाषण सुनेका भए उनीहरूलाई लागेको हुनुपर्छ — यो कस्तो देश हो जसको राष्ट्रियता सुरक्षित गर्न सडकमा निहत्था नागरिक कुटिनुपर्छ, लखेटिनुपर्छ र मारिनुपर्छ?
यो कस्तो देश हो जहाँ एउटा समुदायका मानिसले 'राष्ट्रियता जोगाउने' नाममा अर्को समुदायका मानिसमाथि निर्घात हिंसा र निषेध गर्छन्?
'बुद्ध जन्मेको' यो कस्तो देश हो जहाँ बुद्धका तिब्बती अनुयायीहरू चीनको पैतालामुनिबाट फुत्केर आएपछि निर्ममतापूर्वक पक्रेर तिनलाई घिसार्दै र यातना दिँदै लगेर त्यही चीनलाई हस्तान्तरण गरिन्छ ताकि, ती पैतालामुनिको मुनि नै रहून्, आफैलाई जलाएर आत्मदाह गरून् तर भागेरै भए पनि स्वतन्त्रताको सास फेर्न नपाऊन्?
यो कस्तो 'सभ्य' समाज हो जहाँ बच्चालाई जन्मिनासाथ हामी 'विश्वकै सबभन्दा महान, न्यायमूलक र सहिष्णु समाज' भनेर घोकाइन्छ तर उसको बोली फुट्नासाथ सडकमा आएको अर्को समुदायको मानिसलाई जात, भाषा वा रङको आधारमा विभेदकारी बोलीचाली र व्यवहार गर्न सिकाइन्छ?
ऋतिक रोशन प्रकरणजस्ता घटनामा सडकमा देखिएको उत्तेजनाले नेपालको राष्ट्रियतालाई निर्धारित गर्दैन वा अब अवस्था बदलिइसकेको छ जस्तो लाग्छ भने म तपाईंहरूलाइै थप दुइटा दृष्टान्त सुनाउँछु।
एक, २०७३ सालको माघको अन्ततिर म बागलुङदेखि नुन-तेल मार्गमा पदयात्रा गर्दै एक साँझ बुटवलमा गाउँले दाइको डेरामा बास बसेको थिएँ। त्यो बेला देशका धेरै ठाउँमा २०७२ सालको संविधानले दिएको संघीयताप्रति असन्तुष्टि चर्केको थियो। संविधान संशोधन मधेसवादी दलहरूको मुख्य माग थियो भने प्रदेशको सीमा र राजधानीको विषयलाई लिएर पहाडमा समेत असन्तुष्टि थियो।
मलाई बास दिने दाइ थिए एमालेको कर्मचारी संगठनका केन्द्रीय स्तरका नेता। त्यो बेला बुटवलका पहाडी मानिसहरूबीच एमालेले फैलाएको षड्यन्त्र-कथा पत्याएर प्रचार गर्दै हिँडेका उनी भन्दै थिए — बुटवललाई पाल्पा-अर्घाखाँचीबाट अलग गरेर प्रदेशको सीमा कोर्ने काम भारतले गराएको हो ताकि, बुटवल र यहाँभन्दा दक्षिणको सम्म भूभाग सबैलाई भारतमा गाभ्न सकियोस्। (पछि गएर बुटवललाई पाल्पा, अर्घाखाँची र गुल्मीसहित लुम्बिनी प्रदेशमै राखियो।)
त्यस्तो हावादारी तर्क सुनेपछि दाइको अनुहार हेर्दा उनी त पूरापूर गम्भीर पो थिए। यस्तो लाग्थ्यो उनलाई आफ्नो आकलनमाथि कुनै संशय थिएन।
मैले पनि गम्भीर मुद्रामै सोधेँ, 'कसरी?'
उनले बेलिविस्तार लगाए — उताबाट भारतीयहरू आएर मधेसीहरूको जमिन किन्दै जान्छन्, थपिँदै जान्छन्। अनि एक दिन आफ्नो बहुमत पुर्याएर यताको प्रदेशलाई भारतमा मिलाउँछन्।
ती दाइको, उनीजस्तै स्थानीय नेताहरूको र एमाले पार्टीको भारतीय शासकप्रतिको चाकरीभाव र भारतविरोधी नारावाजीको दोहोरो मापदण्ड त नौलो कुरा थिएन। तर मधेसी समुदायका नेपालीहरूमाथि उनीहरूले गरेको सर्वथा निराधार संशय र त्यही संशयमा टेकेर बुटवल र वरिपरिका जिल्लाहरूमा बढोत्तरी भइरहेको एमालेको राजनीति देखेर म आश्चर्यचकित भएँ।
आजसम्म पनि जति नै विश्वव्यापी भाइचारा र अन्तर्राष्ट्रियतावादको नारा रटे पनि नेपालका धेरै कम्युनिस्ट पार्टीको भुइँतहको राजनीति यस्तै नश्लीय विभेद र निषेधको चेतनामा अडिएको छ।
दुई, केही महिनाअगाडि ऋतिक रोशन काण्डकै राष्ट्रवादी लहर सम्झाउँदै काठमाडौंका मेयर बालेनले एउटा भारतीय फिल्मबाट एउटा संवाद नहटाएसम्म काठमाडौं उपत्यकामा भारतीय सिनेमा चलाउन नदिने घोषणा गरे। त्यससम्बन्धी उनका दुइटा ट्विट र एउटा फेसबुक स्टाटसमा आमपहाडीहरूले जे जस्ता प्रतिक्रिया दिएका छन्, ती हेर्ने हो भने थाहा हुन्छ, नेपाली राष्ट्रवादको अनुहार २०५७ पछिका २४ वर्षपछि पनि उस्ताको उस्तै छ भनेर। मधेसी समुदायमा जन्मेका बालेनले आफ्नो स्वीकार्यता र लोकप्रियता बढाउने र आफूले राजनीतिक लाभ लिने सस्तो विकल्पका रूपमा पहाडीहरूका साँघुरा दिमागमा रहेको उग्र राष्ट्रवादको स्वीच अन गरिदिएका छन्।
त्यसपछिका दिनमा नयाँ भनिएको अर्को राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि त्यो होडमा कत्ति पछि परेको छैन। र, यसरी संकीर्ण नश्लीय राष्ट्रवाद आज पनि नेपालको राजनीतिलाई दिशानिर्देश गर्ने अवस्थामा छ।
प्रस्तुत छ, यी विषय समेटिएको तर यिनमा सीमित नरहेको प्राध्यापक कर्णसित मैले गरेको बोध-वार्ताः
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)