जलवायु परिवर्तनको मुद्दा आधुनिक विश्वको 'हट केक' हो। समग्र विश्व र मानव सभ्यता नै यसबाट प्रभावित छ। त्यसमध्ये प्राकृतिक स्रोतमा आधारित अर्थतन्त्र र जनजीवन भएका अल्पविकसित मुलुकहरू सबभन्दा बढी चपेटामा परेका छन्। ती मुलुकमध्ये नेपाल पनि एक हो।
भूपरिवेष्टित मुलुक नेपालको उत्तरतर्फ सर्वोच्च शिखर सगरमाथासहित विश्वका दस अग्ला हिमालमध्ये ८ वटा छन्। ती हिमालको काखमा ठूलो संख्यामा हिमनदी र हिमतालहरू छन्।
ती हिमनदी र हिमतालहरू नेपालका ठूला बाह्रमासी नदीका र भारतको गंगा नदीको बहावका मुख्य स्रोत हुन्। हिमालमा हुने जलवायु परिवर्तनले क्षेत्रीय जलस्रोतको उपलब्धता र सन्तुलनमा ठूलो असर गर्ने देखिएको छ।
सिद्धान्ततः नेपाल सबट्रपिकल जलवायु क्षेत्रमा पर्ने भए पनि विशिष्ट भौगोलिक बनावटका कारण उत्तर-दक्षिणको करिब १४० किलोमिटर चौडाइमा जलवायु र पारिस्थितिक प्रणालीमा ठूलो विविधता भेटिन्छ।
दक्षिणतर्फ सबट्रपिकल जलवायुको प्रभाव रहँदा उत्तरतर्फ आर्कटिक जलवायु हाबी छ। नेपालको गर्मी यामको जलवायु दक्षिण-पूर्वी मनसुनबाट प्रभावित छ। यसकारण जुनदेखि सेप्टेम्बरसम्म वर्षा हुन्छ। मनसुनी वर्षा कृषि तथा जलस्रोतको महत्त्वपूर्ण अवयव हो।
नेपालको वार्षिक औसत वर्षा एक हजार ७६८ मिलिमिटर (मिमी) मापन गरिएको छ। भौगोलिकता अनुसार करिब ७० देखि ८५ प्रतिशत वार्षिक वर्षा मनसुनमा हुन्छ।
नेपालमा मनसुनको प्रवेश पूर्वी-दक्षिण भागबाट हुने र क्रमशः पश्चिमतर्फ बढ्ने भएकाले अन्य भागको तुलनामा पूर्वी-दक्षिण भूभागमा बढी वर्षा मापन हुन्छ। उच्च भौगोलिक भिन्नताका कारण ठाँउअनुसार वर्षाको प्रकृतिमा फरक पर्छ।
अन्नपूर्ण हिमालको दक्षिणमा समुद्री सतहभन्दा एक हजार ६४२ मिटर उचाइमा अवस्थित लुम्लेमा वार्षिक पाँच हजार मिमी वर्षा मापन हुँदा यसको ठीक उत्तरतर्फ दुई हजार ७५० मिटर उचाइमा रहेको जोमसोममा वार्षिक वर्षा सरदर २५० मिमी मात्र रेर्कड गरिएको छ।
उच्च हिमाली भेगमा मनसुनी वर्षा हिँउका रूपमा हुँदा त्यसले हिमनदी निर्माणमा मद्दत गरेको हुन्छ।
अर्कोतर्फ, जाडो यामको वर्षा पश्चिमी मौसम प्रणालीमा आधारित छ। यसको उत्पत्तिको स्रोत भूमध्य सागर मानिएको छ।
भूमध्य सागरमा निर्माण हुने न्यूनचापीय प्रणालीका कारण विकसित हुने मौसम पश्चिम हुँदै पूर्वतर्फ लाग्दा पश्चिमतर्फ बढी र पूर्वतर्फ कम हिउँदे वर्षा हुन्छ। हिउँ पनि पूर्वतिर कम पर्छ।
हिउँदे वर्षाले पश्चिम क्षेत्रमा वार्षिक औसत वर्षा मापन र हिमनदी निर्माणमा ठूलो योगदान गर्छ।
जलवायु परिवर्तनको एक मुख्य सूचकांक तापक्रम हो। नेपालमा उच्चतम तापक्रम मे/जुन महिनामा रेर्कड हुन्छ। अक्टोबरबाट तापक्रम घट्ने क्रमसँगै डिसेम्बर/जनवरीमा न्यूनतम तापक्रम मापन हुन्छ।
भैगोलिक उचाइसँगै तापक्रम घटबढ हुने हुँदा नेपालको सन्दर्भमा उत्तर-दक्षिणतर्फ तापक्रममा ठूलो फरक पाइन्छ। तराई-मधेस क्षेत्रमा अत्यधिक गर्मी हुँदा हिमालय क्षेत्रमा अत्यधिक चिसो महसुस हुन्छ।
नेपालका विविध प्राकृतिक स्रोतहरूमध्ये जलस्रोत प्रमुख हो। नेपालमा ६ हजारभन्दा बढी नदीनालाहरूको सञ्जाल छ। नेपालको नदी प्रणालीलाई मुख्यतः कोसी, गण्डकी, कर्णाली र महाकाली गरी चार वटा बेसिनमा विभाजन गरिएको छ। बाह्रमासी प्रकृतिका यी नदीहरूको वहावको मूल स्रोत हिमाल नै हुन्।
अर्कोतर्फ बबई, पश्चिम-राप्ती, बागमती, कमला, कन्काई र मेची नदी मध्यपहाडमा उत्पत्ति भई उल्लिखित चार नदीहरूमै समाहित हुन्छन्। यसबाहेक सोही प्रकृतिका आँधीखोला, रिडी, रोशी, पिखुवा, पूर्वी-राप्ती, त्रिजुगा लगायत पनि यी चार नदीका सहायक नदी हुन्। यसका साथै ठूलो संख्यामा नदीहरू चुरे/महाभारत क्षेत्रमा उत्पत्ति भई तराई-मधेस भएर बग्छन्।
यी सबै नदीहरू अन्ततः गंगा नदीमा समाहित हुन्छन्। गंगा नदीको सुख्खा यामको ७० र वर्षा यामको ४५ प्रतिशत बहावको हिस्सा नेपाली नदीहरूको हुन्छ।
नेपालमा तापक्रम र वर्षा मापनमा सीमित तथ्यांक उपलब्ध छ। विभिन्न नदी बेसिनहरूमा स्थापित ४९ वटा मापन केन्द्रहरूको तथ्यांक विश्लेषण गर्दा सन् १९७० देखि प्रतिवर्ष अधिकतम तापक्रम वृद्धि ०.०४ डिग्री सेल्सियसले स्थिर देखिन्छ। यो तापक्रम वृद्धिको असर हिमाली र पहाडी क्षेत्रमा बढी महसुस हुँदा महाभारत र तराई क्षेत्रमा न्यून देखिएको छ। तापक्रमको यो वृद्धिले नेपालका हिमाली क्षेत्रका साथै तिब्बत र समग्र हिन्दकुश हिमालय क्षेत्र प्रभावित भएको छ।
हिमनदीहरू जलवायु परिवर्तनको असर मापन गर्ने उत्कृष्ट सूचक हुन्।
हिमनदीको क्षेत्रफल, आयतन र मास सन्तुलनमा परिवर्तन आएको छ। एक अध्ययन अनुसार सन् १९७० मा नेपालका हिमालहरूमा तीन हजार २५२ वटा हिमनदी अस्तित्वमा थिए। यी हिमनदीको कुल क्षेत्रफल पाँच हजार ३२३ वर्गकिलोमिटर मापन गरिएको थियो।
सन् १९८० मा हिमनदीको संख्या बढेर तीन हजार ४३० वटा पुग्यो। सन् १९८० देखि २०१० सम्म हिमनदीको संख्या ११ प्रतिशत वृद्धि भई तीन हजार ८०८ वटा पुगेको तथ्यांक छ।
बेसिनका हिसाबले कोसी बेसिनमा हिमनदीको संख्या १५ प्रतिशतले, गण्डकीमा १२ प्रतिशतले र कर्णालीमा ६ प्रतिशतले बढेको अध्ययनले देखाएको छ। संख्या बढे पनि हिमनदीको कुल क्षेत्रफलमा संकुचन आएको देखिन्छ।
सन् २०१० मा कोसी बेसिनमा हिमनदीको क्षेत्रफल एक हजार १०२ वर्गकिलोमिटर मापन गरिएको थियो। सोही वर्ष गण्डकी, कर्णाली र महाकाली बेसिनमा हिमनदीको क्षेत्रफल क्रमशः एक हजार ६६४, एक हजार २२ र ११२ वर्गकिलोमिटर कायम रहेको देखिन्छ।
सन् १९८० देखि २०१० सम्मको प्रवृत्ति अध्ययन गर्दा ती हिमनदीहरूको कुल क्षेत्रफल २४ प्रतिशतले घटेको देखिन्छ। बेसिनका आधारमा हेर्दा कोसी र कर्णाली बेसिनमा हिमनदीको क्षेत्रफल २६ प्रतिशतले र गण्डकीमा २२ प्रतिशतले संकुचन भएको देखिन्छ। समग्र नेपालको परिवेश हेर्दा सन् १९८० देखि २०१० सम्मको ३० वर्षमा हिमनदीको क्षेत्रफल ३३.७१ वर्गकिलोमिटर संकुचन भएको तथ्यांक छ।
यसमध्ये लोप भएका हिमनदीहरू तुलनात्मक रूपमा सानो आकारका र समुद्री सतहदेखि औसत पाँच हजार ३५१ मिटर उचाइमा अवस्थित देखिन्छन्। लोप भएका हिमनदीहरूको क्षेत्रफल ०.०३५ देखि १.६१ वर्गकिलोमिटरसम्म रहेको अध्ययनले देखाएको छ। उक्त अवधिमा गण्डकी बेसिनमा सबैभन्दा बढी १५.५७ वर्गकिलोमिटर क्षेत्रफल बराबर ६४ वटा हिमनदी लोप भए।
कर्णालीमा ८.७१ वर्गकिलोमिटर बराबर ४७ वटा, कोसीमा ८.१२ वर्गकिलोमिटर बराबर ४३ वटा र महाकालीमा १.३१ वर्गकिलोमिटर बराबर ९ वटा हिमनदी लोप भए। यसका साथै सन् १९७५ मा पूर्वीक्षेत्रमा रहेको कञ्चनजंघा हिमनदीको क्षेत्रफल ६०.५० वर्गकिलोमिटर मापन भएकोमा ३५ वर्षपछि सन् २०१० मा १.४० वर्गकिलोमिटरले कमी भई ५९.१० वर्गकिलोमिटर कायम भएको देखिन्छ।
सन् १९७७ मा मुस्ताङ उपत्यकामा सुषुप्त रहेका दसवटा हिमनदीको क्षेत्रफल १९.७९ वर्गकिलोमिटर रहेकामा सन् २०१० सम्म आइपुग्दा खुम्चिएर १५.४६ वर्गकिलोमिटरमा सीमित भएको अध्ययनले देखाएको छ। सन् १९८० देखि २०१० सम्म दूधकोसी, तमोर, मर्स्याङ्दी र कालीगण्डकी सब-बेसिनमा सबैभन्दा बढी हिमनदी लोप भएको देखिन्छ।
सन् २०१० को आधार वर्षमा नेपालको हिमालय क्षेत्रमा कुल बरफ सञ्चितिको आयतन ३१२.४२ घनकिलोमिटर रहेको तथ्यांक छ। यसको अर्थ सबै बरफ पग्लिँदा समुद्री सतह ०.७९ मिलिमिटर बढ्ने परिमाण हो। एक अध्ययन अनुसार सन् १९८० देखि २०१० सम्म नेपालको हिमालय क्षेत्रमा बरफको सञ्चिति १२८.८४ घनकिलोमिटर घटेको देखिन्छ। यो परिमाण प्रतिवर्ष ४.२९ घनकिलोमिटर हो। यसरी बरफ पग्लेका कारण सन् १९८० देखि २०१० सम्मको ३० वर्षमा समुद्री सतह ०.३२ मिमी वृद्धि भएको अनुमान छ।
बेसिनका आधारमा उक्त अवधिमा कोसीमा ४८.४५, गण्डकीमा ५०.७९, कर्णालीमा २५.७४ र महाकालीमा ३.९४ घनकिलोमिटर बरफको सञ्चिति घटेको अनुमान छ।
जलवायु परिवर्तनका कारण हिमनदीहरू पग्लदै जाँदा प्राकृतिक हिमतालहरूको संख्या बढ्दै गएको देखिन्छ। सन् १९५० देखि हिमताल बन्ने क्रम बढेको भेटिन्छ।
सन् २०२० को तथ्यांक अनुसार नेपालको हिमालय क्षेत्रमा ०.१ देखि ७.२१ वर्गकिलोमिटरसम्म फैलिएका दुई हजार ४२० वटा हिमताल अस्तित्वमा छन्। सन् २००० देखि २०२० सम्मको २० वर्षमा हिमतालहरूको क्षेत्रफल ३१ प्रतिशत र आयतन ३८ प्रतिशतले बढेको देखिन्छ।
सन् १९८७ देखिको प्रवृत्ति अध्ययन गर्दा हिमतालहरूको क्षेत्रफलको वार्षिक वृद्धि दर ०.८३ प्रतिशत छ। यो वृद्धिदर सम्पूर्ण हिमालय क्षेत्रको वार्षिक वृद्धि दर ०.५६ प्रतिशतभन्दा बढी हो।
सन् १९८७ देखि २०१७ सम्मको अवधिमा सबैभन्दा बढी कोसी बेसिनमा हिमतालहरूको क्षेत्रफल वार्षिक ०.३ वर्गकिलोमिटरले वृद्धि भएको छ। सोही अवधिमा हिमतालहरूको क्षेत्रफलको वार्षिक वृद्धिदर गण्डकीमा ०.११ वर्गकिलोमिटर र कर्णालीमा ०.१३ वर्गकिलोमिटर छ।
हिमनदी पग्लेर हिमतालको क्षेत्रफल र आयतन वृद्धि हुँदै जाँदा हिमताल बिस्फोटको जोखिम पनि बढ्दै छ। विस्फोटबाट तल्लो तटीय क्षेत्रमा ठूलो जनधन र भौतिक संरचनाको क्षति हुने आकलन छ। नेपालको सन्दर्भमा विगतमा थुप्रै हिमताल विस्फोटका घटना प्राकृतिक विपत्तिका रूपमा आइपरेका छन्। तीमध्ये सबैभन्दा पुरानो घटना ४७० वर्षअघि सेतीखोलामा माच्छापुच्छ्रे ताल विस्फोटन भएको इतिहास छ।
यसबाहेक नेपालमा सन् १९७७ मा दूधकोसी बेसिनमा रहेको कोसीनरे ताल, सन् १९८० मा तमोर बेसिनमा रहेको नगमा पोखरी, सन् १९८५ मा दूधकोसी बेसिनमा रहेको डिग च्छो ताल, सन् १९९१ म तामाकोसी बेसिनमा चुबुङ ताल, सन् १९९८ मा दूधकोसी बेसिनमा तामपोखरी हिमताल विस्फोटका घटना मुख्य छन्।
नेपालको हिमालय क्षेत्रमा जलवायु परिवर्तनका सूचकांकहरू तापक्रम, वर्षाको प्रवृत्ति र मात्रामा विगत केही दशकदेखि तीव्र परिवर्तन आएको देखिन्छ। यस्तो परिवर्तनका कारण एकातिर हिमनदीहरू पग्लिँदै जाँदा क्षेत्रफल खुम्चिँदै गएको छ। अर्कातिर हिमतालहरूको क्षेत्रफल र आयतन बढ्दै छ। यसले हिमताल विस्फोटको जोखिम बढाएको छ।
ठूलो परिमाणमा बरफ पग्लँदा समुद्री सतहसमेत बढ्दै गएको छ। यो क्रम जारी रहेमा आउँदो ३५ वर्षमा दक्षिण एसियाका बंगलादेश र मालदिभ्सको २० प्रतिशत भूभाग थप डुबान हुनेछ र त्यसबाट एक करोड ८० लाख जनसंख्या विस्थापित हुने प्रक्षेपण छ।
नेपालको हिमालय क्षेत्रमा अहिले पनि ३९ वटा हिमतालहरू विस्फोटको उच्च जोखिममा छन्। यी हिमतालहरू विस्फोट भएमा नदीतट क्षेत्रमा बनेका जलविद्युत, सिँचाइ, सडक, पुल लगायत भौतिक संरचनाहरूमा ठूलो क्षति पुग्नेछ।
यस्तो परिस्थितिमा हिमतालहरूको निरन्तर अनुगमन र जोखिम विश्लेषण आवश्यक छ। जलवायु परिवर्तनका कारण हिमालहरू असुरक्षित रहँदा अल्पविकसित मुलुक नेपालले ठूलो मूल्य चुकाउनुपर्नेछ। अन्तर्राष्ट्रिय मञ्चमा यो विषय गम्भीरतापूर्वक उठान गरी आसन्न प्राकृतिक विपत्तिबाट हिमालय सुरक्षित गर्नुपर्ने भएको छ। अर्को विकल्प छैन!
(डा. मुकेशराज काफ्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)